नेवार र मल्लकाल


अ
अ+
अ-

नेवार अध्ययनका प्रायः अध्येताको ध्यान मल्लकालमा सोझिनु ऐतिहासिक दृष्टिले अलि संकुचित हुनु हो । यस अवस्थामा सर्वसाधारण नेवार तथा गैरनेवारले पनि मल्लकाललाई नै नेवार सभ्यताको निर्माणकाल भनेर बुझ्नुमा आश्चर्य छैन । यस मामिलामा म अलि फरक दृष्टिकोण राख्छु । मेरो फरक दृष्टिकोणमा कतिपयलाई आपत्ती हुनसक्छ तर त्यसलाई छलफल वा विचारविमर्शका लागि एउटा विषयको रूपमा लिन सकिन्छ । 

मल्लकाल भनेर हामी जुन समयावधिलाई भनिरहेका छौं त्यो मुख्यतः उत्तरमध्यकाल हो । प्राचीनकालभित्र मानिएको लिच्छविकालभन्दा निकै अघि नै नेवार सभ्यताको जग बसिसकेको र लिच्छविकालमा परिपक्व सभ्यता रूपमा देखापरिसकेको अवस्थामा पछिल्लो मध्यकाल अर्थात मल्लकाललाई मात्र देख्नु उचित दृष्टिकोण होइन । यो दृष्टिकोणमा म शासकीय राजनीति देख्छु । आफू असल र निर्विकल्प भनेर देखाउन शासकहरू आफूभन्दा ठिक अघिका शासकहरू खराब वा कमजोर भन्ने भाष्य निर्माण गर्दछन् । 

शाहवंशीय राजतन्त्रको सुरुवात पृथ्वीनारायण शाहबाट भएपनि यसको गुनगान गाउने तथा शाहवंशीय प्रसस्ती लेखाउने काम धेरैपछि महेन्द्रीय शासनकालमा मात्रै भएको पाइन्छ । पृथ्वीनारायण शाहपछि लामो समय युद्ध, दरवारीया षडयन्त्र र आन्तरिक सत्तासंघर्षमा नै बित्यो । शासनसत्ता राणाकालमा मात्रै स्थिर रह्यो तर शाहवंशको दुर्भाग्य, राणाकाल भनेको शाहकालको निधारमा एउटा कालो धब्बा वा कलंकको रूपमा रह्यो । वि.सं. २००७ पछि राजा त्रिभुवनको समयमा शाहवंशको गुनगान गाउने काम थोरै मात्र हुनपायो, अलि व्यवस्थित र रणनीतिक रूपमा राजा महेन्द्र र त्यसपछि मात्रै हो । यति बेला काठमाडौं उपत्यकाभित्रै मात्रै काठमाडौं, भक्तपुर र ललितपुर गरी ससाना तीन राज्य रहेको, आपसमा झगडा मात्रै गरिरहने, निकै कमजोर भन्ने भाष्य निर्माण गराउने काम राज्यसत्ताको निर्देशनमा भयो । वास्तवमा यति बेला काठमाडौं उपत्यकामा तीन राज्य नभई तीन राज्यको बेग्लाबेग्लै राजधानी भन्ने तथ्यलाई लुकाउने काम भएको थियो । ती तीन राज्यले ओगटेको राजनीतिक भूगोल करीब करीब वर्तमानको बागमति प्रदेश हो । आआफ्नो शक्तिविस्तार र विकासका लागि अनेक गतिविधि भइराख्नु स्वाभाविक हो । यी तीन राज्य कहिल्यै पनि कमजोर थिएन । आर्थिक, सामाजिक, सांस्कृतिक तथा व्यापार व्यवसायलगायत कुनै पनि क्षेत्रमा यो कहिल्यै पनि कमजोर रहेको देखिँंन । सैन्यशक्तिको मामिलामा यी तिनै राज्यसँग आफ्नै जनसमुदाय मात्रै भर्ती हुने नभएर बाह्य जनसमुदाय पनि आकर्षित थिए । उपत्यकाका मल्ल राज्यहरूमा नेवार सेनाबाहेक खश तथा तामाङ सेना पनि भर्ती रहेको पाइन्छ । अन्तर्राष्ट्रिय राजनीतिमा पनि काठमाडौंका मल्ल राज्यहरू सशक्त र चतुर रहेको पाइन्छ । राजा महेन्द्र र उनीपछिका राजाहरूले लेखाएको इतिहासअनुसार उपत्यकाका तीन मल्ल राज्यहरू कमजोर मात्रै होइन, राजाहरू लाटोबुङ्गो जस्तो देखाइएको पाइन्छ । तर वास्तविकता त के हो भने, आफ्नो मितछोरा गोरखाली राजा पृथ्वीनारायण शाहसँग भक्तपुरका राजा रणजीत मल्ल सुरुदेखि नै सचेत थिए । मितछोराको महत्वाकांक्षासँग उनी परिचित थिए । गोरखालाई आफूअनुकूल राख्न उनले पर्वत, लमजुङलगायतका राज्यहरूसँग सम्बन्ध बढाएको मात्रै नभएर सरसल्लाह दिने तथा तिनीहरूलाई प्रयोग गरेर गोरखालाई अँठ्याउने काम पनि गर्दथे । ती राज्यहरू गोरखाको अस्तित्वलाई नमान्ने मात्रै होइन, निमिट्यान्न नै पार्न चाहन्थे । काठमाडौंका तीन मल्लराज्यहरू मात्रै आपसमा नमिल्ने होइन, गोरखा, लमजुङ, पर्वतलगायतका राज्यहरू त झनै मिल्दैनथे र त्यस्तो राजनीति गर्नमा मल्ल राजाहरूको भूमिका पनि हुन्थ्यो । यस्तो खालको राजनीति गर्ने क्षमता राख्ने राजाहरूलाई लाटोबुङ्गोजस्तै प्रस्तुत गर्नु इतिहाससम्मत कुरा होइन । र, संघर्षमा कुनै न कुनै पक्षको बिजय–पराजय त हुन्छ, पृथ्वीनारायण शाहको हातमा बिजय पर्यो, त्यो बेग्लै पक्ष हो । 

काठमाडौंका मल्ल राजाहरूलाई नेवार राजा र नेवार राजाहरूलाई हराएर पृथ्वीनारायण शाहले राज्यविस्तार गरेको भाष्य अस्पष्ट र भ्रमपूर्ण छ । ऐतिहासिक दृष्टिले नेपालको इतिहासमा राजा भएकाहरूलाई नेवार राजा वा गैरनेवार राजा भनेर छुट्याउन सकिन्न । यहाँ राज्यसत्ता कायम गर्ने राजाहरूमा एउटा साझा प्रवृत्ति आफूलाई यहीँको राजा मान्ने मात्रै नभएर हरेक दृष्टिले यहीँ घुलमिल भएर यहीँको पहिचान बनाउने गरेको पाइन्छ । मल्ल राजाहरूको सवालमा पनि यही लागू हुन्छ । यसअनुसार मल्लहरूलाई मात्र नभई यसअघिका जम्मै राजाहरूलाई नेवार राजा हुन् ।  

मल्लकालमा सामाजिक, सांस्कृतिक, आर्थिक, कला, वास्तुकला, मूर्तिकला, काष्ठकला, धातुकला, पौभा, जात्रा, गुठी, धार्मिक संस्कारहरू जेजति स्वरूपको विकास भयो त्यो पूर्वमध्यकालकै निरन्तरता हो । पूर्वमध्यकाल पनि प्राचीनकालको जगमा नै उभिएको ऐतिहासिक विरासत हो । स्वयं नेवार समुदायका अध्येताहरूले नै पनि नेपालभाषाको साहित्य विकास मल्लकालमा भएको देख्नु दुर्भाग्यपूर्ण हो । मल्लकालमा पाइने साहित्य परिपक्व र उत्कृष्ट देखिन्छ, यस्तो विकास एकै पटक मल्लकालमा हुनु संभव छैन । यस स्थितिमा आइपुग्न यसको लामो पृष्ठभूमि हुनुपर्दछ । नष्ट भइसक्नु र प्राप्त नभइनसक्नुलाई हुँदैनभएको भन्ठान्नु उचित होइन । यस अवस्थामा नेवार सभ्यताको निर्माणकाल भनेर मल्लकाललाई लिनु एकांकी दृष्टिकोण हो । यो इतिहासको सही बुझाई र मूल्याङ्कन होइन । 

 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
Basanta Maharjan

More from Basanta Maharjan

Explore more articles by this author
बौद्ध वा हिन्दूको प्रश्नमा अल्मलिएका नेवार

बौद्ध वा हिन्दूको प्रश्नमा अल्मलिएका नेवार

कोही नेवारलाई कसैले ‘तिमी बौद्ध हो कि हिन्दू ?’ भनेर सोध्योभने साधारणतः त्यो नेवार अल्मलिन्छ । वास्तविकता त के हो भने, ए...

नेवारसँग किन धेरै संस्कृति ?

नेवारसँग किन धेरै संस्कृति ?

नेवारको पहिचान संस्कृतिमा सम्पन्न समुदायको रुपमा रहेको पाइन्छ । नेपाली समाजमा संस्कृतिको सवाल उठ्दा नेवारको नाम छुट्दैन ...

नेवार र नेपालभाषा

नेवार र नेपालभाषा

जसरी तामाङको तामाङ भाषा, मगरको मगर भाषा, गुरुङको गुरुङ भाषा हुन्छ, त्यसरी नै......

नेवारबाट सिकौं, बाढीबाट बचौं

नेवारबाट सिकौं, बाढीबाट बचौं

बाढी, पहिरो, भुइँचालोलगायतका प्राकृतिक प्रकोपहरू जब मानवीय क्षतीको स्तरमा......

नेपालभाषा साहित्यमा महाकवि सिद्धिदास अमात्यको स्थान

नेपालभाषा साहित्यमा महाकवि सिद्धिदास अमात्यको स्थान

नेपालभाषा साहित्य क्षेत्रका लेखक, कवि, कलाकार तथा भाषासेवीहरू प्रत्येक वर्ष यँलागा द्वितीयाको दिन विहान एक ठाउँमा भेला ह...

The context of Kirat in the context of Newar

The context of Kirat in the context of Newar

When discussing the history of Kathmandu Valley or Newar, the context of Kirat also comes up. Newar history cannot be ad...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्