आज देशभर वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम कायम
काठमाडौं, असार १४ । देशभर मनसुनी प्रणालीको प्रभाव कायम रहेकाले आज (असार १४) विभिन्न प्रदेशका पहाडी तथा हिमाली भूभागमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले बिहान ८ बजे जारी गरेको मौसम पूर्वानुमानअनुसार केही स्थानमा मध्यम वर्षा हुने र कोशी प्रदेशका एक–दुई स्थानमा राति भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ।
विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका केही स्थान, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
यस्तै, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थान तथा सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
विभागले सुदूरपश्चिम प्रदेशको तराई भूभाग तथा लुम्बिनी प्रदेशको पश्चिमी तराईका धेरै स्थानमा तातो लहर (हीटवेभ) को सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थान र हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
त्यस्तै, मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान र सुदूरपश्चिम प्रदेशको तराईका धेरै स्थानमा पनि मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।
विभागका अनुसार कोशी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा रातिको समयमा भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपासका बासिन्दा, यात्रु तथा सरोकारवालालाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment