५ बैशाख २०८३, शनिबार

हनुमानढोकाको दशैं


अ+
अ-
राति हातमा खड्ग बोकेका मानिसहरू हनुमानढोकाको सिंहढोकाबाट कहीँ मारकाट गर्न निस्केझैँ लहरै निस्कँदा अचम्मित नहुने को होला रु त्यो पनि पूरै देश दशैंको वातावरणमा चुर्लुम्म डुबेको बेला । स्थानीय भाषामा ‘पायाः’ भनिने र खड्गसिद्धिको रूपमा चिनिएको यो हनुमानढोका दरबारमा मनाइने दशैंको विशेष झलक हो ।

स्थानीय नेवारहरू भन्छन्– ‘दशैं अरुका लागि शक्तिको पूजा होला, तर हाम्रा लागि शक्तिको पूजामात्र नभएर शक्तिप्राप्तिका लागि गरिने आराधना पनि हो र तान्त्रिक साधना गरेर यो प्राप्त गरिन्छ । यसको राम्रो उदाहरण खड्गसिद्धि भनेर निस्कने ‘पायाः’ हो । त्यसैले यो दशैं मात्रै होइन, मोहनी पनि हो ।’

दशमीका दिन पायाः निस्कन्छ । तान्त्रिक विधिबाट पूजा सम्पन्न गरी शक्तियुक्त खड्ग बोकेर निस्कनुलाई नै पायाः वा खड्गसिद्धि भनिएको हो । दशैंमा यो शक्ति अनिवार्य रूपमा लिनुपर्ने मान्यता छ । दशैं मनाउनुको औचित्य नै खड्गसिद्धि प्राप्त गर्नु हो, नेवारका लागि । हुन त काठमाडौंका रैथाने नेवारहरूको घरघरमै खड्गसिद्धि लिने काम हुन्छ तर विविध कारणले घरमा दशैं मनाउन नपाउनेहरू पनि त्यो शक्तिबाट वञ्चित हुन नपरोस् भनेर सामूहिक रूपमा यसरी निकालिएको हो ।

अघि ठाउँठाउँमा युवाहरुलाई सैनिक अभ्यास लगाउँथ्यो तर जंगबहादुर राणाको समयदेखि बन्द गराइएको बताइन्छ । मल्लकाल वा लिच्छविकालदेखि प्रचलित यो सैनिक अभ्यासलाई जंगबहादुको समयदेखि किन बन्द गराइयो भन्ने कुरा अध्ययनको विषय हो । त्यत्ति बेला युद्ध क्षेत्रमा प्रयोग गरिने युद्ध सामग्रीहरू तलेजु मन्दिरमा रहने हुँदा दशैंमा त्यहाँबाट पनि पायाः निस्कने हो । यो हनुमानढोकाबाट मात्र निस्कँदैन । ठमेल, असन, इन्द्रचोक, नरदेवी, यट्खा, किलागल आदि र भक्तपुर, तथा पाटनबाट पनि निस्कन्छ । भर्खरै शक्ति प्राप्त गरेकाहरू उत्तेजित हुँदै निस्कँदा तिनका हरेक अंगमा कम्प छुट्ने र युद्धक्षेत्रमा बजाइने प्राचीन बाजाको आवाज पनि हुँदा रणक्षेत्रका लागि निस्केको भन्ने अर्थ लगाउनेहरू नभएका पनि होइनन् । कतिपय लेख तथा पुस्तकमा यही अर्थ दिएको पाइन्छ । हनुमानढोकाबाट निस्कने खड्गसिद्धि विशेष हुनुको कारण यसमा राजप्रतिनिधिको रूपमा राजकीय खड्ग बोक्ने व्यक्ति पनि हुन्छन् । पहिले मल्ल राजाहरू स्वयं यसमा सामेल हुने गर्दथे । तर, आजभोलि प्रतिनिधिमात्र आउने गरेका छन् ।

हनुमानढोकामा मनाइने दशैं विशेष प्रकारको हुन्छ । सिद्धान्ततः यहाँ मनाइने दशैं रैथाने नेवार समुदायले मनाउने दशैंकै बृहत् रूप हो । रैथानेहरू दशैंमा पूर्णतः तान्त्रिक विधिले पूजा गर्ने हुँदा वैदिकभन्दा फरक हुन्छ । समय र परिस्थितिअनुसार केही तलमाथि परे पनि हनुमानढोकाको दशैंमा पुराना विधिव्यवहारै चलिरहेकाले सयौं वर्षअघिको मौलिकता अझै देख्न पाइन्छ ।

आश्विन शुक्ल प्रतिपदाका दिन हनुमानढोका दरबारको मूलचोकसँगै रहेको दशैंघरमा घटस्थापना र जमरा राखिएपछि विधिवत् दशैंको तयारी भएको मानिन्छ । पहिला नारायणहिटी दरबारमा प्रयोग गर्न यहीँको जमरा लगिन्थ्यो । घटस्थापनापछि पञ्चमीको दिन बेलुका हनुमानढोकाअगाडि पचली भैरव ल्याइन्छ । कुमारीको उपस्थितिमा गरिने उक्त पूजापछि भैरवलाई एउटा राँगो बलि दिइन्छ । बलिपछि प्रसादका लागि हारालुछ हुन्छ । पूजा सकिएपछि कुमारीलाई कुमारीघरमै फर्काइन्छ ।

सप्तमीका दिन फूलपाती भित्र्याइन्छ । फूलपाती भित्र्याउन यसअघि नै हनुमानढोका दरबारबाट केही व्यक्तिलाई नुवाकोटको धुनीबेंसी पठाइन्छ । त्यहाँ उनीहरूले लक्षणयुक्त बेलको बोटमा बोकासमेत बलि दिई त्यसको पात टिपेर ल्याउँछन् । यसरी नै गोरखा दरबारबाट पनि ल्याइएको फूलपाती बीच बाटोमा मिलाई सँगै काठमाडौं आई स्वयम्भू पुगेर हनुमानढोका दरबारमा खबर गरिन्छ । त्यसपछि फूलपाती लिन तयार भएकाहरू रानीपोखरीको उत्तरी किनारा जमलमा पुग्छन् र फूलपातीलाई राजकीय सम्मानका साथ झल्लरी छाता ओढाएर डोलीमा बोकी बढाइँगर्दै हनुमानढोका लगिन्छ । नासलचोकमा फूलपातीको तान्त्रिक विधिबाट पूजा गरी एउटा बोका बली दिइन्छ र पूजापछि फूलपाती दशैंघर लगिन्छ । हनुमानढोकामा हुने यो विधि शाह कालमा मात्रै थपिएको हो ।

अष्टमीका दिन शुभ मुहूर्त हेरी तलेजु मन्दिरबाट तलेजु भवानीलाई मूलचोकमा ल्याई पूजाका साथै खड्ग स्थापना गरिन्छ । अष्टमी र नवमीबीचको कालरात्रिमा रातभरि मूलचोकमा तलेजु भवानीको गुप्त पूजा गरिन्छ । रातभरि हुने यो पूजामा ५४ रांगा र ५४ बोका गरी एक सय आठ पशुको बलि दिइन्छ । यसरी बलि दिनुको तात्पर्य तलेजु भवानीलाई खुसी पार्नु हो । नवमीको दिन पनि यस्तै पूजा हुन्छ र अघिल्लो रातजस्तै एक सय आठ पशुको बलि दिने गरिन्छ । तर, तलेजुका पुजारीहरूमात्र बसेर गरिने उक्त गुप्त पूजाको समयमा बाहिरी व्यक्तिलाई हेर्न दिइँदैन ।

नवमीमा सर्वसाधारणका लागि तलेजु मन्दिर खुला हुन्छ । अरू बेला सर्वसाधारणका लागि बन्द हुने यो मन्दिरमा दर्शनका लागि बिहानैदेखि घुइँचो लाग्छ । नवमीका दिन मान्छे सिंहढोकाबाट पसेर जुत्ता फुकाली तलेजु मन्दिरको सिँढी चढ्छन् र प्रदक्षिणा गरेर ओर्लन्छन् । यसरी नै मूलचोक हुँदै हनुमानढोकाबाट बाहिर निस्कने गरिन्छ । नवमीको बेलुका मूल कुमारीसहित अन्य नौ कुमारी तथा भैरव र गणेशको प्रवेश हनुमानढोकाभित्र गराइन्छ र आवश्यक पूजापछि फेरि फर्काइन्छ ।

दशमीमा दिन पनि दशैंघरमा पूजा हुन्छ । यो दिन हुने पूजा अलि लामो हुन्छ । पूजापछि पहिला नारायणहिटी दरबारमा प्रसादस्वरूप टीका लग्ने गरिन्थ्यो तर अहिले यो काम गर्नु पर्दैन । मूलचोकमा पनि त्यस्तै पूजा हुन्छ । यी सबै कामपछि बल्ल राति दस–एघार बजेतिर खड्गसिद्धि वा पायाः निकाली कुमारीघर हुँदै सिंहसत्तल घुमी प्याफल, कम्पुकोट, महेन्द्रेश्वर, इन्द्रचोक भएर पुनः सिंहढोकाबाट भित्रै ल्याइपु¥याइन्छ । तर, पूर्णिमासम्म दशैं मनाउने भन्ने मान्यता कायमै छ ।

 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

अन्य लेखहरू: बसन्त महर्जन

यस लेखकका अन्य रोचक लेखहरू
आमा बाबुको मुख हेर्ने पर्व

आमा बाबुको मुख हेर्ने पर्व

आमाबाबुलाई आदरसत्कार नगर्नु भनेर कसले भन्छ र ? तर सबै धार्मिक समुदायमा ‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ पर्व त छ...

महाराज क्राचल्ल र बौद्ध धर्ममा उनको योगदान

राजा क्राचल्लले आफूलाई ‘परमसौगात’ अर्थात् बुद्धका ठुलो उपासक भनेर चिनाउन मन पराउने राजा हुन् । यसबाट उनी बौद्ध धर्मका उप...

बडामहाराजा नागराज र बौद्ध धर्ममा उनको योगदान

कीर्तिखम्बमा उल्लेखित विवरण राजा नागराज र उनका उत्तराधिकारीहरुका सम्बन्धमा हो । तिब्बती श्रोतहरुले पनि यही विवरण प्रस्तु...

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति चोरी हुनु धेरै दुःखदायी हो । झिल्के बनाएर यसको सत्यानाश नै गरिदिनु थप दुःखदायी हो । मूर्तिचोरीमा संलग्न हुनेहरु न...

नेवार समाजमा पाहाँचःह्रे चाड

नेवार समाजमा पाहाँचःह्रे चाड

विभिन्न जातीय समुदायको सांस्कृतिक जीवनको अध्ययन गर्दा एउटा समानता के देखिन्छ भने, वर्षभरिमा जेजति चाड पर्व मनाएपनि त्यसम...

नरेश श्रेष्ठ र फोटोग्राफी

नरेश श्रेष्ठ र फोटोग्राफी

अनेकौं पहिचानहरुको भीडमा एउटा पहिचान हो, फोटोग्राफर नरेश श्रेष्ठ । र, उनको फोटोग्राफी । बहीखाता राखेजस्तै उनी कतिपय ऐतिह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्