यँयाः (इन्द्रजात्रा)को प्राचीनता
इन्द्रजात्रा नाममा प्रसिद्ध सांस्कृतिक उत्सवलाई नेवार भाषामा यँयाः भनिन्छ । उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुर र तीन जिल्लाको पनि स्थानीय .भाषामा आफ्नै आफ्नै नाम छन्– क्रमशः येँ, यल र ख्वप । जात्रालाई याः भनिन्छ । काठमाडौंको जात्राको अर्थमा अर्थात् येँ को याःको अर्थमा यस पर्वलाई येँयाः भन्ने गरेको पाइन्छ । तर सर्वसाधारण नेवारको बोलीमा येँयाः नभएर यँयाः शब्द सुनिन्छ । येँयाः र यँयाः दुई शब्द बीचको भेदले धेरै कुराको प्रकाश पार्दछ अर्थात येँयाःले काठमाडौंको जात्रा भनेर अर्थ दिन्छ भने यँयाः एउटा सांस्कृतिक उत्सवको अर्थ दिन्छ जुन काठमाडौं उपत्यकाका प्रायः नेवार वस्तीमा मनाइन्छ ।
यँयाः शब्द इन्द्रजात्राको अपभ्रंश भनेर हिजोआजको प्रकाशनहरुमा प्रायः उल्लेख पाइन्छ । तर इन्द्र शब्द नै ‘यन्द्र’ भएको र त्यही यन्द्र शब्द पनि विग्रेर येँ बनेको तर्क नदी उल्टो बगेको जस्तो जबर्जस्ती तर्क हो ।
इन्द्रजात्रा भन्ने गरिए पनि यस जात्राको अवसरमा इन्द्रसँग सम्बन्धित खास केही हुँदैन । यति बेला यँमाःद्यःलाई सार्वजनिक प्रदर्शनीमा राखिन्छ । त्यही यमाःद्यः इन्द्र रहेको भन्ने तर्क मिल्दो छैन । यो तर्क एउटा कथामा आधारित हो जुन कथाले इन्द्रको महिमा गाउने नभएर मानमर्दन मात्र गर्दछ । इन्द्रलाई चोरको रुपमा प्रस्तुत गरिएको छ । तर इन्द्रका बारेमा जानिने प्रमुख श्रोत ऋग्वेद हो, ऋग्वेदमा यस्तो कुरा पाइँदैन । नाम इन्द्रजात्रा भएपनि इन्द्रसम्वन्धी केही प्रसंग नआउने भए यसलाई इन्द्रजात्रा भन्नु गल्ती भएको सम्बन्धमा मेरो एउटा बेग्लै लेख प्रकाशित छ । ‘इन्द्रको पूजा हुन्छ’ भनी प्रतिवाद गरेको पनि पाइयो तर एकाध टोलमा इन्द्रको पूजा भएको घटना प्रतिवादका लागि पर्याप्त आधार होइन । बरु यस अवसरमा अन्य देवीदेवताहरूको पूजा तथा सत्कार पर्याप्त मात्रामा हुन्छ ।
काठमाडौं उपत्यकासँग इन्द्रको के सम्बन्ध छ ? यो एउटा ऐतिहासिक प्रश्न हो । इन्द्रको सत्ता वैदिक कालमा हो । ऋग्वेदमा ज्यादा चर्चा इन्द्रकै पाइन्छ । वैदिक समाजमा इन्द्रको सत्ता सर्वोच्च भएपनि त्यो सँधै कायम भएन । वैदिक समाजबीचमा नै इन्द्रको सत्तामाथि विमति जनाएको र विष्णुको सत्ता कायम हुन पुगेको पाइन्छ । वैदिक समाजमा भागवत सम्प्रदायको उदय र विकास यसको प्रत्यक्ष उदाहरण हो । भागवतहरूले इन्द्रलाई नभएर विष्णुको सत्तालाई मान्छ । भागवत सम्प्रदाय हिजोआज वैष्णवी नामबाट चिनिन्छ ।
काठमाडौं उपत्यकामा वैदिकहरूको प्रवेश निकै पछि मात्रै हो । काठमाडौंमा वैदिकहरूको प्रवेश हुँदा इन्द्रले आफ्नो सत्ता गुमाइसकेको थियो । भारत तथा नेपालको वैदिक समाजमा इन्द्रको पूजा प्रायः नपाइनुको कारण यही हो । नेपालमा वैदिकहरूको प्रवेशका बेला इन्द्रको सत्ता नभइसकेको अवस्थामा उनै इन्द्रको जात्रा हुने कुरा मिल्दो छैन ।
यँयाः इन्द्रजात्रा संस्कृतिको प्रचारप्रसार र भव्यता काठमाडौंमा बढी देखिन्छ । यही भएर पनि काठमाडौंको मात्रै जात्रा भन्ने भ्रम सिर्जना हुन पुगेको हो । इन्द्रजात्रा भनेर प्रायः हुनमानढोका दरबार क्षेत्र वरिपरिको वातावरणलाई बुझ्ने र बुझाउने गरेको पाइन्छ । तर हनुमानढोका दरवार क्षेत्र वरिपरिभन्दा बढी यसको प्राचीनता यसको उत्तरतिर किलागल टोलतिर देख्न पाइन्छ । सांस्कृतिक रुपमा सूक्ष्म दृष्टि दिंदा यँयाःको अवसरमा किलागल टोलमा देखिने दृष्यहरूको सदृष्य भक्तपुृरमा अझ राम्रोसँग देखिन्छ । किलागल ज्यापू बाहुल्य वस्ती हो भने भक्तपुरमा पनि यँयाः मनाउने टोलहरू प्रायः ज्यापू नै हुन् । भक्तपुरका २१ टोलमा आठ रात नौ दिनसम्म यँमाःद्यःलाई प्रदर्शनीमा राखिन्छ । राखिने भएपनि हिजोआज त्यसमा कमी आएर करिब १७ वटा टोलमा मात्रै बाँकी छ । यँमाःद्यःहरूको प्राचीनता भक्तपुरमा देख्न पाइन्छ । काठमाडौं र भक्तपुरमा बाहेक उपत्यकाका अन्य नेवार वस्तीहरूमा पनि यँयाःको प्रचलन भएको पाइन्छ । ती वस्तीहरूमो यँयाः भनेर विविध गतिविधिसहित जात्रा मनाउने नगरिएपनि पूर्णिमाको दिन समेबजि पुन्हि भन्ने र समेबजि वितरण गरेर उत्सव मनाउने भने गरिन्छ ।
पूर्ववैदिक कालको संस्कृतिको अध्ययन गरिरहेका गौतमबज्र बज्राचार्यको दृष्टि यँयाः पर्वमा पनि परेको छ । उनका अनुसार यँयाः प्रिमनसुन कल्चर हो र यो पूर्ववैदिक संस्कृतिसँग सम्बन्धित छ । अर्थात् इन्द्रलगायतका वैदिक देवताहरूको फेहरिस्त दिने ऋग्वेदभन्दा निकै अघि नै यँयाःजस्तो संस्कृति यस भूक्षेत्रमा प्रचलनमा आइसकेको थियो र यसले वर्तमानसम्म निरन्तरता पाइरहेको छ । यस अर्थमा वैदिक सभ्यता अन्यत्रबाट भारतीय भूक्षेत्रमा भित्रिनुभन्दा अघि नै यस भूक्षेत्रमा बेग्लै संस्कृति र सभ्यता थियो, त्यसलाई निरन्तरता दिने काम नेवार समुदायबाट हुँदै आएको छ । यँयाः एउटा प्राचीन संस्कृति थियो भने यसैलाई इन्द्रजात्रा भन्न थालेको निकै पछि मात्रै हो । अथवा यसरी भन्न सकिन्छ– प्राचीन संस्कृतिको इतिहास र परम्परालाई भुलेर कुनै बेला नयाँ भाष्य बनाई इन्द्रजात्रा र वैदिक भन्न थालिएको हो ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment