भेनेजुयलामा शक्तिशाली दोस्राे भूकम्प, ठूलो जनधनको क्षतिको आशंका
काठमाठडाैं, असार ११ । दक्षिण अमेरिकी राष्ट्र भेनेजुयलामा बुधबार शक्तिशाली दोहोरो भूकम्प जाँदा राजधानी काराकाससहित विभिन्न सहरमा भवनहरू भत्किएका छन् भने ठूलो मानवीय तथा भौतिक क्षति भएको आशंका गरिएको छ। उद्धार कार्य जारी रहेकाले क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको अधिकारीहरूले बताएका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार स्थानीय समयअनुसार बुधबार साँझ भेनेजुयलाको उत्तरी तटीय क्षेत्रमा पहिलो ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको करिब ४० सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो। दुवै भूकम्पको केन्द्रबिन्दु राजधानी काराकासबाट करिब ३०० किलोमिटर पश्चिममा पर्ने याराकुय र काराबोबो क्षेत्र आसपास रहेको जनाइएको छ।
भूकम्पका कारण राजधानी काराकासका विभिन्न भवनमा क्षति पुगेको छ भने केही अग्ला भवन आंशिक वा पूर्ण रूपमा ढलेका छन्। पूर्वी काराकासको अल्टामिरा र चाकाओ क्षेत्रमा आवासीय भवनहरू भत्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। भूकम्प लगत्तै सर्वसाधारण घर तथा कार्यालयबाट बाहिर निस्किएपछि सडकहरू मानिसले भरिएका थिए।
प्रत्यक्षदर्शीहरूका अनुसार भूकम्प यति शक्तिशाली थियो कि भवनका पर्खाल चर्किएका, झ्यालका सिसा फुटेका र विद्युत् तथा सञ्चार सेवा अवरुद्ध भएका थिए। धेरै स्थानमा इन्टरनेट तथा बिजुली सेवा प्रभावित भएको बताइएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षणले प्रारम्भिक मूल्यांकनमा "उच्च जनधनको क्षति हुन सक्ने" चेतावनी दिएको छ। संस्थाले हजारौँ मानिस प्रभावित हुन सक्ने र क्षति व्यापक हुन सक्ने जनाएको छ। यद्यपि आधिकारिक रूपमा मृत्यु र घाइतेको संख्या सार्वजनिक गरिएको छैन।
भेनेजुयलाका सरकारी अधिकारीहरूले राष्ट्रिय आपत्कालीन अवस्था घोषणा गर्दै सेना, प्रहरी, अग्निनियन्त्रक तथा स्वास्थ्यकर्मीहरूलाई उद्धार तथा राहत कार्यमा परिचालन गरेका छन्। अस्पतालहरूलाई अतिरिक्त चिकित्सक तथा स्वास्थ्यकर्मी बोलाउन निर्देशन दिइएको छ।
भूकम्पका कारण काराकासस्थित केही महत्वपूर्ण पूर्वाधारमा समेत क्षति पुगेको छ। सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थलको केही संरचनामा क्षति पुगेपछि उडानहरू प्रभावित भएका छन्। साथै रेल तथा मेट्रो सेवा अस्थायी रूपमा बन्द गरिएको छ। कतिपय क्षेत्रमा विद्यालय र सार्वजनिक कार्यक्रमहरू स्थगित गरिएका छन्।
भूकम्पपछि अमेरिकाको सुनामी चेतावनी प्रणालीले पुएर्टो रिको, भर्जिन टापुहरू तथा भेनेजुयलाको तटीय क्षेत्रमा सुनामीको सम्भावित जोखिमबारे चेतावनी जारी गरेको थियो। पछि जोखिम कम भएको निष्कर्ष निकाल्दै उक्त चेतावनी फिर्ता लिइएको बताइएको छ।
भेनेजुयला क्यारिबियन र दक्षिण अमेरिकी टेक्टोनिक प्लेटको सीमामा अवस्थित भएकाले भूकम्पीय दृष्टिले संवेदनशील क्षेत्र मानिन्छ। सन् १९६७ मा काराकासमा गएको शक्तिशाली भूकम्पमा सयौँ मानिसको ज्यान गएको थियो। वर्तमान भूकम्पलाई त्यसयताकै सबैभन्दा शक्तिशालीमध्ये एक मानिएको छ।
उद्धारकर्मीहरूले भग्नावशेषमा फसेकाहरूको खोजी जारी राखेका छन्। अधिकारीहरूले पराकम्पन आउन सक्ने भएकाले नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्।
विभिन्न संचारमाध्यमका आधारमा
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment