५ बैशाख २०८३, शनिबार

नेवारी होइन नेवार


अ+
अ-

 

हिजोआज नेपालको एक प्रमुख समुदाय ‘नेवार’ को भाषा, साहित्य, संस्कार–संस्कृति र परम्परा बुझाउन ‘नेवारी’ शब्दको प्रयोग गर्ने चलन चलेको छ।

यो चलन कहाँबाट, कसरी र किन चल्यो भन्ने प्रश्न बेग्लै हो, तर सम्बन्धित समुदायलाई भने यो पाच्य भएको छैन । उनीहरू यस्तो शब्दको प्रयोगले आफूलाई होच्याएको महसूस गर्छन्। यो अन्तर्य नबुझेर कसैले राम्रै सन्दर्भमा, राम्रै आशयले उक्त शब्दको प्रयोग गरे पनि अनर्थ भइरहेको छ। सही नाम ‘नेवार’ हो, नामलाई नबिगारियोस् भन्ने आग्रह गर्नु नाजायज पक्कै होइन पनि।  

यस सन्दर्भमा नेवारसँग सम्बन्धित विशेषणका रूपमा ‘नेवारी’ शब्द प्रयोग भएको भन्नु तर्कसङ्गत छैन। गुरूङ, मगर, तामाङ, सुनुवार, धिमाल, चेपाङ, छन्त्याल, जिरेल, सुरेल, दनुवार, सतारलगायतको भाषा, साहित्य, संस्कृति जनाउँदा अन्त्यमा दीर्घ इकार लगाएर शब्दको नयाँ रूप दिने चलन छैन। अरु त अरु, यही नेपालीभाषाको उद्गमसँग सम्बन्धित खस समुदायका हकमा पनि यो नियम लाग्दैन। ऐतिहासिक स्रोतहरूमा ‘खसिया’ शब्दको प्रयोग भएपनि हाल यो चलनचल्तीमा छैन।

सचेत नेवारहरू ‘नेवारी भाषा’ को ठाउँमा ‘नेपालभाषा’ भन्न मन पराउँछन् । ऐतिहासिक स्रोतहरूमा पनि यो भाषाको नाम ‘नेपालभाषा’ भनेर उल्लेख हुनुले त्यसो गर्न प्रेरित गरेको हो । भाषाको औपचारिक नाम ‘नेपालभाषा’ भएपनि ‘नेवारको भाषा’ भएका कारण ‘नेवारभाषा’ समेत् भन्न सकिन्छ। 

‘नेपालभाषा’ किन भनिएको भन्ने सन्दर्भ इतिहाससँग सम्बन्धित छ । ‘नेवार’ र ‘नेपाल’ दुई भिन्न शब्द नभएर एउटै शब्दका दुई भिन्न रूप हुन् । फ्रेन्च विद्वान सिल्भा लेभी (इ. १८६३–१९३५)का अनुसार ‘नेवार’ शब्दको उत्पत्ति ‘नेपार’बाट भएको हो । यसरी नै कुनै स्थानीय शब्द ‘संस्कृटाइज्ड’ हुने क्रममा ‘नेपाल’ शब्द रुढ हुन गएको हो । ‘नेपार’ शब्द ‘संस्कृटाइज्ड’ भएर ‘नेपाल’ बनेको तर्क बाबुराम आचार्यको पनि छ । नेपार र नेवार शब्दका बीचमा केबल माझको एउटा वर्ण फरक भएको र नेपारबाट नेबार र नेबारबाट नेवार बन्नु स्वाभाविक भएको उनको मत छ। 

इतिहासकार आचार्यका अनुसार भारतको विहारमा मगधि भाषा प्रचलित थियो र त्यसमा रेफको उच्चारण हुँदैनथ्यो, त्यसको बदलामा ‘ल’को प्रयोग हुन्थ्यो। यस कारणले स्थानीय नेवार शब्दलाई पाटलिपुत्रमा नेपाल भनी बोल्ने गरेको र त्यसैलाई कौटिल्यले संस्कृत भाषामा लिएको देखिन्छ। संस्कृत भाषा बोलचालमा व्यवहार नहुने हुनाले त्यसको विकास हुने शक्ति छैन। त्यस भाषामा भएका बैगुन वा गुनले यो शब्द चलिआएको देखिन्छ।

