बाढीले उजाडेकाे उत्तरगयाको चुनौतीः पुनर्स्थापना र जीविकोपार्जन
भदौ १० गतेको भाेटेकाेशी बाढीपछि उत्तरगया गाउँपालिका, रसुवामा भएकाे मानवीय तथा भौतिक क्षति, राहत तथा पुनर्स्थापनाको तयारी, होल्डिङ सेन्टरको अवस्था, महिला तथा बालबालिकाको सुरक्षा, मनोसामाजिक समस्या, जीविकोपार्जन, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकको अवस्था र आपूर्ति व्यवस्थापनबारे नेवा: टाइम्सका लागि सम्पादक अमिका राजथलाले उत्तरगया गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङसँग कुराकानी गरेकी छन्। कुराकानीमा उपाध्यक्ष गुरुङले बाढीबाट ६१८ घरधुरी पूर्ण रूपमा प्रभावित भएको, ७४५ जना बेपत्ता रहेको पालिकाको प्रारम्भिक तथ्यांक, राहत वितरणदेखि अस्थायी बसोबासको तयारीसम्मका प्रयासबारे जानकारी दिएकी छन्। उनले विशेषगरी बेपत्ता भएका युवाका परिवार, एकल भएका महिलाहरू र उनीहरूका बालबालिकाको जीविकोपार्जनलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै आगामी दिनमा प्रभावकारी अर्ली वार्निङ प्रणाली र सुरक्षित पुनर्स्थापनालाई जोड दिएकी छन्।
प्रश्न : भदौ १० गतेको बाढीपछि अहिले उत्तरगया गाउँपालिकाको अवस्था कस्तो छ?
उत्तर : भदौ १० गते बाढी गएपछि उत्तरगया गाउँपालिकाको प्रारम्भिक तथ्यांकअनुसार ७४५ जना व्यक्ति बेपत्ता हुनुभएको छ। ६१८ घरधुरी पूर्ण रूपमा बगरमा परिणत भएका छन्। त्यसैगरी, पालिकाका दुईवटा आफ्नै कार्यालय भवन पनि बगरमा परिणत भएका छन्। वडा नम्बर १ को वडा कार्यालय, स्वास्थ्य शाखा तथा कृषि तथा पशु शाखाका कार्यालयहरू, जुन वडा नम्बर १ को सल्लेटारमा थिए, ती सबै बगेका छन्।
पालिकाका पाँच जना कर्मचारी बेपत्ता हुनुभएको छ। १० जना शिक्षक बेपत्ता हुनुभएको छ। एक जना जनप्रतिनिधि, कार्यपालिका सदस्य ज्ञानु विक पनि बेपत्ता हुनुभएको छ।
यसरी हेर्दा हाम्रो पालिकाभित्र ठूलो बज्रपात परेको छ। हामी अत्यन्त पीडादायी अवस्थामा छौँ। यो पीडादायी अवस्थाबाट बिस्तारै माथि उठ्नुपर्छ भनेर अहिले राहतका प्याकेज कार्यक्रम समुदायमा प्रत्यक्ष प्रभावितहरूका लागि दिएका छौँ।
हामीले राहतलाई तीनवटा प्याकेजमा विभाजन गरेका छौँ। सुरुमा प्रत्यक्ष घरबारविहीन परिवारका लागि पूर्ण प्याकेज, त्यसपछि बेपत्ता परिवारका लागि पनि पूर्ण प्याकेज र सडक सञ्जाल टुटेका कारण समुदायस्तरमै किनेर खाने पसल तथा आवश्यक सामानको अभाव भएकाले समुदायका लागि न्यूनतम खाद्यान्नको प्याकेज दिएका छौँ।
त्यो समयमा नुनसमेत सहज रूपमा उपलब्ध थिएन। त्यसैले राहतमार्फत समुदायमा न्यूनतम एक लिटर तेल, नुन र चामल पठायौँ। उत्तरगया गाउँपालिकाभरि करिब २ हजार ७ सय घरधुरी छन् र हामीले प्रत्येक घरमा ती सामग्री पुर्यायौँ। अहिले ठ्याक्कै खाद्यान्न संकट नै छ भन्ने अवस्था छैन। तर मानिसहरूले जुन किसिमले आफ्नो जीवनशैली चलाइरहेका थिए, खानपान र बसोबास गरिरहेका थिए, त्यो अवस्था पूर्ण रूपमा प्रभावित भएको छ।
प्रश्न : भदौ १० गतेको बाढीपछि अहिले उत्तरगया गाउँपालिकाको अवस्था कस्तो छ?
उत्तर : भदौ १० गते बाढी गएपछि उत्तरगया गाउँपालिकाको प्रारम्भिक तथ्यांकअनुसार ७४५ जना व्यक्ति बेपत्ता हुनुभएको छ। ६१८ घरधुरी पूर्ण रूपमा बगरमा परिणत भएका छन्। त्यसैगरी, पालिकाका दुईवटा आफ्नै कार्यालय भवन पनि बगरमा परिणत भएका छन्। वडा नम्बर १ को वडा कार्यालय, स्वास्थ्य शाखा तथा कृषि तथा पशु शाखाका कार्यालयहरू, जुन वडा नम्बर १ को सल्लेटारमा थिए, ती सबै बगेका छन्।
पालिकाका पाँच जना कर्मचारी बेपत्ता हुनुभएको छ। १० जना शिक्षक बेपत्ता हुनुभएको छ। एक जना जनप्रतिनिधि, कार्यपालिका सदस्य ज्ञानु विक पनि बेपत्ता हुनुभएको छ।
यसरी हेर्दा हाम्रो पालिकाभित्र ठूलो बज्रपात परेको छ। हामी अत्यन्त पीडादायी अवस्थामा छौँ। यो पीडादायी अवस्थाबाट बिस्तारै माथि उठ्नुपर्छ भनेर अहिले राहतका प्याकेज कार्यक्रम समुदायमा प्रत्यक्ष प्रभावितहरूका लागि दिएका छौँ।
हामीले राहतलाई तीनवटा प्याकेजमा विभाजन गरेका छौँ। सुरुमा प्रत्यक्ष घरबारविहीन परिवारका लागि पूर्ण प्याकेज, त्यसपछि बेपत्ता परिवारका लागि पनि पूर्ण प्याकेज र सडक सञ्जाल टुटेका कारण समुदायस्तरमै किनेर खाने पसल तथा आवश्यक सामानको अभाव भएकाले समुदायका लागि न्यूनतम खाद्यान्नको प्याकेज दिएका छौँ।
त्यो समयमा नुनसमेत सहज रूपमा उपलब्ध थिएन। त्यसैले राहतमार्फत समुदायमा न्यूनतम एक लिटर तेल, नुन र चामल पठायौँ। उत्तरगया गाउँपालिकाभरि करिब २ हजार ७ सय घरधुरी छन् र हामीले प्रत्येक घरमा ती सामग्री पुर्यायौँ। अहिले ठ्याक्कै खाद्यान्न संकट नै छ भन्ने अवस्था छैन। तर मानिसहरूले जुन किसिमले आफ्नो जीवनशैली चलाइरहेका थिए, खानपान र बसोबास गरिरहेका थिए, त्यो अवस्था पूर्ण रूपमा प्रभावित भएको छ।
प्रश्न : प्रत्यक्ष र अप्रत्यक्ष प्रभावितका लागि राहतको मापदण्ड वा फरक कसरी निर्धारण गरिएको छ?
उत्तर : त्यो धेरै फरक छ। मैले अघि पनि भनेँ, राहतकै भाषामा पनि ‘पूर्ण प्याकेज’ भन्ने छ।
प्रश्न : पूर्ण प्याकेजमा के–के हुन्छ?
उत्तर : त्यसमा मैले सबै वस्तुको नाम ठ्याक्कै भन्न सक्दिनँ, तर करिब ५५–५६ वटा सामग्री छन्। एउटा बोलेरो गाडीभरि एक परिवारलाई पुग्ने सामान हुन्छ र हामीले प्रत्येक घरमा पुर्याएका छौँ।
जसको घर पूर्ण रूपमा क्षति भएको छ र जसको परिवारको सदस्य बेपत्ता हुनुभएको छ, उहाँहरूलाई करिब ५७ वटा सामग्रीको प्याकेज दिइएको छ। त्यसमा चामलको बोरा, आवश्यक खाद्यान्न, ग्यासको सेट, चुलो र सिलिन्डर, ब्ल्याङ्केट, हाइजिन किटलगायत उहाँहरूलाई आवश्यक पर्ने सामग्री छन्।
यी सामग्री पालिकाले केन्द्र बनाएको स्टोरमा दाखिला हुन्छन्। सहयोगी संघसंस्थाले उपलब्ध गराएका सामग्रीलाई प्रभावित क्षेत्रकै २० जना युवाले अहिले प्याकेजिङमा सहयोग गरिरहेका छन्। पालिकाले उहाँहरूलाई पारिश्रमिक दिन्छ। उहाँहरू बिहानदेखि बेलुकासम्म खटेर प्याकेज तयार गर्नुहुन्छ र गाडीमा राखेर सम्बन्धित घरमै पुर्याइन्छ।
यो पूर्ण प्याकेज हो। प्रभावित क्षेत्रका बेपत्ता परिवारलाई पनि यहीअनुसारको प्याकेज दिइएको छ। सडक सञ्जाल टुटेपछि समुदायमा किनेर खाने पसलसमेत नभएको अवस्थामा समुदायका लागि भने न्यूनतम चामल, नुन र तेल उपलब्ध गराएका छौँ।
प्रश्न : अहिले पनि होल्डिङ सेन्टरहरू सञ्चालनमा छन्। अरू ठाउँमा होल्डिङ सेन्टर कम हुँदै गएको देखिन्छ। उत्तरगयामा अझै निरन्तर सञ्चालन हुनुको कारण के हो?
उत्तर : हाम्रोमा पाँचवटा होल्डिङ सेन्टर छन् र पाँचवटै सञ्चालनमा छन्। ठ्याक्कै संख्या मलाई अहिले यकिन भएन, ७ सय ७७ जना हो कि भन्ने छ। त्यसमा करिब ५०० जना जस्तो लाग्छ, तर ठ्याक्कै यकिन छैन। नुवाकोटको विदुरमा पनि उत्तरगया गाउँपालिकाका ३०४ घरधुरी हुनुहुन्छ।
प्रश्न : उहाँहरू पुनर्स्थापनाको चरणमा पनि जानुहुन्छ होला। त्यसका लागि तयारी के भइरहेको छ?
उत्तर : हामीले करिब १० दिनअघि एउटा फारम तयार गरेर १८ जना शिक्षक परिचालन गरी वडा नम्बर १ देखि ५ सम्मका प्रत्येक व्यक्तिलाई भेटेर फारम भराएका छौँ।
त्यसमा सुरक्षित स्थानमा पक्की घरको कोठा भाडामा लिएर बस्ने एउटा विकल्प छ। अर्को अस्थायी बसोबासमा जाने विकल्प छ। यी दुई विकल्पअनुसार उहाँहरूको सबै विवरण लिएका छौँ। पालिकाको कार्यपालिकाले हिजो तीन दिनभित्र त्रुटिहरू सच्याउने गरी सार्वजनिक गर्ने निर्णय गरेको छ र त्यसका लागि वडा–वडामा पठाएका छौँ। वडाले त्रुटि सच्याएर तीन दिनभित्र तथ्यांक ल्याएपछि कति जना कोठा भाडामा बस्ने र कति जना अस्थायी सेल्टरमा बस्ने भन्ने यकिन तथ्यांक आउँछ।
त्यसपछि हामी अस्थायी सेल्टरमा जानेछौँ।
प्रश्न : अस्थायी सेल्टरका लागि गाउँपालिकाको आफ्नै जग्गा छुट्याइएको छ?
उत्तर : सरकारी होइन, व्यक्तिको जग्गा हो। सरकारी जग्गा हामीकहाँ छँदै छैन। नदीको किनारमा रहेको सार्वजनिक सरकारी जग्गा सबै बगरमा परिणत भएको छ। त्यहाँ बसोबास गर्न सक्ने अवस्था छैन। हामीले सुरक्षित स्थानका रूपमा नदी तटीय क्षेत्रको माथिल्लो भूभागमा, अहिले हामी बसेको क्षेत्र आसपासमा व्यक्तिको जग्गा पहिचान गरेका छौँ। पालिकाले त्यो जग्गा भाडामा लिनुपर्ने हुन्छ। त्यसको पहिचान भइसकेको छ।
प्रश्न : त्यो अस्थायी बसोबास कति समयका लागि हुन्छ?
उत्तर : स्थायी बसोबास नहुन्जेलसम्म।
प्रश्न : त्यसका लागि टेन्टले पुग्छ कि अरू व्यवस्था हुन्छ?
उत्तर : टेन्ट होइन। जस्तापाताकै संरचना हुन्छ। हामीले टेन्ट स्वीकार्दैनौँ भनिसकेका छौँ।
अहिले स्थानीय सरकारले आफैँले सेल्टर बनाउन पाउने अधिकार हामीसँग छैन। हामी केन्द्र सरकारको नक्साङ्कन र मापदण्ड कुरेर बसेका छौँ। उहाँहरूले पठाउनुभएपछि सोहीबमोजिम हामीले बनाउने हो।
प्रश्न : कतिपय ठाउँमा, जस्तै नुवाकोटमा, टेन्टमा मानिसहरू बसिरहेका छन्। यहाँ त्यस्तो अवस्था छैन?
उत्तर : अहिले तत्कालका लागि उहाँहरू टेन्टमा बस्नुभएको हो। यता भने विद्यालय भवन, सार्वजनिक स्थान, सामुदायिक भवन र व्यक्तिका घरमा बसिरहनुभएको छ। टेन्ट टाँग्नुपरेको छैन। नुवाकोटमा ठूलो संख्यामा प्रभावित भएकाले उहाँहरू टेन्टमै बस्नुभएको हो। त्यो टेन्ट पनि उहाँहरूलाई अस्थायी सेल्टरमा नलैजाँदासम्मका लागि मात्र हो। टेन्टलाई अस्थायी सेल्टर भन्न मिल्दैन। अब जाडो आउँछ, शीत झर्छ। टेन्टमा बसेर त साध्य हुँदैन। त्यसैले जस्तापाताको संरचनामा जानुपर्छ। त्यसका लागि केन्द्र सरकारले कस्तो नक्सा पठाउँछ, हामी त्यसैको प्रतीक्षामा छौँ।
प्रश्न : होल्डिङ सेन्टरमा रहँदा महिला हिंसा, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (GEDSI) को दृष्टिकोणबाट कुनै समस्या वा उजुरी आएको थियो?
उत्तर : पछिल्लो समय त्यस्तो केही भएको छैन। सुरुको तीन–चार दिनमा भने किशोरीहरूलाई अलिअलि समस्या परेको थियो।
प्रश्न : कस्तो समस्या?
उत्तर : ठ्याक्कै सबै कुरा म भन्न मिल्दैन। व्यक्तिको नाम पनि भन्न मिल्दैन। नुवाकोटको कुनै गाउँपालिकाका व्यक्तिहरू तीनवटा मोटरसाइकलमा आएका थिए। त्यसमा महिला पनि हुनुहुन्थ्यो र पुरुषहरू पनि हुनुहुन्थ्यो। उहाँहरूले हाम्रो शिवालय होल्डिङ सेन्टरमा रहेका किशोरीहरूलाई पैसा, एक–दुई हजार रुपैयाँ र चकलेट दिएर पटक–पटक बाहिर लैजान प्रलोभन देखाउनुभएको थियो। त्यो बेला हामी सबै चारैतिर छरिएका र अस्तव्यस्त अवस्थामा थियौँ। उहाँहरूले त्यही अवस्थाको मौका छोपेर यस्तो प्रयास गर्नुभएको हो। उहाँहरूको आचरण हामीलाई ठीक नलागेपछि हामीले उहाँहरूलाई निगरानीमा राख्यौँ। मोटरसाइकलका नम्बरको फोटो खिचेर प्रशासनलाई दियौँ र उहाँहरूलाई नुवाकोटबाट समातियो।
तर उहाँहरू प्रभावशाली व्यक्ति हुनुहुन्थ्यो कि के हो, हामीसँग त्यसपछि समन्वय भएन र उहाँहरूलाई छोडिएको रहेछ। त्यसपछि हाम्रा किशोरीहरूलाई हिंसा गर्ने वा मानव बेचबिखन गर्ने प्रयास भएको छैन। अहिले सबैजसो आफ्नै परिवारसँग होल्डिङ सेन्टरमा हुनुहुन्छ। त्यसैले अहिले त्यस्तो समस्या छैन। अहिले हामीले बच्चाहरूलाई छुट्टै नीलकण्ठ मार्गको होस्टेलमा राखेका छौँ। त्यहाँ करिब ७०–८० जना बच्चाहरू छन्।
प्रश्न : ती बच्चाहरू आमाबुबा भएका र नभएका दुवै छन्?
उत्तर : आमाबुबा भएका पनि छन्, नभएका पनि छन्।
प्रश्न : आमाबुबा दुवै नभएका कति जना छन्?
उत्तर : बुबा र आमा दुवै नभएका दुई जना हुनुहुन्छ। अरूको हकमा भने या बुबा छैन या आमा छैन। प्रायः सबैको अवस्था त्यस्तै छ।
प्रश्न : विद्युत् व्यवस्थापन अहिले कसरी भइरहेको छ? बाढीपछि धेरै ठाउँमा बत्ती बिग्रिएको थियो।
उत्तर : सुरुमा त विद्युत् पूर्ण रूपमा बिग्रिएको थियो। बत्ती नै थिएन। रसुवा जिल्लामै विद्युत् थिएन।
यो विपद्मा सबैभन्दा छिटो काम नेपाल विद्युत् प्राधिकरणले गर्यो। उत्तरगया–१ को तिरु गाउँमा भने बिजुली पुग्न सकेको थिएन, अरू ठाउँमा थियो।
प्रश्न : बाटोको अवस्था पनि उस्तै अप्ठ्यारो छ?
उत्तर : बाटो त छँदै छैन। अहिलेसम्म सडक सञ्जाल जोडिएको छैन। त्यही नै अप्ठ्यारो अवस्था हो।
प्रश्न : धेरैले खेतीपाती र घर गुमाएका छन्। मानसिक तनाव पनि धेरै छ। त्यसलाई कसरी व्यवस्थापन गर्ने सोचमा हुनुहुन्छ?
उत्तर : मानसिक तनाव जनता मात्रै होइन, हामी जनप्रतिनिधिहरूले पनि पूर्ण रूपमा खेपिरहेका छौँ। हाम्रो पनि परिवारका सदस्य गुमेका छन्। पालिकाकै परिवारका सदस्यहरू गुमेका छन्। यति ठूलो रूपमा हाम्रो समुदायका मानिसहरू हताहत भएका छन्। अहिलेको अवस्था भनेको हाम्रो रसुवा जिल्लामै सबैलाई कुनै न कुनै रूपमा मानसिक समस्या छ। त्यसैले हाम्रो पालिकामा पनि मनोसामाजिक विमर्शकर्ता हुनुहुन्छ। उहाँसँग समन्वय गरेर र विभिन्न संघसंस्थासँग जोडेर मनोसामाजिक विमर्शकर्ताहरूलाई परिचालन गरेका छौँ। उहाँहरूलाई पास बनाएर होल्डिङ सेन्टरमा पालैपालो जाने, कुराकानी गर्ने र परामर्श दिने व्यवस्था गरेका छौँ।
हामी एकैपटक सबैलाई घरघरमा जान दिँदैनौँ। हाम्रो एउटा प्रणाली बनाएका छौँ। पालिकाकी लक्ष्मी भट्टसँग समन्वय गरेर उहाँहरूले मनोसामाजिक सहयोग गरिरहनुभएको छ।
प्रश्न : जीविकोपार्जनका लागि कुनै शाखा वा कार्यक्रममार्फत अगाडि बढाउने सोच छ?
उत्तर : छ। हाम्रो क्लस्टरहरू पहिले नै विपद्को पूर्वकार्य तथा प्रतिकार्य योजनामा छन्। ती क्लस्टरहरू अहिले पनि चलायमान छन्। जीविकोपार्जनसँग जोड्दै गर्दा हामी सेल्टरमा जान्छौँ। त्यसपछि विभिन्न संघसंस्थाका लागि एउटा टुल्स बनाएका छौँ। उहाँहरूले कुन क्षेत्रमा काम गर्न इच्छुक हुनुहुन्छ भनेर पालिकाको वेबसाइट र फेसबुक पेजमा त्यो टुल्स राखेका छौँ। संस्थाहरू आएर आफू कुन क्षेत्रमा काम गर्ने भनेर दर्ता गर्नुहुन्छ। त्यसपछि हामी उहाँहरूलाई ‘तपाईंको सेक्टर यो हो, यसमा काम गर्नुहोस्’ भनेर सम्बन्धित क्षेत्रमा परिचालन गर्छौँ।
अहिले सबैभन्दा पीडादायी अवस्था के भयो भने उत्तरगयामा भएको जनशक्तिमध्ये २०–२२ वर्षदेखि ३५ वर्षसम्मका धेरै युवा बेपत्ता हुनुभएको छ। त्यसका कारण २२–२५ वर्षदेखि ३५ वर्षसम्मका धेरै बुहारी र महिलाहरू एकल हुनुभएको छ।
प्रश्न : त्यस्तो परिवारको संख्या कति छ भन्ने तथ्यांक छ?
उत्तर : संख्या त तथ्यांक आएपछि यकिन हुन्छ। ती महिलाहरूसँग तीन महिनाको सुत्केरीदेखि दुई वर्षसम्मका बच्चाहरू छन्। अधिकांश सबैसँग बच्चा छन्। कोही पनि बच्चाविहीन हुनुहुन्न। सबैभन्दा पीडादायी कुरा ती बच्चाहरूको भविष्य र जिम्मेवारी कसरी व्यवस्थापन गर्ने भन्ने हो। रसुवागढीमा कमाइ गर्ने इन्जिनियरहरू धेरै थिए। ड्राइभरहरू धेरै थिए। हाइड्रोपावरमा यहाँको दक्ष जनशक्ति धेरै संलग्न थियो। त्यो कारणले अब ती महिलाहरू र बच्चाहरूलाई आर्थिक रूपमा कसरी अगाडि बढाउने भन्ने विषय जटिल छ। म आफैँ महिला भएकाले पनि यो विषयको आवाज उठाइरहेकी छु।
जसका श्रीमान्ले कमाएर ल्याएर बालबच्चालाई पढाउनुहुन्थ्यो र एउटा राम्रो जीवन थियो, अहिले उहाँहरू सहाराविहीन हुनुभएको छ। कमाइ गर्ने ठाउँ छैन। त्यसैले पालिकाले आफ्नो नीति तथा कार्यक्रम बनाउने कुरा त छँदै छ। हामी छिट्टै विशेष सभा पनि बस्छौँ। तर त्यसभन्दा पनि मैले सहयोगी संघसंस्थाहरूलाई भनिरहेकी छु—ती महिलाहरूको जीवनस्तर माथि उठाउन के गर्न सकिन्छ?
