६ बैशाख २०८३, आइतबार

एप्स्टिन काण्डः शक्तिशाली पुरुषहरूलाई सतह देखाउने पत्रकार जुली के. ब्राउन


अ+
अ-
हिजोआज विश्वका शक्तिशाली भनिएका अधिकांश पुरुषहरूलाई एउटा फाइलले घुमाइरहेको छ, दिमाग खाइरहेको छ । समाचारको दुनियामा तरंगित छ, जेफ्री एप्स्टिन काण्ड ! लाखौं पेजमा फैलिएको कुकृत्यको उक्त एप्स्टिन फाइलमा हालका अमेरिकी राष्ट्रपतिदेखि पूर्व राष्ट्रपतिहरू, धनाढ्य व्यक्तित्व, विश्वका प्रभावशाली व्यक्तित्वहरू तानिएको यो घटनालाई बाहिर ल्याउने काम भने एक महिला खोजी पत्रकार जुली के. ब्राउनले गरेकी थिइन् ।

विश्वकै शक्तिशाली, धनी र राजनीतिक पहुँच भएका व्यक्तिहरू संलग्न रहेको एउटा यौन शोषण काण्ड दशकौँसम्म दबाएर राख्न सकिन्छ भन्ने उदाहरण बनेको थियो—जेफ्री एप्सटिन केश । तर यही केशलाई पुनः सार्वजनिक बहसको केन्द्रमा ल्याउने, पीडितहरूको आवाजलाई राष्ट्रिय स्तरमा पुर्‍याउने र अमेरिकी न्याय प्रणालीकै नैतिकतामाथि प्रश्न उठाउने काम गरिन्—खोजी पत्रकार जुली के. ब्राउनले ।

यो कथा केवल एउटा अपराधीको पर्दाफास होइन । यो घटना न्याय कसरी सौदाबाजीको वस्तु बन्न सक्छ, र पत्रकारिताले कसरी त्यसलाई चुनौती दिन सक्छ भन्ने गहिरो अध्ययनको ज्वलन्त नमूना पनि हो ।

एप्स्टिन फाइलको खुलासा गर्ने समाचार मियामी हेराल्डमा प्रकाशित भएको थियो, जसमा खोजी पत्रकार जुली के. ब्राउनले ‘पर्भर्जन अफ जस्टिस्‌’ शिर्षकमा कोलम नै चलाएकी थिइन् । ‘पर्भर्जन अफ जस्टिस्‌’ भन्ने वाक्यांशको अर्थ मूलतः न्यायलाई विकृत बनाउने वा न्यायको मार्गलाई बिगार्ने भन्ने हुन्छ । कानुनी अर्थमा ‘टु पर्भट द कोर्ष अफ जस्टिस’ भन्नाले जानबुझेर न्याय प्रणालीलाई गलत दिशामा मोड्ने कार्य जनाउँछ । यसमा प्रमाण नष्ट गर्ने, झूटो बयान दिने, वा अपराधीलाई बचाउने जस्ता कामहरू पर्दछन् । अर्थात् सजायबाट बच्न वा निर्दोषलाई सजाय दिलाउन गैरकानुनी काम गर्नु ।

जुली के. ब्राउनले ‘पर्भसन अफ जस्टिस्‌’ शिर्षकमा कोलम चलाउनुको कारण भनेको एप्स्टिनले पाएको २००८ को ‘नन प्रोशिक्युशनल डिल’ले न्याय प्रणालीलाई विकृत बनाएको थियो । यसमा अभियोजन पक्ष र अभियुक्त बीच भएको सम्झौताले अभियुक्तलाई गम्भीर अभियोगहरूबाट बचाइन्छ । शक्तिशाली व्यक्तिहरूले कानुनी प्रक्रियालाई आफ्नो पक्षमा मोडेर पीडितहरूको आवाज दबाएका थिए ।

एप्स्टिन केसमा यसको अर्थ भनेको, २००८ मा जेफ्री एप्स्टिनविरुद्ध एफबिआइ र स्थानीय स्तरमा ठूलो अनुसन्धान भएको थियो । जेफ्री एप्सटिन २००० को दशकको सुरुआतदेखि नै फ्लोरिडाको पाम बीच क्षेत्रमा नाबालिग केटीहरूको यौन शोषणमा संलग्न रहेको आरोपमा अनुसन्धानमा परेका थिए । उनलाई फेडरल सेक्स–ट्राफिकिङ अभियोग लगाउन सकिन्थ्यो, जसले उनलाई जीवनभर जेलमा राख्न सक्थ्यो । प्रहरी अनुसन्धान, पीडितहरूको बयान र प्रमाण हुँदाहुँदै पनि २००८ मा एप्सटिनले अभूतपूर्व रूपमा अत्यन्तै नरम ‘प्लिया डिल’ पाए ।

अर्थात, एप्स्टिनको कानुनी टोलीले अमेरिकी न्याय विभाग (साउथर्न डिस्ट्रिक्ट आफ फ्‌लोरिडा)सँग गोप्य सम्झौता गर्‍यो । यस सम्झौताले एप्स्टिनलाई फेडरल अभियोगबाट बचायो र केवल राज्य स्तरमा हल्का अभियोग (प्रस्टिच्यूशन सोलिसिटेशन)स्वीकार गर्न बाध्य गरायो । परिणामस्वरूप, उनले केवल १३ महिना मात्र जेल बस्नुपर्‍यो, त्यो पनि ‘वर्क रिलिज’ सुविधा सहित, जसले उनलाई दिनमा बाहिर काम गर्न अनुमति दिन्थ्यो । अर्थात, उनी दिनमा आफूले चाहेका सबै काम गर्न सक्थे । यसमा विवादास्पद पक्ष के देखियो भने यस सम्झौताले एप्स्टिन मात्र होइन, उनका केही सहयोगीहरूलाई पनि फेडरल अभियोगबाट प्रतिरक्षा दियो ।

पीडित महिलाहरूलाई यो सम्झौता बारे जानकारी नै दिइएन, जसले उनीहरूको अधिकार उल्लङ्घन गरेको थियो । ती १३, १४ वर्षकै उमेरमा यौन पिपासुको कैदमा परेका किशोरी तथा अब आफू कसरी पीडित बनियो भनेर बुझिसकेका महिलाहरूले आफूविरुद्ध न्याय प्रणाली गईसकेको कुरा भेउसम्म नि पाएका थिएनन् । यही कारणले यो सम्झौता ‘स्वीट हर्ट डिल’ भनेर आलोचना भयो—धनी र शक्तिशाली व्यक्तिलाई न्याय प्रणालीले विशेष सुविधा दिएको उदाहरणका रुपमा ।

अपराधीलाई गम्भीर सजायबाट बचाएर पीडितहरूको आवाज दबाइएको कारणले जुली के. ब्राउनले यसलाई ‘पर्भर्जन अफ जस्टिस्‌’ नाम दिँदै घटनाहरू उजागर गर्दै गइन् । गुप्त रुपमा पीडित महिलाहरू भेट्ने क्रममा उनले ति महिलाहरूलाई सुरक्षित तुल्याउँदै सञ्जाल पनि निर्माण गर्दै गएकी थिइन् । सन् २००८ मा एप्स्टिनले पाएको ‘नन प्रोशिक्युशनल डिल’ले न्याय प्रणालीलाई कमजोर बनाएको देखेपछि जुलीले २०१८ मा यो रिपोर्टिङ सुरु गरिन् । उनले पीडित महिलाहरूको कथा उजागर गर्दै न्यायको पुनः खोजी गरिन् ।

एप्स्टिन केसमा सार्वजनिक भएका पीडित महिलाहरूको संख्या हालसम्म करिब १०० जना नजिक पुगेको छ । २०२६ मा अमेरिकी न्याय विभागले सार्वजनिक गरेको फाइलहरूमा करिब ३ मिलियन कागजातहरूमा पीडितहरूको नाम र विवरण खुलाइएको थियो, जसलाई पछि हटाउने आदेश दिइएको छ । उक्त घटनामा केही महिलाहरूले आफ्ना नाम र कथा स्वेच्छाले सार्वजनिक गरेका छन् (जस्तैः भर्जिनिया गियुफेर, साराह रान्सम, कर्टनी वाइल्ड आदिले आफ्‌नो आफू सानो हुँदा अर्थात् एप्स्टिनको आइल्याण्ड पुग्दा कस्तो थिएँ, अब कस्तो छु भन्ने खालका भिडियो नै सार्वजनिक गरिरकेका छन्  । ब्राउनले उनीहरूलाई समाचार स्रोत होइन, मानव पीडितका रूपमा व्यवहार गरिन् । उनले समय दिइन्, सुन्ने काम गरिन्, र उनीहरूको कथा उनीहरूकै शब्दमा प्रस्तुत गरिन् ।
जुलीसँग ती पीडित महिलाहरू खुल्न तत्कालीन अवस्था तथा सन् २०१७ मा अभियानको रुपमा चलेको ‘मि टू’ अभियानले पनि सघाएको थियो । अर्थात, एप्स्टिन केस सार्वजनिक हुँदा समाजमा पहिले नै ‘मि टू’ आन्दोलन चलिरहेको थियो । यसले यौन हिंसा र शोषणबारे बोल्ने वातावरण तयार गरिसकेको थियो । यही वातावरणले पीडित महिलाहरूलाई बोल्न प्रेरित गर्‍यो र एप्स्टिन केसमा पनि केही महिलाहरू खुल्दै गए भने जुलीलाई रिपोर्टिङ गर्न लाई अझ सहज तुल्यायो ।  

‘मि टू’ भन्ने वाक्यांश पहिलो पटक सन् २००६ मा तराना बुर्केले प्रयोग गरेकी थिइन् । उनले ‘माई स्पेस’मा यौन हिंसाबाट बचेका व्यक्तिहरूलाई एक–अर्कासँग सहानुभूति र समर्थन बाँड्न प्रेरित गर्न यो शब्द प्रयोग गरेकी थिइन् ।

यसको झण्डै एक दशक पछि तथा सन् २०१७मा फैलिएको विश्वव्यापी महिला हिंसा विरुद्धको आन्दोलन ‘मि टू’ लाई भने अमेरिकी अभिनेत्री अल्यासा मिलानोले ट्विटरमा ‘ह्यासट्याग मि टू’ प्रयोग गर्दै हार्भेइ वेइन्स्टेइनविरुद्ध आएका यौन शोषणका समाचारहरूमा प्रतिक्रिया जनाइन् । यस ट्वीटले लाखौँ महिलाहरूलाई आफ्ना अनुभव सार्वजनिक गर्न प्रेरित गर्‍यो, र आन्दोलन विश्वव्यापी बन्यो । ‘मि टू’ अभियानले कार्यस्थलमा यौन उत्पीडन र शोषणबारे बोल्ने वातावरण तयार गर्‍यो । यसले हार्भेइ वेइन्स्टेइनजस्ता शक्तिशाली व्यक्तिहरूविरुद्ध कानुनी कारबाहीलाई उत्प्रेरित गर्‍यो । यो अभियानले पत्रकारिता, न्याय प्रणाली, र सामाजिक चेतनामा गहिरो प्रभाव पार्‍यो भने यो ‘मि टू’ आन्दोलनले जुलीलाई आफ्‌नो काम अगाडि बढाउन पनि सहयोग गर्‍यो । महिला हिंसाविरुद्ध कानुनी उजुरीका लागि समय हदबन्दी तोकिंदै आएकोमा ‘मि टू’ले महिला हिंसाविरुद्ध जान फराकिलो समयसीमा दिएको छ ।

उता, जुलीलाई उनको रिपोर्टिङपछि विभिन्न प्रकारका खतरा देखा परे । शुरुमा  व्यक्तिगत रुपमा नधम्क्याए पनि कोही व्यक्ति पछि लाग्ने, घर अगाडि गाडिमा कोही आएर निगरानी राखेर बस्ने, छोरीको स्कूलमा गएर शिक्षकमार्फत धम्क्याउनेजस्ता कार्यहरू पनि गरिए ।  उनको किशोरी छोरीलाई ती एप्स्टिन फाइलका किशोरीहरूलाई जस्तै बनाउने धम्की आउँथे । एकल आमा जुलीले आफ्नो छोराछोरीलाई हुर्काउँदै पत्रकारिता गरिरहेकी थिइन् । आर्थिक कठिनाइ, समयको अभाव र निरन्तर कानुनी धम्कीले उनको जीवनलाई असहज बनायो ।

उनले स्वीकार गरेकी छिन् कि एप्स्टिनजस्ता शक्तिशाली व्यक्तिहरूविरुद्ध रिपोर्टिङ गर्दा आफूले व्यक्तिगत सुरक्षा र राजनीतिक दबाबको डर खेप्नुपरेको थियो । यस्तै, एउटा अन्तर्वार्तामा राजनीतिक दबाबबारे स्पष्ट पार्दै उनले भनेकी छिन् कि उनलाई डर थियो—ट्रम्प प्रशासनले शक्तिशाली पुरुषहरूलाई जोगाउन प्रयास गर्न सक्छ । यस्तै, इन्डिपेन्डेन्टको रिपोर्ट अनुसार, अमेरिकी न्याय विभागले जुलीको फ्लाइट विवरण एप्स्टिन फाइलमा समावेश गरेको देखिएपछि कांग्रेसका सदस्यहरूले यसको कारण मागेका थिए ।

जुली ब्राउनको यो यात्रा सजिलो थिएन । मिडिया हाउसको दबाब, शक्तिशाली व्यक्तिहरूविरुद्ध रिपोर्टिङ गर्दा मिडिया संस्थामै दबाब थियो । विज्ञापनदाताहरूको चासो, कानुनी जोखिम, र राजनीतिक दबाबले कहिलेकाहीँ उनको कामलाई कठिन बनायो । उनले लेखेकी छिन् कि यो अनुसन्धानले उनलाई मानसिक र शारीरिक रूपमा थकित बनायो । तर पीडित महिलाहरूको आँसु र पीडा देख्दा उनले हार मान्न सकिनन् ।

जुलीको रिपोर्टिङले एप्स्टिन केसलाई पुनः उजागर मात्र गरेन, न्याय प्रणालीको कमजोरी, पत्रकारिताको शक्ति, र सामाजिक चेतनालाई पनि बलियो बनायो । तर यसले उनलाई व्यक्तिगत र पेशागत खतरा पनि निम्त्यायो—राजनीतिक दबाब, सरकारी निगरानी, र सुरक्षा चासो सबै ब्यहोर्नु पर्‍यो ।

जुलीको प्रारम्भिक जीवन र पत्रकारितामा प्रवेश
जुली के. ब्राउनको जीवन संघर्षले भरिएको थियो । फिलाडेल्फियामा जन्मिएकी उनी किशोरावस्थामै घर छाडेर विभिन्न सामान्य काम गर्दै आफ्नो पढाइ पूरा गर्न सक्षम भइन् । आर्थिक कठिनाइले उनलाई जीवनको कठोर यथार्थसँग परिचित गरायो । यही अनुभवले उनलाई दृढ बनायो—सत्य खोज्ने, अन्यायसँग लड्ने, र आवाजविहीनलाई आवाज दिने ।

पत्रकारितामा प्रवेश गरेपछि उनले फिलाडेल्फिया डेली न्यूजमा काम गरिन् । यहाँ उनले अपराध, राजनीति, र सामाजिक न्यायसम्बन्धी विषयमा रिपोर्टिङ गर्दै आफ्नो नाम स्थापित गरिन् । पछि मियामी हेराल्डमा प्रवेश गरिन्, जहाँ उनले अपराध र न्याय प्रणालीसँग सम्बन्धित विषयमा गहिरो अनुसन्धान गर्ने अवसर पाइन ।

जेफ्री एप्स्टिन धनी, शक्तिशाली, र प्रभावशाली नेटवर्क भएको व्यक्ति थिए । उनका साथीहरूमा राजनीतिज्ञ, व्यापारी, र सेलिब्रिटीहरू थिए । २००८ मा एप्स्टिनले विवादास्पद ‘नन प्रोशिक्युशनल डिल’ पाएपछि धेरैले यो मुद्दा समाप्त भएको ठानेका थिए । उनले केवल हल्का सजाय पाए, जबकि पीडित महिलाहरूको कथा सुनिएन ।

यो सम्झौता अमेरिकी न्याय प्रणालीको कमजोरीको प्रतीक थियो । शक्तिशाली व्यक्तिहरूले कसरी कानुनी प्रणालीलाई आफ्नो पक्षमा मोड्न सक्छन् भन्ने उदाहरण बनेको थियो । तर यो कथा त्यत्तिकै समाप्त भएन—जुली के. ब्राउनले यसलाई पुनः जीवित पार्ने साहसिक निर्णय गरिन् ।

ब्राउनले पीडित महिलाहरूको आवाज दबिन नदिने संकल्प गरिन् । उनले वर्षौंसम्म धैर्यपूर्वक अनुसन्धान गरिन् । पुराना कानुनी कागजातहरू खोतलिन् । पीडित महिलाहरूलाई खोज्दै उनीहरूको कथा सुनेर विश्वास जितिन् । कानुनी प्रणालीमा भएका कमजोरीहरूलाई उजागर गरिन् । उनले मियामी हेराल्डमा प्रकाशित गरेको रिपोर्टिङलाई अरु ख्यातिप्राप्त पत्रिकाहरूले पनि फलोअप स्टोरी तयार पारेर यो मुद्दालाई अझै दरिलो बनाउन तथा जुलीलाई साथ दिए । यो साथ र सक्रियताले यो मुद्दालाई पुनः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चामा ल्यायो । अन्ततः अमेरिकी सरकार उक्त फाइल बाहिर ल्याउन बाध्य भयो भने सफेदपोश नकावधारीहरू अनुहार सार्वजनिक भयो । अहिले विश्वले देख्दैछ, ती सफेदपोश शक्तिशाली व्यक्तिहरूको अनुहार ।

जुलीका रिपोर्टहरूले शक्तिशाली व्यक्तिहरूले कसरी कानुनी प्रणालीलाई आफ्नो पक्षमा मोड्न सक्छन्, र पत्रकारिताले कसरी त्यसलाई चुनौती दिन सक्छ भन्ने कुरालाई उजागर गरको छ । यो केवल अपराधको कथा थिएन; यो न्याय प्रणालीको कमजोरी र समाजमा शक्ति असमानताको कथा पनि थियो । जुलीको साहसिक रिपोर्टिङले ठूलो प्रभाव पारेको छ । अमेरिकी न्याय प्रणालीले पुनः एप्स्टिनविरुद्ध कारबाही गर्न बाध्य भयो ।

यद्यपि २०१९ मै एप्सटिनको जेलमै मृत्यु भयो, तर यो मृत्युसँगै उनको केश सकिएन । बरु, लहरो तान्दा पहरो गर्जियो । उनको नेटवर्क सह–अपराधी र संस्थागत संरक्षण माथि अनुसन्धानको ढोका खुल्यो ।  धम्की, दबाब र पत्रकारको नैतिक दृढता यस अनुसन्धानका क्रममा जुली के. ब्राउनलेः कानुनी धम्की   व्यक्तिगत आक्रमण  सामाजिक सञ्जालमा  चरित्रहत्या  सहनुपर्‍यो । तर उनी पछि हटिनन् । उनको अनुभवले भन्छ– यदि पत्रकार डराएर पछि हट्छ भने, गलत प्रवृत्तिका शक्तिशालीहरूले सधैँ जित्छन् ।

पुरस्कार
अमेरिकी अन्वेषी पत्रकार जुलीले आफ्नो पत्रकारिता करियरभर संवेदनशील र जोखिमपूर्ण अनुसन्धानका लागि प्रख्यात भएकी छन् । उनले जेफ्री एप्स्टिन काण्डको खोजी रिपोर्टिङद्वारा विश्वव्यापी ध्यान आकृष्ठ गरेको र त्यसको कदर स्वरुप दुई पटक  जोर्ज पोल्क अवार्ड पाइन् । यी पुरस्कारहरू पत्रकारिताको उत्कृष्टता र न्यायसम्बन्धी अन्वेषणात्मक रिपोर्टिङका लागि अत्यन्त सम्माननीय मानिन्छन् । त्यसपछि उनले थुप्रै पुरस्कार पाएकी छन् ।

सन् २०२० मा टाइम पत्रिकाले उनलाई “दुनियाका १०० सबैभन्दा प्रभावशाली व्यक्तिको सूचीमा समावेश गर्यो । यो सम्मान उनको सामाजिक प्रभाव र जनसरोकारका विषयमा संवेदनशीलता र साहसिक अनुसन्धानको कदरको स्पष्ट प्रमाण हो ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
अमिका राजथला

अन्य लेखहरू: अमिका राजथला

यस लेखकका अन्य रोचक लेखहरू
कलाको भाषामा अन्तर्दृष्टि

कलाको भाषामा अन्तर्दृष्टि

उनका कला हेर्ने दर्शकले आयाताकार अनुहारलाई कलम, कुची वा अन्य केही अनुमान लगाउन सक्छन् तर उनी भन्छिन् "याे मेराे चित्रकला...

सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश नियुक्त

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल आजदेखि कायम मुकायम (कामु) प्रधानन्यायाधीश भएकी छिन्। प्रधानन्यायाधी...

मध्य पश्चिम युद्धको चपेटामा नेपाली बजार

मध्य पश्चिम युद्धको चपेटामा नेपाली बजार

विश्वको ऊर्जा राजधानी मानिने खाडी क्षेत्रमा भड्किएको यो सङ्कटले नेपाली बजारमा तेल र ग्यासको मूल्य मात्रै बढाएको छैन, सर्...

वायु प्रदूषण कसरी नियन्त्रण गर्ने?

वायु प्रदूषण कसरी नियन्त्रण गर्ने?

वातावरणीय संकट र विशेषगरी वायु प्रदूषणको समस्या आज नेपालका सहरहरूमा गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा देखा परेको...

नेवार संस्कारमा "बाह्रा:पिकायेेगु" सूर्यदेवसँग विवाह हाे कि पूजा मात्र ?

नेवार संस्कारमा "बाह्रा:पिकायेेगु" सूर्यदेवसँग विवाह हाे कि पूजा मात्र ?

नेवार समुदायकाे संस्कृति पृथक छ, राेमाञ्चक पनि । यही कारण हुनसक्छ संस्कार-संस्कृतिकाे पहिचानमा हाेस् या व्यवहारमा- यसले ...

मन्दिरमा महिला पुजारी किन हुँदैन ?

मन्दिरमा महिला पुजारी किन हुँदैन ?

अधिकांश मन्दिरमा पूजा गर्न आउनेहरुको भीडमा महिला वर्गको वर्चश्व हुन्छ तर त्यहाँ पुजारी भने महिला हुँदैनन् । जहाँ पनि यस्...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्