काठमाडौं महानगरमा २ लाख १० हजार भवनको डिजिटल नक्साङ्कन
काठमाडौं, असाेज १ । काठमाडौं महानगरपालिकाभित्र २ लाख १० हजार ९७६ भवन र १२ हजार ८११ वटा सडकको डिजिटल नक्साङ्कन गरिएको छ। महानगरपालिकाले घरधुरी सर्वेक्षण, घर नम्बरिङ तथा भूउपयोग वर्गीकरणका लागि ड्रोन र डीजीपीएस प्रविधिबाट सर्वेक्षण गरी डिजिटल नक्साङ्कनको काम अघि बढाएको हो।
भूउपयोग परिषद्का अध्यक्ष एवं कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा महानगरपालिकाले हालसम्म गरेको डिजिटल नक्साङ्कन तथा म्यापिङसम्बन्धी प्रगति प्रस्तुत गरिएको थियो।
बैठकमा नापी अधिकृत अशोक श्रेष्ठले हालसम्म महानगरपालिकाको सम्पूर्ण क्षेत्रमा घरधुरी सर्वेक्षणका लागि ड्रोन तथा डीजीपीएस सर्वेक्षण गरी लेयर डिजिटाइजेसन र म्यापिङको काम सम्पन्न भएको जानकारी दिए।
महानगरपालिकाका अनुसार १२ हजार ८११ वटा सडकको नक्साङ्कन गरिएको छ। तीमध्ये २ हजार ८ सयभन्दा बढी सडकलाई मौलिक तथा वैज्ञानिक नेपाली नामसहित आधिकारिक जीआईएस डाटाबेसमा प्रविष्ट गरिसकिएको छ।
त्यस्तै, घर नम्बरिङ तथा घरधुरी सर्वेक्षणका क्रममा २ लाख १० हजार ९७६ भवन डिजिटल रूपमा नक्साङ्कन गरिएको छ। तीमध्ये २५ हजार १९ वटा भवनको प्रमाणीकरणसमेत गरिएको महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाले विद्यालय, अस्पताल, पाटी, नदी, सम्पदा स्थल तथा सार्वजनिक संरचनाको समेत डिजिटल जीआईएस अभिलेख तयार गरिसकेको छ। यसबाट महानगर क्षेत्रका भौतिक संरचना तथा सार्वजनिक सम्पत्तिको तथ्याङ्कलाई डिजिटल प्रणालीमा व्यवस्थित गर्न सहयोग पुग्ने जनाइएको छ।
बैठकमा महानगरपालिकाको भूउपयोग वर्गीकरणका विषयमा समेत छलफल भएको थियो। कानुनी व्यवस्थाअनुसार भूउपयोग वर्गीकरण गर्दा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी–खोला–ताल–सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्त्विक महत्वलगायत क्षेत्र समेटिनेछन्।
आवश्यकताअनुसार अन्य क्षेत्रसमेत भूउपयोग क्षेत्रमा तोक्न सकिने कानुनी व्यवस्था रहेको महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाले डिजिटल नक्साङ्कनबाट प्राप्त तथ्याङ्कलाई भूउपयोग योजना, पूर्वाधार विकास, घर नम्बरिङ, सार्वजनिक सम्पत्तिको अभिलेखीकरण तथा सहरी व्यवस्थापनमा उपयोग गर्ने तयारी गरेको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment