अहिंसाको कुरा र बुद्धको शिक्षा


अ
अ+
अ-

‘‘अहिंसाका पुजारी बुद्व जन्मिएको देशमा बुद्वको अहिंसात्मक सन्देश बोकेर बाँचिरहेका मानिसहरू नै धर्म,संस्कृति र परम्पराको नाममा घर–घर र मठ–मन्दिरमा लाखौ लाख निर्दोष पशुलाई बली दिएको देख्दा र सुन्दा लाग्छ यिनीहरू चेतनशील मानव नै होइनन्; हत्या–हिंसालाई प्रोत्साहन र पुस्तान्तरण गर्ने दयाहिन नरसंहारी राक्षस हुन् ।’’

उद्धृत यो विचार वा भनाई सामाजिक संजाल फेसबुकमा सवित्रा सिवाकोटीको वालबाट लिइएको हो । आफ्ना भौतिकवादी दृष्टिकोणहरूलाई निर्भिक भएर व्यक्त गरिरहने उनका प्रशंसक कति छन् थाहा छैन तर गाली भने धेरै पाउँछन् उनी । म भौतिकवादी नभएका कारणले उनका सबै भनाईमा सहमत हुन नसक्नु स्वाभाविक हो, जसरी मेरा सबै भनाईहरूमा उनी सहमत हुन्नन् । माथि उद्धृत पंक्तिसँग पनि मेरो सहमती छैन तर ध्यान आकर्षित भने गर्यो । भौतिकवादीहरू बुद्धलाई आफूजस्तै भौतिकवादी ठान्छन् र बेलाबेलामा बुद्धका कतिपय वचनहरू उल्लेख गर्छन् वा आफ्नो भनाईलाई सशक्त बनाउन बुद्धको नाम उल्लेख गर्दछन् । यसअनुसार भौतिकवादीहरू आफू बुद्धकै अनुशरणमा रहेको मान्दछन् । भौतिकवादीले बुद्धलाई आफ्नो नजिक ठानेजस्तै अध्यात्मवादीहरूले पनि बुद्धलाई आफूनजिक नै मान्छन् । दुबै मतवादले बुद्धलाई त्यही स्तरमा अस्वीकार पनि गरिहेको पाइन्छ । वास्तविकता त के हो भने, बुद्धकै सन्दर्भमा यी दुबै अतिवादी हुन् भने बुद्ध मध्यमार्गी हुन् । यही भएर नजिक र टाढा दुबै अनुभव हुने हो । र भौतिकवादी, अध्यात्मवादी र बौद्धबीच जुहारी चलिरहेको पाइन्छ । यो छलफलको बेग्लै विषय हो । हिंसाका सम्बन्धमा माथि उद्धृत पंक्तिले बुद्ध र बुद्ध वचनको व्याख्या गर्न सघाउ पुग्ने देखिन्छ । र, यही मेलोमेसोमा अहिंसा र बुद्धको शिक्षा बारेमा केही छलफल गर्न सकिन्छ । 

बुद्ध शिक्षाको मुख्य र एक मात्र उद्देश्य भन्नु निर्वाण हो । बुद्धको प्रशंसा गर्ने क्रममा शान्ति, विश्वशान्ति, मैत्री, करुणा, अहिंसालगायतका प्रयोग हुने कतिपय शब्दहरू निर्वाणसम्मको यात्रामा अपनाउनु पर्ने कुराहरू हुन् । यसलाई केही सरल भाषामा भन्नु पर्दा उदाहरणका लागि अहिंसालाई नै लिउँ । एक सर्वसाधारण बौद्धले आफ्नो दैनिक जीवनमा पालना गर्नुपर्ने न्यूनतम पञ्चशीलमा पहिलो प्राणीहिंसाबाट विरक्त हुनु हो । प्राणी भन्नुको अर्थ ठूलासाना सबै प्रकारका जीव हुन् र यसमा समान रूपमा मानिस पनि पर्दछन् । हिंसा भनेर बुद्ध शिक्षाले मारकाटलाई मात्र बुझाउँदैन । काय, वाक र चित्तले गरिने सबै प्रकारका हिंसा यसभित्र पर्दछन् । हिंसा पाप हो । भौतिकवादीहरू पाप–धर्म र त्यसको फललाई भन्ने मान्दैनन् । तर बुद्ध मान्छन् । हिंसा कर्मको फल यही जन्म र अर्को जन्ममा भोग्नुपर्ने हुन्छ । सतकर्मले मान्छेलाई राम्रो गतिमा लान्छ भने दुष्कर्मले नराम्रो गतिमा लान्छ । हिंसा दृष्कर्म हो । दुष्कर्मका कारण नराम्रो गतिमा लागेपछि राम्रो काम गर्ने तथा पुण्य संचय गर्न कठिन हुन्छ । अनेकौं पुण्य संचय गरेर र अनेकौं साधना गरेर बल्लबल्ल निर्वाण मार्गमा लाग्ने हो । दुष्कर्ममा लागेकाहरू निर्वाण मार्गमा लाग्न गा¥हो हुन्छ । त्यही भएर बुद्धले हिंसाकर्मलाई छोड्ने र अहिंसा कर्अमा लाग्न जोड दिएका हुन् । 

बुद्धलाई ‘अहिंसाका पुजारी’ भन्नेहरू पनि पाइन्छन् तर त्यसरी पुजारी भनिदिनु अलि विरोधाभास हुन्छ । ‘बुद्व जन्मिएको देश’ भन्नुको तात्पर्य ‘नेपाल’ हो । र बुद्धको अहिंसात्मक सन्देश बोकेर बाँचिरहेका मानिसहरू भन्नुको वास्तविक अर्थ बुद्धलाई पथप्रदर्शक मानी उनको शिक्षालाई अनुशरण गर्छुभन्ने विश्वभरका सम्पूर्ण बौद्ध’ हुन् तर यहाँ ‘नेपाली’ अर्थमा प्रयुक्त छ । अब प्रश्न उठ्छ, ‘नेपाल’ वा ‘नेपाली’मा बुद्धको शिक्षाले कति व्यापकता पाएको छ त ? नेपालको जनगणनाअनुसार मुस्किलले ९ प्रतिशत पुग्छ । यो ९ प्रतिशत बौद्ध जीवनपद्दतिअनुसार जिउनेहरूको तथ्याङ्क भनेर बुझ्नु गल्ती हुन्छ किनभने बाबुबाजे बौद्ध भएको आधारमा आफू पनि बौद्धको रूपमा पहिचान बनाएकाहरू पनि हुन्छन् । नेपालीहरू ‘बुद्ध वाज बर्न इन नेपाल’ भनेर आत्मप्रशंसा गर्दछन् र सबै नेपाली बौद्ध नै ठान्छन् पनि तर बुद्ध के हुन् ? को हुन् ? बुद्धले के शिक्षा दिएका हुन् ? बुद्ध शिक्षाको अनुशरण कसरी गर्ने हो ? किन गर्ने हो ? आदि प्रश्नको जवाफमा प्रायः उदास रहेको पाइन्छ । नेपाल र भारतका कतिपय हिन्दू आफ्ना पौराणिक देवीदेवताजस्तै बुद्ध पनि एक देवता हुन् भन्ने गतल बुझाई राख्दछन् । विष्णुको एउटा अवतार हो नि, अवतार मानिदिएका छौं भनेर कति न ठूलै कृपा गरेको जस्तो बोल्छन् । बुद्धसम्बन्धी केही ऐतिहासिक तथ्य र उनको शिक्षा प्रसङ्गवश उल्लेख गर्दा पचाउन सक्दैनन् । विद्यालयको पाठ्यक्रमकै कुरा गर्नुपर्दा पनि टिठ लाग्दो अवस्था छ । बुद्धको बारेमा शिक्षा दिन भनेर विद्यालयको पाठ्यपुस्तकमा केही पाठ राखिएको होला तर ती कतिसम्म ‘अपाठ्य’ रहेछन् भन्ने कुरा ‘शिक्षक’ मासिकमा मैंले आफ्नो स्तम्भमा केही लेख लेखेको छु । विश्वविद्यालयमा बौद्ध विषयक कतिपय प्राध्यापक स्वयं बौद्धविरोधी, पूर्वाग्रही र संकुचित भएर अनर्गल कुराहरू पढाइरहेका हुन्छन् भन्ने कुराको फेहरिस्त पनि लामो नै बन्दछ । बुद्धका बारेमा बजारमा पाइने कतिपय प्रकाशन आपत्तीजनक छन्् तर तिनै पुस्तकहरू पुरस्कृत र चर्चित भइरहेका हुन्छन् । यसले प्रष्ट पार्दछ, बुद्ध जन्मेको देशका देशवासीमा बुद्धसम्बन्धी टीठलाग्दो जानकारी रहेछ । यस अवस्थामा ‘धर्म, संस्कृति र परम्पराको नाममा घर–घर र मठ–मन्दिरमा लाखौ लाख निर्दोष पशुलाई बली दिएको देख्दा र सुन्दा लाग्छ यिनीहरू चेतनशील मानव नै होइनन्, हत्या–हिंसालाई प्रोत्साहन र पुस्तान्तरण गर्ने दयाहिन नरसंहारी राक्षस हुन् ।’ भनेर टिप्पणी गर्ने क्रममा ‘बुद्धको जन्म भएको देश’ भनेर उल्लेख गर्नु तर्कसंगत हुँदैन । 

बुद्ध जन्मेको देश हुँदैमा देशवासीको मनमस्तिष्कमा बुद्ध शिक्षा स्वतः घुसेको हुँदैन । बुद्ध अनेक विधि उपाय अपनाएर मान्छेको बुझ्ने क्षमता हेरी उपदेश दिन्थे र मान्छेहरू बुझ्थे । कतिपय मान्छे बुद्धकै समयमा पनि उल्टो बुझ्थे र अनर्थ पनि गर्थे । तत्कालिन समयमा सबै मान्छे बुद्धका प्रसशंक थिएन, विरोधी पनि थिए । नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने, आधुनिक नेपालको एउटा कालखण्डमा बौद्ध भिक्षु बन्नुलाई नै अपराध करार गरी बौद्ध भिक्षुहरूलाई देश निकाला गरेको पाइन्छ, बौद्ध जागरणमा संलग्न भएकै कसूरमा कतिपय बौद्धलाई कोर्दा हान्नुका साथै जेल सजाँय दिएको छ । राणा शासनको पछिल्लो कालमा भएको यही घटनाको प्रभाव अझै पनि पाइन्छ भने शासकीय चरित्रमा पनि खासै सुधार आएको पाइँदैन । 

माथि उद्धृत फेसबुकको पोस्ट दशैंको संघारमा र दशैंको बली प्रथाको सन्दर्भमा आएको भनेर बुझ्न सकिन्छ । दशैंमा देवीको नाममा पशुपंक्षीहरूको बली दिइन्छ । दशैंलाई राष्ट्रिय चाडको रूपमा स्थापित गर्न राज्यले गरेको लगानी बहसको अर्को पाटो हो । स्वयं राज्यले दशैं र बलीलाई पर्यायजस्तै प्रचार गर्ने र बलिका लागि राजकर्मचारीहरूलाई अतिरिक्त खर्चसमेत दिने गर्दछ । हिंसारहित दशैं पनि मनाउन सकिने हिन्दू धर्मकै शास्त्रीय मान्यतालाई पनि राज्यले प्रोत्साहन नै नगरेको अवस्थामा बुद्धको कुरा तपसिलको विषय हुनजान्छ । बुद्ध र दशै दुई बेग्लाबेग्ले विषयवस्तु हो र एकै ठाउँमा मिसाउनु मनासिब हुँदैन । तर बुद्धको शिक्षामा अहिंसाको कुरा जरुर आउँछ र बुद्धले दिएको अहिंसाको शिक्षा दशैंको विरुद्ध छैन । यस अवस्थामा दशैं वा अन्य धर्मको सवालमा बुद्ध र बौद्ध धर्मलाई जोड्नु सान्दर्भिक हुँदैन बरु बौद्ध धर्म र बुद्धको शिक्षामा चासो राख्नुले केही महत्वपूर्ण अर्थ राख्दछ । 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
Basanta Maharjan

More from Basanta Maharjan

Explore more articles by this author
मोहनी नखःको नःलास्वां 

मोहनी नखःको नःलास्वां 

जसरी मोहनी र दशैं एउटै होइन, त्यसरी नै दशैंको जमरा र मोहनीको नःलास्वां पनि उस्तोउस्तै देखिएपनि उही होइन  ।...

नेवार, नेपाल र नेपालमण्डल

नेवार, नेपाल र नेपालमण्डल

‘नेवार’का सम्बन्धमा कुरा गर्दा ‘नेपाल’ को कुरा स्वभावतः आउँछ नै । साथसाथै ‘नेपालमण्डल’ को सन्दर्भ पनि आइरहेको हुन्छ । कत...

नेवार र मल्लकाल

नेवार र मल्लकाल

नेवार अध्ययनका प्रायः अध्येताको ध्यान मल्लकालमा सोझिनु ऐतिहासिक दृष्टिले अलि संकुचित हुनु हो । यस अवस्थामा सर्वसाधारण ने...

बौद्ध वा हिन्दूको प्रश्नमा अल्मलिएका नेवार

बौद्ध वा हिन्दूको प्रश्नमा अल्मलिएका नेवार

कोही नेवारलाई कसैले ‘तिमी बौद्ध हो कि हिन्दू ?’ भनेर सोध्योभने साधारणतः त्यो नेवार अल्मलिन्छ । वास्तविकता त के हो भने, ए...

नेवारसँग किन धेरै संस्कृति ?

नेवारसँग किन धेरै संस्कृति ?

नेवारको पहिचान संस्कृतिमा सम्पन्न समुदायको रुपमा रहेको पाइन्छ । नेपाली समाजमा संस्कृतिको सवाल उठ्दा नेवारको नाम छुट्दैन ...

नेवार र नेपालभाषा

नेवार र नेपालभाषा

जसरी तामाङको तामाङ भाषा, मगरको मगर भाषा, गुरुङको गुरुङ भाषा हुन्छ, त्यसरी नै......

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्