राष्ट्रिय युवा परिषदद्वारा “मिडिया र सूचना साक्षरता अभिवृद्धि कार्यढाँचा, २०८२” सार्वजनिक
काठमाडौं, फागुन ५ । राष्ट्रिय युवा परिषद्, युनेस्को तथा युथ इनोभेसन ल्याबको सहकार्यमा, सम्बन्धित सरकारी निकायहरू, युवा केन्द्रित संघसंस्थाहरू तथा विषयगत विज्ञहरूसँग व्यापक परामर्श समेत गरी “मिडिया र सूचना साक्षरता अभिवृद्धि कार्यढाँचा, २०८२” सार्वजनिक गरिएको छ ।
राष्ट्रिय युवा परिषद् (उपाध्यक्षस्तर)बाट पुस १७ गते स्वीकृत यस कार्यढाँचाबाट डिजिटल युगमा बढ्दो मिथ्या सूचना, दुष्प्रचार, अनलाइन उत्पीडन तथा साइबर सुरक्षासम्बन्धी चुनौतीहरूको सामना गर्न युवाहरूलाई सक्षम र सशक्त बनाउन सहजीकरण हुने अपेक्षा गरिएको छ । यस क्षेत्रको अनुभव, आवश्यकता र सुझावहरूलाई आत्मसात गर्दै यस कार्यढाँचाले युवा तथा युवाका क्षेत्रमा क्रियाशील संस्थाहरूलाई डिजिटल पद्धतिको उपयोगमा सचेत रही निर्णय लिन, जिम्मेवार अभ्यास अपनाउन र सुरक्षित रहन मार्गदर्शन प्रदान गर्नेछ ।
कार्यढाँचाको उद्देश्यबारे प्रकाश पार्दै राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले डिजिटल क्षेत्रमा सूचनाको जिम्मेवार र सुरक्षित प्रवाह प्रवद्र्धन गर्नु यस कार्यढाँचाको प्रमुख अभिप्राय रहेको बताए । गौतमले नागरिकलाई डिजिटल प्लेटफर्मको पहुँच, बुझाइ, मूल्याङ्कन तथा नैतिक प्रयोगमा सक्षम बनाउँदै गलत तथा भ्रामक सूचनाको अनावश्यक प्रसारबाट स्वयं र समाजलाई सुरक्षित राख्न यस कार्यढाँचाले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।
यसै सन्दर्भमा युनेस्को प्रतिनिधि याको दु तोइले सन् २०२५ मा कोलम्बियामा सम्पन्न ग्लोबल मिडिया तथा सूचना साक्षरता सप्ताहबाट प्रेरित हुँदै नेपालले प्रत्येक युवालाई दक्षता, जिम्मेवारी र नैतिकतासहित अनलाइन सहभागिताका लागि मिडिया तथा सूचना साक्षरताको प्रवद्र्धनलाई तीव्रता दिएको उल्लेख गरे ।
राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०८२ को भावना अनुरूप निर्माण गरिएको यस कार्यढाँचाले ज्ञानमा आधारित समाज निर्माणमा युवाको भूमिकालाई सुदृढ बनाउने उद्देश्य राखेको छ । इन्टरनेट र डिजिटल माध्यमको बढ्दो प्रयोगसँगै उत्पन्न जोखिमलाई मध्यनजर गर्दै युवाहरूमा आलोचनात्मक सोच, मिडिया तथा सूचना साक्षरता, डिजिटल सीप र जिम्मेवार सूचना उपभोगसम्बन्धी क्षमता विकास अपरिहार्य भएकाले यो कार्यढाँचा अत्यन्तै महत्वपूर्ण मानिएको छ ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment