विपद् प्रभावितले पाउने क्षतिपूर्ति दोब्बर, भोटेकोशी बाढीपीडितलाई सहुलियतपूर्ण ऋण


अ
अ+
अ-

ललितपुर, मंसिर १२ । सरकारले विपद् प्रभावित परिवारलाई उपलब्ध गराउँदै आएको क्षतिपूर्ति तथा राहत रकम दोब्बर बनाउने निर्णय गरेको छ। भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुका साथै विद्यमान ऋणको पुनर्संरचना गरी एक वर्ष म्याद थप गर्ने निर्णयसमेत गरिएको छ।
विपद् पूर्वतयारी सञ्जाल नेपाल (डिपीनेट–नेपाल) को १८औँ वार्षिक साधारणसभा तथा प्राविधिक ज्ञान आदानप्रदान कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सरकारका पछिल्ला निर्णयबारे जानकारी दिएका हुन्।
उनका अनुसार शुक्रबार गृहमन्त्रीको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले विपद् प्रभावितलाई प्रदान गरिने क्षतिपूर्तिसम्बन्धी निर्देशिका परिमार्जन गर्दै राहत रकम दोब्बर बनाउने निर्णय गरेको हो। यसअघि प्रतिपरिवार मधेसमा दुई लाख, पहाडी क्षेत्रमा तीन लाख र हिमाली क्षेत्रमा चार लाख रुपैयाँ क्षतिपूर्ति दिने व्यवस्था रहेकामा अब उक्त रकम दोब्बर बनाइएको उनले बताए।
भोटेकोशी बाढी प्रभावितलाई विशेष सहुलियतपूर्ण ऋण उपलब्ध गराउने र उनीहरूले लिएको विद्यमान ऋणको पुनर्संरचना गरी एक वर्षसम्म म्याद थप गर्ने व्यवस्था मिलाइएको पनि उनले जानकारी दिए।
राहत वितरणमा सरकारले 'सम्पूर्ण समाजको सहभागिता' को अवधारणा अवलम्बन गरेको उल्लेख गर्दै डा. उप्रेतीले सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट उपलब्ध हुने सहयोगलाई एउटै मापदण्ड र व्यवस्थापन प्रणालीभित्र राख्नुपर्ने बताए। राहत वितरणमा केही ढिलाइ भए पनि प्रभावितसम्म सहयोग पुर्‍याइएको र त्यसमा पारदर्शिता कायम गरिएको उनको भनाइ थियो।
उनले रसुवा–भोटेकोशी बाढीमा बेपत्ता भएकामध्ये थप तीन हजार नौ सय जनालाई मृतक घोषणा गरिएको जानकारी दिँदै बेपत्ता व्यक्तिलाई मृतक घोषणा गर्ने कानुनी तथा प्रशासनिक प्रक्रियाको समयावधि घटाएर ४५ दिन कायम गरिएको बताए। उक्त विपद्मा ३४ देशका नागरिकसमेत प्रभावित भएको उनले उल्लेख गरे।
विपद्पछिको पुनर्निर्माण र आर्थिक पुनरुत्थानलाई दीर्घकालीन योजनासँग जोड्नुपर्नेमा जोड दिँदै उनले दिगो बस्ती व्यवस्थापन तथा स्थायी आर्थिक पुनरुत्थानका लागि समिति गठन गरिएको जानकारी दिए। रसुवागढीदेखि गजुरीसम्म आर्थिक क्षेत्र विकास गर्ने योजना पनि अघि सारिएको उनले बताए।
विपद् व्यवस्थापनमा प्रविधि र सूचनाको प्रयोगलाई प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै डा. उप्रेतीले मृतकको पहिचानका लागि डीएनए परीक्षणको क्षमता बढाइएको र गलत तथा भ्रामक सूचनाविरुद्ध प्राधिकरणले काम गरिरहेको बताए। आगामी दिनमा बाढीको जोखिम वर्गीकरण गरी सोहीअनुसार पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।
विपद् पूर्वसूचना प्रणालीमा सुधारको आवश्यकता
साधारणसभाअघि आयोजित प्राविधिक सत्रमा नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक बिनोदचन्द्र श्रेष्ठले विपद्को पूर्वसूचनाका लागि सेल ब्रोडकास्टिङ प्रविधिको सम्भावना, आवश्यकता र कार्यान्वयनका विषयमा प्रस्तुति दिएका थिए। मोबाइल नेटवर्कमा अत्यधिक चाप भएको अवस्थामा समेत लक्षित क्षेत्रमा एकैपटक सूचना प्रवाह गर्न सकिने यो प्रविधि विपद् पूर्वसूचनाका लागि उपयोगी हुने उनको प्रस्तुतीकरणको निष्कर्ष थियो।
त्यसैगरी जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका डा. बिनोद पराजुलीले रसुवागढी–भोटेकोशी बाढीको अनुभव र पूर्वसूचना प्रणालीमा देखिएका चुनौतीबारे प्रस्तुति दिएका थिए।
उनले भोटेकोशी बाढीका क्रममा सूचना प्राप्ति, प्रमाणीकरण र एसएमएसमार्फत चेतावनी पठाउने प्रक्रियामा समय लागेको तथा बाढीको तीव्र गतिका कारण परम्परागत पूर्वसूचना प्रणालीले पर्याप्त समय उपलब्ध गराउन नसकेको बताए। बाढीको प्रारम्भिक संकेत प्राप्त भएदेखि सूचना प्रवाहसम्म लागेको समयलाई एकदेखि दुई मिनेटमा झार्नुपर्ने आवश्यकता औँल्याउँदै उनले मौसम, जलविज्ञान, भूकम्पीय तथा अन्य तथ्याङ्कलाई एउटै प्रणालीमा एकीकृत गर्नुपर्ने बताए।
उनका अनुसार भोटेकोशी जलाधारमा बहुस्रोतमा आधारित पूर्वसूचना प्रणाली विकास गर्ने तयारी भइरहेको छ। यसका लागि स्वचालित मापन केन्द्र, जलविज्ञान तथा भूकम्पीय सेन्सरको अवस्था अध्ययन गरी आवश्यक स्थानमा थप उपकरण जडान गर्ने योजना छ। भोटेकोशी क्षेत्रबाट परीक्षण सुरु गरी सफल भए अन्य जलाधारमा समेत विस्तार गर्ने लक्ष्य रहेको उनले बताए।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज बलियो बनाउन डिपीनेटको नेतृत्व

⠿ drag

डिपीनेट नेपालका अध्यक्ष डा. बसन्तराज अधिकारीले सञ्जाल सदस्य संस्था तथा साझेदारहरूको सहयोगबाट अघि बढिरहेको उल्लेख गर्दै संस्थाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपस्थिति बलियो रहेको बताए। सदस्य संस्थाको हितविपरीत परियोजना सञ्चालन नगर्ने संस्थागत समझदारी रहेको उल्लेख गर्दै उनले डिपीनेटलाई अझ प्रभावकारी बनाउन सदस्यहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
आगामी एसिया प्रशान्त विपद् जोखिम न्यूनीकरण मन्त्रीस्तरीय सम्मेलन (एपीएमसीडीआरआर) मा सन् २०३० पछिको सेन्डाई कार्यढाँचाबारे हुने छलफलमा नेपालको साझा आवाज प्रस्तुत गर्न डिपीनेटले नेतृत्व गर्ने उनले बताए। भोटेकोशी बाढीको अनुभव र सिकाइलाई अन्तर्राष्ट्रिय मञ्चमा दस्तावेजका रूपमा प्रस्तुत गर्ने तयारीसमेत भइरहेको उनको भनाइ थियो। यसका लागि सदस्य संस्था र साझेदारहरूको सहयोग आवश्यक रहेको उनले बताए।
महासचिव ई. सुरज गौतमले डिपीनेट नेपालले विपद् जोखिम न्यूनीकरणसम्बन्धी ज्ञान व्यवस्थापन, समन्वय तथा सञ्जाल विस्तार, क्षमता अभिवृद्धि र नीतिगत पैरवी गरी चार प्रमुख क्षेत्रमा काम गर्दै आएको बताए। संस्थाको करिब दुई दशकको यात्रामा भएका उपलब्धिलाई संस्थागत गर्दै बदलिँदो विपद् जोखिमअनुसार आगामी कार्यदिशा तय गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा उपाध्यक्ष केशवदत्त भट्टले स्वागत मन्तव्य व्यक्त गर्दै पछिल्लो भोटेकोशी–रसुवागढी बाढीले विपद् पूर्वतयारी, प्रभावकारी समन्वय, प्रतिकार्य र सुरक्षित पुनर्लाभको महत्त्वलाई पुनः उजागर गरेको बताए।
कार्यक्रममा विपद् प्रतिकार्यका अनुभव, मानवीय सहायता तथा जवाफदेहिता, स्पेयर मापदण्डको परिमार्जन र शीतलहर तथा चिसो मौसमको पूर्वतयारीलगायत विषयमा छलफल गरिएको थियो।
प्राविधिक सत्रपछि आयोजित साधारणसभामा संस्थाको विगतका गतिविधि, उपलब्धि र आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
बालविवाह अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक

बालविवाह अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक

बालविवाह अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक...

रसुवा–भोटेकोशी बाढीमा बेपत्ता स्वदेशी तथा विदेशीलाई मृत घोषणा गर्न सिफारिस

रसुवा–भोटेकोशी बाढीमा बेपत्ता स्वदेशी तथा विदेशीलाई मृत घोषणा गर्न सिफारिस

रसुवा–भोटेकोशी बाढीमा बेपत्ता स्वदेशी तथा विदेशीलाई मृत घोषणा गर्न सिफारिस...

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान: यौन हिंसासम्बन्धी प्रस्तावित विधेयकमा सुधारको खाँचो

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान: यौन हिंसासम्बन्धी प्रस्तावित विधेयकमा सुधारको खाँचो

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान: यौन हिंसासम्बन्धी प्रस्तावित विधेयकमा सुधारको खाँचो...

हिमाली जडीबुटी र वनस्पतिको दिगो व्यवस्थापनका लागि क्षेत्रीय सहकार्यमा जोड

हिमाली जडीबुटी र वनस्पतिको दिगो व्यवस्थापनका लागि क्षेत्रीय सहकार्यमा जोड

हिमाली जडीबुटी र वनस्पतिको दिगो व्यवस्थापनका लागि क्षेत्रीय सहकार्यमा जोड...

हिंसाविरुद्धको प्रतिबद्धता पीडितले पाउने न्याय र सुरक्षामा देखिनुपर्छ : मन्त्री बादी

हिंसाविरुद्धको प्रतिबद्धता पीडितले पाउने न्याय र सुरक्षामा देखिनुपर्छ : मन्त्री बादी

हिंसाविरुद्धको प्रतिबद्धता पीडितले पाउने न्याय र सुरक्षामा देखिनुपर्छ : मन्त्री बादी...

बालबालिकामा लगानी गर्न सरकारलाई सिविनको आग्रह

बालबालिकामा लगानी गर्न सरकारलाई सिविनको आग्रह

बालबालिकामा लगानी गर्न सरकारलाई सिविनको आग्रह...