जेष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा
काठमाडौँ, माघ १८ । "असक्त हुँदा महानगरपालिकाको सेवा जेष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा" भन्ने नारासहित काठमाडौं महानगरपालिकाले ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम अघि सारेकाे छ ।
कार्यवाहक प्रमुख सुनिता डंगोलले आफ्नो फेसबुकमा लेखेकी छन्- "अब स्वास्थ्य सेवा अस्पतालमै मात्र सीमित रहने छैन। ७० वर्षभन्दा माथिका अभिभावकहरूका लागि घरमै आधारभूत स्वास्थ्य सेवा काठमाडौँ महानगरपालिकाले आजबाट सुरु गर्दैछ। स्वास्थ्य सर्वेक्षणदेखि स्वास्थ्य प्रवर्द्धनसम्मको सहजीकरण, नियमित परीक्षण, आवश्यक औषधि, परामर्शदेखि जटिल अवस्थामा अस्पतालसम्मको सहजीकरण—सबै सेवा घरदैलोमै।
७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाले जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्था सर्वेक्षणको काम आजबाट सुरु गर्दैछ । सर्वेक्षणका लागि घरघरमा जाने नर्सिङ् कर्मचारीका लागि तालिमपछि स्वास्थ्य परीक्षण गर्ने सामग्री, औषधि र सर्वेक्षण गर्ने ट्वाबलेटसहितका साधन प्रदान गरिएको छ ।
सर्वेक्षणमा जाने स्वास्थ्यकर्मीलाई अपेक्षित नतिजाका विषयमा कुरा गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले भनिन्, ‘यो तपाईँहरुको पदीय जिम्मेवारी मात्र होइन । मानवीय सेवाको काम पनि हो । त्यसैले जिम्मेवारी पूरा गर्न होइन । कोही नभएका र केही नभएका ज्येष्ठ नागरिकलाई हाम्रा लागि पनि कोही रहेछन् । पर्दा सहयोग पाइने रहेछ भन्ने मनदेखि नै अनुभूति गराउने आचरण गर्नुहोला ।’ सर्वेक्षणमा जाँदा कुनै पनि प्रकारबाट नतिजा प्राप्त गर्नुमा जोड दिँदै भन्नुभयो, ‘आपत टार्ने पैसा नहुँदा, अप्ठ्यारो पर्दा साथ दिने कोही नहुँदा तपाईँले सोचेको जस्तो व्यवहार ज्येष्ठ नागरिकबाट प्राप्त नहुन सक्छ । यसलाई स्वभाविक ठान्नू । उहाँहरुलाई सम्झाउनु बुझाउनु, सहज वातावरण बनाएर काम गर्नू ।’कार्यवाहक प्रमुख सुनिता डंगोलले भनिन् ।
‘बदलिँदो सामाजिक परिवेशले सन्तान विदेशमा र आमाबुबा स्वदेशमा भएको अवस्था छ । काठमाडौँमा भएका आमाबुबाको स्वास्थ्य अवस्था, कागजमा लेखेको पढे पनि वास्तविकता थाहा नहुन सक्छ । आमाबुबाले सही कुरा सुनाउन नसक्ने हुन सक्छ । परामर्शमा भनिएका कुरा कागजमा हुँदैनन् । यसकारण उहाँहरुको अवस्था विदेशमा भएका सन्तानलाई थाहा दिएर स्वस्थ्य जीवनका लागि सहयोग गर्न टेलि मेडिसिन प्रणाली बनाउँदैछौँ ।’कार्यवाहक प्रमुख सुनिता डंगोलले भनिन् , ‘आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको अधिकार सुनिश्चित गराउँछौँ । महानगरपालिकाको सन्देश नागरिकलाई प्रत्याभूति गराउनुहोला ।’
जसको केही छैन अर्थात् आर्थिक अवस्था कमजोर छ, जसको कोही छैन अर्थात सम्पत्ति छ तर सहयोग गर्ने परिवारका सदस्य कोही साथमा छैनन्, त्यस्ता ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर घरमै सेवा दिने लक्ष्यसहित सर्वेक्षण थालनी हुन लागेको महानगरपालिकाले जनाएको छ ।
\शारीरिक अशक्तता भएका कारण, दीर्घ रोगका कारण हिँडडुल गर्न नसक्ने तथा स्वास्थ्य उपचारका लागि नियमित स्वास्थ्य संस्थामा जान नसक्ने ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्न तथा उपचार गर्न घरमै स्वास्थ्यकर्मी पठाउने र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य सहित सर्वेक्षणको काम प्रारम्भ भएको हो कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन् ।
सर्वेक्षणमा जाने नर्सिङ् कर्मचारीहरुलाई ५ दिनको अभिमुखीकरण प्रदान गरिसकिएको छ । यस्तै सर्वेक्षणका क्रममा स्वास्थ्य जाँच गर्ने साधन तथा उपकरण प्रदान गरिसकिएको छ । स्वास्थ्य जाँच गर्न प्रदान गरिएका सामग्रीहरुमा ब्लडप्रेसर मोनिटर, ग्लुकोमिटर, डिजिटल थर्मोमिटर पल्स अक्सिमिटर, स्वास्थ्य अभिलेख फाराम, भेटको लगबुक, तथ्याङ्क भर्ने ट्याब्लेट छन् । यस्तै स्टेराइल गज, ब्यान्डेज, एन्टिसेफ्टिक व्यान्डेज, ट्रयाङगुलर व्यान्डेज क्रेप व्यान्डेज, एन्टिसेफ्टिक वाइप, कपास, मेडिकल टेप, स्टेराइल ड्रेसिङ् सेट दिइएको छ ।
यो सेवामा औषधि व्यवस्थापन र पोषण परामर्श गरिन्छ । मानसिक र सामाजिक अवस्था बलियो बनाउन घरपरिवार भेटघाट तथा संवाद कार्यक्रम सञ्चालन हुन्छ । दीर्घ रोग नियन्त्रण गर्ने प्रयास गरिन्छ । आकस्मिक अवस्थाका लागि छिटो उपचार पाउने रिफरल प्रणाली विकास गरिन्छ ।
यस्तै व्यायाम, मानसिक स्वास्थ्य, सरसफाइका विषयमा परामर्श दिइन्छ । यसरी संकलन गरिएको तथ्याङ्कका आधारमा भविष्यमा ज्येष्ठ नागरिकका जोखिम न्यूनीकरणका बजेट, योजना तथा कार्यक्रम तर्जुमालाई वास्तविक बनाउनेछ । ज्येष्ठ नागरिकप्रति सहयोगी भावनामा वृद्धि हुने महानगरपालिकाले जनाएकाे छ ।
कार्यक्रमका फोकल पर्सन अस्पताल नर्सिङ् निरीक्षक कल्पना श्रेष्ठका अनुसार , ‘ज्येष्ठ नागरिकलाई सजिलै भेट्न र आवश्यकता अनुसार कुरा गर्ने वातावरणका लागि वडा कार्यालय र महिला स्वास्थ्य स्वयमसेविकासँग समन्वय गरिनेछ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment