मन नै हर्ने चीनको समर प्यालेस


अ+
अ-

चीनको राजधानी बेइजिङको उत्तरपश्चिम भागमा अवस्थित, चिनियाँ साम्राज्यकालीन ऐतिहासिक महल क्षेत्र हो, समर प्यालेस । २१ दिने चीन भ्रमणका क्रममा हामीलाई समर प्यालेस पनि घुमाउने कार्यक्रम देखेपछि म त्यो ठाउँ कहिले जान पाइएला भनेर मनमनै गम्दै थिएँ, जुन २७ तारिखका दिन त्यहाँ जाने भयौं । जुन २५ मा बेइजिङ पुगेका हामी बेइजिङ एयरपोर्ट जोनतिर बसेका थियौं । त्यहाँबाट समर प्यालेस पुग्न एक घण्टा बसमा जानु पर्ने रहेछ ।

हामीसँग चिनियाँ टोलीमा म्याक्स र लैला थिइन् । उमेरले साना भए पनि नेतृत्व क्षमतामा कुशल ती संयोजकहरूले एक जना अगाडि अर्को पछाडि बसेर कसैलाई नहराउने गरी अरु ठाउँमा पनि यात्रा गराएका थिए, यहाँ पनि त्यस्तै गरे । चिनियाँ नयाँ पुस्ताको दुइटा नाम राख्ने चलन रहेछ, एउटा चिनियाँ नाम, अर्को अंग्रेजी नाम । विदेशीलाई नाम भन्नु पर्दा यो चाहिं मेरो अंग्रेजी नाम हो है भनि हाल्ने । चिनियाँ नाम त बिदेशीले बुझ्न गाह्रो हुने भएर पनि त्यसो गरिएको होला ।

म्याक्सले सबैको टिकट काटेपछि हामी गेटभित्र पसेर सबैको एउटा फोटो खिच्यौं । गेटबाट भित्र पस्ने वित्तिकै म्याक्सले एक घण्टा घुमेर यही गेटमा आइपुग्नू भनेर उनी कतै गइन् । हामी पनि आफ्नै तालले घुम्ने भनेर आँखा फैलाउँदा आँखाले भ्याउन नसकिने ठाउँ एक घण्टामा घुमेर भ्याउन मुश्किल हुन्थ्यो ।

समर प्यालेस विश्व सम्पदा सूचीमा सूचीकृत एक प्रमुख सांस्कृतिक सम्पदा हो, जसलाई प्राचीन चिनियाँ उद्यानकलाको उत्कृष्ट नमूना मानिंदो रहेछ । झण्डै २.९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस दरबार परिसरमा कृत्रिम ताल, बगैंचा, मन्दिर, पुल, महल र पगोडाहरूको अद्वितीय संयोजन पाइन्छ ।

समर प्यालेस विशेषतः चिनियाँ चिङ वंशकालीन सम्राटहरूको गृष्मकालीन आवासको रूपमा विकसित गरिएको थियो । यसको निर्माण सन् १७५० मा सम्राट चिआनलोंगले आफ्नी आमाको सम्मान स्वरूप सुरु गरेका थिए, जुन पछि सन् १८८८ मा साम्राज्ञी सिक्सीले पुनःनिर्माण गराइन् ।

हामी गेटबाट पस्ने वित्तिकै ‘मार्बल बोट’ देख्यौं । पत्थरले बनेको तर पानीमा तैरिएको जस्तो देखिने यो नौका प्रतीकात्मक रूपमा सिक्सीको विलासी जीवनशैली र नौसैनिक खर्चको दुरुपयोगको आलोचनात्मक स्मृतिको रुपमा लिने गरिंदो रहेछ । चिनियाँ साम्राज्यको उत्तरार्धमा प्रभावशाली महिला नेतृ साम्राज्ञी सिक्सीले नौसेनाका लागि छुट्याइएको रकम विषयान्तर गरेर समर प्यालेसको पुनर्निर्माण गराएको भन्ने ऐतिहासिक आलोचना समेत पाइन्छ ।

समर प्यालेस चीनकै प्रमुख पर्यटकीय आकर्षणहरूमध्ये एक हो, जहाँ दैनिक हजारौं स्वदेशी र विदेशी पर्यटकहरू आउँछन् । कतिपय ठाउँमा त काठमाडौंको असन बजारमा हुने भीड जत्तिकै भीड यसको सौन्दर्य, सांस्कृतिक गहिराइ, र वास्तुकलाको जटिलता विश्वभरका कला, इतिहास र पर्यटन अध्येताहरूलाई लोभ्याउने खालको भएको कारणले नै भएको हुन सक्छ ।

समर प्यालेस चिनियाँ साम्राज्यकालीन राजनीतिक शक्ति, वास्तुकला र उद्यान डिजाइनको ऐतिहासिक साक्षी हो । यसले चीनको परम्परागत “शानशुई” (पहाड–पानीको सौन्दर्य) दर्शनलाई मूर्त रूपमा देख्न सकिन्छ ।

विस्तृत रुपमा फैलिएको समर प्यालेसलाई हेर्न तालको वरिपरि घुमेर सम्भव नहुने र थोरै समय भएको कारणले हामीले सजिलो उपाय अपनायौं । पुलबाट अगाडि बढ्ने, समयले जति भ्याइन्छ, हेर्ने । डुंगा प्रयोग गर्न पनि सम्भव थिएन, समयकै कारण । पुलबाट अगाडि बढ्दा पोखरामा फेवातालको बीचमा तालबाराही मन्दिर भएजस्तै त्यहाँ पनि ‘टेम्पल अफ रेन एण्ड बेनिफिट’ रहेछ । जहाँ वरिपरि घुमेर कोही रमाएर कोही फर्कन्छन् भने कोही त्यहींबाट डुंगा, बोटमा चढेर पहाडको काखमा भएको भब्य समर प्यालेसतिर लाग्छन् ।

समर प्यालेसलाई चिनियाँ बगैंचा निर्माणको अतुलनीय उदाहरणको मानेर युनेस्कोले सन् १९९८ विश्व सम्पदा सूचीमा राखेको थियो । हुनत समर प्यालेसलाई सन् १८६० मा दोस्रो अफीम युद्धको क्रममा बेलायती र फ्रेन्च सेनाले समर प्यालेसलाई ध्वस्त पारेका थिए, पछि सिक्सीले यसको पुनर्निर्माण गरिन् । पुनर्निर्माणपछि यो राजनीतिक सल्लाहका बैठकस्थल, विश्रामस्थल तथा कूटनीतिक गन्तव्यका रूपमा प्रयोग हुने गरको थियो ।

आज पनि समर प्यालेसको आकर्षणमा मोहित भएर कोही यहाँको आकर्षण कुनमिङ तालमैं हराउँछन् भने कोही तालको चक्कर लगाउँछन् । समर प्यालेसको झन्डै तीन चौथाइ भाग ओगटेको यस कुनमिङ ताल कृत्रिम रूपमा खनिएको हो, तर प्राकृतिक पहाडी संरचनासँग संयोजन गरिएकाले अत्यन्त रमणीय देखिन्छ । वसन्त र शरद ऋतु पर्यटनको लागि उपयुक्त मानिने यो ठाउँ घुम्न अडियो गाइड, अंग्रेजी भाषाका गाइड र डिजिटल एप्समार्फत पनि सहयोग लिन सकिने रहेछ ।
समर प्यालेस केवल एक पर्यटकीय गन्तव्य मात्र नभएर यो चिनियाँ इतिहास, सांस्कृतिक विरासत र राजनीति–कला–संरचनाको संगम बिन्दु रहेछ ।

पर्यटनको दृष्टिले समर प्यालेसले चीनको सांस्कृतिक कूटनीति प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । चिनियाँ सभ्यताका मूल्य, सौन्दर्य चेत, र साम्राज्यकालीन दरबार संस्कृति बुझ्न चाहने पर्यटकहरूका लागि यो अद्वितीय गन्तव्य हो । यो अद्वितीय गन्तव्यमा, अत्यधिक भीडमा पनि अन्तिम घुमाइसम्म पनि २५ जनाको टोली कोही पनि हराएर खोज्नु परेको थिएन । तर अन्तिममा निस्कनु अगाडि शौचालय गएकी एक नेपाली भने हराइन् । उनलाई कुर्न बसेका तीन जना नेपाली टोली कुरेको कु¥यै भए झण्डै १० मिनेटसम्म । पछि थाहा भयो उनी त गेट बाहिर निस्केर झण्डै गाडि नजिकै पुगिसकेकी रहिछन् ।

समर प्यालेसले हामीलाई पुराना संरचना केवल ईँट–पत्थर मात्र होइनन्, ती समय, संस्कृति र मानवीय इतिहासको जीवित दस्तावेज हुन् । चिनियाँ इतिहासको गौरवमय अंश समेटिएको समर प्यालेस चीनको गौरव हो, जसले संसारलाई चिनियाँ संस्कृति बुझ्न सहयोग गर्छ । यस्तो महत्वपूर्ण ठाउँमा तपाईं पनि घुम्न जाने कि ?

 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
Amika Rajthala

More from Amika Rajthala

Explore more articles by this author
कलाको भाषामा अन्तर्दृष्टि

कलाको भाषामा अन्तर्दृष्टि

उनका कला हेर्ने दर्शकले आयाताकार अनुहारलाई कलम, कुची वा अन्य केही अनुमान लगाउन सक्छन् तर उनी भन्छिन् "याे मेराे चित्रकला...

सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश नियुक्त

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल आजदेखि कायम मुकायम (कामु) प्रधानन्यायाधीश भएकी छिन्। प्रधानन्यायाधी...

मध्य पश्चिम युद्धको चपेटामा नेपाली बजार

मध्य पश्चिम युद्धको चपेटामा नेपाली बजार

विश्वको ऊर्जा राजधानी मानिने खाडी क्षेत्रमा भड्किएको यो सङ्कटले नेपाली बजारमा तेल र ग्यासको मूल्य मात्रै बढाएको छैन, सर्...

वायु प्रदूषण कसरी नियन्त्रण गर्ने?

वायु प्रदूषण कसरी नियन्त्रण गर्ने?

वातावरणीय संकट र विशेषगरी वायु प्रदूषणको समस्या आज नेपालका सहरहरूमा गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा देखा परेको...

Epstein scandal: Journalist Julie K. Brown exposes powerful men

Epstein scandal: Journalist Julie K. Brown exposes powerful men

जेफ्री एप्स्टिन काण्ड ! लाखौं पेजमा फैलिएको कुकृत्यको उक्त एप्स्टिन फाइलमा हालका अमेरिकी राष्ट्रपतिदेखि पूर्व राष्ट्रपति...

नेवार संस्कारमा "बाह्रा:पिकायेेगु" सूर्यदेवसँग विवाह हाे कि पूजा मात्र ?

नेवार संस्कारमा "बाह्रा:पिकायेेगु" सूर्यदेवसँग विवाह हाे कि पूजा मात्र ?

नेवार समुदायकाे संस्कृति पृथक छ, राेमाञ्चक पनि । यही कारण हुनसक्छ संस्कार-संस्कृतिकाे पहिचानमा हाेस् या व्यवहारमा- यसले ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्