यहाँ धेरैले टेलरिङ गर्नुहुन्थ्यो, कसैको गाईपालन थियो, कसैले बाख्रा पाल्नुभएको थियो, कसैको सानो चिया पसल थियो। ती महिलाहरूलाई फेरि त्यही व्यवसाय सुरु गर्न सानो–सानो सहयोग गर्न सके उनीहरूलाई माथि उठ्न सजिलो हुन्छ र बच्चाको जिम्मेवारी पूरा गर्न पनि सहज हुन्छ। एउटै संस्थाले थोरै सहयोग मात्रै गर्न सके पनि त्यसले ठूलो अर्थ राख्छ। म आफैँ पनि यस विषयमा कुरा गर्छु।
गाउँपालिकाले नीति, बजेट र कार्यक्रममा महिला सशक्तीकरणको पाटोलाई पहिलेदेखि नै प्राथमिकता दिएर अगाडि बढाएको हो। अब पनि त्यसलाई प्राथमिकता दिन्छौँ। उपाध्यक्षका रूपमा मैले आफ्नो भूमिका खेल्छु। पालिका पनि यो विषयमा सकारात्मक छ। संस्थाहरूलाई पनि मैले त्यहीअनुसार अनुरोध गरिरहेकी छु।
प्रश्न : यो विषय पालिकाको प्राथमिकतामै रहन्छ?
उत्तर : प्राथमिकतामै, एकदमै प्राथमिकतामा रहन्छ। रहनु पनि पर्छ। यो आवश्यकता हो।
प्रश्न : खासगरी यहाँको जनशक्तिलाई समेट्न कस्तो किसिमको जीविकोपार्जनसम्बन्धी तालिम आवश्यक देख्नुहुन्छ?
उत्तर : मैले अघि भनेँ, यही उमेरका दिदीबहिनीहरू प्रायः प्लस टु पढ्नुभएको छ। कतिले स्नातक तहसम्म पनि अध्ययन गर्नुभएको छ।
अहिले केही संघसंस्थामा रोजगारी आउँदा पहिलो नम्बरमा ती दिदीबहिनीलाई रोजगारीमा जोडिरहेका छौँ। पीडाबाट केही मुक्त भएर काम गर्न सक्छु भन्ने मनसाय राख्नुभएका महिलाहरूलाई रोजगारीसँग जोडिरहेका छौँ। अब अर्को कुरा व्यवसायमा जाने हो। उहाँहरूले के गर्न खोज्नुहुन्छ, उहाँहरूको आवश्यकता र रुचिअनुसार जे भए पनि नगद सहयोग गर्नुपर्छ भन्ने मेरो धारणा हो।
प्रश्न : यहाँको यातायातको अवस्थासँग जोडेर हेर्दा धेरै ठाउँमा बाटो टुटेको छ। यस्तो अवस्थामा आपूर्ति व्यवस्थापन कसरी भइरहेको छ?
उत्तर : अहिले दुईवटा बाटो विकल्पका रूपमा छन्। एउटा तपाईंहरू आउनुभएको बाटो, नौकुण्ड गाउँपालिका हुँदै बेत्रावतीतर्फको बाटो। माथि नौकुण्ड गाउँपालिकाबाट आउने त्यो बाटो राम्रो छैन र लामो समय लाग्छ। अहिले त्यही प्रयोग भइरहेको छ। अर्को गल्छी हुँदै उत्तरगया गाउँपालिकाको त्रिशूलीपारिका तीनवटा वडामा जान सकिन्छ। त्यो बाटो पनि राम्रो छैन। अहिले बेत्रावतीको बेलिब्रिज बनेपछि उत्तरगया–४ र ५ लाई सजिलो हुन्छ। रसुवा जिल्लालाई नै सजिलो हुन्छ। तर त्रिशूलीपारिको आमाछोदिङ्मो गाउँपालिका र उत्तरगयाका वडा नम्बर १, २ र ३ का लागि कहिले सहज हुन्छ भन्ने थाहा छैन।
पैरेबेँसीमा बेलिब्रिज हाल्नुपर्छ। त्यसपछि मात्रै त्यता सहज हुन्छ।
प्रश्न : बाढीपछि अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरूको अवस्था कस्तो छ?
उत्तर : ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति सधैँ समस्या बढी पर्ने समुदाय हो। विपद्पछि पनि उहाँहरूलाई समस्या आउन सक्छ भनेर हामीले पहिलेदेखि नै विभिन्न संघसंस्थासँग जोडेर काम गरिरहेका छौँ। पालिकाका स्वास्थ्य संस्थाबाट उहाँहरूको निगरानी गर्ने, समन्वय गर्ने, अवस्था कस्तो छ भनेर बुझ्ने र आवश्यक औषधि उपलब्ध गराउने काम भइरहेको छ। अहिले राहत वितरणमा पनि अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई प्राथमिकताका साथ राहत दिनुपर्छ भन्ने तरिकाले अगाडि बढिरहेका छौँ।
प्रश्न : उहाँहरूले आवश्यक औषधि नियमित रूपमा पाइरहनुभएको छ? कतिपयसँग पैसा पनि नहुन सक्छ।
उत्तर : औषधि चाहिँ पाउनुभएको छ। औषधि चाहिँ पाउनुभएको छ।
प्रश्न : राहत सहयोगका लागि कति संस्थाहरू यहाँ आएका छन्? कति संस्थाले अनुमति लिएका छन्?
उत्तर : अनुमति भन्नेभन्दा पनि सुरु–सुरुमा संस्थाहरू सोझै सामान लिएर आउनुभयो। करिब १५५ भन्दा बढी संस्थाले सामान ल्याएर दिइसक्नुभएको छ। सुरुमा राहत दिन व्यक्ति पनि आउनुभएको थियो। त्यो संख्या ठूलो थियो। अहिले त्यस्तो ठूलो संख्यामा छैन। अहिले दीर्घकालीन रूपमा काम गर्ने भनेर संस्थाहरू आउँदै हुनुहुन्छ।
प्रश्न : अब अर्ली वार्निङ सिस्टमको कुरा गरौँ। उत्तरगया गाउँपालिकामा पहिलेदेखि केही प्रणाली थियो। भदौ १० को बाढीबाट के पाठ सिक्नुभयो ? अब कसरी अगाडि बढ्ने योजना छ?
उत्तर : हाम्रो गाउँपालिकाको अर्ली वार्निङ सिस्टम राम्रो नै थियो। उत्तरगया–४ को ढुङ्गे बस्तीमा पहिरो गएको थियो। हामीले राम–लक्ष्मण इनोभेसनसँग समन्वय गरेर अर्ली वार्निङको व्यवस्था गरेका थियौँ। त्यो प्रतिबद्ध परियोजनासँगको सहकार्यमा गरिएको थियो। माथि पहिरो खस्नका लागि जमिनमा हलचल हुनेबित्तिकै समुदायमा ठूलो घन्टी बज्ने व्यवस्था थियो।
प्रश्न : पहिरोका लागि?
उत्तर : पहिरोका लागि। त्यसबाट समुदायलाई सुरक्षित स्थानमा एकीकृत हुन समय प्राप्त हुन्थ्यो। तर बाढीका लागि हामीसँग त्यस्तो ठ्याक्कै प्रणाली थिएन। अहिले टिमुरेमा पनि अनपेक्षित अवस्था भयो। टिमुरेमा अर्ली वार्निङ सिस्टमले पनि काम गरेन। बाढी तलबाट बगेर आएको थियो। चेतावनी भएको थियो, तर माथिबाट बाढीले आएर त्यसलाई नै छोपेर नष्ट गरिदियो। त्यसकारण त्यस्तो अवस्थामा अर्ली वार्निङ सिस्टमले मात्र काम नगर्ने रहेछ।
मलाई अब के लाग्छ भने, मैले पहिलेदेखि भनेको पनि छु र फेरि पनि भन्छु—माथि टिमुरे, रसुवागढी आसपास, जुन अहिले बाढी आएको क्षेत्र हो, रसुवा प्रवेश गरेर नेपालतर्फ आएको सुरुवाती बिन्दुमै एउटा अर्ली वार्निङ सिस्टम राख्नुपर्छ। त्यो राखिसकेपछि त्यहाँबाट तल धादिङ र चितवनसम्म समुदायस्तरमै सुन्न सकिने गरी अलर्ट गर्ने संयन्त्रहरू जडान गर्नुपर्छ। त्यसो भयो भने मानिसहरूलाई सुरक्षित स्थानतर्फ भाग्नका लागि आवश्यक समय प्राप्त हुन्छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment