चथाः – नेवार समाजमा प्रचलित चाड
नेवारहरु जून सुकै जात्रा, चाडपर्व वा संस्कारजन्य कर्महरु गर्दा विशेष पूजा गर्दछन् । चथाः पनि दशैं आउन लागेको शु–सन्देशमा मनाइने चाड भएको हुनाले यस चाडलाई पनि दशैं सरह महत्वका साथ मनाइन्छ । यस दिन आगंद्यः (देवता), दिगुद्यः (कूल देवता) लाई चथाःस्वां (करवीरको फूल), मोहनि (दशै) को मोहनिस्वां र लक्ष्मी पूजाको लक्ष्मीस्वा ं(फूल) चढाएर पूजा गरी भोज खाने गरिन्छ । यस दिन चथाःद्यःको चा (रात्री) पूजा हुने भएको हुनाले रातमा मात्र भोज खाने गरिन्छ ।
नेवार समाजसँग सम्बन्धित जूनसुकै जात्रापर्व मनाउनु केही दिन अगाडि नै उक्त पर्व आउन लागेको उपलक्ष्यमा उक्त जात्रापर्वसंग सम्बन्धित देवताहरुको पूजा गरी आमन्त्रित गर्नुका साथै यदि गुथि वा व्यक्तिहरु सम्बन्धित छन् भने ती व्यक्तिहरुलाई पनि आमन्त्रित गरी सानो पूजा गरी भोज खाने चलन छ ।
आजभोलि नेवारहरु चथाः देवताको रुपमा कमलको पातमा गणेश र चन्द्रमा राखेर पूजा गर्नुका साथै गणेशलाई चन्द्रमाको दोष लागेको कथनको आधारमा पूजा गर्ने गर्दछन् तर वास्तवमा चथाःद्यः भनेको इन्द्र देवता (खुँद्यः) हो ।
देवराज इन्द्रले स्वर्ग लोकमा नभएको फूल चोर्न आएको कथनअनुसार यस दिन देवराज इन्द्र रातको प्रहरमा फूल चोर्न आउदाँ समातिएको हुँदा उनको जात्रास्वरुप इन्द्रजात्रामा जात्रा मानाइने गरिन्छ ।
चथाःद्यःलाई रातको समयमा मात्र पूजा गरिन्छ । रातमा शहर सुनसान भएपछि जब कुकुरहरु भुक्न थाल्छन्, तब मानिसहरु भन्न थाल्छन् ‘कुकूरहरु भुक्न थाले “चोर आयो कि के हो ?” । यस्तो भन्नुको आशय रातको प्रहरमा जव कुकूरहरु भुक्न थाल्छन् तव चोर आएको माने झैं चथाःद्यः को आगमन पनि रातको प्रहरमा मात्र हुने विश्वासमा रातमा सबै घरमा आइसकेपछि कुकूरहरुले भुक्न थालेपछि मात्र चथाःद्यःको पूजा गर्नु पर्छ भनिएको हो । चोरलाई मिठो मिठो खुवाउन हुदैन चोर पल्किन्छ भनी यस दिन चथाःद्यःलाई काँचो लप्सि, त¥रो नासपाती, काँचो अदुवा, हरियो खुर्सानी, बस्पति पु (आरुको बियाँ) को साथमा भुटेको गहुँ, भटमास, मकै, केराउ आदि चढाइन्छ । यसरी अमिलो र तर्राे फलफूलले मुखको स्वाद बिगारेर दाँत कुँडेपछि टोक्न गा¥हो हुने गरी भुटेको गेडागुडी चढाएर चोरलाई भगाउन खोजिएको अभिप्राय हो । यस दिन चन्द्रमालाई हेर्न हुँदैन भनिन्छ तर वास्तवमा चन्द्रमालाई हेर्न हुदैन भनिएको नभई चथाःद्यः(इन्द्र) लाई देखिएला भनि यस्तो भनिएको हो किनभने चोरलाई हेर्न हुँदैन वा चोर समातिएको ठाउँमा गयो भने चोर दोष लाग्छ भन्ने गरिएको हुदाँ यस्तो भनिएको हो ।
चथाःद्यः पूजा गर्दा सुकुन्दा बालेर कमलको पात (पला लप्ते) राखी त्यसमा पूजा गरिन्छ । पला लप्तेमा चन्द्रमाको मूर्ति अथवा प्रतिक बनाएर पूजा गर्नुको अभिप्राय रातको प्रतीक हो । चथाःद्यःलाई चढाउनको लागि मानिसहरुले आफ्नो शरीरमा खुर्सानी वा अन्य फलफूल सबैले देख्ने गरी दिनभर झुन्डाएर राख्ने गरिन्छ । दिन भरि सबैले देख्ने गरी झुन्डाएको वस्तुलाई चढाइन्छ । परिवारका सबै मिलेर पूजा गरिसकेपछि समे, प्रसाद, बस्पति पुसहित मकै भटमास प्रसाद खाएर यो चाड मानाइने गरिन्छ ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment