२० श्रावण २०८३, बुधबार

नरेश श्रेष्ठ र फोटोग्राफी


अ+
अ-

क्यामेरा छ, भ्यू फाइन्डर छ र क्लिक बटम पनि छ । के चाहियो र ? क्लिक गरेपछि फोटो बनिहाल्छ, फोटोग्राफर भइ हालिन्छ, भन्ने सोच सामान्य होला तर यो हिसावकिताबले फोटोग्राफी हुँदैन ।  सानो बटनमा ‘क्लिक्’ गरेर जो कोही पनि ‘क्लिकर’ त बन्न सक्लान्, तर फोटोग्राफर होइन । एउटा फोटोका लागि आवश्यक अवयवका रुपमा रहेका कुराहरु मिलाएर जसले ‘क्लिक्’ गर्छ ऊ बल्ल फोटोग्राफर बन्छ । फोटोग्राफीको पनि विभिन्न आयाम, उद्देश्य र गन्तव्य हुन्छन् र ती फरक फरक भएजस्तै फाटोग्राफरहरुको पनि पहिचान बन्छ भन्ने मान्यता यो क्षेत्रको। 

अनेकौं पहिचानहरुको भीडमा एउटा पहिचान हो, फोटोग्राफर नरेश श्रेष्ठ । र, उनको फोटोग्राफी । बहीखाता राखेजस्तै उनी कतिपय ऐतिहासिक घटनाक्रमहरुलाई फोटोग्राफीमार्फत अभिलेख राख्छन् । आफूलाई व्यक्त गर्न कविले कलम समाएजस्तै उनी क्यामेरा चलाउँछन् । 

२०२० साल पुस ११ गते सुनसरी जिल्ला, रामधुनी नगरपालिका -३ सिंगियामा पिता कृष्णमान श्रेष्ठ र माता विष्णुमायाबाट जन्मिएका नरेश श्रेष्ठले निरन्तर क्यामेरा चलाउन थालेको पनि चार दशक पुयो । २०३८ सालको अन्त्यतिर फोटोग्राफीको तालिम लिई स्टूडियो फोटोग्राफी गर्दै र क्याम्पसको विद्यार्थी पनि भई विद्यार्थी राजनीतिलाई नजिकबाट नियाल्ने काम सँगसँगै भयो । त्यो बेला खुल्ला रुपमा राजनीतिक गतिविधि हुँदैनथ्यो । उनी चुनावको बेला हुने कार्यक्रम तथा जुलुसहरुको पनि फोटो खिच्थे । उनमा फोटोपत्रकारिताको बीजांकूर त्यसैबेला भएको मान्नु पर्दछ । 

२०४६ सालको जनआन्दोलनमा फोटो पत्रकारिता नेपालमा फस्टाइसकेको थिएन र आन्दोलनका दृष्यहरु क्यामेरामा खिच्नु पनि कम जोखिमपूर्ण हुँदैनथ्यो । फोटोग्राफरमाथि पनि प्रहरीहरु जाइलाग्थे र गाली गर्नु, कुट्नु उनीहरुका लागि सामान्य कुरा हुन्थ्यो, मानौं  फोटोग्राफरहरु पनि आन्दोलनकर्ता हुन् । भर्खर भर्खर क्यामेरा प्रविधिको ज्ञान हासिल गरेका र आन्दोलनको फोटोग्राफी कसरी गर्ने भन्ने आधारभूत जानकारीसमेत नभएको अवस्थामा पनि नरेश श्रेष्ठले थुप्रै फोटो खिच्न भ्याए र ती ऐतिहासिक क्षणहरुलाई फोटोग्राफीमा सुरक्षित राखे । जनआन्दोलन पछिको नेपाली समाजलाई उनले गहिरिएर नजिकबाट अध्ययन गरे र प्रायः महत्वपूर्ण घटनाहरूको फोटोग्राफी छुटाएनन् । यस अवधिमा राजनीतिक, सामाजिक, साँस्कृतिक, साहित्यिक तथा भूदृष्यका फोटोग्राफी गरेर आफ्नो क्षेत्र विस्तार गर्नुका साथै उनले व्यावसायिक जीवन मात्रै चालू राखेनन् अपितु अवैतनिक राष्ट्रसेवकको रुपमा पनि रहे । इतिहास अध्ययन गर्नेहरुका लागि पुरातात्विक अवशेषहरुको महत्व रहेजस्तै महत्वपूर्ण कुरा हो, तत्कालीन फोटोग्राफीहरु । ऐतिहासिक श्रोतसामग्रीलाई केलाएर तत्कालीन समाज, संस्कृति, आर्थिक स्थिति तथा नेतृत्वका सम्वन्धमा थाहा पाउन सकिएजस्तै अब फोटोग्राफी पनि ऐतिहासिक श्रोतसामग्रीको रुपमा दरिन पुगेको छ ।

नेपालमा फोटोग्राफीको इतिहास राणाकालमा सुरू भयो । त्यति बेलाको स्थिति बुझ्ने एउटा माध्यम फोटोग्राफी पनि हो । भलै त्यति बेला थोरै फोटो खिचियो, ती मध्ये धेरै त नष्ट भयो । अब ती दुर्लभ फोटोहरुको संरक्षण गर्ने चेत आउनुको अर्थ हो, वर्तमानका घटनाक्रमहरुको फोटोग्राफीको महत्व बुझ्नु अर्थात् आजका यी सामग्रीहरु भोलिका लागि ऐतिहासिक निधि हुन्छन् ।

फोटोग्राफीका अभियन्ता नरेश श्रेष्ठको सोच ज्यादाजसो अभिलेखीकरण गर्नु देखिन्छ । अहिलेका प्रभावशाली राजनैतिक नेताहरुको विगतलाई उनले आफ्नो क्यामेरामा खिचेर सुरक्षित राखेका छन् । तिनीहरुको व्यक्तित्वको विकास कुन रुपमा हुँदै आएको रहेछ भन्ने अध्ययन गर्न यो जतिको भरपर्दो माध्यम अरु हुन सक्दैन । आज आदिकवि भानुभक्त आचार्यको मुहार भनेर हामी जुन दृष्य वा तस्वीरलाई मानसपटलमा सजाएर राखेका छौं त्यो त नाटककार बालकृष्ण समको फगत कल्पना मात्रै हो । समले भानुभक्तलाई देखेकै थिएनन् । कोरा कल्पनाको सहारा लिनु पर्ने वाध्यतालाई फोटोग्राफीले हटाउन सक्छ र नेपालका लेखक-कलाकारलगायत विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरुको विभिन्न कोण र आयामबाट खिचेर उहाँले संकलन गर्नु भएका फोटोग्राफीहरुको संग्रहको आकार बृहत्त नै मान्नु पर्दछ । उहाँको संग्रहमा रहेका ती तस्वीरहरुले वर्तमानमा नै कतिपय क्षेत्रलाई सहज बनाइदिएको छ भने भविष्यका लागि ऐतिहासिक श्रोतसामग्री हुन् । 

श्रेष्ठका स्थानीय, राष्ट्रियरअन्तरराष्ट्रिय  पत्रपत्रिका, म्यागेजिन, अनलाइन र पुस्तकहरूमा थुप्रै फोटोहरू प्रकाशित भएका छन् । नरेश श्रेष्ठ आफू मात्रै फोटो खिच्दैनन्, फोटो खिच्ने कला पनि सिकाउँछन् । दशकौदेखि रत्न राज्यलक्ष्मी क्याम्पसमा फोटोपत्रकारिता बिषय अध्यापन गरिरहेका उनी हाल नेपाल फोटो पत्रकार महासंघ (FNPJ)का महासचिव हुन् र सो महासंघद्वारा प्रकाशित हुने "फोटोपत्रकारिता" म्यागेजिनको सम्पादन पनि गर्छन् । त्यस्तै उनी राष्ट्रिय फोटो पत्रकार समूह (NFPJका संस्थापक सचिव पनि हुन् । उनले फोटोग्राफीर फोटोपत्रकारितासम्बन्धी लेखेका विचारर लेखहरू विभिन्न पत्रपत्रिका, म्यागेजिन र अनलाइनमा प्रकाशित भइरहन्छन् ।  ‘तस्वीर-२०६२’ नामको एउटा पिक्टोरियल किताब पनि प्रकाशित छ । 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

अन्य लेखहरू: बसन्त महर्जन

यस लेखकका अन्य रोचक लेखहरू
होस/बेहोस (लघुकथा)

होस/बेहोस (लघुकथा)

मदिरालयमा बडो मज्जाले मदिरापान गरेको थिएँ । त्यही भएर बाहिर निस्कँदा......

बौद्ध चारधामको महत्व

बौद्ध चारधामको महत्व

विश्व बौद्धजगत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, बोधिलाभस्थल बोधगया, प्रथम धर्मचक्रप्रवत्र्तनस्थल सारनाथ र महापरिनिर्वाणस्...

आमा बाबुको मुख हेर्ने पर्व

आमा बाबुको मुख हेर्ने पर्व

आमाबाबुलाई आदरसत्कार नगर्नु भनेर कसले भन्छ र ? तर सबै धार्मिक समुदायमा ‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ पर्व त छ...

महाराज क्राचल्ल र बौद्ध धर्ममा उनको योगदान

राजा क्राचल्लले आफूलाई ‘परमसौगात’ अर्थात् बुद्धका ठुलो उपासक भनेर चिनाउन मन पराउने राजा हुन् । यसबाट उनी बौद्ध धर्मका उप...

बडामहाराजा नागराज र बौद्ध धर्ममा उनको योगदान

कीर्तिखम्बमा उल्लेखित विवरण राजा नागराज र उनका उत्तराधिकारीहरुका सम्बन्धमा हो । तिब्बती श्रोतहरुले पनि यही विवरण प्रस्तु...

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति चोरी हुनु धेरै दुःखदायी हो । झिल्के बनाएर यसको सत्यानाश नै गरिदिनु थप दुःखदायी हो । मूर्तिचोरीमा संलग्न हुनेहरु न...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्