ठमेल क्षेत्रमा अनैतिक गतिविधिमा संलग्न २० विदेशी महिला पक्राउ
काठमाडौं, चैत ११ । नेपाल प्रहरी अन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौं ले ठमेल क्षेत्रमा अनैतिक तथा अभद्र गतिविधिमा संलग्न रहेको आरोपमा २० जना विदेशी महिलालाई पक्राउ गरेको जनाएको छ।
परिसरले जारी गरेको प्रेस विज्ञप्तिअनुसार काठमाडौंको ठमेल क्षेत्रमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी केही व्यक्तिहरूले सार्वजनिक स्थानमै अवैध रूपमा यौनजन्य क्रियाकलाप सञ्चालन गर्दै आएको र बाटो हिँड्ने सर्वसाधारणलाई समेत दुःख हैरानी दिने गरेको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।
सो क्रममा ठमेल स्थित विभिन्न स्थानमा निगरानी तथा चेकजाँच गर्दा काठमाडौं महानगरपालिका–२६ अन्तर्गत ठमेल क्षेत्रमा सडक किनार र सार्वजनिक स्थलहरूमा शंकास्पद गतिविधिमा संलग्न भेटिएका २० जना युगाण्डाका नागरिक महिलालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूले पर्यटक तथा सर्वसाधारणलाई अनावश्यक रूपमा बाटो छेक्ने, अश्लील प्रस्ताव राख्ने तथा अनैतिक क्रियाकलापसम्बन्धी मोलमोलाइ गर्ने जस्ता गतिविधि गर्दै आएका थिए। पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अभद्र व्यवहारसम्बन्धी मुद्दामा प्रक्रिया अघि बढाइएको जनाइएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट थप अनुमति लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको र यस्ता गतिविधि नियन्त्रण गर्न नियमित निगरानीलाई थप कडाइ गरिने प्रहरीले जनाएको छ ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment