डा. सुधाकाे सफलता अमेरिकामा, मन नेपालमा
घर परिवारमा समानतामा हुर्किएकी एक छोरीले जुनसुकै ठाउँमा गएर आत्मविश्वासका साथ प्रतिस्पर्धा गर्न सक्छिन् भन्ने कुराको उदाहरण हुन्- डा. सुधा मानन्धर । डा. सुधा आफू यो तहसम्मको अध्ययन तथा कामको सफलतामा पुग्न सक्नुको श्रेय आफूलाई समानतामा हुर्काउने अभिभावक तथा परिवारलाई दिन्छिन् ।
चार जना दाजुभाई तथा दिदी बहिनीलाई कुनै सम्झौता नगरिकन समान किसिमले खान, लाउन, पढाउन उनका अभिभावकले गरेको संघर्षको प्रतिफल नै उनको तथा दाजुभाई अनि बहिनीको सफलता हो । उनी भन्छिन्,‘राम्रो बाटोमा लागेर जति गर्न सक्छौं गर, जति उड्न सक्छौं उड’भन्ने वातावरण घरमा भएकै कारण सफलतम् रुपमा अगाडि बढ्न सकेको सुधाको ठम्याई छ ।
अमेरिकाको टेक्सस् इन्स्ट्रुमेन्टमा सेमीकण्डक्टर प्रोसेस इन्जिनियरको रूपमा कार्यरत डा. सुधा मानन्धरले विज्ञान र आध्यात्मिकताको सन्तुलन कायम गर्दै विश्वभरि छरिएर रहेका नेपाली महिलाहरूका लागि प्रेरणाको स्रोत बनेकी छिन् । उनको जीवन यात्रा नेपालको साधारण शैक्षिक पृष्ठभूमिबाट सुरु भएर अमेरिकाको उच्च प्रविधि अनुसन्धान तथा उपलब्धिहरूमा फैलिएको छ ।
शैक्षिक यात्राः रसायन विज्ञानबाट भौतिक विज्ञान अनि बौद्ध अध्ययनसम्म
डा. सुधाको चारै जना दाजुभाई, दिदी बहिनीले सिद्धार्थ बनस्थली स्कूलमा विद्यालय शिक्षा पार गरेका थिए भने विद्यालय शिक्षा पार गर्ने वित्तिकै विवाहका लागि माग्न आउँने आफन्तलाई पनि पढ्नुपर्छ भन्दै अभिभावकले नै पन्छाएर पठाउँथे । उनले विश्वविद्यालय तथा रसायन शास्त्रमा स्नातकोत्तर तहसम्म नेपालमैं अध्ययन गरिन् ।
उनले सन् १९९७ मा जैविक रसायन विज्ञानमा स्नातकोत्तर गरेकी हुन्, जहाँ उनको शोधकार्य जैविक संश्लेषण र चिकित्सकीय अध्ययनमा केन्द्रित थियो । उनको भाइ पहिला नै अमेरिका पुगेर व्यवस्थित भइसकेको र उतै गएर पढाइ अगाडि बढाउने योजनाअनुसार उनी सन् २००० मा अमेरिका गइन् । यसैबीचमा उनले अमेरिकाको युनिभर्सिटी अफ आइडाहोबाट रसायन विज्ञानमा फेरि मास्टर्स डिग्री हासिल गरिन्, जहाँ उनको थेसिस फ्लोरोअल्किल प्रतिस्थापन तरिकाहरूमा केन्द्रित थियो । यो अध्ययन गर्नको लागि आधा छात्रवृत्ति पाईएको थियो भने उनलाई खान बस्न पुग्नेगरी स्टाइपेन पनि दिइएको थियो । छात्राबृत्ति रकम एकातिर थियो भने अर्कोतिर आधा समय काम गर्न पनि पाइयो, प्रोफेसरलाई सहयोग गर्ने गरी । यस क्रममा ल्याब प्रोजेक्टमा सहयोग गर्नेदेखि, पढाउन सहयोगी र रिसर्च सहयोगीका रुपमा पनि काम गरिन् ।
सन् २०१० मा उनले नर्थ टेक्सास विश्वविद्यालयबाट रसायन विज्ञानमा पीएचडी पूरा गरिन् । उनको डिजर्टेसन “फ्री रेडिकल इन्ड्युस्ड अक्सिडेसन, रिडक्सन र मेटलाइजेसन अफ निकेलसिलिसाइड एण्ड निकेलप्लाटिमम् सिलिसाइड सर्फेसेस’ले सेमीकन्डक्टर प्रविधिको विकासमा महत्वपूर्ण योगदान दियो ।
सेमीकन्डक्टर चिप्स
टेक्सस् इन्स्ट्रुमेन्ट, टेक्ससमा उच्च तहमैं काम गर्ने डा. सुधा काम गर्दै जाने क्रममा प्राविधिक क्षेत्रतिर ढल्किंदै गईन् । उनले आजको ठाउँमा पुग्छु भन्ने अनुमान अमेरिका जाने क्रममा गरेकी थिइनन् । अहिले फर्केर आफूलाई गम्दै अनुमान लाउँछिन्– ‘पिएचडी गर्छु नै भनेर गएकोले त्यो गरेर प्रोफेसर बन्छु होला भन्ने लागेको थियो । तर प्राविधिक काममा लागें । जहाँ पुगें, सन्तुष्ट नै छु, काम आदरणीय नै छ । विद्युतीय उपकरणले संसार नै ढाकेको छ, सबैसँग मोबाइल छ, एक अर्थमा विश्व नै सबैको हातमा छ भने पनि हुन्छ ।’
उनले २०२४ मा बौद्ध धर्मको अष्टमहास्थान घुम्ने क्रममा नेपाली टोलीलाई आफ्नो कामको बारेमा सरल रुपमा अर्थ्याएकी थिइन्, ‘तपाईहरूले बोक्ने मोबाइलमा रहेको चिप्स तथा अन्य विद्युतीय उपकरणमा हुने अधिकांश चिप्स बनाउने काम हाम्रो कम्पनीले पनि गर्छ, म त्यसमैं रहेर काम गर्छु ।’
आफूले काम गर्दै आएको चिप्सकोे महत्व दर्शाउँदै उनी भन्छिन्– ‘अहिले जति पनि विद्युतीय उपकरणहरु छन्– फोन, कम्प्युटर, गाडीदेखि रकेट, स्याटेलाइटसम्मको संचालनमा सेमीकन्डक्टर चिप्सको (जसलाई सेमीकन्डक्टर डिभाइस पनि भनिन्छ) प्रयोग हुन्छ । हाम्रो स्वास्थ्य जाँचसम्बन्धि प्रयोग हुने उपकरणहरूदेखि शल्यक्रिया गर्न प्रयोग हुने अस्पतालका सामग्रीहरू आदि संचालनमा पनि प्रयोग हुने सेमीकन्डक्टर डिभाइसले नै काम गरेको हुन्छ । अबको मानवीय जीवनशैली यी इलेक्ट्रोेनिक्स विना मुश्किलै देखिन्छ ।’
सेमिकण्डक्टर प्रविधिमा योगदान
डा. मानन्धरले आफ्नो व्यावसायिक यात्रा क्यालिफोर्नियाको एलएएम रिसर्चमा (ल्याम रिसर्च) सेमिकन्डक्टर प्रक्रिया इन्जिनियरको रूपमा सुरु गरेकी हुन् (२०१०–२०१४)। हाल उनी टेक्सास इन्स्ट्रुमेन्टमा कार्यरत छिन्, जहाँ उनी सेमिकण्डक्टर यन्त्रहरूको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छिन् । उनको कार्य कृत्रिम बुद्धिमत्ता (एआई), इन्टरनेट अफ थिङ्स (आइओटि), र क्वान्टम कम्प्युटिङ्गका लागि उच्च–दक्षता माइक्रोचिपहरूको विकाससँग सम्बन्धित छ ।
डा. सुधाका अनुसार चिप्स उत्पादनका लागि ल्याबमा गरिने काममा सरसफाइमा विशेष ध्यान दिइन्छ । कोबिड १९को बेलामा चिकित्सा क्षेत्रमा काम गर्नेहरूले ‘पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट, पिपिइ’ लगाएका देख्यौं, त्यस्तै लुगा ल्याबमा काम गर्नेहरूले पनि जहिले पनि लगाउनु पर्छ, त्यो ल्याबबाट काम गर्ने मानिसलाई रोग सर्ला भनेर होइन कि मानिसबाट निस्कने पसिना, थुक आदिको कुनै पनि असर ती चिप्स उत्पादन गर्ने प्रकृयामा नपरोस् भनेर हो ।
मानवीय राैं र माइक्रो चिप्सकाे आकार तुलना
उनले काम गर्ने ल्याब अमेरिकाको अस्पतालमा चिकित्सकले शल्यक्रिया गर्ने अपरेसन थियटरभन्दा १०० गुणा सफा हुन्छ। एउटा माइकोचिप्सको साइज लगभग मानिसको टाउकोको रौं भन्दा कमसेकम ८० गुना सानो हुन्छ। याे सुन्दा हामीलाई अचम्मित तुल्याउन सक्छ तर यही वातावरणमा उनले काम गर्दै आएकी छन् ।
उनले दुई अमेरिकी पेटेन्टहरू (युएस-९१५९५७१-बि२, युएस-20140154883-ए१) हासिल गरिसकेकी छिन्, जुन सेमिकण्डक्टर प्रविधिको क्षेत्रमा उनको मौलिक योगदानलाई प्रमाणित गर्दछ । उनले १५ भन्दा बढी शोधपत्रहरू प्रकाशित गरिसकेकी छिन् र पाँच सयभन्दा बढी अध्ययनहरूले उनको कार्यलाई उद्धृत गरेका छन् । उनले तीन अन्तर्राष्ट्रिय सम्मेलनहरूमा आफ्नो शोधकार्य प्रस्तुत गरिसकेकी छिन् ।
उनी अहिले एआई प्रयोग गरेर नकारात्मक सामग्री उत्पादन गर्ने प्रकृयालाई राम्रो मान्दिनन् र सबै काम एआईले गरोस् भन्ने पनि चाहन्नन् । उनी भन्छिन्, ‘एआई भनेको हाम्रो सहयोगी मात्र हुने हो, उसले मानिसलाई ‘रिप्लेस’ गर्ने गरी प्रयोगमा ल्याउन हुन्न ।’
उनले काम गर्दै आएको कम्पनीमा पहिला उनी एक्लै नेपाली थिइन् भने अहिले राम्रै पोजिसनमा बसेर काम गर्ने नेपालीहरू चार जना छन् । नेपालीहरूले पनि आफ्नो दक्षता क्षमताअनुसारको काम गर्न पाएकोमा तथा नेपालीहरूलाई हेर्ने दृष्टिकोण पनि परिवर्तन भएको उनले पाएकी छन् । क्षमतावान नेपालीहरू मिहेनती पनि हुन्छन् भन्दै नेपालीहरूलाई प्रतिष्ठित ठाउँमा काम दिन थालिएकोमा उनी खुशी व्यक्त गर्छिन् ।
र, फेरि अमेरिका फर्किइन्
डा. सुधाले अमेरिकामा सन् २०१० मा विद्यावारिधि गरिसकेपछि नेपालमैं सेवा गर्नुपर्छ भन्ने सोचले नेपाल आइन् । आफूले पढेको विषयमैं कुनै विश्व विद्यालयमा पढाउने उनको सोच थियो । आफूले पढेको विषय विशेष (‘स्पेसिफिक’) भएको तथा नेपालमा उनले पढेको विषयमा काम गर्ने उद्योग नभएकोले पढाउने भन्दा अर्को विकल्प छैन भन्ने उनलाई लाग्यो । र, उनले त्रिभुवन विश्व विद्यालय, काठमाडौं विश्व विद्यालयमा जाने सोच बनाएर निवेदन दिइन् । त्रिविविमा त पहिला नै छनौट भईसकेको रहेछ, देखाउन मात्र विज्ञापन गरिएको कुरा उनले थाहा पाइन् । काठमाडौं विश्वविद्यालयमा चाहिं बल्ल बल्ल फाराम भरिन् तर आफू सक्षम भई भई पनि राजनीतिक पृष्ठभूमि नभएकै आधारमा आफूलाई ‘स्वागत’ गरेको महसुस नभएपछि उनले अमेरिका नै फर्किने निर्णय गरिन् र गइन् । उनले अवसर नपाउनुको एउटै कारण थियो– राजनीतिक चिनजान नहुनु । राजनीतिक पृष्ठभूमि खोजियो, जुन उनीसँग नभएपछि उनी फर्किइन् ।
यो तीतो अनुभव संगालेकी डा. सुधा भन्छिन्, ‘बाहिर काम गर्नलाई क्षमता भए पुग्छ, राजनीतिक पृष्ठभूमि चाहिन्न । स्वतन्त्र प्रतिस्पर्धा हुन्छ । अवसर, प्रतिस्पर्धा, बढुवा सबै आफ्नो क्षमतामा निर्भर हुन्छ, गर्न खोजेका कुरा स्वतन्त्र रुपमा गर्न पाइन्छ ।’ उनी अगाडि थप्छिन्, मेरो घरमा कोही पनि राजनीतिक क्षेत्रमा लागेका छैनन्, राजनीतिक दवाब दिन सक्ने कोही नभएपछि फर्कें । ट्यालेन्टलाई नेपालमा वास्ता नै गरिएन ।’
विकृत राजनीतिक वातावरणले डा. सुधालाई अमेरिका पलायन गराए पनि नेपालमैं केही त गर्नै पर्छ भन्ने बेजोड भावना भने उनमा छ, त्यो पनि सकेसम्म छिटो ।
सामाजिक योगदानः सेवा र नेतृत्वको संस्कृति
डा. मानन्धरको सामाजिक योगदान उनको पेशागत उपलब्धिभन्दा कम छैन । उनी अमेरिका नै बसेर पनि नेपाल तथा नेपालीको लागि समाज सेवाको काम पनि गर्दै आएकी छिन् । उनको डलास बुद्ध लायन्स क्लबको अध्यक्षको रूपमा कार्यकाल(२०२४–२०२५) भर्खरै सकिएको छ ।
उनको कार्यकालमा उनको सेवा र योगदानको कदरमा लायन्स क्लबको धेरै पुरस्कार र सम्मान पत्रहरुले उनलाई सम्मानित गरेको छ। त्यसमध्ये उनलाई अन्तर्राष्ट्रिय लायन्स क्लबको रास्ट्रपति(फ़ेब्रिसिओओलिविया)द्वारा चौथो उच्चस्तरको पुरस्कारले सम्मानित गरेको छ।
युवाहरूलाई सामाजिक सेवामा संलग्न हुन प्रोत्साहन गर्न सन् २०२४ मा डालस बुद्ध लियो क्लब (१३ देखि १८ वर्षका युवा/युवती)को स्थापना गरेकी डा. सुधाले १२ वर्षसम्मका बालबालिकालाई ‘कब क्लब’ गठन गरेर बालबालिकालाई संस्थागत रुपमा अगाडि बढाउन तथा जिम्मेवारी वहन गर्न प्रोत्साहन गर्दै आएकी छन् । उनले विभिन्न समाजसेवी कार्यक्रमहरूमा सक्रिय भूमिका निर्वाह गरेकी छिन् ।
डा. सुधाको अध्यक्षतामा डालस बुद्ध लायन्स क्लबले पाटन अस्पतालमा बाल क्यान्सरका बिरामीको लागि सहयोग, अमेरिकामा खान नपाएकाहरूको लागि खाद्यान्न सहयोग, वातावरण सफाइ अभियान (बौद्ध मठ परिसरको सफाइ), रक्तदान कार्यक्रम, योग र माइन्डफुलनेस ध्यान कार्यक्रमहरूको शुरुवात गरेको छ ।
यस्तै, नेपाली बौद्ध संघ टेक्सासमा महासचिव डा. नीरज बज्राचार्यसँगको सहकार्यमा उनले सन् २०१८ देखि बुद्ध वन्दना कार्यक्रमको सुरुवातमा सहयोग गरेकी छिन् । उनले सन् २०२४ र २०२५ मा पशुपतिनाथ र बुद्ध मन्दिर, युलेसमा ग्रान्ड बुद्ध पूर्णिमा समारोहको आयोजनामा मुख्य भूमिका खेलेकी थिइन् ।
डा. मानन्धरले के–१२ विद्यार्थीहरूका लागि “बुद्ध र उनको शिक्षा’’ मा निबन्ध प्रतियोगिता आयोजना गरेकी थिइन् । सन् २०२३ मा, उनले तेस्रो निबन्ध प्रतियोगिताको लागि “अङ्गुलिमाल“ शीर्षकको एकांकी नाटक लेखेकी र निर्देशन गरेकी थिइन् ।
नेपाली बौद्ध संघ टेक्सासको अग्रसरतामा टेक्सस् स्टेट क्यापिटल अस्टिनले मई १५ लाई ‘बुद्ध डे’ को रुपमा मान्यता दिएको छ र यो काममा डा. सुधाको महत्वपूर्ण भूमिका रहेको छ । टेक्सास राज्य क्यापिटलमा २०२५ मई १५ मा पहिलो पटक बुद्ध दिवस (वैशाख पूर्णिमा) आयोजना गरी ११ विभिन्न देश (भियतनामी, थाई, श्रीलंका, कम्बोडिया, लाओ, नेपाल, तिब्बत, भारत, चीन, बर्मा र अमेरिका) बाट, ४९ अन्तर्राष्ट्रिय भिक्षुहरुलाई संघ दान दिई मनाएको थियो । यसले औपचारिक रूपमा टेक्सास राज्य क्यापिटलमा बुद्ध दिवस (वैशाख पूर्णिमा) कार्यक्रम गर्न थप सहज तुल्याएको छ ।
बौद्ध शिक्षा र आध्यात्मिक अभ्यास
हाल उनी अमेरिकामा बसेर थेरवादा एकेडेमी, नेपालमा बौद्ध अध्ययन (पालि भाषा) मा स्नातकोत्तर गर्दैछिन् । यसले उनमा विज्ञान र आध्यात्मिकताको संयोजन प्रतिबिम्बित गर्छ । उनी भन्छिन्, ‘विज्ञानले सिस्टम बनाएको भएर तथा प्रविधिको विकासले जीवन सहज भएको छ । अमेरिका बसेर नेपालबाट पालि भाषामा स्नातकोत्तर गर्दैछु । अफिसबाट काम सकाएर फर्किदा नेपालको कक्षा शुरु हुने बेला भएको हुन्छ, पालि भाषा, बौद्ध अध्ययनले दिनभरको कामको थकानलाई ‘रिफ्रेश’ गर्छ ।’
डा. मानन्धरको आध्यात्मिक यात्रा उनको वैज्ञानिक करियरजत्तिकै महत्वपूर्ण छ । उनले विपश्यना ध्यानको १० दिने कोर्स दुई पटक सम्पन्न गरिसकेकी छिन् र एक दिने कोर्सहरूमा धेरै भाग लिएकी छिन् ।
बौद्ध अध्ययन तथा पालि भाषाको औपचारिक अध्ययनको कारण खुलाउँदै उनी भन्छिन्– ‘बुद्धले बोलेको तथा प्रयोग गरेको भाषा भएर पालि भाषा बोल्दा बुद्ध संगै बोलेको महसुश हुने भएर पढ्न थालेको हुँ, स्वअध्ययन त छँदैछ । गत वर्ष अष्टमहास्थान ( बुद्धसँग सम्बन्धित आठ महास्थानहरू– लुम्बिनी, बोधगया, सारनाथ, कुशीनगर, संकाश्य, राजगीर, श्रावस्ती, वैशाली) जाँदा बुद्धले टेकेको जमिनमैं टेक्न पाइयो भनेर गर्व महसुस भयो । अर्को, त्रिपिटक पालिमैं पढ्न पाउँ भन्ने इच्छा थियो । कामबाट थाकेर आइन्छ तर मन पर्ने विषय भएर होला पढ्न थालेपछि रिफ्रेश हुन्छु, रमाइलो भइरहेछ ।’
उपल्लाे मुस्ताङमा ।
उनले बौद्ध दर्शनलाई विभिन्न पक्षहरूबाट अध्ययन गरेकी छिन्– दर्शन, विज्ञान, इतिहास, पुरातत्व र मूर्तिविज्ञान आदि । उनले सन् २०२४ मा अष्टमहास्थान भ्रमण र सन् २०२५ मा उपल्लो मुस्ताङ भ्रमण गरेकी थिइन्, जसले गर्दा उनको बौद्ध आध्यात्मिक ज्ञान हासिल गर्न थप सघाएको छ ।
डा. मानन्धरको जीवन दर्शन विज्ञान र आध्यात्मिकताको सन्तुलनमा आधारित छ । उनको विश्वास छ कि “विज्ञानले प्रविधि विकास गर्छ, तर आध्यात्मिकताले मानिसको चित्त शान्त बनाउँछ । “उनले अमेरिकामा बस्दा पनि नियमित रूपमा ध्यान र बौद्ध चिन्तन गर्छिन्, जसले उनलाई तनाव व्यवस्थापन, रचनात्मकता र दीर्घकालीन लक्ष्य निर्धारणमा मद्दत गर्छ ।
निजी जीवन र रुचिहरू
डा. मानन्धरको निजी जीवनमा विविध रुचिहरू छ । उनी तबला बजाउनुको साथै फोटोग्राफीमा पनि रुचि राख्छिन् । उनले पहिला नेपाल भाषामा कविता लेख्ने गर्थिन र उनका केहि कविताहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भइसकेका छन् ।
उनले स्याक्रामेन्टो, क्यालिफोर्नियामा धम्म रियल्म स्कूलमा विज्ञान शिक्षकको रूपमा पनि कार्य (२०१५–२०१७) गरिन्, स्वयंसेवकका रुपमा ।
भविष्यका योजनाहरू
डा. मानन्धरको दीर्घकालीन लक्ष्य नेपालमा उच्च प्रविधि अनुसन्धान केन्द्र स्थापना गर्ने हो । उनी विदेशमा सिकेको ज्ञान र अनुभवलाई नेपालको प्रविधि क्षेत्रमा लगानी गर्न चाहन्छिन् । उनी नेपाली विश्वविद्यालयहरू, निजी क्षेत्र, र अन्तर्राष्ट्रिय संस्थाहरूबीच सहकार्य बढाउन अध्ययनरत छिन् । उनी भन्छिन्, ‘सेमीकण्डक्टर चिप्स तयार पार्न धेरै तह पार गर्नु पर्छ । एउटा तह असेम्बलिङ् अथवा टेस्टिङ् पनि हो । यो चिप्स तयार हुनुको अन्तिम चरण हो । धेरै जसो सेमीकण्डक्टर कम्पनीहरुले यो कामलाई आउटसोर्स गरेको हुन्छ– मलेसिया, भियतनाम, भारत, ताइवानजस्ता देशहरुमा । नेपालमा डिभाइस डिजाइन, डेभलपमेन्ट, क्वालिटी चेक हुने कम्पनी खोल्न नसके पनि असेम्बलीङ् अथवा टेस्टिङ् गर्ने कार्यसम्म त गर्न तथा खोल्न सकिन्छ । उद्योगपतिहरूले सहजिकरण गर्ने हो भने हुन पनि सक्छ । सेमीकण्डक्टर फाउण्ड्रीको उद्योगपति, लगानीकर्ता चाहियो, यो भयो भने नेपालमा पनि सेमीकण्डक्टर काम गर्न सकिन्छ ।
डा. सुधाको सफलताको कथा नेपाली महिलाहरूका लागि एउटा प्रेरणाको स्रोत हो । यसले देखाउँछ कि नेपाली महिलाहरू विश्वस्तरमा प्रविधि र विज्ञानको अग्रणी पङ्क्तिमा पुग्न सक्छन्, पुगि सके भनेर– मात्र अवसर दिन कञ्जुस्याईं गर्न भएन ।
अन्त्यमा,
डा. सुधा मानन्धरको जीवन यात्रा विज्ञान र आध्यात्मिकताको संयोजनको एउटा ज्वलन्त उदाहरण हो । उनले देखाएकी छिन् कि शिक्षा, समर्पण, र सामाजिक दायित्वको संयोजनले नै सही अर्थमा सफलता प्राप्त गर्न सकिन्छ । नेपाली युवा तथा युवतीहरूका लागि उनी केवल वैज्ञानिक होइनन्, एउटा आदर्श प्रतीक पनि हुन् ।
डा. मानन्धरको अनुभवले “नेपाली हुनुको गर्व, विश्वसँग प्रतिस्पर्धा गर्न सकिन्छ’ भन्ने यथार्थलाई पुष्टि गर्छ । उनी नेपाली समुदायका लागि गर्वको विषय हुनुको साथै विश्वव्यापी रूपमा महिला सशक्तिकरणको प्रतीक पनि बनेकी छन् ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment