२३ कार्तिक २०८३, सोमबार

लक्ष्मी पूजाकी लक्ष्मी मायादेवी होइनन्


अ
अ+
अ-

लक्ष्मी हिन्दू धर्ममा एक देवी हुन् र समाजमा उनको महत्व ठूलै रहेको मानिन्छ । धनकी देवी मानिने उनलाई रिझाउन सके धन कमाइन्छ, धनधान्य होइन्छ भन्ने विश्वास हिन्दू समाजमा पाइन्छ । यही भएर लक्ष्मीको पूजा हुन्छ । अझ वर्षमा एक दिन लक्ष्मी पूजा भनेर विशेष रुपमा पूजा गर्ने गरिन्छ । यमपञ्चकको रुपमा पाँच दिन मनाइने तिहारमा तेस्रो दिन लक्ष्मी पूजा पर्दछ । तर यो लेख यिनी देवी लक्ष्मीका बारेमा चर्चा नभई उनी लक्ष्मी नभएर गौतम बुद्धकी आमा मायादेवी भनेर बौद्धहरुले नै बौद्ध समाजमा फैलाइएको भ्रमको निवारणसम्बन्धि हो । 

भारत र नेपालका बौद्धहरूमा आजभोलि सबै कुरालाई बौद्ध आँखाबाट मात्रै हेर्ने र सबैलाई बौद्ध भन्दै दावी गर्ने प्रवृत्ति बढेको पाइन्छ । गौतम बुद्धका उपदेश (शिक्षा) मात्रै होइन, बौद्ध कलाकृति, बौद्ध स्थललगायत कतिपय विषयवस्तुलाई हिन्दूकरण गरेको घटना एकपछि अर्को धमाधम उजागर भइरहेको अवस्थामा यसरी शंका उठ्नु स्वाभाविक हो । शंका उठेपछि जिज्ञासा बढ्छ र अध्ययन हुनथाल्छ । अध्ययनले हो–होइन भन्ने निक्र्यौल हुन्छ । यसै क्रममा लक्ष्मी र लक्ष्मी पूजाका सम्बन्धमा बौद्धहरूमा शंका उठेको मान्नुपर्दछ । हिन्दू दृष्टिबाट खासै खण्डन भइनसकेपनि यही शंका वा अनुमान वा दावीलाई बौद्ध दृष्टिकोणबाटै यहाँ खण्डन गरिएको छ ।

हिन्दू धर्ममा समग्र रुपमा लक्ष्मी भनेर एक देवीलाई मान्ने गरिएपनि लक्ष्मीका पनि अनेक नाम रहेको पाइन्छ । तीमध्ये एउटा नाम गजलक्ष्मी हो । लक्ष्मी पूजामा पुजिने लक्ष्मीको चित्रमा प्रायः गजलक्ष्मी रहेको पाइन्छ । यिनी दायाँबायाँ दुई हात्तीले जलाभिषेक गराईरहेकी हुन्छिन् । यिनै गजलक्ष्मीलाई बौद्धहरूले गौतम बुद्धकी आमा मायादेवी हुन् भनेर दावी गरेको पाइन्छ । उनीहरूका अनुसार बुद्धकी आमा मायादेवीलाई गरिने पूजालाई हिन्दूकरण गरी लक्ष्मी र लक्ष्मी पूजा भन्न थालिएको हो । यो भ्रम सबै बौद्धमा नभएर सुरुमा भारतबाट र अहिले नेपालमा सीमित वर्गमा फैलिरहेको छ । अब प्रश्न उठ्छ, बौद्धहरूमा यो भ्रम फैलिनुकोे आधार के हो ? 

मायादेवीको सन्दर्भमा हात्तीको प्रसङ्ग एकपल्ट आउँछ । एउटा सेतो हात्ती गर्भमा प्रवेश गरेको सपना देखेकी थिइन्, मायादेवीले । वास्तवमा तुषित देवलोकमा रहेका बोधिसत्व श्वेतकेतु बुद्धत्व प्राप्तिका लागि पृथ्वीमा आएको संकेत हो यो । दश महिनापछि शिशुको जन्म हुन्छ र उही शिशु (बोधिसत्व) पैंतीस वर्षको उमेरमा बुद्धत्व लाभ गरी बुद्ध हुन्छन् । बुद्धत्व लाभ गरी गौतम बुद्धको नामबाट प्रख्यात भएको बेलामा आमा मायादेवी जीवित थिइनन् । शिशुलाई जन्म दिएर सातौं दिनमा मृत्युवरण गरेकी थिइन् ।  

मायादेवीलाई पूजा गर्ने चलन वा परम्परा बौद्ध समाजमा छैन । यो तर्कसंगत कुरा पनि होइन । गौतम बुद्ध पुज्य हुनुको कारण उनले बुद्धत्व लाभ गरेकाले हो । उनी पुज्य हुँदैमा उनका नातागोता पनि स्वतः पुज्य हुँदैनन् । बौद्ध धर्ममा पुज्यको रुपमा सर्वप्रथम सम्यकसम्बुद्ध र त्यसपछि अर्हत् तथा बोधिसत्वहरू हुन् । देवताहरू पनि दुःखमा अल्झिएका र मुक्ति पाइनसकेका अन्य प्राणीसरह नै हुन् तसर्थ पुज्य होइनन् । बुद्ध र अर्हत्हरू क्लेश क्षय गरी जन्म र मृत्युको भवचक्रबाट मुक्त भइसकेका कारणमा पुज्य हुन् । अर्हत् तथा बोधिसत्वहरू असंख्य हुने भएकाले बुद्धकै दाँजोको मान्यता हुँदैन । नातागोताकै कुरा गर्ने हो भने, गौतम बुद्धका बाबा शुद्धोदन, सानीआमा प्रजापति गौतमी, श्रीमति यशोधरा, केही भाइहरू, दिदी अर्हत् थिए । तर आमा मायादेवी अर्हत् थिइनन् । मृत्युवरणपछि मायादेवी त्रायंतीश देवलोकमा देवपुत्रका रुपमा जन्मिन पुगेकी थिइन् । बौद्ध विवरणअनुसार आफूलाई जन्मदिई अनुकम्पा गरेकी आमालाई धर्म उपदेश गर्न उनी तुषित देवलोकमा पुगेका थिए । त्यहाँ उनीलगायत अन्य देवताहरूलाई तीन महिनासम्म धर्मउपदेश सुनाएर फर्केका थिए । यस विवरणअनुसार मायादेवी अर्हत् थिइनन् र पूजा गर्नुपर्ने दरकार पनि छैन ।  

साँचीलगायत केही बौद्ध स्थलमा दायाँबायाँ हात्ती रहेकी महिला अंकित मूर्तिकला पाइन्छन् । यतिको आधारमा यसलाई मायादेवीको मूर्तिका रुपमा लिएको बुझ्न सकिन्छ । यसले गजलक्ष्मीसँग सादृष्य राख्दछ । तर मायादेवीको होइन । बौद्ध दृष्टिकोणबाट यो मूर्तिकलाको अर्थ खुल्दैन । तसर्थ यस सम्बन्धमा अध्ययन हुनुपर्दछ, यो बेग्लै कुरा हो ।   

हिन्दू समाजमा प्रचलित लक्ष्मी बौद्ध चरित्र होइनन् । उनलाई बौद्ध ठान्नु र त्यसअनुसार दावी गर्दै हिड्नु बौद्ध धर्मदर्शन तथा परम्पराबारे यथेष्ट जानकारी नुहुनु हो । यति हुँदाहुँदै पनि थप जानकारीको आवश्यकता रहन्छ नै । लक्ष्मी पूजाकै दिन नेपालमा नेवार बौद्धहरूले आफ्नो आगम कोठामा लक्ष्मीको पूजा भनी वसुन्धरा देवीको पूजागर्ने चलन पाइन्छ । लक्ष्मी र बसुन्धरा उही होइन तर दुबै धनसँग सम्बन्धित भने हो । संभवतः हिन्दूहरूले धनसँग सम्बन्धित गरेर यस दिन पूजा गरेकाले त्यसैको प्रभावमा बौद्धहरूले पनि आफ्नो आस्थाअनुसार आफ्नै बसुन्धराको पूजा गरेका हुन् । यी बसुन्धरासँग मायादेवीको कुनै सम्बन्ध छैन । यसरी नै नेवार समाजमा यस दिन महालक्ष्मीको पूजा गर्ने चलन छ । लक्ष्मी र महालक्ष्मी पनि उही होइनन्, दुईको चरित्र र महत्ता भिन्न रहेको पाइन्छ । महालक्ष्मीको पूजा तान्त्रिक विधिबाट हुन्छ जुन परम्परागत लक्ष्मी पूजा गर्ने हिन्दूका लागि आपत्तीजनक पनि हुनसक्छन् । लक्ष्मी र महालक्ष्मीको पूजा गर्ने तस्बीरको आकृति नै फरक हुन्छ ।  

बौद्ध विषयवस्तुहरू समयक्रममा अतिक्रमित र अपव्याख्या भइरहनु ज्यादै सम्वेदनशील कुरा हो । यस कुरामा ध्यान दिएर हिजोआज बौद्धहरू सचेत हुनथाल्नु राम्रो हो । तर सचेत हुने नाममा सबै कुरालाई बौद्ध भन्दै हिड्नु र जिद्दी गरेर बस्नु प्रत्युत्पादक हुन्छ । आफ्नै बारेमा आवश्यक जानकारीको अभावमा गजलक्ष्मीलाई मायादेवी ठान्नु ज्ञानको अभाव हो । साथसाथै मायादेवीको पूजा गर्ने परम्परा बौद्ध समाजमा नभएको तथा तर्कसंगत पनि नहुने कुराले अन्ततः बौद्धहरू जिल्लिनु पर्ने हुन्छ । 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

मेगु पोस्त: बसन्त महर्जन

छिं लेखकाः मेगु लेख
अहिंसाको कुरा र बुद्धको शिक्षा

अहिंसाको कुरा र बुद्धको शिक्षा

बुद्ध जन्मेको देश हुँदैमा देशवासीको मनमस्तिष्कमा बुद्ध शिक्षा स्वतः घुसेको हुँदैन । बुद्ध अनेक विधि उपाय अपनाएर मान्छेको...

मोहनी नखःको नःलास्वां 

मोहनी नखःको नःलास्वां 

जसरी मोहनी र दशैं एउटै होइन, त्यसरी नै दशैंको जमरा र मोहनीको नःलास्वां पनि उस्तोउस्तै देखिएपनि उही होइन  ।...

नेवार, नेपाल र नेपालमण्डल

नेवार, नेपाल र नेपालमण्डल

‘नेवार’का सम्बन्धमा कुरा गर्दा ‘नेपाल’ को कुरा स्वभावतः आउँछ नै । साथसाथै ‘नेपालमण्डल’ को सन्दर्भ पनि आइरहेको हुन्छ । कत...

नेवार र मल्लकाल

नेवार र मल्लकाल

नेवार अध्ययनका प्रायः अध्येताको ध्यान मल्लकालमा सोझिनु ऐतिहासिक दृष्टिले अलि संकुचित हुनु हो । यस अवस्थामा सर्वसाधारण ने...

बौद्ध वा हिन्दूको प्रश्नमा अल्मलिएका नेवार

बौद्ध वा हिन्दूको प्रश्नमा अल्मलिएका नेवार

कोही नेवारलाई कसैले ‘तिमी बौद्ध हो कि हिन्दू ?’ भनेर सोध्योभने साधारणतः त्यो नेवार अल्मलिन्छ । वास्तविकता त के हो भने, ए...

नेवारसँग किन धेरै संस्कृति ?

नेवारसँग किन धेरै संस्कृति ?

नेवारको पहिचान संस्कृतिमा सम्पन्न समुदायको रुपमा रहेको पाइन्छ । नेपाली समाजमा संस्कृतिको सवाल उठ्दा नेवारको नाम छुट्दैन ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्