६ बैशाख २०८३, आइतबार

हाकु पतासिमा ग्रेटवाल चढ्दा


अ+
अ-

चीनमा जुन कार्यक्रममा सहभागी हुन आउँँदै थिएँ, आयोजकले उद्घाटन कार्यक्रममा आफ्नो देशको सांस्कृतिक पहिचान झल्कने पोषाक ल्याउन लेखेको थियो । नेपालको साँस्कृतिक पहिचानका लागि तथा आफू नेवार भएकोले मैले हाकु पतासि लिएर आएको थिएँ ।

चीनमा पहिलो पटक हाकु पतासि लगाएँ । नेवार भएर पनि मैले हाकु पतासि शरीरमा धारण गरेको थिइनँ, जुन पहिलो पटक चीन आउँदा लगाउँने अवसर जु¥यो । कार्यक्रम उद्घाटन तियाञ्जिनमा भएको थियो भने तियाञ्जिनबाट झण्डै पाँच घण्टाको बसको यात्रापछि बेइजिङ पुगिन्थ्यो, पुगियो । जब हाकु पतासि ल्याई नै सकियो भने ग्रेटवाल जाँदा पनि किन नलगाउँने ? भन्ने सोचले म हाकु पतासिमा ग्रेटवाल चढ्ने निक्र्याेलमा पुगेको थिएँ ।

विश्वका सातौं आश्चर्यमध्येको एक ग्रेटवालमा आफ्नो सांस्कृतिक पहिचानसहित जान सकियो भने त्यसको रोमाञ्चकता नै अर्कै हुन्छ भन्ने सोचले मैले हाकु पतासि लगाएर ग्रेटवाल चढ्ने निक्र्योल गरेको थिएँ ।

सोचेको थिएँ, त्यहाँ चढ्दै जाँदा भेटिने स–साना घरभित्र तथा ट्वाइलेटमा पसेर हाकु पतासि फुकालौंला, माथि टि–शर्ट लगाउँला । ग्रेट वालका डकुमेन्ट्रीहरू हेर्दा साना घरभित्र बसेर आराम गरिरहेको देखेकोले मैले त्यस्तो अवधारणा बनाएको थिएँ । संगै गएको साथीलाई पनि हाकु पतासि लगाएर जाने कुरा सुनाएँ । ‘हुन्छ’ भनिन् । तर, एक्कै क्षणमा नेपाली साथीहरूले गाह्रो होला भन्ने बित्तिकै “हो, गाह्रो हुन्छ, म नलगाउँने’ भनिन् ।

बिहानको ब्रेकफास्टपछि ग्रेटवाल जाने कार्यक्रम भएको र पौने ९ बजेसम्ममा बसमा आइपुग्ने आयोजकको जनाउ भएकोले हामी लुगा लगाउन हिंड्यौं । मेरो कोठा हुँदै उनको कोठामा जानु पर्ने हुँदा लिफ्टमा, बाटोमा सँगसँगै थियौं तर मैले उनलाई दाहो¥याएर भनिन् । कोठामा आएर लुगा लगाउन थालें । बाहिर फुकाल्न सजिलो हुन्छ भनेर पेटिकोट होइन पाइन्टमाथि साडी लगाउँदै थिएँ, उनी पनि हाकु पतासि लिएर कोठा ढक्ढक्याउन आइन् ।

‘अनि, नलगाउने, गाह्रो हुन्छ भनेको होइन त ?, मैले सोधेँ । ‘लगाउने भनेर ल्याइसकें, होस् अब लगाएर नै जाउँ न त, तपाईलाई साथ दिएँ मैले’, उनले भनिन् ।

चीन भ्रमणका दौरान ग्रेटवाल जाने कार्यक्रम रहेको थाहा भएदेखि नै मनमनै ग्रेट वाल चढेको सपना सजाउँन थालेको थिएँ । चीन आएपछि पनि ग्रेटवाल जाने दिन गन्दै बसेको थिएँ । अन्ततः हाकु पतासि लगाएर जाने कुराले अझै उत्साहित थिएँ । नहुनु पनि किन ? विश्वका सातौं आश्चर्यमध्येको एक पो हो त ! युनेस्कोले सन् १९८७ मा विश्व धरोहर सूचीमा समावेश गरेको यो ग्रेटवाल दुनियानको सात आश्चर्यमध्ये एक मानिन्छ ।

चीनको ग्रेटवालमा हाकु पतासि (परम्परागत नेवार महिला पहिरन, रातो किनाराको कालो सारी) लगाएर जाने कुरा सुनाउँदा चिनियाँ साथीहरू अक्मकिए । नेपाली मित्रहररूले सामान्य लुगामा जाँदा सहज हुने सुझाव दिए । हाम्रो टिममा रहेका चिनियाँ साथीहरूले हाकु पतासि लगाउने तरिका देखिसकेको र बुझिसकेको हुनाले अक्मकिनु स्वाभाविक थियो ।

२६ जुन २०२५ को दिन बिहान १० बजे हामी ग्रेट वाल चढ्न थाल्यौं । यस्तो ठाउँमा पुग्न पाएकोमा मनमनै आमा–बुबाप्रति कृतज्ञता व्यक्त गरें । प्रायोजक मिनिस्ट्रि अफ कमर्श अफ दि पिपुल्स रिपब्लिक अफ चाइना र आयोजक संस्था तियान्जिन टेडा इम्पोर्ट एण्ड एक्स्पोर्ट कं. लिमिटेड तथा नेपाल–चाइना मिडिया फोरमको सहयोग विना यो यात्रा सम्भव थिएन । त्यसैले हामीलाई साथ दिंदै आएकी चिनियाँ सहजकर्ता म्याक्समार्फत सबैलाई धन्यवाद भनें, हामी अगाडि बढ्यौं ।

चीन र ग्रेटवाल एक अर्काका पर्याय हुन् । सानैदेखि सुन्दै र पढ्दै आएको । कुनै दिन जानु पर्ला र गइएला भनेर सोचेकै थिएनँ । तर, अकस्मात आइयो चीन । त्यो पनि थोरै समयका लागि होइन, झण्डै २५ दिन । अकस्मात यो अर्थमा कि चीन उड्नु केही घण्टाअघि मात्र भिसा लागेको थियो । तालिम कार्यक्रममा सहभागी हुन आउँदा हामी घुम्ने ठाउँमा त्यान्जिन, बेइजिङ र स्याञ्जेन शहर परेको थियो । मेरो मनलाई भने एक तमासले ग्रेटवालले तानिरहेको थियो ।

त्याञ्जिनमा पुगेदेखि नै ज्यादै गर्मी महसुस भएको थियो । चीनमा यतिधेरै गर्मी हुन्छ भन्ने कुरा मैले अनुमानसम्म पनि गरेको थिइनँ । त्यान्जिन ट्रपिकल एरियामा परेको कारण बढी गर्मी हुने गरेको कुरा पछि थाहा भयो । तर, बेईजिङ गएदेखि नै शितल महसुस हुन थाल्यो । जताततै हरियाली, बाटोको छेउछाउ सबैतिर रूखैरूख । चीन सरकारले उद्योग, कलकारखानादेखि हरेकलाई रूख रोप्न गरेको प्रोत्साहनको प्रतिफल त्यहाँ जाने प्रत्येक व्यक्तिले महसुस गर्ने गरेका छन् । त्यसमाथि हामी ग्रेटवाल गएको दिन घाम पनि त्यति लागेको थिएन ।

बेइजिङमा हरियाली र स्वच्छ वातावरणका लागि सरकारले विभिन्न प्रयास गरेको छ । जसमा शहरी वनीकरण तथा हरित क्षेत्र विस्तारको “ग्रीन बेल्ट’’ परियोजना अन्तर्गत शहरको वरिपरि वन क्षेत्र विस्तार गरिएको छ । यसले हावाको गुणस्तर सुधार्न र धुलो तथा प्रदूषण नियन्त्रण गर्न मद्दत गर्छ । ओलम्पिक फरेस्ट पार्क, बेइहाई पार्कजस्ता ठूला हरित क्षेत्रहरू नागरिकलाई प्रकृतिसंग जोड्ने केन्द्र बनेका छन् । शहरका बाटो तथा “हाइ वे’’ को किनारमा लगाइएका तीन जात (सानो, मझौला र अलि अग्लो) का रूखहरूले सम्भावित हुरी बतासमा पनि ढुक्कले बाटो हिंड्न र रूख ढले पनि कुनै दुर्घटना नहुने देखिन्छ । रूख रोप्दा नै पनि विपदको सम्भावित जोखिमलाई कसरी कम गर्न सकिन्छ भन्ने कुराको उदाहरण पनि हो यो ।

वायु प्रदूषण कम गर्न कोइलामा आधारित उद्योगहरू बन्द गरिएको छ र स्वच्छ ऊर्जा (जस्तै सौर्य ) प्रयोग बढाइएको छ । सार्वजनिक यातायात (मेट्रो, इलेक्ट्रिक बस) लाई प्राथमिकता दिइएको छ र इलेक्ट्रिक वाहनहरूको प्रयोग बढाईएको छ । सर्वसाधारणका लागि साइकलहरू बाटोमा यत्रतत्र राखिएका हुन्छन्, आवश्यकताअनुसार प्रयोग गर्न र छोड्न सक्नेगरी । यी साइकलहरूमा रहेको क्यूआर कोड स्क्यान गरेर तथा निश्चित पैसा तिरेर आफूलाई चाहिएको ठाउँमा लग्न सकिने रहेछ साइकल ।

चीनको विशाल पर्खाल (ग्रेटवाल अफ चाइना) के हो ?
चीनको विशाल पर्खाल जसलाई अंग्रेजीमा “ग्रेट वाल अफ चाइना“ भनिन्छ । यो विश्वको सबैभन्दा प्रसिद्ध ऐतिहासिक संरचनामध्ये एक हो । मानव निर्मित अद्भुत पर्खाल चीनको गौरवशाली इतिहास, सांस्कृतिक विरासत र सैन्य सामरिक महत्वको प्रतीक पनि मानिन्छ । यसले केवल चीनको उत्तरी सीमाको सुरक्षा गर्नेमात्र गर्ने नभई विश्व इतिहासमा पनि अमिट छाप छोडेको छ ।

ग्रेटवाल निर्माणको इतिहास
ग्रेटवाल निर्माण कार्य ५औं शताब्दी ईसा पूर्वदेखि १६औं शताब्दीसम्म विभिन्न चीनियाँ शासकहरूद्वारा चरणबद्ध रूपमा गरिएको थियो । निर्माणको प्राथमिक उद्देश्य उत्तरी हमलाबाट देशलाई सुरक्षा प्रदान गर्नुथियो ।

चीनको पहिलो सम्राट किन सि हुआंगले (२२१–२०६ ईपू) विभिन्न राज्यहरूमा पहिले नै निर्माण भइसकेका पर्खालहरूलाई जोडेर एकीकृत गरेका थिए। यसपछि हान, सुई, उत्तरी र जिनजस्ता राजवंशहरूले यसको मर्मतसम्भार र विस्तार गर्दै गए । तर, मिङ राजवंश (१३६८–१६४४) को समयमा नै यसको सबैभन्दा प्रभावशाली संस्करण निर्माण भएको थियो, जुन अहिलेसम्मका धेरै भागहरूमा देखिन्छ ।

चीनको विशाल पर्खालको लम्बाई सम्बन्धमा विभिन्न अनुमानहरू छन् । पारम्परिक अनुमानअनुसार ६ हजार ४ सय किलोमिटर (४ हजार माइल) छ । हाल भने २१ हजार १९६.१८ किलोमिटर अर्थात् १३ हजार १७०.७ माइल लामो रहेको अनुमान गरिन्छ । यसले सबै शाखा–प्रशाखाहरू समेटेको छ ।

“ग्रेटवाल“ अर्थात् पर्खाल भनिए पनि हामीले घर वा जग्गा जमिनमा लगाउने जस्तो पर्खाल नभएर दुबैतिर ठूलो मोटाईसहित निर्माण गरिएको सिंढीसहितको पर्खाल हो । यसको चौडाइ २१ फिट (६.४ मिटर) सम्म छ, जसले एकैसाथ ५ वटा घोडा सवार हुन वा १० पैदल सैनिकहरूले एउटै हारमा बसेर गस्ती लगाउन सक्छन् भन्ने मान्यता राखिंदै आएको पाइन्छ । सबै ठाउँको चौडाई एकनासको नभएको हुँदा यो मान्यता सबै ठाउँमा लागू नहुन सक्छ भने दुबैतिरको पर्खालको उचाई पनि एकसमान छैन । केही ठाउँमा ९ फिट (२.७ मिटर) त कतै ३५ फिट (१०.६ मिटर)सम्मको पर्खाल रहेका छन् । सिंढीहरू पनि एक नासको छैन । २–३ इञ्चदेखि २ फिट अग्लोसम्मको सिंढी हामीले चढ्यौं । त्यसैले उक्लिँदा विशेष ध्यान दिनुपर्ने रहेछ ।

ग्रेटवाल छिर्ने गेटका सबै जाँच गरेर चढाई शुरू गर्दा जुन उत्साह थियो, त्यो उत्साह पर्खाल ठडिएसँगै अझ बढ्दै गयो । हुन त हाम्रो योजना माथिसम्म जाने थिएन । घुमेर थोरै समयमा सकिने पनि होइन, तर पनि अलि माथि जाउँ भन्ने चाहनाले उकालिंदै गएँ । शुरुमा हाकु पतासि जति स्वाभाविक थियो, चढ्दै जाँदा त्यस्तो भएन । दुई ठाउँमा झण्डै लडेको, अगाडिबाट खुट्टाले कुल्चिएर । हाकु पतासिलाई देब्रे हातले समातेर, अर्काे हातले सिंढी छेउमा राखिएका बार समात्दै उकालियौं । अलि अस्वाभाविक लुगा देखेर होला अरू पर्यटक हामीलाई हेर्दै फोटो खिच्थे, रमाइलो नै भयो ।

१० बजे गेटभित्र छिरेका हामीलाई साढे ११ बजेसम्मको समय थियो । तर, हाकु पतासिले गर्दा समयमा सिंढी उक्लिन सकिएन । जब ठाडो उकालो आयो, साथीको अनुहार हेर्दा हाकु पतासि लगाएर आएकोमा पछुतोसँगै आक्रोश देखें । म चुप लागेर हिंड्दै गरेँ । उनी अब अगाडि नजाने भनेर थचक्क बसिन् । केही क्षण बसेपछि हिम्मत आएछ क्यारे मभन्दा अगाडि गएर माथि पुगिन् तर अझै टिमका अरू साथीहरू पुगेको ठाउँमा पुगेकै थिएनौं । तर, मलाई हाकु पतासि लगाएकोमा कुनै क्षोभ, ग्लानी थिएन । मात्र, मैले डकुमेन्ट्रीमा देखेका ग्रेटवालका साना घरहरू ताला लगाएर बन्द भएकोले सोचेअनुसार लुगा परिवर्तन गर्न सकिएन । हाम्रा पहाडका दिदीबहिनी, आमाहरू अझै धोती लगाएर पहाडका कुना कन्दरा पुगेका हुन्छन् । केही अप्ठ्यारो भएकै हो तर जानै नसकिने होइन ।

ग्रेटवाल निर्माण प्रविधि
ग्रेटवाल निर्माणमा स्थानीय स्रोतहरूको प्रयोग गरिएको रहेछ । पहाडी क्षेत्रहरूमा ढुंगा अनि मैदानी क्षेत्रहरूमा माटो र ढुंगा दुवै प्रयोग गरिएको थाहा भयो । ढुंगाहरू जोड्न चामलको पीठोको मिश्रण प्रयोग गरिएको पनि जानकारी प्राप्त भयो ।
मुख्यतः सैन्य सुरक्षाको लागि निर्मित यो पर्खालले सीमा नियन्त्रण, आप्रवासन, रेशम मार्गमा व्यापारिक शुल्क लगाउने, यातायात, संचारजस्ता कुरालाई पनि जोड्छ । धेरै लामो यो पर्खालको वास्तुशिल्प विशेषताहरूमा थुप्रै किल्लाहरू, सैनिक ब्यारकहरू, प्रहरी चौकीहरू, सतर्कता मीनारहरू, सिढीहरू र पुलहरू रहेका झन् ।

मानवीय इतिहासमा ठूलो महत्व राख्ने ग्रेटवाल निर्माण परियोजनामा लाखौं मानिसहरूको ज्यान गएको अनुमान छ । सन् १२११ मा मंगोल शासक चंगेज खानले यस पर्खाललाई तोडेर चीनमा आक्रमण गरेका थिए । यो घटनाले ग्रेटवालको छविलाई धक्का पु¥यायो ।

ग्रेटवालका दायाँबायाँ साना साना स्पिकर लगाएर क्षति पुर्याउँने कृयाकलाप नगर्न अनुरोधसहितको सूचना बजिरहेका थिए । तर ग्रेटवाल जानेहरूले कान थापेर नसुनेसम्म त्यसले डिस्टर्ब भने नगर्ने रहेछ । पर्खाल वरपर वनजंगल, बोटबिरूवा पनि भएकोले आगलागी हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर लाइटर निषेध गरिएको छ । हाल यसलाई संरक्षण गर्न चिनियाँ सरकाले विभिन्न उपायहरू अवलम्बन गर्दै आएको छ ।

विश्व पर्यटन जगतमा अलग्गै महत्व राख्ने ग्रेटवालमा सर्वसाधारणदेखि विश्व प्रशिद्ध व्यक्तिहरू पनि आउन लालायित हुन्छन् । स्थानीय युवायुवती तथा बालबालिकाहरू पनि शैक्षिक भ्रमणको रूपमा दैनिक हजारौंको संख्यामा त्यहाँ पुग्छन् । सन् १९७० मा पहिलोपटक यसलाई सर्वसाधारणका लागि खुला गरिएको थियो । ग्रेटवाल भ्रमणमा जानेहरूले आफ्नो यात्रालाई अविस्मरणीय बनाउन फोटो, भिडियो खिच्ने, रिल तथा तथा टिकटक बनाउनेजस्ता कृयाकलाप गर्ने गर्दछन् । भ्रमण गरिएका अधिकांश ठाउँको रिल तथा फेसबुक पोष्ट गर्ने क्रममा बेइजिङको ग्रेटवाललाई मैले पनि छुटाउने कुरा थिएन । चीनको यस्तो अद्भूत संरचना ग्रेटवालमा हाकु पतासि लगाएर जान पाउनु मेरो लागि गौरवको कुरा हो, यसको रोमाञ्चकता मेरो मनमा अमीट बन्यो ।

(पहिलो पटक जनआस्था अनलाइनमा प्रकाशित ।)

 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
अमिका राजथला

मेगु पोस्त: अमिका राजथला

छिं लेखकाः मेगु लेख
कलाको भाषामा अन्तर्दृष्टि

कलाको भाषामा अन्तर्दृष्टि

उनका कला हेर्ने दर्शकले आयाताकार अनुहारलाई कलम, कुची वा अन्य केही अनुमान लगाउन सक्छन् तर उनी भन्छिन् "याे मेराे चित्रकला...

सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश नियुक्त

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल आजदेखि कायम मुकायम (कामु) प्रधानन्यायाधीश भएकी छिन्। प्रधानन्यायाधी...

मध्य पश्चिम युद्धको चपेटामा नेपाली बजार

मध्य पश्चिम युद्धको चपेटामा नेपाली बजार

विश्वको ऊर्जा राजधानी मानिने खाडी क्षेत्रमा भड्किएको यो सङ्कटले नेपाली बजारमा तेल र ग्यासको मूल्य मात्रै बढाएको छैन, सर्...

वायु प्रदूषण कसरी नियन्त्रण गर्ने?

वायु प्रदूषण कसरी नियन्त्रण गर्ने?

वातावरणीय संकट र विशेषगरी वायु प्रदूषणको समस्या आज नेपालका सहरहरूमा गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा देखा परेको...

एप्स्टिन काण्डः शक्तिशाली पुरुषहरूलाई सतह देखाउने पत्रकार जुली के. ब्राउन

एप्स्टिन काण्डः शक्तिशाली पुरुषहरूलाई सतह देखाउने पत्रकार जुली के. ब्राउन

जेफ्री एप्स्टिन काण्ड ! लाखौं पेजमा फैलिएको कुकृत्यको उक्त एप्स्टिन फाइलमा हालका अमेरिकी राष्ट्रपतिदेखि पूर्व राष्ट्रपति...

नेवार संस्कारमा "बाह्रा:पिकायेेगु" सूर्यदेवसँग विवाह हाे कि पूजा मात्र ?

नेवार संस्कारमा "बाह्रा:पिकायेेगु" सूर्यदेवसँग विवाह हाे कि पूजा मात्र ?

नेवार समुदायकाे संस्कृति पृथक छ, राेमाञ्चक पनि । यही कारण हुनसक्छ संस्कार-संस्कृतिकाे पहिचानमा हाेस् या व्यवहारमा- यसले ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्