अशोक मान सिंह: रंग र सिर्जनाको बहुमुखी यात्रामा
तानसेन, पाल्पामा जन्मिएका अशोक मान सिंह नेपालको समकालीन कला क्षेत्रमा एक स्थापित र सम्मानित नाम हो । स्व–अध्ययनमार्फत चित्रकला सिक्दै आफ्नो कलात्मक यात्रा सुरु गरेका सिंहले पछिल्ला दशकहरूमा कला, डिजाइन, लेखन र फोटोग्राफीका क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन् ।
कलाकार मात्र नभई लेखकको रूपमा पनि चिनिने सिंहका ‘पाटाचारा’ (उपन्यास), ‘नेपालको भौगोलिक आयामिक दृश्यचित्र’ र ‘रंग’ शीर्षकका पुस्तकहरू प्रकाशित छन् । यी कृतिहरूमा उनले नेपाली समाज, संस्कृति र कलाको रंगीन विविधतालाई सिर्जनात्मक ढंगले प्रस्तुत गरेका छन् ।
सिंह डिजाइन, मुद्रण, प्रकाशन र फोटोग्राफीमा पनि दक्ष छन् । कामना तथा नेपाल समाचार पत्रमा लामो समय डिजाइन, मुद्रण, प्रकाशन तथा व्यवस्थापकीय जिम्मेवारीमा समेत समय बिताएका अशोक हिजोआज काल शिक्षण क्षेत्रमा व्यस्त छन् । कामना प्रकाशन गृहमा रहेर २०४१ सालदेखि कामना पत्रिका मार्फत गाइजात्रा विशेषांकका लागि तयारी गर्न दुई तीन महिना अगाडिदेखि लाग्ने गरेको संस्मरण गर्दै अशोक भन्छन्, ‘त्यतिबेला त दशैंमा कामको चटारो भएजस्तै भ्याइनभ्याई हुन्थ्यो । त्यतिबेला दिनरात काम गर्नुपर्थ्यो । तर नवप्रवेशी कार्टुनिष्टहरूको सहयोगमा काम हुन्थ्यो ।’ पत्रिका तयारीको लागि २०४१ सालदेखि काम गरे पनि २०४२ सालमा मात्र कामना दर्ता भएको थियो ।
नेपाल समाचार पत्र र महानगर उनकै नाममा दर्ता भएकोले पनि उनले डिजाइन, मुद्रण, प्रकाशन सबै हेर्दा कलाकारको कलाले फक्रने मौका पाएन । प्रकाशकको जिम्मेवारी भएकोले ब्यवस्थापनको काम गर्दा त झन उनको कलाकारिता खुम्चिने मात्र होइन, तनाब बढ्न थाल्यो । त्यसपछि उनले कामना प्रकाशन गृह नै छोडे । त्यसपछि लिटिल एञ्जलस स्कूलको प्रकाशन विभाग हेर्ने गरी गए । त्यहाँ पनि प्रकाशनको व्यवस्थापकीय काम जोडिन थालेपछि कलाकारिता ओझेलमा परेको ठानी काठमााडौं युनिभर्सिटी, आर्ट शंकाय तिर गए । यस्तै, सिर्जना कलेजमा पनि पढाए । दुईतिर पढाउँदा गाह्रो भएकोले त्यहाँ पनि नियमित शिक्षण छोडे । शिक्षण क्षेत्रमा सक्रिय सिंह काठमाडौँ विश्वविद्यालयको सेन्टर फर आर्ट एण्ड डिजाइन र सिर्जना कलेज अफ फाइन आट्र्समा आगन्तुक प्राध्यापकको रूपमा आवद्ध छन् ।
पढाई बाहेक कलाकारिताको काम घरमैं गर्दै आएका अशोकले थापाथलीमा कर्भस् एण्ड कलर्स आर्ट ग्यालरीलाई पनि अगाडि बढाउँदै आएका छन् । उनले कर्भस् एण्ड कलर्सको संस्थापक टोलीमा रहेर कला र डिजाइनको क्षेत्रमा नयाँ पुस्तालाई प्रेरित गर्दै आएका छन् ।
उनी नेपाल तथा विदेशका विभिन्न एकल तथा समूह प्रदर्शनीहरूमा सक्रिय रूपमा सहभागी रहँदै आएका छन् । नेपाल कार्टुनिष्ट क्लबका संस्थापक सदस्यसमेत रहेका उनले संस्थाको संस्थागत विकास गर्दै पुरानालाई एकत्रित गर्दै अगाडि बढाउने र नयाँलाई प्रोत्साहन गर्दै अगाडि बढाउँदै लग्ने क्रममा साउन २६ गते बराथा सम्मान प्राप्त गरेका छन् ।
हालै, नेपाल कला परिषद्ले प्रकाशन गरेको उनको “ग्राफिक सञ्चार” पुस्तकले नेपालको कला र ग्राफिक डिजाइनको इतिहास, विकास र उनको व्यक्तिगत अनुभवलाई समेटेको छ । ३३२ पृष्ठको यो पुस्तकले नेपाली कलाको अभिलेखीकरण र अध्ययनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
अशोक मान सिंहको यात्रा केवल कलाकृति सिर्जनामा सीमित छैन, उनले आफ्नो समय, अनुभव र दृष्टिकोणमार्फत नेपाली कला र साहित्य दुवैको समृद्धिमा निरन्तर योगदान दिइरहेका छन् । उनको काम र विचारले नयाँ पुस्ताका कलाकारहरूलाई निरन्तर प्रेरित गरिरहनेछ ।
हजारौं नयाँ पुस्ताले उनको सीपलाई अंगिकार गर्ने क्रममा उनको परिवार पनि कसरी छुटोस् ? हो, उनको एक मात्र छोरीले पनि बुबाको बिंडो समातेकी छन् । छोरीले बेलायतमा यही कला विषयमा स्नातकोत्तर गरेकी छन् । छोरीले प्रोजेक्ट गर्ने क्रममा रञ्जना लिपिलाई नयाँ डिजाइनमा प्रस्तुत गरेर डिस्टिङ्शन ल्याईन् । यी कुरा भनिरहँदा अशोक प्रफुल्लित देखिन्थे । आफ्नो कुरा भनिरहँदा खिन्न देखिएका अशोक छोरीको कुरा गर्दा भने निकै उत्साहित देखिन्थे । उताको वातावरण तथा प्रशिक्षणले छोरीले राम्रो गरेकोमा सन्तुष्ट अशोक भन्छन्, ‘जता बसेर भए पनि आफ्नो भाषा, लिपिलाई समृद्ध बनाउन पाए त राम्रै हो ।’
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment