आचार संहिता पालना र मतदाता शिक्षामा सघाउने निजी क्षेत्रकाे प्रतिवद्धता
काठमाडौं, माघ १४। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जेनजी आन्दोलनपछिको असहज अवस्थामा रहेको मुलुकलाई लयमा फर्काउन निर्वाचन नै अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन्।
निर्वाचन आचारसंहिता कार्यान्वयनलगायतका विषयमा निजी क्षेत्रका छाता संगठनका प्रतिनिधिसँगको छलफलमा कार्यवाहक प्रमुख भण्डारीले मुलुकलाई लयमा फर्काउन निर्वाचन हुनुपर्ने र सबै पक्षको सहयोग आवश्यक रहेको पनि बताए ।
निजी क्षेत्रका प्रतिनिधिको धारणापछि कार्यवाहक प्रमुख भण्डारीले कसैले पनि निषेधको राजनीति गर्न नहुने बताउँदै निर्वाचन आचारसंहिता परिपालनाका लागि आयोग प्रतिबद्ध रहेको जानकारी दिए ।
भण्डारीले निर्वाचनमा सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति रहेको र अहिले ३७ प्रकारका सामग्री स्थानीयस्तरकै रहेको पनि जानकारी दिए ।
आयोगले मितव्ययी रूपमा निर्वाचन सम्पन्न गर्ने लक्ष्य लिएको जनाउँदै निर्वाचनका लागि ६ करोड ७५ लाख रुपैयाँको मात्र नयाँ सामग्री खरिद गरिएको बताए। अन्य सामग्री पुरानै पुनः प्रयोगमा ल्याइएको समेत उनले जानकारी दिए ।
निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले निर्वाचन आचारसंहिता पालनाका लागि निजी क्षेत्रलाई आग्रह गरेका थिए ।
कार्यक्रममा निर्वाचन आयुक्तहरुद्वय डा. जानकी कुमारी तुलाधर, सगुन शम्सेर ज.ब.रा तथा आयोगका सहसचिव नारायणप्रसाद भट्टराईसहितको उपस्थिति थियो।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन अनुगमनमा कडाइ गर्नुपर्ने र उल्लङ्घनमा तत्काल कारबाहीको व्यवस्था गर्नुपर्ने सुझाव दिए भने आचारसंहिता पालना र मतदाता शिक्षाका क्षेत्रमा सहयोगका लागि आफूहरू प्रतिबद्ध रहेको पनि अग्रवालले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रमा लगानीमैत्री वातावरण सिर्जनाका लागि नीतिगत स्पष्टता र राजनीतिक स्थायित्व आवश्यक भएकाले निर्वाचन सम्पन्न भई स्थिर सरकार आवश्यक भएको बताए ।
महासंघ केन्द्र र सबै शाखाबाट निर्वाचन आचारसंहिता र मतदाता शिक्षासम्बन्धी विषयमा आयोगलाई सहयोग गर्ने प्रतिबद्धता उनकाे थियाे ।
साल्ट ट्रेडिङका महाप्रबन्धक उर्मिला श्रेष्ठले निर्वाचन प्रचारप्रसारमा राष्ट्रिय झन्डा प्रयोग भएको र समुदायलाई असर हुने गरी ध्वनि प्रदूषण भएको विषयमा आयोगको ध्यानाकर्षण गराएकी थिइन् ।
नेपाल उद्योग परिसंघका महानिर्देशक घनश्याम ओझाले सातै प्रदेश र जिल्लामा निर्वाचन आचारसंहिताबारे जानकारी गराउने र कार्यान्वयनमा निर्वाचन आयोगलाई सघाउने प्रतिबद्धता जनाए ।
महिला उद्यमी महासंघका कार्यकारी सदस्य मल्लिका श्रेष्ठले निर्वाचनमा महिला उद्यमीले उत्पादन गरेका सामग्री प्रयोग गर्न आग्रह गरिन् ।
कार्यक्रममा निर्वाचन आयोगका सहसचिव ज्ञानहरि घिमिरेले मतदाता नामावली, मतदान स्थल र मतदान केन्द्र, मतदाता शिक्षा, निर्वाचन सूचना सम्प्रेषण र समन्वय केन्द्र, निर्वाचन पर्यवेक्षणलगायतका काम कारबाहीबारे जानकारी गराएका थिए ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment