यँयाः अर्थात् इन्द्र जात्रा


अ+
अ-

काठमाडौं उपत्यकामा प्रत्येक वर्ष विशेष तामझामका साथ मनाइने जात्रापर्वहरुमा एक येयाः पनि हो । यँेयाःलाई इन्द्रजात्रा पनि भन्ने गरेको पाइन्छ तर यो जात्रासँग सम्वन्धित काठमाडौंका नेवारहरु बोलिचालीको भाषामा यँेयाः नै भन्ने गर्दछन् । यस अवसरमा काठमाडौं हनुमानढोका वरिपरि विभिन्न साँस्कृतिक गतिविधिहरु भइरहको हुन्छ । भक्तपुरको नालाबाट ल्याइने लिंगो विधिवत् द्वादशीको दिनमा हनुमानढाेका परिसरमा ठड्याएपछि इन्द्रजात्रा सुरु भएको मानिन्छ । लिंग ठड्याएर त्यसको तलतिर घोडा चढेको इन्द्रको प्रतिमा प्रर्दशनीमा राखिन्छ । यसलाई इन्द्रध्वजोत्थान भनिन्छ ।


इन्द्रजात्रा सुरु हुने दिनको साँझदेखि उपाकू वनेगु भनेर काठमाडौंका विभिन्न ठाउँहरु घुम्ने चलन पनि रहेको छ । विशेषतः यो दिन घरमा कोही मरेको छ भने उसको सम्झनामा हातमा धूप लिई स्तोत्र (तुतः) पाठ गर्दै ठाउँ ठाउँका चैत्य तथा अन्य धार्मिकस्थलहरुमा पूजा गर्दै अगाडि बढ्ने हुन्छ । यसरी घुम्ने निश्चित मार्ग हुन्छ जुन प्राचिन शहरको सीमा हो ।

एउटा कथाअनुसार स्वर्गका राजा इन्द्रले आफ्‌नो आमाको लागि पारिजातको फूल (कसै कसैले ‘चथाः स्वां’ पनि भन्ने गर्दछन्‌) लिन आउँदा नेपालमण्डलको ख्यः केवः भिमसेनस्थान (भिंद्यः) को तलतिरको स्थानमा आएका थिए । उक्त समयमा गथु (मालि)ले देखेर फूल चोर भनी डोरीले बाँधी राख्दछ । यसरी देवराज इन्द्र बाँधिएर पृथ्वी लोकमा नै रहेपछि इन्द्रलाई लिन आमा पृथ्वीमा आएको प्रसंगअनुसार यहां आउदा धान पाक्नका लागि आवश्यक हुस्सु (खसु) दिएर गएको मानिन्छ । यसैले अहिलेको मौसममा विहान र बेलुकी हल्का हुस्सु आउने विश्वास गरिन्छ । यसलाई इन्द्रको आमाको उपहार मानिन्छ । यस उत्सबमा देखाइने देवी नाचमा सेतो पहिरनमा डाँगी (राक्षसनी) निकालिन्छ ।

देवराज इन्द्र पृथ्वी लोकमा रहँदा उनका आमा दागीं (राक्षसनी)को रुपमा यहाँ आउदा यहाँका मानिसद्वारा मानिसहरुलाई मृत्यू पश्चात् मोक्ष दिलाउनु पर्छ भनी बचन बाधिए पछि मात्र देवराजलाई छोडिएको कथनले पनि यस कुरालाई पुस्टि गर्दछ ।
यसलाई इन्द्रराजको आमा भेष बदलिएर पृथ्विमा आएको मानिन्छ । यस समयको मौसम पानी पर्न रोकिएको भएपनि घरी घरी बादल लाग्ने, हल्का बर्षा पनि हुने र कहिले घाम लाग्ने हुन्छ । यस मौसममा परेको बर्षालाई इन्द्रराजको आमाले छोराको वियोगमा झारेको आँसु पनि मान्ने गरिन्छ । यसरी परेको बर्षा, बिहान, बेलुकी लागेको हुस्सु र दिउँसो लाग्ने चर्को घाम धान पाक्नका लागि औषधि नै मान्ने गरिन्छ । दशै तिहार सकिएपछि धान पाकिसक्ने हुनाले वाकू थनि अर्थात अन्न भित्राउने कार्य गरी उचित संरक्षणमा भण्डारन गरी अन्नको जोह गरिन्छ । अन्नको सही उत्पादन र सम्रक्षणले नै मानिसहरुलाई बर्ष भरिको लागि अन्नको अभाव नभई सुखी हुने हुनाले ञमाःद्यःसँग यंया पुन्हिमा अन्न मागिन्छ ।

ठाउँ ठाउँमा बाधेर राखिएको देवराज इन्द्र (ञँमा द्यः) को हातमा जनै पूर्णिमामा मानिसहरुले हातमा बाँधिएका जनै बाध्न लाने चलन नेवार समाजमा रहेको कुरा विज्ञहरु बताउँछन्। यस्तो चलन नेवार समाजमा भए पनि आजभोलि तिहारमा गाईको पुच्छरमा नै बाध्ने चलन छ । जनै गाईको पुच्छरमा बाँधेपछि वैतरणी तर्न सजिलो भई मृत्युपश्चात स्वर्ग जान पाइन्छ भन्ने जनविश्वास रहेको पाइन्छ । देवराज इन्द्र स्वर्गका राजा नै भएको हुँदा सिधै स्वर्ग जान पाइने धारणा हाम्रो पूर्वजहरुको भए पनि आजभोलि यो चलन पनि लोप भई सकेकै देखिन्छ ।


यस पर्वका अवसारमा विशेष गरी समेबजि खाने पनि गरिन्छ । यही भएर यसलाई स्याः बजि नखः पनि भनिन्छ । यस अवसरमा टोल टोलमा समे सजाएर राखिन्छ र सो समेबजि सार्वजनिक रुपमा बाँडेर खाने गरिन्छ । घर घरमा पनि समे राखेर भोज खाइन्छ । इन्द्रचोकको आजु द्यः (भैरव देवता) अगाडि समे सजाउनुका साथै आजुद्यः को थ्वँ (जाँड) को तेप (घ्याम्पो)मा पंचकार पूजा गरि जाँड (थ्वँ) राखिन्छ । लाय्‌कु (बसन्तपुर)को श्वेत भैरव (हाथु द्यः) लाई पनि पंचमकार पूजा गरि हाथु हायेकेगु (रक्सी) गरिन्छ ।
ञँलाथ्व एकादशीदेखि बेलुकी पख घर घरमा दलूचा (माटोको झुन्डाएर बत्ती बाल्ने परम्परागत शैलीको भाँडो) मा बत्ती बालेर ञँमाःद्यःलाई समे सहित पूजा गरिन्छ ।

विभिन्न स्थानहरु (मरुमा मरु सतः नजिकै सिँल्यं सतःको तल गः कुतिको अगाडि, वंघ–इन्द्रचोकको अगाडि,न्यतः–नरदेवीको दबुमा, किलागःको कुनां टोलमा,ज्याथामा) लिंगो उठाएर त्यसको चारकुनामा चारवटा काठको हात्ती राखेर खम्बा गाडि यसको माथि ञँमाःद्यः प्रदर्शनीको लागि राखिन्छ । ञँमा द्यः सुनको मोलम्बा सहितको हुने गर्दछ ।

चर्तुदशीको दिनमा कुमारी माजुको रथ तान्न शुरु गरिन्छ । थःने र क्वने गरी दुई दिन रथ तानिन्छ र अन्तिम दिन सो रथ यात्रा किलागल टोलतिर लगिन्छ जसलाई नानिचायाः भनिन्छ । नानिचायाः सुरुदेखिको साँस्कृतिक अभ्यास नभएर शाह वंशीय राजा रणबहादुरको बेलादेखि मात्रै सुरु भएको भनाइ रहेको छ । यसपछि जात्रा सकिन्छ । रथ ल्याउने बाटोको दबूमा द्यः प्याखं (देव देवीका नाच) देखाइरहेको हुन्छ । यसरी नाच भइरहेको स्थानमा रथ पुगेपछि रथ एकछिन रोकाएर कुमारी माजुलाई नाच देखाइन्छ र कुमारी माजुबाट भेटी (पैसा) चढाइन्छ । यस अवसरमा घर घरबाट कुमारी माजुलाई पूजा पनि चढाइन्छ । इन्द्रचोकमा रथ पुगे पछि आजू द्यः समूहबाट पूजाको साथै जाँड पनि चढाइन्छ । बसन्तपुर दरवार क्षेत्र (लायकु)मा रथ पुगेपछि पूजाको साथमा रक्सी चढाईन्छ । यसलाई नेपालभाषामा हाथु हायेकेगु भनिन्छ । यस अवसरमा समे र रक्सी बाँडिन्छ । यो प्रसाद खाएमा पेटको रोग पनि निको हुन्छ भन्ने विश्वास गरिन्छ ।

नेवार समाजमा समेबजिको विशेष महत्व रहेको हुन्छ र इन्द्रजात्राका अवसरमा समेबजिलाई प्रमुख प्राथमिकता नै दिइएको हुन्छ । जुन जुन क्षेत्रमा कुमारी रथयात्रा सम्पन्न हुन्छ, सो क्षेत्रका नेवारहरु हर्षोल्लास गर्दै समेबजि बाँडेर खाने गर्दछन् । यस दिन घर घरमा साँझ दलूमा बत्ती बाली समेसहित पूजा गर्न सकिएपछि बाहिर आएर समे बाँड्ने गरिन्थ्यो तर अचेल यो चलन हराउन थालेको छ । केटाकेटीहरु ‘ला छकू वयेक समे बजि’ बोलको गीत गाएर समेबजि माग्न आउने परम्परा पनि छ । अचेल यसरी गीत गाएर समेबजि माग्न आउने चलन काठमाडौंको मुख्य शहरी भागहरुमा हराउन थालेको छ । तर मान्छेहरुलाई यो गीतको सम्झना भने अझै पनि देख्न पाइन्छ । काठमाडौंको मुख्य भागबाहेक अन्यत्रका नेवार टोलबस्तीमा आफ्‌नो प्रचलनअनुसारको दिनमा प्रत्येक घरबाट पिखालखुमा बसेर समजेबजि दिने चलन अझै पनि कायम नै छ । र, यस बेला केटाकेटीहरु ‘ला छकू वयेक समेबजि बोलको गीत गाएर समेबजि माग्न हिड्छन् ।

अन्तिम दिन, शास्त्रअनुसार राति यःसिँ ढालिन्छ र त्यसलाई सेलाएपछि विधिवत् इन्द्रजात्रा सकिएको मानिन्छ ।

 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
Manjari Pradhan

More from Manjari Pradhan

Explore more articles by this author
चथाः – नेवार समाजमा प्रचलित चाड

चथाः – नेवार समाजमा प्रचलित चाड

नेवार समाजमा प्रचलित विभिन्न चाडहरुमा चथाः एक महत्वपूर्ण चाड हो । दशैंको एक महिनाअगाडि पर्ने यो चाडलाई सानो दशैं पनि भन्...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्