हाकु पतासिमा ग्रेटवाल चढ्दा
चीनमा जुन कार्यक्रममा सहभागी हुन आउँँदै थिएँ, आयोजकले उद्घाटन कार्यक्रममा आफ्नो देशको सांस्कृतिक पहिचान झल्कने पोषाक ल्याउन लेखेको थियो । नेपालको साँस्कृतिक पहिचानका लागि तथा आफू नेवार भएकोले मैले हाकु पतासि लिएर आएको थिएँ ।
चीनमा पहिलो पटक हाकु पतासि लगाएँ । नेवार भएर पनि मैले हाकु पतासि शरीरमा धारण गरेको थिइनँ, जुन पहिलो पटक चीन आउँदा लगाउँने अवसर जु¥यो । कार्यक्रम उद्घाटन तियाञ्जिनमा भएको थियो भने तियाञ्जिनबाट झण्डै पाँच घण्टाको बसको यात्रापछि बेइजिङ पुगिन्थ्यो, पुगियो । जब हाकु पतासि ल्याई नै सकियो भने ग्रेटवाल जाँदा पनि किन नलगाउँने ? भन्ने सोचले म हाकु पतासिमा ग्रेटवाल चढ्ने निक्र्याेलमा पुगेको थिएँ ।
विश्वका सातौं आश्चर्यमध्येको एक ग्रेटवालमा आफ्नो सांस्कृतिक पहिचानसहित जान सकियो भने त्यसको रोमाञ्चकता नै अर्कै हुन्छ भन्ने सोचले मैले हाकु पतासि लगाएर ग्रेटवाल चढ्ने निक्र्योल गरेको थिएँ ।
सोचेको थिएँ, त्यहाँ चढ्दै जाँदा भेटिने स–साना घरभित्र तथा ट्वाइलेटमा पसेर हाकु पतासि फुकालौंला, माथि टि–शर्ट लगाउँला । ग्रेट वालका डकुमेन्ट्रीहरू हेर्दा साना घरभित्र बसेर आराम गरिरहेको देखेकोले मैले त्यस्तो अवधारणा बनाएको थिएँ । संगै गएको साथीलाई पनि हाकु पतासि लगाएर जाने कुरा सुनाएँ । ‘हुन्छ’ भनिन् । तर, एक्कै क्षणमा नेपाली साथीहरूले गाह्रो होला भन्ने बित्तिकै “हो, गाह्रो हुन्छ, म नलगाउँने’ भनिन् ।
बिहानको ब्रेकफास्टपछि ग्रेटवाल जाने कार्यक्रम भएको र पौने ९ बजेसम्ममा बसमा आइपुग्ने आयोजकको जनाउ भएकोले हामी लुगा लगाउन हिंड्यौं । मेरो कोठा हुँदै उनको कोठामा जानु पर्ने हुँदा लिफ्टमा, बाटोमा सँगसँगै थियौं तर मैले उनलाई दाहो¥याएर भनिन् । कोठामा आएर लुगा लगाउन थालें । बाहिर फुकाल्न सजिलो हुन्छ भनेर पेटिकोट होइन पाइन्टमाथि साडी लगाउँदै थिएँ, उनी पनि हाकु पतासि लिएर कोठा ढक्ढक्याउन आइन् ।
‘अनि, नलगाउने, गाह्रो हुन्छ भनेको होइन त ?, मैले सोधेँ । ‘लगाउने भनेर ल्याइसकें, होस् अब लगाएर नै जाउँ न त, तपाईलाई साथ दिएँ मैले’, उनले भनिन् ।
चीन भ्रमणका दौरान ग्रेटवाल जाने कार्यक्रम रहेको थाहा भएदेखि नै मनमनै ग्रेट वाल चढेको सपना सजाउँन थालेको थिएँ । चीन आएपछि पनि ग्रेटवाल जाने दिन गन्दै बसेको थिएँ । अन्ततः हाकु पतासि लगाएर जाने कुराले अझै उत्साहित थिएँ । नहुनु पनि किन ? विश्वका सातौं आश्चर्यमध्येको एक पो हो त ! युनेस्कोले सन् १९८७ मा विश्व धरोहर सूचीमा समावेश गरेको यो ग्रेटवाल दुनियानको सात आश्चर्यमध्ये एक मानिन्छ ।
चीनको ग्रेटवालमा हाकु पतासि (परम्परागत नेवार महिला पहिरन, रातो किनाराको कालो सारी) लगाएर जाने कुरा सुनाउँदा चिनियाँ साथीहरू अक्मकिए । नेपाली मित्रहररूले सामान्य लुगामा जाँदा सहज हुने सुझाव दिए । हाम्रो टिममा रहेका चिनियाँ साथीहरूले हाकु पतासि लगाउने तरिका देखिसकेको र बुझिसकेको हुनाले अक्मकिनु स्वाभाविक थियो ।
२६ जुन २०२५ को दिन बिहान १० बजे हामी ग्रेट वाल चढ्न थाल्यौं । यस्तो ठाउँमा पुग्न पाएकोमा मनमनै आमा–बुबाप्रति कृतज्ञता व्यक्त गरें । प्रायोजक मिनिस्ट्रि अफ कमर्श अफ दि पिपुल्स रिपब्लिक अफ चाइना र आयोजक संस्था तियान्जिन टेडा इम्पोर्ट एण्ड एक्स्पोर्ट कं. लिमिटेड तथा नेपाल–चाइना मिडिया फोरमको सहयोग विना यो यात्रा सम्भव थिएन । त्यसैले हामीलाई साथ दिंदै आएकी चिनियाँ सहजकर्ता म्याक्समार्फत सबैलाई धन्यवाद भनें, हामी अगाडि बढ्यौं ।
चीन र ग्रेटवाल एक अर्काका पर्याय हुन् । सानैदेखि सुन्दै र पढ्दै आएको । कुनै दिन जानु पर्ला र गइएला भनेर सोचेकै थिएनँ । तर, अकस्मात आइयो चीन । त्यो पनि थोरै समयका लागि होइन, झण्डै २५ दिन । अकस्मात यो अर्थमा कि चीन उड्नु केही घण्टाअघि मात्र भिसा लागेको थियो । तालिम कार्यक्रममा सहभागी हुन आउँदा हामी घुम्ने ठाउँमा त्यान्जिन, बेइजिङ र स्याञ्जेन शहर परेको थियो । मेरो मनलाई भने एक तमासले ग्रेटवालले तानिरहेको थियो ।
त्याञ्जिनमा पुगेदेखि नै ज्यादै गर्मी महसुस भएको थियो । चीनमा यतिधेरै गर्मी हुन्छ भन्ने कुरा मैले अनुमानसम्म पनि गरेको थिइनँ । त्यान्जिन ट्रपिकल एरियामा परेको कारण बढी गर्मी हुने गरेको कुरा पछि थाहा भयो । तर, बेईजिङ गएदेखि नै शितल महसुस हुन थाल्यो । जताततै हरियाली, बाटोको छेउछाउ सबैतिर रूखैरूख । चीन सरकारले उद्योग, कलकारखानादेखि हरेकलाई रूख रोप्न गरेको प्रोत्साहनको प्रतिफल त्यहाँ जाने प्रत्येक व्यक्तिले महसुस गर्ने गरेका छन् । त्यसमाथि हामी ग्रेटवाल गएको दिन घाम पनि त्यति लागेको थिएन ।
बेइजिङमा हरियाली र स्वच्छ वातावरणका लागि सरकारले विभिन्न प्रयास गरेको छ । जसमा शहरी वनीकरण तथा हरित क्षेत्र विस्तारको “ग्रीन बेल्ट’’ परियोजना अन्तर्गत शहरको वरिपरि वन क्षेत्र विस्तार गरिएको छ । यसले हावाको गुणस्तर सुधार्न र धुलो तथा प्रदूषण नियन्त्रण गर्न मद्दत गर्छ । ओलम्पिक फरेस्ट पार्क, बेइहाई पार्कजस्ता ठूला हरित क्षेत्रहरू नागरिकलाई प्रकृतिसंग जोड्ने केन्द्र बनेका छन् । शहरका बाटो तथा “हाइ वे’’ को किनारमा लगाइएका तीन जात (सानो, मझौला र अलि अग्लो) का रूखहरूले सम्भावित हुरी बतासमा पनि ढुक्कले बाटो हिंड्न र रूख ढले पनि कुनै दुर्घटना नहुने देखिन्छ । रूख रोप्दा नै पनि विपदको सम्भावित जोखिमलाई कसरी कम गर्न सकिन्छ भन्ने कुराको उदाहरण पनि हो यो ।
वायु प्रदूषण कम गर्न कोइलामा आधारित उद्योगहरू बन्द गरिएको छ र स्वच्छ ऊर्जा (जस्तै सौर्य ) प्रयोग बढाइएको छ । सार्वजनिक यातायात (मेट्रो, इलेक्ट्रिक बस) लाई प्राथमिकता दिइएको छ र इलेक्ट्रिक वाहनहरूको प्रयोग बढाईएको छ । सर्वसाधारणका लागि साइकलहरू बाटोमा यत्रतत्र राखिएका हुन्छन्, आवश्यकताअनुसार प्रयोग गर्न र छोड्न सक्नेगरी । यी साइकलहरूमा रहेको क्यूआर कोड स्क्यान गरेर तथा निश्चित पैसा तिरेर आफूलाई चाहिएको ठाउँमा लग्न सकिने रहेछ साइकल ।चीनको विशाल पर्खाल (ग्रेटवाल अफ चाइना) के हो ?
चीनको विशाल पर्खाल जसलाई अंग्रेजीमा “ग्रेट वाल अफ चाइना“ भनिन्छ । यो विश्वको सबैभन्दा प्रसिद्ध ऐतिहासिक संरचनामध्ये एक हो । मानव निर्मित अद्भुत पर्खाल चीनको गौरवशाली इतिहास, सांस्कृतिक विरासत र सैन्य सामरिक महत्वको प्रतीक पनि मानिन्छ । यसले केवल चीनको उत्तरी सीमाको सुरक्षा गर्नेमात्र गर्ने नभई विश्व इतिहासमा पनि अमिट छाप छोडेको छ ।
ग्रेटवाल निर्माणको इतिहास
ग्रेटवाल निर्माण कार्य ५औं शताब्दी ईसा पूर्वदेखि १६औं शताब्दीसम्म विभिन्न चीनियाँ शासकहरूद्वारा चरणबद्ध रूपमा गरिएको थियो । निर्माणको प्राथमिक उद्देश्य उत्तरी हमलाबाट देशलाई सुरक्षा प्रदान गर्नुथियो ।
चीनको पहिलो सम्राट किन सि हुआंगले (२२१–२०६ ईपू) विभिन्न राज्यहरूमा पहिले नै निर्माण भइसकेका पर्खालहरूलाई जोडेर एकीकृत गरेका थिए। यसपछि हान, सुई, उत्तरी र जिनजस्ता राजवंशहरूले यसको मर्मतसम्भार र विस्तार गर्दै गए । तर, मिङ राजवंश (१३६८–१६४४) को समयमा नै यसको सबैभन्दा प्रभावशाली संस्करण निर्माण भएको थियो, जुन अहिलेसम्मका धेरै भागहरूमा देखिन्छ ।
चीनको विशाल पर्खालको लम्बाई सम्बन्धमा विभिन्न अनुमानहरू छन् । पारम्परिक अनुमानअनुसार ६ हजार ४ सय किलोमिटर (४ हजार माइल) छ । हाल भने २१ हजार १९६.१८ किलोमिटर अर्थात् १३ हजार १७०.७ माइल लामो रहेको अनुमान गरिन्छ । यसले सबै शाखा–प्रशाखाहरू समेटेको छ ।
“ग्रेटवाल“ अर्थात् पर्खाल भनिए पनि हामीले घर वा जग्गा जमिनमा लगाउने जस्तो पर्खाल नभएर दुबैतिर ठूलो मोटाईसहित निर्माण गरिएको सिंढीसहितको पर्खाल हो । यसको चौडाइ २१ फिट (६.४ मिटर) सम्म छ, जसले एकैसाथ ५ वटा घोडा सवार हुन वा १० पैदल सैनिकहरूले एउटै हारमा बसेर गस्ती लगाउन सक्छन् भन्ने मान्यता राखिंदै आएको पाइन्छ । सबै ठाउँको चौडाई एकनासको नभएको हुँदा यो मान्यता सबै ठाउँमा लागू नहुन सक्छ भने दुबैतिरको पर्खालको उचाई पनि एकसमान छैन । केही ठाउँमा ९ फिट (२.७ मिटर) त कतै ३५ फिट (१०.६ मिटर)सम्मको पर्खाल रहेका छन् । सिंढीहरू पनि एक नासको छैन । २–३ इञ्चदेखि २ फिट अग्लोसम्मको सिंढी हामीले चढ्यौं । त्यसैले उक्लिँदा विशेष ध्यान दिनुपर्ने रहेछ ।
ग्रेटवाल छिर्ने गेटका सबै जाँच गरेर चढाई शुरू गर्दा जुन उत्साह थियो, त्यो उत्साह पर्खाल ठडिएसँगै अझ बढ्दै गयो । हुन त हाम्रो योजना माथिसम्म जाने थिएन । घुमेर थोरै समयमा सकिने पनि होइन, तर पनि अलि माथि जाउँ भन्ने चाहनाले उकालिंदै गएँ । शुरुमा हाकु पतासि जति स्वाभाविक थियो, चढ्दै जाँदा त्यस्तो भएन । दुई ठाउँमा झण्डै लडेको, अगाडिबाट खुट्टाले कुल्चिएर । हाकु पतासिलाई देब्रे हातले समातेर, अर्काे हातले सिंढी छेउमा राखिएका बार समात्दै उकालियौं । अलि अस्वाभाविक लुगा देखेर होला अरू पर्यटक हामीलाई हेर्दै फोटो खिच्थे, रमाइलो नै भयो ।
१० बजे गेटभित्र छिरेका हामीलाई साढे ११ बजेसम्मको समय थियो । तर, हाकु पतासिले गर्दा समयमा सिंढी उक्लिन सकिएन । जब ठाडो उकालो आयो, साथीको अनुहार हेर्दा हाकु पतासि लगाएर आएकोमा पछुतोसँगै आक्रोश देखें । म चुप लागेर हिंड्दै गरेँ । उनी अब अगाडि नजाने भनेर थचक्क बसिन् । केही क्षण बसेपछि हिम्मत आएछ क्यारे मभन्दा अगाडि गएर माथि पुगिन् तर अझै टिमका अरू साथीहरू पुगेको ठाउँमा पुगेकै थिएनौं । तर, मलाई हाकु पतासि लगाएकोमा कुनै क्षोभ, ग्लानी थिएन । मात्र, मैले डकुमेन्ट्रीमा देखेका ग्रेटवालका साना घरहरू ताला लगाएर बन्द भएकोले सोचेअनुसार लुगा परिवर्तन गर्न सकिएन । हाम्रा पहाडका दिदीबहिनी, आमाहरू अझै धोती लगाएर पहाडका कुना कन्दरा पुगेका हुन्छन् । केही अप्ठ्यारो भएकै हो तर जानै नसकिने होइन ।
ग्रेटवाल निर्माण प्रविधि
ग्रेटवाल निर्माणमा स्थानीय स्रोतहरूको प्रयोग गरिएको रहेछ । पहाडी क्षेत्रहरूमा ढुंगा अनि मैदानी क्षेत्रहरूमा माटो र ढुंगा दुवै प्रयोग गरिएको थाहा भयो । ढुंगाहरू जोड्न चामलको पीठोको मिश्रण प्रयोग गरिएको पनि जानकारी प्राप्त भयो ।
मुख्यतः सैन्य सुरक्षाको लागि निर्मित यो पर्खालले सीमा नियन्त्रण, आप्रवासन, रेशम मार्गमा व्यापारिक शुल्क लगाउने, यातायात, संचारजस्ता कुरालाई पनि जोड्छ । धेरै लामो यो पर्खालको वास्तुशिल्प विशेषताहरूमा थुप्रै किल्लाहरू, सैनिक ब्यारकहरू, प्रहरी चौकीहरू, सतर्कता मीनारहरू, सिढीहरू र पुलहरू रहेका झन् ।
मानवीय इतिहासमा ठूलो महत्व राख्ने ग्रेटवाल निर्माण परियोजनामा लाखौं मानिसहरूको ज्यान गएको अनुमान छ । सन् १२११ मा मंगोल शासक चंगेज खानले यस पर्खाललाई तोडेर चीनमा आक्रमण गरेका थिए । यो घटनाले ग्रेटवालको छविलाई धक्का पु¥यायो ।
ग्रेटवालका दायाँबायाँ साना साना स्पिकर लगाएर क्षति पुर्याउँने कृयाकलाप नगर्न अनुरोधसहितको सूचना बजिरहेका थिए । तर ग्रेटवाल जानेहरूले कान थापेर नसुनेसम्म त्यसले डिस्टर्ब भने नगर्ने रहेछ । पर्खाल वरपर वनजंगल, बोटबिरूवा पनि भएकोले आगलागी हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर लाइटर निषेध गरिएको छ । हाल यसलाई संरक्षण गर्न चिनियाँ सरकाले विभिन्न उपायहरू अवलम्बन गर्दै आएको छ ।
विश्व पर्यटन जगतमा अलग्गै महत्व राख्ने ग्रेटवालमा सर्वसाधारणदेखि विश्व प्रशिद्ध व्यक्तिहरू पनि आउन लालायित हुन्छन् । स्थानीय युवायुवती तथा बालबालिकाहरू पनि शैक्षिक भ्रमणको रूपमा दैनिक हजारौंको संख्यामा त्यहाँ पुग्छन् । सन् १९७० मा पहिलोपटक यसलाई सर्वसाधारणका लागि खुला गरिएको थियो । ग्रेटवाल भ्रमणमा जानेहरूले आफ्नो यात्रालाई अविस्मरणीय बनाउन फोटो, भिडियो खिच्ने, रिल तथा तथा टिकटक बनाउनेजस्ता कृयाकलाप गर्ने गर्दछन् । भ्रमण गरिएका अधिकांश ठाउँको रिल तथा फेसबुक पोष्ट गर्ने क्रममा बेइजिङको ग्रेटवाललाई मैले पनि छुटाउने कुरा थिएन । चीनको यस्तो अद्भूत संरचना ग्रेटवालमा हाकु पतासि लगाएर जान पाउनु मेरो लागि गौरवको कुरा हो, यसको रोमाञ्चकता मेरो मनमा अमीट बन्यो ।
(पहिलो पटक जनआस्था अनलाइनमा प्रकाशित ।)
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment