५ बैशाख २०८३, शनिबार

नेपाल प्रज्ञाप्रतिष्ठानमा धर्मादित्य धर्माचार्यको चर्चा


अ+
अ-

आदिवासी जनजाति समुदायसम्वद्ध पत्रकारहरूको राष्ट्रिय संगठन अनिज (आजभोलि फोनिज) को कुनै एक कार्यक्रमको बेला सहभागीहरूबीच समूह विभाजन गर्नु परेको थियो । महत्वपूर्ण व्यक्तिहरूको नामबाट समूहको नाम निर्धारण गर्ने कुरा पनि भयो । त्यही बेला एउटा नाम प्रस्ताव गरेको थिएँ, धर्मादित्य धर्माचार्य (ई.सं. १९०२–१९६३) । यो नाम सुनेर त्यहाँ उपस्थित धेरैले उक्त नाममाथि जिज्ञासा राखे । आदिवासी जनजाति समुदायसम्वद्ध पत्रकारहरूको संगठनमा नै यो नाम जिज्ञासाको विषय बन्नु उदेक लाग्दो कुरा हो । जवाफ दिएको थिएँ, ‘‘उहाँ नेपालभाषाको पहिलो पत्रकार हुनुहुन्छ । यस हिसावले नेपालको पहिलो आदिवासी पत्रकार हुनु भयो । उहाँले नेपालभाषामा पहिलो पत्रिकाको सम्पादन र प्रकाशन गर्नु भएको थियो ।’’

नेपाली समाजमा व्यक्तिपूजाको प्रसंग खूब चल्ने गर्दछ र नकारात्मक अर्थमा लिइन्छ पनि । वास्तवमा हुनु पर्ने त व्यक्तित्वको पूजा हो । जब व्यक्तित्वलाई भन्दा व्यक्तिलाई प्रश्रय दिइन्छ, सब कुरा भताभुङ हुन जान्छ । नेपालमा अनेकौं त्यस्ता व्यक्तित्वहरू छन् जसको सम्मान त के चर्चाको विषय पनि बन्दैन । इतिहास खोतल्नु भन्दा त्यसलाई विस्मृतिको गर्भमा पुरेर बहादुरी देखाउनेहरू नेपाली समाजमा छन् । कतिपय अवस्थामा इतिहास खोतल्ने प्रयास नै नगरी आफ्ना अग्रजहरूबाट अपरिचित भइराखेका हुन्छन् वा हिनताबोध गर्दछन् । यस अर्थमा नेपालका आदिवासी जनजाति पत्रकारहरूका अग्रज हुन् – धर्मादित्य धर्माचार्य । माथि उल्लेखित प्रसंगकै बेला सोही संस्थाले अब उनको बारेमा केही कार्यक्रम गर्नु पर्छ भनेर प्रस्ताव पनि राखेको थिएँ तर पछि भयो, भएन जानकारी छैन । नेवार समाजमा भने, विशेष गरी भाषा र साहित्यको सन्दर्भमा यी व्यक्तित्वको नाम बडो सम्मानका साथ लिने गरिन्छ । उनी बहुआयामिक व्यक्तित्व हुन् र सोही अनुसार बरोबर उल्लेख हुने नाममा पर्दछन् । नेपालमा थेरवादी बौद्ध धर्म भित्र्याउने मात्रै नभएर समग्र बौद्ध धर्मलाई नै नेपालमा रक्तसंचार गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्व हुन् उनी । यस हिसाबले बौद्ध धर्म क्षेत्रले उनलाई बिर्सनु हुन्न ।

बौद्ध धर्मसम्वन्धी समाचार र लेखरचनाहरू प्रकाशित गर्न उनले कलकत्ता (भारत) बाट १९२५ मा बुद्ध धर्म (पछि ‘बुद्धधर्म व नेपाभाषा’ नामाकरण गरियो) नामक एक म्यागेजिनको सम्पादन तथा प्रकाशन गरे । उनी नेपालभाषामा मात्रै सीमित थिएनन्, नेपाली र अंग्रेजीमा पनि बुद्धधर्मसम्वन्धी पत्रिकाको सम्पादन तथा प्रकाशनमा संलग्न रहेका थिए । धर्मसम्वन्धी अनेकौं गतिविधिमा संलग्न रहेका उनी मातृभाषा र संस्कृतिको पनि अध्ययन, अनुसन्धान तथा लेखनमा संलग्न भएका थिए । राणा कालमा नेपालमा उद्योग क्षेत्रको विकासका लागि उद्योग विभागको स्थापना भएको थियो तर उक्त विभाग सम्हाल्ने मान्छे नभएर कलकत्तामा कमर्शको अध्ययन गर्दै गरेका यिनलाई काठमाडौं झिकाएर सो विभाग जिम्मा लगाइएको थियो । यी बहुआयामिक व्यक्तित्वलाई नेवार समाजले त्यो पनि भाषा, साहित्य र धर्मको क्षेत्रले मात्रै सम्झनु वास्तवमा नबुझ्नु नै हो । यिनको नाममा मांभाय् पुचः नामक एक भाषिक संगठनले एक दशकअघि सम्मान र पुरस्कारको स्थापना गरी प्रत्येक वर्ष निरन्तर दुई व्यक्तित्वलाई प्रदान गर्दै आएको छ । गत जुन महिना (२०१३) मा सम्पन्न सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सुलोचना मानन्धर प्रमुख अतिथीका रूपमा आएका थिए । उनले त्यही बेला मन्तव्यका क्रममा बोलेका थिए, आफू यस कार्यक्रमका लागि आउँदा आफ्ना साथीहरूलाई धर्मादित्य धर्माचार्यका सम्वन्धमा थाहा नै थिएन । यी व्यक्तित्व त राष्ट्रिय चर्चाको विषय बनाइनु पर्ने र राष्ट्रिय स्तरमा नै सम्मानित गर्नु पर्ने भएका कारण अब नेपाल प्रज्ञाप्र्रतिष्ठानले चाँडै कुनै न कुनै कार्यक्रम गर्ने वचन दिएका थिए । मातृभाषा साहित्य विभागका संयोजक पनि भएका कारण अब भने केही होला भन्ने अनुमान उति बेला नै भएको थियो । साच्चै, यी व्यक्तित्को परिचयात्मक गोष्ठीको आयोजना अगस्ट ९ (२०१३) का दिन सम्पन्न भयो पनि ।

गोष्ठीमा कार्यपत्र प्रा. प्रेमशान्ति तुलाधरले प्रस्तुत गरेका थिए । कसैलाई उक्त कार्यपत्रमा धेरै कुरा आएजस्तो लाग्ला तर नयाँ कुरा खोज्नेहरू एक प्रकारले निराश नै हुनु प¥यो । धर्मादित्यका अधिकांश कार्यहरू प्रकाशित छन् । अझ उति बेला प्रकाशित बुद्ध धर्म व नेपालभाषा’ म्यागेजिनको सम्पूर्ण अंक संकलन गरी आफ्नै सम्पादनमा वैकुण्ठप्रसाद लाकौलले पुनः मुद्रण गरेर उपलब्ध गराइदिएका छन् । यसरी नै उनको महत्वपूर्ण लेख ‘नेपालभाषा व थ्वया साहित्य’ लाई महाकवि चित्तधर ‘हृदय’ले सम्पादन गरी पुनः प्रकाशित गरेर सर्वसुलभ गरिदिएका छन् । यी दुई व्यक्तित्व धर्मादित्य धर्माचार्यसँग नजिकको सम्वन्ध राख्दथे । चित्तधर हृदयले  जीवनी विषयक लामो लेखमा  थुप्रै कुराहरू पस्केका छन् । लाकौलले पनि सिंगो एउटा पुस्तक लेखेर धेरै कुरा प्रकाशमा ल्याइदिएका छन् । वस्तुतः यिनै दुई लेखकको आधारमा नेपालभाषामा अन्य लेखरचनाहरूको उत्पादन गर्ने हुन् । त्रिभुवन विश्वविद्यालय, केन्द्रिय नेपालभाषा विभागबाट तयार पारिएको शोधपत्र धर्मादित्य धर्माचार्यसँग नै सम्वन्धित छ । तर प्रा. तुलाधरले प्रस्तुत गरेको कार्यपत्रमा पूर्वकार्यहरूलाई समेट्न नसकेको कुरा सन्दर्भ सूचीबाट थाहा हुन्छ । अरु त अरु प्रकाशमा आइसकेका कुराहरू पनि प्रष्ट रूपमा आएन वा मूल कुरालाई प्रस्तोताले समाउन नै सकेनन् । बरु टिप्पणीकर्ता डा. पुष्पराज राजकर्णिकारले प्रकाशित अन्य श्रोतकै आधारमा कमीकमजोरीहरू औंल्याइदिए । 

परिचयात्मक गोष्ठीको दृष्यचित्र पनि उदेक लाग्दो नै भयो । उपस्थित अधिकांश व्यक्तिहरू नेवार समुदायबाट, अझ नेपालभाषा तथा साहित्य क्षेत्रका परिचित अनुहारहरू थिए । अरु त अरु प्रज्ञाप्रतिष्ठान सम्वद्ध व्यक्तित्वहरूकै पनि अभाव थियो । वास्तवमा त्यहाँ नेवारभन्दा बढी गैर नेवारहरूको उपस्थिति बाक्लिनु पर्ने हो । तर त्यहाँ दुई हातमा गन्न पनि नपुग्ने संख्यामा मात्रै नयाँ अनुहारहरू देखियो । प्रमुख अतिथी सत्यमोहन जोशीले नेपाली भाषाको विकास गर्नमा वा यहाँसम्म ल्याइपु¥याउनुमा गैर नेपालीभाषीहरूको ठूलो योगदान रहेको तर नेपालीभाषी साहित्यकारहरूले यसतर्फ ध्यान नदिएको भनी तीतो यथार्थ व्यक्त गरे । उनका अनुसार जसरी नेवार, गुरुङ, राई, लिम्बू, तामाङ, मगर आदि जातीय समुदायबाट आएकाहरूले नेपालीभाषा सिकेर नेपालीमा नै लेखे, त्यसरी नै नेपालीभाषी लेखकहरूले पनि देशभित्रका अन्य कुनै एक भाषा सिकेर अलिकति मात्रै योगदान दिने हो भने पनि देशका चरित्र निकै मात्रामा फरक पर्ने विचार व्यक्त गरे जुन मननयोग्य कुरा हो । दुई नेवारबीच नेवारभाषामा कुराकानी हुँदै गर्दा आफ्नै भाषामा बोलिरहेको भनी टिप्पणी गर्ने, भाषा बुझ्दिन भनेर पन्छिने वा ‘मासु खाने भाषा’ भन्दै खिल्ली उडाउने प्रवृत्ति रहेको कुरा पनि कोट्याए । भाषा नबुझे पनि सुनिदिए राम्रो हुने भन्दै मन्तव्यको पछिलो भाग उनले नेपालभाषामा बोलेर त्यहाँ नेपाली भाषी लेखकहरू समक्ष प्रयोग पनि गरे । अर्को उदेक लाग्दो कुरा त के भयो भन्दा, सत्यमोहनबाट नेपालभाषामा व्यक्त थोरै समयका मन्तव्य पनि सुन्ने धैर्य त्यहाँ देखिएन । उठेर हिड्नेहरूमध्ये एक त स्वयं प्राज्ञ बुँद राना थिए र मन्तव्य सकिएपछि पुनः भित्रिए । यसलाई असमझदारी वा अहिष्णुता के भन्ने ? सभापतिको आसनबाट बोल्ने क्रममा उपकुलपति गंगाप्रसाद उप्रेतीले बरु आफू धेरै पल्ट अन्य भाषीको समाजमा बसेको तर तिनीहरूको भाषा सिक्नु पर्छ भन्ने महसूस हुन नसकेको स्वीकारोक्ति दिए ।

धर्मादित्य धर्माचार्य बहुआयामिक व्यक्तित्व हुन् भन्ने कुरामा शंका छैन । तर नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित उक्त परिचयात्मक गोष्ठीमा बुद्ध धर्मको क्षेत्रमा उनले पु¥याएको योगदानको चर्चा नै भएन । कार्यपत्रमा मूल उद्देश्य भाषिक तथा साहित्यिक योगदानको मात्रै चर्चा गर्ने रहेका कारण यही विषयमा मात्रै केन्द्रित रहने भन्ने उल्लेख थियो । कार्यक्रमको आयोजना नै मातृभाषा साहित्य विभाग भएका कारण विषयवस्तुलाई साँघु-याएको भनी बुझ्न सकिन्थ्यो । तर एउटा प्रश्न उठ्छ, धर्मको क्षेत्रमा उनको योगदानको चर्चा गर्न नेपाल प्रज्ञाप्रतिष्ठान अन्तर्गतकै दर्शन विभाग सरिक हुन्छ कि हुँदैन । मातृभाषा साहित्य विभागले नै पनि भविष्यमा यस्ता व्यक्तित्वहरू खोजेर ल्याई यस्तै परिचयात्मक गोष्ठीहरूको आयोजना गर्छ वा गर्दैन भन्ने प्रश्नको जवाफ आफैसँग नभएको उक्त विभागका संयोजकले सुरुमा नै बोलेको यहाँ स्मरणीय छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

अन्य लेखहरू: बसन्त महर्जन

यस लेखकका अन्य रोचक लेखहरू
आमा बाबुको मुख हेर्ने पर्व

आमा बाबुको मुख हेर्ने पर्व

आमाबाबुलाई आदरसत्कार नगर्नु भनेर कसले भन्छ र ? तर सबै धार्मिक समुदायमा ‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ पर्व त छ...

महाराज क्राचल्ल र बौद्ध धर्ममा उनको योगदान

राजा क्राचल्लले आफूलाई ‘परमसौगात’ अर्थात् बुद्धका ठुलो उपासक भनेर चिनाउन मन पराउने राजा हुन् । यसबाट उनी बौद्ध धर्मका उप...

बडामहाराजा नागराज र बौद्ध धर्ममा उनको योगदान

कीर्तिखम्बमा उल्लेखित विवरण राजा नागराज र उनका उत्तराधिकारीहरुका सम्बन्धमा हो । तिब्बती श्रोतहरुले पनि यही विवरण प्रस्तु...

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति चोरी हुनु धेरै दुःखदायी हो । झिल्के बनाएर यसको सत्यानाश नै गरिदिनु थप दुःखदायी हो । मूर्तिचोरीमा संलग्न हुनेहरु न...

नेवार समाजमा पाहाँचःह्रे चाड

नेवार समाजमा पाहाँचःह्रे चाड

विभिन्न जातीय समुदायको सांस्कृतिक जीवनको अध्ययन गर्दा एउटा समानता के देखिन्छ भने, वर्षभरिमा जेजति चाड पर्व मनाएपनि त्यसम...

नरेश श्रेष्ठ र फोटोग्राफी

नरेश श्रेष्ठ र फोटोग्राफी

अनेकौं पहिचानहरुको भीडमा एउटा पहिचान हो, फोटोग्राफर नरेश श्रेष्ठ । र, उनको फोटोग्राफी । बहीखाता राखेजस्तै उनी कतिपय ऐतिह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्