५ बैशाख २०८३, शनिबार

नेवार समाजमा छोरी


अ+
अ-

समाजका हरेक गतिविधि तथा चालचलनलाई हिजोआज लैंगिक दृष्टिबाट हेर्ने र लैगिक समानताको वकालत गर्ने सोचको विकास भएको छ। यो विस्तृत तवरले हेर्नुपर्ने विषयवस्तु हो। त्यसमा एउटा पक्ष छोरा र छोरीको भूमिका हो। कतिपय समाजमा आफैंले जन्माएको छोरीलाई कुनै खास महत्व नै दिइएको हुँदैन भने कतिपय समाजमा भूमिकाको मामिलामा विविधता पाइन्छ।

कुन समाजमा छोरीको भूमिका के कस्तो हुन्छ भन्ने अध्ययन समाजशास्त्रको महत्वपूर्ण विषय हो। यस लेखमा नेवार समाजमा छोरीको भूमिकामाथि केही संक्षिप्त चर्चा गरिन्छ, जसले विस्तृत अध्ययनका लागि ढोका खोल्नेछ। साथै, यसले नेवार समाज बुझ्न पनि सघाउने छ।

नेपाली समाजको बनावटबारे चर्चा गर्दा हामी प्राय: ब्राह्मण, क्षेत्री, तामाङ, मगर, गुरुङ, थारु, आदि सयभन्दा बढी जातीय समुदायको नाम लिने क्रममा नेवारलाई पनि समेट्छौं तर सबै नेवार एउटै नस्ल, एउटै धर्म, एउटै ऐतिहासिक पृष्ठभूमिका होइनन्। नेवार भन्नाले विविध नस्लका जातीय समुदाय इतिहासको सुदूरपूर्वकालदेखि विविध समयमा नेपाल उपत्यका (वर्तमान काठमाडौं) मा प्रवेश गरी यस भूमिलाई आफ्नै थातथलो बनाएका र आफूहरूले साथमा ल्याएका ज्ञानगुनका कुरा बिसाएर यहाँको सभ्यतामा चुर्लुम्मै डुबेपछि नेवार पहिचान पाएकाहरू हुन्।

यो भूक्षेत्रको नाम ‘नेपाल’ हो, र यो भूक्षेत्रमा बस्ने अर्थात् नेपालवासीलाई समुदायवाचक शब्दको रूपमा ‘नेपाल’ भनेर सम्बोधन गरिने गरेको प्रमाण प्राचीन ऐतिहासिक श्रोतका रूपमा रहेको शिलालेखमा उल्लेख छ। यही समुदाय वाचक ‘नेपाल’ शब्द अहिले ‘नेवार’ भएको हो। विभिन्न आस्था, विश्वास, चालचलन तथा ज्ञानविज्ञानको सम्मिश्रण हुने क्रममा बनेको सभ्यता भएर यसलाई नेवार संस्कृति वा नेवार सभ्यता पनि भन्ने गरिन्छ। नेवार सभ्यताले छोरीहरू र उनीहरूको भूमिकालाई कसरी हेरेको छ भन्ने प्रश्न पनि उत्तिकै रोचक छ।

नेवार समाजमा छोरा वा छोरी, जे जन्मे पनि विभेदयुक्त दृष्टिकोण राखेको पाइँदैन। प्राग्ऐतिहासिककालीन नेवार समाज मातृसतात्मक थियो भन्ने तथ्यको अवशेष वर्तमानमा पनि देख्न पाइन्छ। पछि विकसित समाज पनि त्यही धारमा प्रवाह भएको देखिन्छ।

यो समाजमा छोरीहरूलाई गराइने संस्कार ‘इही’ प्राग्ऐतिहासिक कालदेखिको भने होइन। एक समय छिमेकी भारतमा विशेष गरी हिन्दू समाजमा बालविवाहको प्रचलन व्यापक मात्रामा हुँदा नेवार समाजले त्यसलाई मन पराएन। बालविवाहका पक्षधरहरूले यसको औचित्य वा सार्थकताका सम्बन्धमा अनेक तर्क गर्दै शास्त्र र ग्रन्थहरू नै तयार पारे। त्यो प्रभावलाई रोक्नसक्ने अवस्था पनि नरहेको हुँदा नेवार समाजले बडो चलाखीपूर्ण तवरले बालबिवाह त गर्ने तर मान्छेसँग नभएर देवताको प्रतीकका रूपमा बेलसँग गर्ने संस्कारको विकास गरे। यो संस्कारलाई ‘इही’ भन्ने गरिन्छ।

‘इही’ सामान्यत: छोरी सात वर्षको पुग्दा गरिन्छ। ‘इही’ नामको बालविवाह मान्छेसँग नभएर देवतासँग गराइने र देवता अमर हुने भएका कारण नेवार कन्याहरू कहिल्यै विधवा हुनुपर्दैन भन्ने सामाजिक मान्यता पनि विकास हुनपुग्यो। उमेर पुगेपछि पुरुषसँग विवाह भए पनि त्यसलाई व्यवहारिक जीवनका रूपमा मात्रै लिइयो। यो समाजमा महिलाले पारपाचुके (सम्बन्धविच्छेद वा डिभोर्स) सहज ढंगले गर्न सक्छन्। नेवार महिलाले तीन वटा सुपारी लोग्नेलाई फिर्ता गरेकै भरमा हुन्छ। कतिसम्म भने तीन वटा सुपारी हातैमा दिनुपर्छ भन्ने समेत छैन, उनीहरू सिरानीमा राखेर निस्कन पनि सक्छन्। अथवा चितामा जल्दै गरेको लोग्नेको शबलाई लक्षित गरी परैबाट तीन वटा सुपारी हुत्याए पनि पारपाचुकेको सामाजिक मान्यता प्राप्त हुन्छ। आशोच पनि बार्नु पर्दैन। पुनर्विवाह गर्न सक्छन्। नेवार समाजमा महिलाले प्राप्त गरेको यो अधिकार संभवत: प्राग्ऐतिहासिककालीन नेवार समाजको अवशेष हो।

छोरीको रजस्वला हुने बेलामा वा रजस्वला भएलगत्तै ‘बार्‍हा:’ गर्ने चलन छ। उमेरले छोरी परिपक्व भएको र आगामी दिनका लागि आवश्यक कुराहरूमा ध्यान दिनका लागि बार्‍हा: गरिने हो। यस क्रममा छोरीलाई निश्चित पूजाविधिहरूमा सामेल गराएर आगामी जीवन के कसरी जिउने भन्ने कुरा पाका महिलाले सिकाउने गर्छन्।

उमेर पुगेपछि नेवार समाजमा पनि छोरीको विवाह हुन्छ। विवाह गरी जाने छोरीलाई दाइजोको रूपमा दिइने मालसामानलाई ‘क्वस:’ भन्ने गरिन्छ। ‘क्वस:’ को मूल शब्द ‘क्वसल’ हुन्छ। ‘क्वसल’ शब्दको व्युत्पत्तिबारे विचार गर्न बाँकी नै छ। क्वस: र कोसेली फरक कुरा हुन् तर यसलाई दाइजो शब्दसँग तुलना गर्न सकिन्छ। कुनै कुनै समाजमा छोरालाई हुर्काइ बढाइ गरेको र अब बिहे हुने बेलामा त्यस बापत भनेर छोरीतिरका परिवारस“ग छोरातिरको अभिभावक वा छोरा स्वयम्ले दहेज माग्ने गर्छन्। दहेज माग्ने काम जबर्जस्ती पनि हुने गर्दछ। कतिपय अवस्थामा यसले त्यस्तो समाजका छोरीतिरको घरमा समस्या सिर्जना गरिदिन्छ। यही भएर दहेज प्रथाको विरोध सम्बन्धित समाजमै हुन थालेको छ।

नेवार समाजमा भने त्यस्तो केही हुँदैन। घर परिवार तथा नातागोताले दिने भाँडावर्तन तथा अन्य सामानहरूलाई ‘क्वस:’ भनिन्छ। बेहुलीका साथीभाइले पनि राख्दछन्। ‘क्वस:’मा नातासम्बन्धका आधारमा कुन सामान कसले दिने भन्ने सामाजिक मान्यता पनि रहेको पाइन्छ। यसमा समावेस हुने सामानहरू कुनै पनि घरलाई सामाजिक तथा सांस्कृतिक र व्यवहारिक जीवन निर्वाह गर्न अत्यावश्यक सामानहरू पर्दछन्। यो छोरीको पेवा नै हो।

क्वस:लाई छोरीमान्छे आफैंले पनि हत्तपत्त प्रयोग गर्दैनन् तर आफैं घरमूली भएको अवस्थामा भने विस्तारै प्रयोग गर्ने गर्छन्। संयुक्त परिवार भएको घरमा भने अत्यावश्यक भएका बेला केही सामान स्वेच्छाले प्रयोग गर्ने गरेको पाइन्छ। त्यस्तै आफ्नो कोठाको प्रयोजनका लागि मात्रै पनि प्रयोगमा ल्याएको पनि पाइन्छ। खाट मेच टेबुलजस्ता फर्निचरहरू भने तत्कालै आफ्नो कोठामा प्रयोग गर्दछन्। अझ कतिपय अवस्थामा क्वस:मा प्राप्त सामानको लगत दुईप्रति बनाइ एक प्रति माइतीमै राखेर अर्को प्रति लोग्नेको घरमा बुझाइन्छ। लोग्नेको घरमा सो लगतअनुसार आएका सामानहरूको सुरक्षा गर्नु आफ्नो कर्तव्य मान्दछन्।

क्वस:मा बुहारीबाहेक कसैको हक लाग्दैन र उनको चाहनाविना चलाइँदैन पनि। यस समाजमा बुहारीको क्वस:मा आ“खा लगाउनु वा मास्नु नराम्रो मानिन्छ। लोग्नेले पनि क्वस:लाई श्रीमतीको निजी पेवाकै रूपमा लिई त्यसको संरक्षण गर्दछन्। कथंकदाचित पारपाचुके भयो भने क्वस:मा आएका सामानहरूको अधिकार बुहारीकै हुन्छ र पाइपाइ हिसाब गरेर माइतमा फिर्ता पठाइनु पर्दछ। पारपाचुके गरी माइत बस्न आएकी छोरीले क्वस: फिर्ता ल्याए पनि त्यसमा माइतको हक लाग्दैन। वास्तवमा यो क्वस: छोरीको भविष्य सुरक्षित गर्न बनाएको प्रथाको रूपमा लिन सकिन्छ।

‘क्वस:’ मा प्राप्त सामानहरू आफूूखुुसी प्रयोग गर्ने क्रममा केही छोरीलाई दिने गरेको पाइन्छ होइन भने त्यो बुहारीको अधिकारमा जान्छ। घरमा महिलाको आर्थिक आम्दानी पनि निश्चित हुन्छ। घरको व्यापार व्यवहार जेसुकै भए पनि त्यसको आम्दानी सगोलमा छ भने सगोलकै अधिकारमा हुन्छ भने परिवारभित्र सीमित भए त्यसको अधिकार परिवारभित्रै हुन्छ। त्यही व्यापार व्यवसाय वा कुनै कामको मूल कारोबार नभई सहायक कारोबारबाट प्राप्त हुने आम्दानीको अधिकार महिलाको हुन्छ। उदाहरणका लागि धानखेतबाट प्राप्त आम्दानी परिवारमा जान्छ भने त्यसको पराल मात्रै बेचेर पनि आम्दानी हुनसक्छ, त्यसको अधिकार महिलामा निहित हुन्छ। केही वर्षअघिसम्म पनि मासुको आपूूर्तिका लागि एक समुुदायले राँगो काट्ने र मासु बेच्ने गर्दथ्यो। यस क्रममा रगत जम्मा गर्ने, बिक्री गर्ने र त्यसबाट आएको पैसा आफैसँग राख्ने गरिन्छ। यसरी जम्मा पारेको सम्पत्ति घरमा आपत्त परेको बेलामा सहायक हुनसक्छ होइन भने महिलाको स्वेच्छाले मा खर्च गर्न पाउँछन्।

विवाह गरेर छोरी आफ्नो घरमा गइसकेपछि पनि माइतमा छोरीको झन् महत्वपूर्ण हुन्छ। माइतको सामाजिक विधिव्यवहारमा छोरीसँग सरसल्लाह गर्नेदेखि निर्णायक भूमिका नै निर्वाह गरिरहेका हुन्छन्। अझ भतिजा भतिजीहरूको देखभाल र विवाहका क्रममा सल्लाह दिने काम फुपूकै मानिन्छ।

माइतमा आशोच बारेको बेला छोरीको अहं भूमिका हुन्छ। यो बेला माइतमा चुलो बल्दैन, छोरी गएर पकाउने तथा अन्य काम गरिदिने गरिन्छ। जुठो फुकाउने काम छोरीबाटै हुन्छ। अझ महत्वपूर्ण त सातौं दिनमा हुन्छ। यो दिन ‘न्हयनुमा’ भनेर मृतकको नाममा भात चढाउन विशेष रूपमा चोखोनितो गरेर सम्पूर्ण तयारी गर्नु पर्दछ। नेवारको मृत्यु संस्कारमा यो महत्वपूर्ण दिन हो। त्यसरी श्राद्धलगायतका अन्य दिनमा पितृको लागि ‘आगंब्व’ बनाउने भूमिका पनि छोरीकै हुन्छ। छोरी नै नभए नजिकको छोरी, होइन भने नातालाग्ने छोरीबाट सो भूमिका निर्वाह गराइन्छ।

विवाहित छोरी कुनै पनि समय माइत पुग्न सक्छिन्। चाडबाडको बेला भने बिना आमन्त्रण छोरी माइतमा जाँदैनन्। माइती पक्षले घरमै गएर बोलाउनु पर्दछ र यसरी बोलाउँदा जानेलाई ‘नख:त्या’ मा जाने भनिन्छ। यस बेला छोरी, ज्वाइँ तथा भान्जाभान्जीहरू नख:त्या मनाउन जाने गर्छन्।

नेवार समाजका विभिन्न अवसरहरू पनि छोरीको सहभागिता मै सम्पन्न गरिन्छन्। प्रत्येक वर्ष गरिने लक्ष्मी पूजा मेवामिष्ठान्न राखेर गरिन्छ। तिहारमा लक्ष्मी पूजा भनेर औंसीकै दिनमा नै सम्पन्न गरिंदैन। चौथौ दिन अर्थात् भाइटिकाको दिन बिहान मात्रै लक्ष्मीपूजा सम्पन्न हुन्छ र यसलाई ‘लक्ष्मीद्य: क्वकायेगु’ भनिन्छ। यसमा प्रयोग हुने विशेष भागलाई ‘लक्ष्मीब्व’ भनिन्छ र लक्ष्मीब्वको भागिदार छोरी नै हुन्छे।

प्रत्येक वर्ष धान्यपूर्णिमाका दिन नेवारहरू ‘य:मर्‍िह’ नामको विशेष प्रकारको रोटी बनाउँछन् र भकारीमा राखेर पूजा गर्छन्। अर्को सो पूजा सम्पन्न गर्ने बेलामा छोरी चाहिन्छ। छोरीलाई लक्ष्मीको प्रतीकको रूपमा लिइन्छ र माइतमा लक्ष्मीको आगमन भइरहोस् भनेर छोरीको आगमनलाई स्वागत गरिरहेको भनेर बुुझ्न पनि सकिन्छ।

नेवारी समाजमा संख्याका दृष्टिले थोरै भए पनि महत्वपूूर्ण जिम्मेवारी भएको ‘पुं’ (चित्रकार) सम्प्रदायमा गुठीबाट ल्याइने प्रसादको पोको खोल्ने भूमिका छोरीलाई नै दिइएको छ। नेवार समाजमा ‘गुुथि’ परम्परा त प्रसिद्ध नै छ। विभिन्न अवसरहरूमा गुथिको भेला तथा पूजाहरू भइरहेको हुन्छ। यस अवसरमा प्रसादको रूपमा ल्याइने खानेकुराको पोको घरको जेठापाकाले बोकेर ल्याउने भए पनि त्यसलाई खोल्ने काम छोरीबाटै हुन्छ। छोरीको बिहे भएर आफ्नो घर गइसकेको भए पनि सो दिन बोलाइएको हुन्छ।

नेवार समाजमा छोरीको भूमिकालाई लिएर समाजशास्त्रीय अध्ययन भएको पाइँदैन। यसलाई अनेक आयामबाट अध्ययन गर्न सकिन्छ। कतिपय भूमिका हाल खुकुलो हुँदै गएका छन् भने कतिपय भूमिका हिजोआज पनि जीवन्त नै छ। प्रस्तुत लेख नेवार समाजमा महिलाको स्थान वा छोरीको भूमिकाबारे विस्तृत अध्ययन वा सर्वेक्षण नभएर यस उद्देश्यका लागि सुझाव भने अवश्य हो। यी विषयवस्तुु नेवार समाजको आंशिक चित्रण पनि हो।

 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

अन्य लेखहरू: बसन्त महर्जन

यस लेखकका अन्य रोचक लेखहरू
आमा बाबुको मुख हेर्ने पर्व

आमा बाबुको मुख हेर्ने पर्व

आमाबाबुलाई आदरसत्कार नगर्नु भनेर कसले भन्छ र ? तर सबै धार्मिक समुदायमा ‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ पर्व त छ...

महाराज क्राचल्ल र बौद्ध धर्ममा उनको योगदान

राजा क्राचल्लले आफूलाई ‘परमसौगात’ अर्थात् बुद्धका ठुलो उपासक भनेर चिनाउन मन पराउने राजा हुन् । यसबाट उनी बौद्ध धर्मका उप...

बडामहाराजा नागराज र बौद्ध धर्ममा उनको योगदान

कीर्तिखम्बमा उल्लेखित विवरण राजा नागराज र उनका उत्तराधिकारीहरुका सम्बन्धमा हो । तिब्बती श्रोतहरुले पनि यही विवरण प्रस्तु...

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति चोरी हुनु धेरै दुःखदायी हो । झिल्के बनाएर यसको सत्यानाश नै गरिदिनु थप दुःखदायी हो । मूर्तिचोरीमा संलग्न हुनेहरु न...

नेवार समाजमा पाहाँचःह्रे चाड

नेवार समाजमा पाहाँचःह्रे चाड

विभिन्न जातीय समुदायको सांस्कृतिक जीवनको अध्ययन गर्दा एउटा समानता के देखिन्छ भने, वर्षभरिमा जेजति चाड पर्व मनाएपनि त्यसम...

नरेश श्रेष्ठ र फोटोग्राफी

नरेश श्रेष्ठ र फोटोग्राफी

अनेकौं पहिचानहरुको भीडमा एउटा पहिचान हो, फोटोग्राफर नरेश श्रेष्ठ । र, उनको फोटोग्राफी । बहीखाता राखेजस्तै उनी कतिपय ऐतिह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्