५ बैशाख २०८३, शनिबार

गथांमुगःमा किन गरिन्छ भूतको पूजा ?


अ+
अ-

प्रत्येक श्रावण शुक्ल चतुर्दशीका दिन नेवार समाजमा गथांमुगः चाड मनाइन्छ। गथांमुगः सोझै धर्मसँग सम्बन्धित छैन तर अचेल यसबारे थुप्रै कथा बुनिएका छन्।

जस्तो कि ईश्वरको कुरा सुन्न नपरोस् भनेर कानमा घण्ट झुण्ड्याएर हिंड्ने भएकाले गथांमुगः लाई ‘घन्टाकर्ण’ का नाममा बेग्लै न्वारान समेत गरिएको छ। ‘गठेमंगल’ पनि भनिएको सुनिन्छ। तर, यी सबै यो पर्वको सांस्कृतिक विचलन र अपव्याख्या हो।

हिन्दू तथा बौद्ध धर्मसँग सम्बन्धित कतिपय सांस्कृतिक पर्व नेवार समाजमा वेग्लै ढंगले हुर्केको पाइन्छ। यसो हुनुको कारण यहाँको मौलिक मूल्य, मान्यता तथा परम्परा अनुकूल बाह्य संस्कृतिको ग्रहण हो।

वास्तवमा आदिम नेवार संस्कृति बुझ्न गथांमुगः एउटा साँचो हुनसक्छ। तर, नेवार संस्कृति बारे बोल्ने र कलम चलाउनेहरूमै यसबारे मतैक्य हुनसकेको छैन। यसको चुरो पर्वलाई हेर्ने हिन्दू वा बौद्ध दृष्टिकोण हो। तर, यी धर्म उद्भव हुनुअघि नै स्थानीयस्तरमा विकसित संस्कृतिलाई के भन्ने ? कसरी विश्लेषण गर्ने?

हिन्दू तथा बौद्ध धर्मसँग सम्बन्धित कतिपय सांस्कृतिक पर्व नेवार समाजमा वेग्लै ढंगले हुर्केको पाइन्छ। यसो हुनुको कारण यहाँको मौलिक मूल्य, मान्यता तथा परम्परा अनुकूल बाह्य संस्कृतिको ग्रहण हो।

के हो गथांमुगः ?

प्रायः समाजले भूतको अस्तित्व स्वीकारेको पाइन्छ। भूतलाई नकारात्मक शक्तिका रूपमा लिइन्छ तर तन्त्र साधनाबाट भूतलाई वशमा ल्याई समाजको हितमा उपयोग गर्न सकिने सन्देश गथांमुगःले दिन्छ।

नेवार समाजमा मिथकको रूपमा प्रचलित ‘ख्याक’ पनि संस्कृतिकै एउटा पक्ष हो तर यो भूतभन्दा फरक हो। कसैले असामान्य ढंगले खाएको अवस्थामा ‘भूतले खाए’ जस्तो र असाध्य काम सम्पन्न भएको अवस्थामा ‘भूत दुब्यूवःथें’ (भूत चढेको जस्तो) भन्ने चलन पाइन्छ। गथांमुगः बुझ्न यो ख्याक बुझ्नुपर्छ।

रोपाइँका चटारोमा श्रमशक्ति अत्यधिक मात्रामा चाहिने अवस्थामा खेतालाहरूमा भूत चढाउने साधना नेवार समाजमा परम्पराकै रूपमा रहेको थियो। भूत आमन्त्रण गर्ने यस्तो काम काठमाडौंमा सामूहिक रूपमा अक्षयतृतीयामा हुन्थ्यो भने अन्यत्र व्यक्तिगत रूपमा रोपाइँअघि आआफ्नो खेतमा। तर अहिले यो प्रचलन हराउँदै गएको छ।

साधनाद्वारा निम्त्याइएका भूतहरू मानव बस्तीमा आउने तथा घरघर पस्ने विश्वास छ। थाहै नदिई आफ्नो शरीरमा प्रवेश गर्ने रोपाइँजस्तो असाध्य काम पनि चालै नपाउने गरी सम्पन्न गर्ने शक्ति दिएकाले भूतलाई कृतज्ञता व्यक्त गर्ने गरिन्छ। तर भूतलाई स्थायी रूपमा घर तथा टोलमा राख्दा अनिष्ट हुने भयले श्रावण कृष्ण चतुर्दशीमा भूतको प्रतिकृतिका रूपमा गथांमुगः बनाई विधिवत् रूपमा विदाइ गरिन्छ।

भूतलाई पूजा गरी विदा गर्ने यो दिन बिहानै नुहाईधुवाई तथा घर सरसफाइ गरिन्छ। फलामको औंठी लगाउनाले भूतबाट छुटकारा पाइने विश्वास पनि पाइन्छ। केही दशकअघिसम्म यही दिन टोलटोलमा फलामको काम गर्ने नकर्मीहरूले फलामको औंठी बेच्ने गर्दथे।

यो दिन बिहानैदेखि टोल–टोलमा नर्कटको मुठाबाट बनाइएको गथांमुगः ठड्याउने गरिन्छ। कुनै टोलमा स्त्री भूत बनाइन्छ भने कुनै टोलमा पुरुष भूत। स्त्री र पुरुष भूत छुट्याउनका लागि योनी र जनेन्द्रियको आकार दिइएको हुन्छ। नाङ्लो वा कागजमा अनुहार लेखेर टाँसिएको पनि देखिन्छ।

कीर्तिपुरमा भने भूतलाई मान्छे जस्तै शुरूमा बच्चाका स्वरुपमा सानोसानो र पछि क्रमशः ठूलो बनाएर साँझ नदीकिनारमा सेलाउन लैजाने चलन छ। कपडाको पुतलीमा भूत पसेको हुनसक्छ भनेर गथांमुगःको शरीरमा पुतली झुण्ड्याउने चलन पनि छ। भक्तपुरमा भने नर्कटको नभई छ्वालीको गथांमुगः बनाइन्छ र जलाइन्छ।

टोलमा गथांमुगः बनाउने तथा सेलाउने उपक्रम चलिरहेकै वेला घरका एउटा कुनामा भने लिपपोत गरी छ्वालीका दुई मुठा ठड्याइरहेको हुन्छ। अरू वेला पूजा सामग्रीका रूपमा असामान्य मानिने मासु, रगतको डल्लो, भुस, च्वकाबजि (चिउराको धूलो), विभिन्न वनस्पतिका पात, पीठोको रोटीलगायत भूतको पूजाको लागि नभई नहुने मानिन्छ।

टोलको गथांमुगः सेलाउन लगिसकेपछि घरमा बनाइएको छ्वालीको भूतलाई आगो लगाई बाहिर छ्वासः (प्रायः चौबाटोमा छुट्याइएको सांस्कृतिक स्थल) मा सेलाउन लगिन्छ। सेलाउने व्यक्तिले छ्वाली हातमा लिएदेखि नै पटक–पटक ठूल्ठूलो स्वरमा ‘हा भूत’ भनेर सम्बोधन गर्दै चौबाटोतर्फ लाग्छन्। अर्को छ्वालीको भूतलाई अरू नै व्यक्तिबाट घरमुनि वा नजिकै ढलमा सेलाइन्छ।

भूत सेलाउने व्यक्तिलाई हात–खुट्टा धोएर, पानीले छर्केर मात्र घरभित्र छिर्न दिइन्छ। घरभित्र समेबजि खुवाउने गरिन्छ। घरको दलानमा स्वकिं वा न्याकिं (तीन मुखी वा पाँच मुखी किला) ठोक्ने काम पनि यही वेला हुन्छ। त्यसपछि ढोका लगाइन्छ। अनि केही बेर घर बाहिर जाने, आउने काम बन्द हुन्छ।

गथांमुगःसँग सम्बन्धित सम्पूर्ण क्रियाकलापमा हिन्दू वा बौद्ध धर्मको कुनै पनि प्रभाव पाइँदैन। तर हिन्दू, बौद्ध सबैले परम्परागत रूपमा यो चाड मनाउँदै आएको पाइन्छ।

गथांमुगः संस्कृतिमा आदिम संस्कृतिको झलक देखिन्छ। यही झलक वा प्रभावबाट नेवार समाजमा प्रचलित अन्य चाडवाड तथा धार्मिक अभ्यासहरू निर्देशित हुने गर्दछ। जसको भेउ नपाएर वेलावेला अध्येताहरू नै अलमलमा पर्छन्। र, माथि भनिए जस्तै विरोधाभासमा फस्न पुग्छन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

अन्य लेखहरू: बसन्त महर्जन

यस लेखकका अन्य रोचक लेखहरू
आमा बाबुको मुख हेर्ने पर्व

आमा बाबुको मुख हेर्ने पर्व

आमाबाबुलाई आदरसत्कार नगर्नु भनेर कसले भन्छ र ? तर सबै धार्मिक समुदायमा ‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ पर्व त छ...

महाराज क्राचल्ल र बौद्ध धर्ममा उनको योगदान

राजा क्राचल्लले आफूलाई ‘परमसौगात’ अर्थात् बुद्धका ठुलो उपासक भनेर चिनाउन मन पराउने राजा हुन् । यसबाट उनी बौद्ध धर्मका उप...

बडामहाराजा नागराज र बौद्ध धर्ममा उनको योगदान

कीर्तिखम्बमा उल्लेखित विवरण राजा नागराज र उनका उत्तराधिकारीहरुका सम्बन्धमा हो । तिब्बती श्रोतहरुले पनि यही विवरण प्रस्तु...

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति चोरी हुनु धेरै दुःखदायी हो । झिल्के बनाएर यसको सत्यानाश नै गरिदिनु थप दुःखदायी हो । मूर्तिचोरीमा संलग्न हुनेहरु न...

नेवार समाजमा पाहाँचःह्रे चाड

नेवार समाजमा पाहाँचःह्रे चाड

विभिन्न जातीय समुदायको सांस्कृतिक जीवनको अध्ययन गर्दा एउटा समानता के देखिन्छ भने, वर्षभरिमा जेजति चाड पर्व मनाएपनि त्यसम...

नरेश श्रेष्ठ र फोटोग्राफी

नरेश श्रेष्ठ र फोटोग्राफी

अनेकौं पहिचानहरुको भीडमा एउटा पहिचान हो, फोटोग्राफर नरेश श्रेष्ठ । र, उनको फोटोग्राफी । बहीखाता राखेजस्तै उनी कतिपय ऐतिह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्