नेवार भाषामा मूल शब्दलाई यथावत् राखेर चलनचल्तीका नामबाचक शब्दलाई छोट्याउने अनौठो चलन छ। झ्याः, लः, पसः, आदि मूललाई छोट्याइएका शब्द हुन्। व्याकरणअनुसार तृतिया र सप्तमी विभक्तिमा प्रयोग हुँदाको झ्यालं, लखं, पसलं र सप्तमी विभक्तिमा प्रयोग हुँदाको झ्यालय्, लखय्, पसलय्’ आदिबाट विभक्तिका चिन्ह वा अक्षरलाई झिक्दा मूल शब्द झ्याल, लख, पसल देखापर्दछ। यो समुदायले आफूलाई ‘नेवाः’ भन्छ, तर यसको मूल शब्द ‘नेवाल’ वा ‘नेवार’ हो। नेपार, नेवार, नेवाल, नेपाल शब्दहरूमा स्वरभेद मात्रै रहेको कुरा यसबाट पनि प्रष्ट हुन्छ। 

प्राचीनकालमा यो भूक्षेत्र र यहाँका बासिन्दा दुवैलाई एउटै ‘नेपाल’ शब्दले पुकार्थ्याे। यो दाबीको प्रमाण चितलाङ भेकका अभिलेखहरू हुन्। अभिलेखमा प्रयुक्त ‘स्वस्ति नैपालेभ्यः’ वाक्यांशले बासिन्दाका अर्थमा बहुवचनमा ‘नेपालहरू’ भनेको छ। यसर्थ नेपालमा बस्ने सबै नेवार (नेपाल) हुन् अथवा नेवारसँग सम्बधित सबै कुरा नेपाल हुन्। 

ऐतिहासिक दृष्टान्तबाट स्पष्ट हुन्छ, नेवार र नेपाल दुई भिन्न नभएर एउटै शब्द हुन्। तर ऐतिहासिक विकासको क्रममा अब नेपाल (वर्तमान राजनीतिक भूक्षेत्र) नेवार (समुदायविशेष)सँग मात्र सम्बन्धित रहेन। पुरानो परम्परालाई पछ्याउँदै अर्थ विस्तार पनि गरेर भन्दा वर्तमान भूक्षेत्रका सम्पूर्ण बासिन्दा नेपाल वा नेवार हुन्। यही नेपाल वा नेवार शब्द वर्तमानमा ‘नेपाली’ शब्दबाट सम्बोधित छ।

यसलाई अझ स्पष्ट भन्ने हो भने राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाह वा उनका उत्तराधिकारीले यो देशको नाम ‘गोरखा’ राखेका भए आज नेपाली पहिचान पाएका मेचीदेखि महाकाली तथा हिमालदेखि तराईसम्मका सम्पूर्ण बासिन्दा ‘गोरखाली’ नामबाट चिनिन्थे र त्यसअन्तर्गत ‘नेपाली’ पहिचान नेवार समुदायले मात्रै बोकेको हुन्थ्यो। स्मरणीय छ, विस्तृत भूभाग समेटिएको यो देशको नाम अल्पकालका लागि ‘गोरखा’ नै राखिएको थियो, तर कालान्तरमा ‘नेपाल’ हुनपुग्यो। 

नेपार, नेपाल, नेवार, नेवाल, नेवाः एउटै शब्दका भिन्न–भिन्न रूप भनिएपनि एउटा प्रश्न टड्कारो उठ्छ— यसको अर्थ के हो ? नेपाल शब्दको व्युत्पत्तिमा धेरैले काम गरिसकेका भएपनि मतैक्य हुनसकेको छैन। नेपार, नेवार वा अन्य कुनै स्थानीय शब्द ‘संस्कृटाइज्ड’ भएर नेपाल बनेको हो भने मौलिक शब्द पछ्याउँदै अध्ययनलाई अगाडि बढाउनुको साटो पछि विकास भएको शब्दको नयाँ रूपमा अल्झिएर बस्दा दाइँ गरेजस्तो एकै ठाउँमा घुम्याघुम्यै हुने हो। त्यसैले व्युत्पत्ति खोज्ने वा अर्थ लगाउनेहरू पनि एकै ठाउँमा घुम्याघुम्यै गरेजस्तो प्रतीत हुन्छ। यसर्थ यससम्बन्धी अध्येताहरूले पछि संस्कृटाइज्ड भएको ‘नेपाल’ शब्दभन्दा बाहिर निस्केर मौलिक शब्दतिर फर्कनु नितान्त जरुरी छ।  

नेपाल शब्दलाई ‘नीप’ जातिसँग जोडेर अध्ययन गर्ने समूह पनि छ। सबै कुराको जननी संस्कृत भाषा हो भन्ने आग्रह राख्नु एउटा ‘स्कूल अफ थट्’ त होला तर सबै ठाउँ र सन्दर्भमा यो लागू हुनैपर्छ भन्ने आग्रह राख्नु अतिवाद हो। यसबाट अध्ययनका नाममा कसैको मौलिकता मासेर आफ्नो प्रभुत्व जमाउने खतरा पनि उत्तिकै हुन्छ। संस्कृत भाषाको मूल थलो र यसको प्रसारको क्रम तथा काल निर्धारण गर्दा नेपाल मात्रै नभएर भारतीय भूक्षेत्रमा पनि संस्कृत भाषाको प्रवेश निकै पछि मात्रै भएको देखापर्छ।  

प्रश्न फेरि दोहोरिन्छ, नेपाल शब्दको अर्थ के हो? यसको व्युत्पत्ति थाहा पाउने वा अर्थ लगाउने काम खेलाँची होइन। प्राप्त स्रोतअनुसार ‘नेपाल’ शब्दको पहिलो प्रमाण मौर्य सम्राट चन्द्रगुप्त (ई.पू. ३२६–३०२)का मन्त्री कौटिल्यको अर्थशास्त्रमा परेको छ।

त्यसपछि सातौँ शताब्दीका भारतीय सम्राट समुद्रगुप्त (शासन काल ई. ३३५–३७५)को इलाहावादस्थित प्रशस्ती लेख हो। पछि भारतीय साहित्य र स्वदेशमै पनि प्रशस्तै प्रयोग भएको पाइन्छ। तर, त्यसबाट पनि यसको अर्थ खुल्दैन। अध्येताहरूबाट अनेकौं अनुमान र अर्थ लगाउने प्रयास जारी छ। 

यही अवस्थामा कसैले मनगढन्ते धार्मिक कथाको रचना गरेर आफ्नो वर्चश्व देखाउने कोशिश पनि गरेको पाइन्छ। हिन्दू धर्मका पक्षपातीहरू कुनै ‘ने’ नामका ऋषि वा मुनिको कथा बनाएर उनैद्वारा पालित देश भएकोले नेपाल भएको तर्क गर्छन् त बौद्धहरू पनि अनेकौं तर्क गरेर बौद्धकरण गर्न पछि पर्दैनन्। तर हेक्का राख्नुपर्ने कुरा के हो भने नेपाललगायत पूरै क्षेत्रमा हिन्दू (वा वैदिक) र बौद्ध धर्मको प्रवेश हुनुअघि नै यो क्षेत्र सभ्यताको सोपानमा लागिसकेको थियो। 

नेपालमहात्म्य, पशुपतिपुराण र स्वयम्भूपुराणलगायतका धार्मिक ग्रन्थहरू १५–१६ औँ शताब्दीतिरमात्रै रचना गरिएका हुन्। योभन्दा अगाडि नै रचना गरिएका ‘गोपालराजवंशावली’ लगायतमा नेपाल सम्बन्धमा त्यस्ता कुनै कथाकहानी छैनन्। यस दृष्टान्तबाट यी कथाकहानी पछिल्ला कल्पना मात्रै हुन् भनेर ठम्याउन गाह्रो छैन।

व्युत्पत्ति र सही अर्थ पहिल्याउन नसकिँदैमा विकल्पको रूपमा काल्पनिक कुराकै सहारा लिनुपर्छ भन्ने छैन। बरु अध्ययन–अनुसन्धानका लागि तथ्यलाई बिग्रन नदिनु र अध्ययन–अनुसन्धान कार्यलाई निरन्तरता दिँदै जानुपर्छ। 

‘नेवार’लाई ‘नेवारी’ भन्दैमा के बिग्रिन्छ र भन्ने ताज्जुबको प्रश्न पनि गरिएको पाइन्छ। नाम व्यक्ति, समाज, समुदाय र क्षेत्रको पहिचानसँग सम्बन्धित हुनाका कारण यो महत्वपूर्ण पक्ष हो। नाम बिगार्नुको अर्थ पहिचान प्रभावित पार्नु हो। कम्प्युटरमा इमेल–इन्टरनेटको ‘युजरनेम’ र ‘पासवर्ड’मा एक अक्षर वा चिह्नको फरकले पनि कति फरक पार्छ भन्ने कुराले यो अझ स्पष्ट हुन्छ। नेवार शब्दकै अर्थ व्युत्पत्ति पत्ता लगाउन हम्मेहम्मे भइरहेका बेला फेरि अनावश्यक रूपमा नयाँ ‘नेवारी’ शब्दको प्रचलनले अध्येताहरूलाई अल्मल्याउँछ मात्रै। 

सम्बन्धित व्यक्ति वा समाजले आफ्नो नाम फेर्न चाह्यो भने बेग्लै कुरा, तर अरु कसैले त्यसमा तलमाथि पार्नु उचित होइन। परम्परादेखि चल्दै आएको नेवार नामलाई यथावत् राख्न चाहनु सम्बन्धित समुदायको स्वविवेकको कुरा हो। ‘नेवार’ को ठाउँमा ‘नेपाल’ नाम प्रचलनमा ल्याउने ऐतिहासिक प्रमाण वा हैसियत हुँदाहुँदै पनि व्यावहारिक दृष्टिले त्यस्तो दाबी वा आग्रह नराख्नुलाई सदाशयताका रूपमा लिइनुपर्छ।

https://www.himalkhabar.com/news/124009

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

अन्य लेखहरू: बसन्त महर्जन

यस लेखकका अन्य रोचक लेखहरू
आमा बाबुको मुख हेर्ने पर्व

आमा बाबुको मुख हेर्ने पर्व

आमाबाबुलाई आदरसत्कार नगर्नु भनेर कसले भन्छ र ? तर सबै धार्मिक समुदायमा ‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ पर्व त छ...

महाराज क्राचल्ल र बौद्ध धर्ममा उनको योगदान

राजा क्राचल्लले आफूलाई ‘परमसौगात’ अर्थात् बुद्धका ठुलो उपासक भनेर चिनाउन मन पराउने राजा हुन् । यसबाट उनी बौद्ध धर्मका उप...

बडामहाराजा नागराज र बौद्ध धर्ममा उनको योगदान

कीर्तिखम्बमा उल्लेखित विवरण राजा नागराज र उनका उत्तराधिकारीहरुका सम्बन्धमा हो । तिब्बती श्रोतहरुले पनि यही विवरण प्रस्तु...

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति चोरी हुनु धेरै दुःखदायी हो । झिल्के बनाएर यसको सत्यानाश नै गरिदिनु थप दुःखदायी हो । मूर्तिचोरीमा संलग्न हुनेहरु न...

नेवार समाजमा पाहाँचःह्रे चाड

नेवार समाजमा पाहाँचःह्रे चाड

विभिन्न जातीय समुदायको सांस्कृतिक जीवनको अध्ययन गर्दा एउटा समानता के देखिन्छ भने, वर्षभरिमा जेजति चाड पर्व मनाएपनि त्यसम...

नरेश श्रेष्ठ र फोटोग्राफी

नरेश श्रेष्ठ र फोटोग्राफी

अनेकौं पहिचानहरुको भीडमा एउटा पहिचान हो, फोटोग्राफर नरेश श्रेष्ठ । र, उनको फोटोग्राफी । बहीखाता राखेजस्तै उनी कतिपय ऐतिह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्