५ बैशाख २०८३, शनिबार

नेवार महिला कहिल्यै विधवा हुन्नन्


अ+
अ-

समाजमा श्रीमानको मुत्युपछि महिला विधवा हुन्छे र बाँकी जीवन आफ्नै सामाजिक मान्यताअनुसार बेग्लै प्रकारले बिताउनु पर्छ । विधवाको अवधारणाले हिन्दू महिलाहरु बढी प्रताडीत भएको मानिन्छ तर हिन्दू नै भए पनि नेवार महिला कहिल्यै पनि विधवा हुँदैनन्, जीवन पर्यन्त सौभाग्यवती नै हुन्छन् भन्ने मान्यता पनि रहेको पाइन्छ, त्यो पनि हिन्दू मूल्य र मान्यताकै धरातलमा । आफ्नो समाजमा बाल विवाहलाई भित्रिन नदिन अपनाइएको एक संस्कारको फलस्वरुप यो मान्यताको विकास भएको हो । यो संस्कार ‘इही’ हो ।

नेपाली र भारतीय समाजमा विधवा जीवनलाई अभिसापको रुपमा लिइने प्रवृत्ति छ । विधवाले विवाह गर्नु हुँदैन भन्ने लगायतका मान्यताहरुका कारण नेपाल र भारतका लाखौं महिलाहरु अपहेलित, हीन मानसिकता, विकृत मनस्थितिबाट गुज्रेर नारकीय जीवन व्यतीत गरिरहेका हुन्छन् । विधवाजस्तो प्रचलन नारीमाथिको शोषणको रुपमा लिई विधवा विवाहलाई प्रोत्साहन दिनु पर्ने कुरामा जोड दिइन्छ । तर महिलाहरु कहिल्यै विधवा हुँदैनन् भन्ने मान्यता राख्ने नेवार समाजमा विधवा शब्दका लागि आफ्नो भाषामा शब्द पनि छैन । त्यसैले होला, इही संस्कारको प्रसंगमा स्वयम्भूलाल श्रेष्ठ यसलाई प्रगतिशील पाइला भनी प्रशंसा गर्छन् । इहीको प्रशंसा गर्दै उनी अनेकौं ऐन कानून बनाइसक्दा पनि ‘विधवा’को मान्यतालाई नष्ट गर्ने कानून नबन्नु तर नेवार समाजमा भने यस्तो मान्यता नै नहुनुलाई जातीय गौरवको रुपमा लिन्छन् ।

विवाहको अर्थमा ‘इहिपा’ शब्द आजभोलि प्रयुक्त भए पनि पुराना शब्दकोषहरुमा ‘इही’लाई पनि विवाहको अर्थमा नै लिएको पाइन्छ । बालिकाहरुलाई चारदेखि सात आठ वर्षको उमेरमा इही संस्कार सम्पन्न गरिएको हुन्छ । यो मूलतः बेलसँगको विवाह भएको मानिन्छ, जुन हिन्दू धर्मका भगवान विष्णुको प्रतीक हो । यही कारणले गर्दा नेवार महिलाको विवाह भगवान विष्णुसंग भइसकेकोले ऊ कहिल्यै विधवा हुँन्न भन्ने धारणा रहेको छ । भगवान विष्णु अमर हुन्छन् भन्ने मान्यता हिन्दूहरुको मान्यताले पनि यसलाई बल दिएको छ । कथाअनुसार पार्वतीले कुनै पनि नेपाली विधवा हुनु नपर्ने वरदान माग्दा स्वयं महादेवले विष्णुको प्रतीक बेलसँग विवाह गरेमा मात्र पनि विधवा हुनु पर्दैन भनी उपाय बताएका थिए । तर इहीलाई नबुझ्नेहरु नेवार महिलालाई साँच्चैको विवाहका बेलामा पहिल्यै विवाह भइसकेकी र पुरुषलाई अर्काकी स्वास्नी भनी खिसी गर्ने गरेको पनि पाइन्छ । समाजमा महिलाप्रति आउन लागेको समस्यालाई कसरी चातुर्यतापूर्वक निराकरण गरियो भन्ने ज्ञानलाई ठ्याम्मै नबुझ्ने प्रवृत्ति पनि देखिन्छ ।

इहीको विषयमा सरदार इकवाल अलि शाह लेख्छन्– ‘‘अकस्मात् नेवार महिलाहरुको श्रीमानको मृत्यु भएको खण्डमा प्राथमिक विवाह बेलसँग हुनुको महत्व देखिन आउँछ । यसले ऊ विधवा भएको छैन र पुनः विवाह गर्न हुन्छ भन्ने सूत्र देखाउँछ । बच्चा बेलामा नै बेलसँग विवाह भएकोले आफू विधवा नभएको भनी दाबी गर्छन् । नेपालमा नेवार समुदायमा मात्रै यो मान्यता पाइन्छ ।’’

समाजमा बाल विवाहको समस्या चर्को विषय हो । केही ग्रन्थमा रजश्वला नै नभएकी बालिका कन्यादान दिनु पर्छ र यस्तो गर्नाले आमाबाबुलाई धर्मलाभ हुन्छ भनी लेखिएकै भरमा बालविवाहको प्रचलन आएको मानिन्छ । यो मान्यता रहेको समाजमा साँच्चै कुनै वर खोजेर कन्यादान गर्ने चलन चल्यो तर नेवार समुदायमा बालविवाहको विकल्पको रुपमा गजबको इही संस्कारको विकास गरियो । डिल्लीरमण रेग्मीकाअनुसार नेवार समाजमा बालविवाह प्रथा छैन । उनी आफ्नो पुस्तक ‘एन्सियन्ट नेपाल’मा लेख्छन्– ‘‘तर तिनीहरुले आफ्नो महिलाई दैविक वा स्थायी पत्नीत्वको सिद्धान्तअनुरुप जीवनभर विधवा हुनु नपर्ने गरी जोगाएको छ ।’’

इहीको प्रचलन कहिले सुरु भयो भन्ने त्यस्तो कुनै प्रामाणिक लेखोट पाइएको छैन । नेवारभित्रै गोपालीलगायत केही उपसमुदायमा यो प्रथा पाइँदैन पनि । किन पाइँदैन भन्ने खोजीको विषय हो । तर आजभोलि अन्य नेवारहरुको देखासिखीमा उनीहरु पनि आफ्ना छोरीहरुको इही गराउँछन् ।

नेवार समाजमा दाम्पत्य जीवनको लागि गरिने विवाहको आफ्नै महत्व हुँदाहुँदै पनि पारपाचुकेको सजिलो बाटो पनि सामाजिक मान्यताअनुरुप नै छ र यसकोे अधिकार महिला वर्गमा निहित छ । यसअनुसार महिलाले लोग्नेलाई सुपारी फिर्ता गरेकै भरमा पारपाचुके भएको मानिन्छ । विवाहको बेला लोग्नेबाट पाएको सुपारी सरह नै मान्यता हुने बजारबाट किनिएका दुई चार वटा सुपारी फिर्ता गरेर पारपाचुके गर्ने कार्य लोग्ने जीवित छँदै मात्र नभएर मृत्यु शैयामा पुगेको, शवयात्रामा वा चितामा जल्दै गरेको अवस्थामा समेत संभव हुन्छ र यति भएपछि जुठो बार्नु पर्दैन । इहीकै आधारमा महिला एकल जीवन बिताउने वा अर्कोसँग विवाह गर्ने भन्ने पूर्ण स्वतन्त्र रहेको हुन्छ भन्ने साँस्कृतिक मान्यता रहेको छ ।

तर नेवार समाजमा आफ्नो मूल्य र मान्यताहरु बिर्सने बढ्दो क्रममा आजभोलि विधवाको मान्यता पाउन थालेको छ । महिलाहरु ‘आफू विधवा हुँ’ भनी श्वेतवस्त्र धारण गर्छन् र गैर नेवार सरह पुनः विवाह नगरी एकल, एकांकी र अपहेलित जीवन बिताउँ छन् । तर यसलाई नेवार समाजमा वाह्य प्रभावको रुपमा लिन सकिन्छ । परम्पराको नाउँमा इही त आजभोलि पनि अनिवार्य रुपमा गर्छ्न् तर अन्य समाजको देखासिखी वा प्रभावमा परेर विधवाको मान्यतालाई पनि हुल्न दिएको छ । अथवा यसरी पनि भन्न सकिन्छ– नयाँ पुस्तालाई इहीभित्रको गूढ रहस्य अचम्मको कुरा हुन थालेको छ । नेवार समाजभित्र हिन्दू र बौद्ध धर्मको प्रभाव पर्ने क्रममा आफ्ना मौलिकताहरु विर्सन थालियो वा अर्थ नबुझे पनि अवशेषको रुपमा निरन्तरता पाइरहेकै छ । सहज, सरल र आदिवासी जीवन शैलीको नेवार समाज बाह्य प्रभाव बढ्दै गएपछि बाल विवाह र विधवाको मान्यतालाई भित्रिन नदिन चलाकी पूर्वक पछि मात्रै इहीको प्रचलन चलाइएको देखिन्छ ।

नेवार समाजमा लैंगिक विभेदलाई बढावा दिने कुनै आधार ग्रन्थ छैन । यिनै कुराहरुको आधारमा नेवार समाजमा महिलाको स्थान पुरुषसमान नै रहेको देखिन्छ । तर विभिन्न अवसरमा देखिने गरेका केही असमानताको प्रश्नमा त्यस्तो भेदभाव देखिन थालेको सही हो तर त्यसलाई परम्पराको रुपमा लिइनु भने हुँदैन, त्यो त अन्य समाजको प्रभाव र विकृति हो । मौलिक मान्यता र संस्कृतिमाथि परेको बाह्य प्रभाव हट्ने हो भने लैंगीक समानताको जीवनशैली स्वतः पुनःस्थापित हुन्छ र यो अनिवार्य पनि हुन्छ ।

( साभार : हसना म्यागेजिन, वर्ष ६ अंक ४८,२०६८)

 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

अन्य लेखहरू: बसन्त महर्जन

यस लेखकका अन्य रोचक लेखहरू
आमा बाबुको मुख हेर्ने पर्व

आमा बाबुको मुख हेर्ने पर्व

आमाबाबुलाई आदरसत्कार नगर्नु भनेर कसले भन्छ र ? तर सबै धार्मिक समुदायमा ‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ पर्व त छ...

महाराज क्राचल्ल र बौद्ध धर्ममा उनको योगदान

राजा क्राचल्लले आफूलाई ‘परमसौगात’ अर्थात् बुद्धका ठुलो उपासक भनेर चिनाउन मन पराउने राजा हुन् । यसबाट उनी बौद्ध धर्मका उप...

बडामहाराजा नागराज र बौद्ध धर्ममा उनको योगदान

कीर्तिखम्बमा उल्लेखित विवरण राजा नागराज र उनका उत्तराधिकारीहरुका सम्बन्धमा हो । तिब्बती श्रोतहरुले पनि यही विवरण प्रस्तु...

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति चोरी हुनु धेरै दुःखदायी हो । झिल्के बनाएर यसको सत्यानाश नै गरिदिनु थप दुःखदायी हो । मूर्तिचोरीमा संलग्न हुनेहरु न...

नेवार समाजमा पाहाँचःह्रे चाड

नेवार समाजमा पाहाँचःह्रे चाड

विभिन्न जातीय समुदायको सांस्कृतिक जीवनको अध्ययन गर्दा एउटा समानता के देखिन्छ भने, वर्षभरिमा जेजति चाड पर्व मनाएपनि त्यसम...

नरेश श्रेष्ठ र फोटोग्राफी

नरेश श्रेष्ठ र फोटोग्राफी

अनेकौं पहिचानहरुको भीडमा एउटा पहिचान हो, फोटोग्राफर नरेश श्रेष्ठ । र, उनको फोटोग्राफी । बहीखाता राखेजस्तै उनी कतिपय ऐतिह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्