१५ श्रावण २०८३, शुक्रबार

हनुमानढोकाको दशैं


अ+
अ-
राति हातमा खड्ग बोकेका मानिसहरू हनुमानढोकाको सिंहढोकाबाट कहीँ मारकाट गर्न निस्केझैँ लहरै निस्कँदा अचम्मित नहुने को होला रु त्यो पनि पूरै देश दशैंको वातावरणमा चुर्लुम्म डुबेको बेला । स्थानीय भाषामा ‘पायाः’ भनिने र खड्गसिद्धिको रूपमा चिनिएको यो हनुमानढोका दरबारमा मनाइने दशैंको विशेष झलक हो ।

स्थानीय नेवारहरू भन्छन्– ‘दशैं अरुका लागि शक्तिको पूजा होला, तर हाम्रा लागि शक्तिको पूजामात्र नभएर शक्तिप्राप्तिका लागि गरिने आराधना पनि हो र तान्त्रिक साधना गरेर यो प्राप्त गरिन्छ । यसको राम्रो उदाहरण खड्गसिद्धि भनेर निस्कने ‘पायाः’ हो । त्यसैले यो दशैं मात्रै होइन, मोहनी पनि हो ।’

दशमीका दिन पायाः निस्कन्छ । तान्त्रिक विधिबाट पूजा सम्पन्न गरी शक्तियुक्त खड्ग बोकेर निस्कनुलाई नै पायाः वा खड्गसिद्धि भनिएको हो । दशैंमा यो शक्ति अनिवार्य रूपमा लिनुपर्ने मान्यता छ । दशैं मनाउनुको औचित्य नै खड्गसिद्धि प्राप्त गर्नु हो, नेवारका लागि । हुन त काठमाडौंका रैथाने नेवारहरूको घरघरमै खड्गसिद्धि लिने काम हुन्छ तर विविध कारणले घरमा दशैं मनाउन नपाउनेहरू पनि त्यो शक्तिबाट वञ्चित हुन नपरोस् भनेर सामूहिक रूपमा यसरी निकालिएको हो ।

अघि ठाउँठाउँमा युवाहरुलाई सैनिक अभ्यास लगाउँथ्यो तर जंगबहादुर राणाको समयदेखि बन्द गराइएको बताइन्छ । मल्लकाल वा लिच्छविकालदेखि प्रचलित यो सैनिक अभ्यासलाई जंगबहादुको समयदेखि किन बन्द गराइयो भन्ने कुरा अध्ययनको विषय हो । त्यत्ति बेला युद्ध क्षेत्रमा प्रयोग गरिने युद्ध सामग्रीहरू तलेजु मन्दिरमा रहने हुँदा दशैंमा त्यहाँबाट पनि पायाः निस्कने हो । यो हनुमानढोकाबाट मात्र निस्कँदैन । ठमेल, असन, इन्द्रचोक, नरदेवी, यट्खा, किलागल आदि र भक्तपुर, तथा पाटनबाट पनि निस्कन्छ । भर्खरै शक्ति प्राप्त गरेकाहरू उत्तेजित हुँदै निस्कँदा तिनका हरेक अंगमा कम्प छुट्ने र युद्धक्षेत्रमा बजाइने प्राचीन बाजाको आवाज पनि हुँदा रणक्षेत्रका लागि निस्केको भन्ने अर्थ लगाउनेहरू नभएका पनि होइनन् । कतिपय लेख तथा पुस्तकमा यही अर्थ दिएको पाइन्छ । हनुमानढोकाबाट निस्कने खड्गसिद्धि विशेष हुनुको कारण यसमा राजप्रतिनिधिको रूपमा राजकीय खड्ग बोक्ने व्यक्ति पनि हुन्छन् । पहिले मल्ल राजाहरू स्वयं यसमा सामेल हुने गर्दथे । तर, आजभोलि प्रतिनिधिमात्र आउने गरेका छन् ।

हनुमानढोकामा मनाइने दशैं विशेष प्रकारको हुन्छ । सिद्धान्ततः यहाँ मनाइने दशैं रैथाने नेवार समुदायले मनाउने दशैंकै बृहत् रूप हो । रैथानेहरू दशैंमा पूर्णतः तान्त्रिक विधिले पूजा गर्ने हुँदा वैदिकभन्दा फरक हुन्छ । समय र परिस्थितिअनुसार केही तलमाथि परे पनि हनुमानढोकाको दशैंमा पुराना विधिव्यवहारै चलिरहेकाले सयौं वर्षअघिको मौलिकता अझै देख्न पाइन्छ ।

आश्विन शुक्ल प्रतिपदाका दिन हनुमानढोका दरबारको मूलचोकसँगै रहेको दशैंघरमा घटस्थापना र जमरा राखिएपछि विधिवत् दशैंको तयारी भएको मानिन्छ । पहिला नारायणहिटी दरबारमा प्रयोग गर्न यहीँको जमरा लगिन्थ्यो । घटस्थापनापछि पञ्चमीको दिन बेलुका हनुमानढोकाअगाडि पचली भैरव ल्याइन्छ । कुमारीको उपस्थितिमा गरिने उक्त पूजापछि भैरवलाई एउटा राँगो बलि दिइन्छ । बलिपछि प्रसादका लागि हारालुछ हुन्छ । पूजा सकिएपछि कुमारीलाई कुमारीघरमै फर्काइन्छ ।

सप्तमीका दिन फूलपाती भित्र्याइन्छ । फूलपाती भित्र्याउन यसअघि नै हनुमानढोका दरबारबाट केही व्यक्तिलाई नुवाकोटको धुनीबेंसी पठाइन्छ । त्यहाँ उनीहरूले लक्षणयुक्त बेलको बोटमा बोकासमेत बलि दिई त्यसको पात टिपेर ल्याउँछन् । यसरी नै गोरखा दरबारबाट पनि ल्याइएको फूलपाती बीच बाटोमा मिलाई सँगै काठमाडौं आई स्वयम्भू पुगेर हनुमानढोका दरबारमा खबर गरिन्छ । त्यसपछि फूलपाती लिन तयार भएकाहरू रानीपोखरीको उत्तरी किनारा जमलमा पुग्छन् र फूलपातीलाई राजकीय सम्मानका साथ झल्लरी छाता ओढाएर डोलीमा बोकी बढाइँगर्दै हनुमानढोका लगिन्छ । नासलचोकमा फूलपातीको तान्त्रिक विधिबाट पूजा गरी एउटा बोका बली दिइन्छ र पूजापछि फूलपाती दशैंघर लगिन्छ । हनुमानढोकामा हुने यो विधि शाह कालमा मात्रै थपिएको हो ।

अष्टमीका दिन शुभ मुहूर्त हेरी तलेजु मन्दिरबाट तलेजु भवानीलाई मूलचोकमा ल्याई पूजाका साथै खड्ग स्थापना गरिन्छ । अष्टमी र नवमीबीचको कालरात्रिमा रातभरि मूलचोकमा तलेजु भवानीको गुप्त पूजा गरिन्छ । रातभरि हुने यो पूजामा ५४ रांगा र ५४ बोका गरी एक सय आठ पशुको बलि दिइन्छ । यसरी बलि दिनुको तात्पर्य तलेजु भवानीलाई खुसी पार्नु हो । नवमीको दिन पनि यस्तै पूजा हुन्छ र अघिल्लो रातजस्तै एक सय आठ पशुको बलि दिने गरिन्छ । तर, तलेजुका पुजारीहरूमात्र बसेर गरिने उक्त गुप्त पूजाको समयमा बाहिरी व्यक्तिलाई हेर्न दिइँदैन ।

नवमीमा सर्वसाधारणका लागि तलेजु मन्दिर खुला हुन्छ । अरू बेला सर्वसाधारणका लागि बन्द हुने यो मन्दिरमा दर्शनका लागि बिहानैदेखि घुइँचो लाग्छ । नवमीका दिन मान्छे सिंहढोकाबाट पसेर जुत्ता फुकाली तलेजु मन्दिरको सिँढी चढ्छन् र प्रदक्षिणा गरेर ओर्लन्छन् । यसरी नै मूलचोक हुँदै हनुमानढोकाबाट बाहिर निस्कने गरिन्छ । नवमीको बेलुका मूल कुमारीसहित अन्य नौ कुमारी तथा भैरव र गणेशको प्रवेश हनुमानढोकाभित्र गराइन्छ र आवश्यक पूजापछि फेरि फर्काइन्छ ।

दशमीमा दिन पनि दशैंघरमा पूजा हुन्छ । यो दिन हुने पूजा अलि लामो हुन्छ । पूजापछि पहिला नारायणहिटी दरबारमा प्रसादस्वरूप टीका लग्ने गरिन्थ्यो तर अहिले यो काम गर्नु पर्दैन । मूलचोकमा पनि त्यस्तै पूजा हुन्छ । यी सबै कामपछि बल्ल राति दस–एघार बजेतिर खड्गसिद्धि वा पायाः निकाली कुमारीघर हुँदै सिंहसत्तल घुमी प्याफल, कम्पुकोट, महेन्द्रेश्वर, इन्द्रचोक भएर पुनः सिंहढोकाबाट भित्रै ल्याइपु¥याइन्छ । तर, पूर्णिमासम्म दशैं मनाउने भन्ने मान्यता कायमै छ ।

 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

अन्य लेखहरू: बसन्त महर्जन

यस लेखकका अन्य रोचक लेखहरू
होस/बेहोस (लघुकथा)

होस/बेहोस (लघुकथा)

मदिरालयमा बडो मज्जाले मदिरापान गरेको थिएँ । त्यही भएर बाहिर निस्कँदा......

बौद्ध चारधामको महत्व

बौद्ध चारधामको महत्व

विश्व बौद्धजगत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, बोधिलाभस्थल बोधगया, प्रथम धर्मचक्रप्रवत्र्तनस्थल सारनाथ र महापरिनिर्वाणस्...

आमा बाबुको मुख हेर्ने पर्व

आमा बाबुको मुख हेर्ने पर्व

आमाबाबुलाई आदरसत्कार नगर्नु भनेर कसले भन्छ र ? तर सबै धार्मिक समुदायमा ‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ पर्व त छ...

महाराज क्राचल्ल र बौद्ध धर्ममा उनको योगदान

राजा क्राचल्लले आफूलाई ‘परमसौगात’ अर्थात् बुद्धका ठुलो उपासक भनेर चिनाउन मन पराउने राजा हुन् । यसबाट उनी बौद्ध धर्मका उप...

बडामहाराजा नागराज र बौद्ध धर्ममा उनको योगदान

कीर्तिखम्बमा उल्लेखित विवरण राजा नागराज र उनका उत्तराधिकारीहरुका सम्बन्धमा हो । तिब्बती श्रोतहरुले पनि यही विवरण प्रस्तु...

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति चोरी हुनु धेरै दुःखदायी हो । झिल्के बनाएर यसको सत्यानाश नै गरिदिनु थप दुःखदायी हो । मूर्तिचोरीमा संलग्न हुनेहरु न...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्