झापा-५ मा बालेन्द्र शाहको फराकिलो जित, केपी ओली पराजित
काठमाडौं, फागुन २३ । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट बालेन्द्र शाह विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता शाहले नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ४९ हजार ६ सय १४ मतकाे फराकिलो मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजय हासिल गरेका हुन्।
मतपरिणाम अनुसार शाहले करिब ६८ हजार तीनसय ४८ मत प्राप्त गर्दै ऐतिहासिक जित निकालेका छन्। उनका प्रतिद्वन्द्वी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १८ हजार सात सय ३४ मत ल्याएका थिए ।
यो निर्वाचनलाई नेपाली राजनीतिमा ठूलो राजनीतिक परिवर्तनको संकेतका रूपमा हेरिएको छ। झापा–५ लामो समयदेखि एमाले अध्यक्ष ओलीको प्रभाव रहेको क्षेत्र मानिन्थ्यो। तर यसपटक युवा मतदाता र नयाँ राजनीतिक शक्तिको लहरका कारण शाहले ठूलो समर्थन प्राप्त गरेका बताइन्छ।
बालेन्द्र शाह को हुन्?
बालेन्द्र शाह, जसलाई ‘बालेन’ नामले पनि चिनिन्छ, इन्जिनियर, र्याप कलाकार तथा राजनीतिज्ञका रूपमा परिचित छन्। उनी काठमाडौं महानगरपालिकाका निर्वाचित पूर्व मेयर समेत हुन्। शाहले सिभिल इन्जिनियरिङ अध्ययन गरेका छन् र युवामाझ लोकप्रिय र्याप गीतमार्फत पहिचान बनाएका थिए। पछिल्ला वर्षहरूमा उनी भ्रष्टाचारविरुद्ध कडा धारणा, सुशासन र नयाँ राजनीतिक संस्कृतिको पक्षमा बोल्दै आएका कारण युवापुस्तामाझ निकै लोकप्रिय बनेका छन्।
सन् २०२२ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको मेयर जितेपछि उनी राष्ट्रिय राजनीतिमा अझ प्रभावशाली बने। त्यसपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध हुँदै राष्ट्रिय राजनीतिमा सक्रिय भएका हुन्।
किन महत्वपूर्ण मानियो यो जित?
झापा–५ मा शाहको विजयलाई नेपाली राजनीतिमा ‘नयाँ पुस्ताको उदय’ का रूपमा व्याख्या गरिएको छ। लामो समयदेखि स्थापित नेतासँग प्रतिस्पर्धा गरेर जित निकाल्नुले नयाँ राजनीतिक शक्तिको प्रभाव बढ्दै गएको छ।
शाहको जित तथा रास्वपाले ल्याएकाे चुनावी सुनामीसँगै प्रतिनिधि सभामा नयाँ अनुहार र युवा नेतृत्वको उपस्थिति उल्लेख्य छ। निर्वाचन आयाेगकाे पछिल्लो तथ्यांक अनुसार हालसम्म ७४ जनाकाे विजयीमध्ये रास्वपाकाे ५९ जना निर्वाचित भएका छन् भने ६२ स्थानमा अग्रसर लिईरहेकाे छ ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment