बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन
काठमाडौं, असोज २७ । नेपालको एकीकरण र राष्ट्रिय स्वाधीनताको इतिहाससँग जोडिएका बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन गरिएको छ। सञ्चारमन्त्री बिक्रम तिमिल्सिनाले दुवै ऐतिहासिक व्यक्तित्वको सम्मानमा प्रकाशित हुलाक टिकट तथा प्रथम दिवसीय टाँचा लगाउने कार्यले नेपालको इतिहासलाई समावेशी दृष्टिले हेर्न महत्त्वपूर्ण सन्देश दिएको बताएका छन्।
मन्त्री तिमिल्सिनाले बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन तथा प्रथम दिवसीय टाँचा लगाउन पाउँदा गर्व र सन्तोष अनुभूति भएको बताए। उनले यस महत्त्वपूर्ण कार्यका लागि हुलाक सेवा विभाग र सम्बन्धित सबैलाई धन्यवादसमेत दिए।
नेपालको इतिहास निर्माणमा विभिन्न व्यक्ति र समुदायको योगदान रहे पनि सबैको योगदानले समान रूपमा राष्ट्रिय पहिचान र सम्मान पाउन नसकेको उनको भनाइ छ। बिसे नगर्ची र बाङ्गे सार्कीको योगदानलाई राष्ट्रिय पहिचान दिनु ऐतिहासिक रिक्तता पूरा गर्ने दिशामा अर्थपूर्ण कदम भएको उनले बताए।
इतिहास निर्माणमा योगदान गर्ने सबैको समान सम्मान न्यायपूर्ण समाजको आधार भएको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले यी दुई व्यक्तित्वको सम्मानलाई समग्र दलित समुदायको आत्मसम्मान, पहिचान र गौरवसँग जोडेर हेर्नुपर्ने बताए।
बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशनले नेपालको एकीकरण र राष्ट्रिय स्वाधीनतामा दलित समुदायले पुर्याएको योगदानलाई राष्ट्रिय इतिहासमा उचित स्थान दिनुपर्ने सन्देश दिएको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment