रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह


अ+
अ-

काठमाडौं, भदाै १४ । —रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि उद्धार तथा राहतका लागि सरकारले युद्धस्तरमा काम गरिरहेको प्रधानमन्त्री बालेन्द्र शाहले बताएका छन्।
प्रधानमन्त्री शाहले आज साँझ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ९ हजार ४३५ जनाको हवाई तथा स्थलमार्गबाट उद्धार गरिएको छ। उद्धार तथा राहतका लागि आइतबारसम्म ३९४ वटा उडान भइसकेका छन्, जसमध्ये आज मात्रै ७२ वटा उडान भएका छन्।
प्रधानमन्त्रीका अनुसार प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २० हजार ६१८ सुरक्षाकर्मी परिचालन भएका छन्।
विद्युत् आयोजनाका प्रभावित क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत २७९ जनाको उद्धार गरिएको छ। रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट दुई दिनमा २५० जनाको उद्धार गरिएको प्रधानमन्त्रीले बताएका छन्। चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँगको समन्वयमा उद्धार प्रयास जारी राखेको छ। चिनियाँ टोलीले सुरुङभित्र करिब तीन किलोमिटरसम्म खोजी गरे पनि अहिलेसम्म मानिस फेला पार्न नसकेको जनाइएको छ।
नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा पनि उद्धार प्रयास जारी छ। नेपाली सेनाका इन्जिनियरहरूले सुरुङभित्र पुग्न ‘ब्लास्टिङ’ लगायतका काम अघि बढाइरहेका छन्। घटनास्थलमा नेपाली सेना, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका विशेषज्ञ गरी ९० जनाको संयुक्त टोली परिचालन गरिएको छ।
प्रधानमन्त्रीका अनुसार आइतबार दिउँसो उद्धार टोली सुरुङको मुख्य भागमा पुगेर २×३ फिटको प्वाल बनाउन सफल भएको थियो। डोरीको सहायताले टोली तल झरेर भित्र बोलाउँदा कुनै प्रतिक्रिया नआएपछि ठूला उपकरणको प्रयोग, ब्लास्टिङ तथा प्वाल फराकिलो बनाउने काम एकसाथ अघि बढाइएको छ।
माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा पनि भैरवनाथ गण र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले उद्धार प्रयास गरिरहेको छ। चिनियाँ विशेषज्ञ टोलीले समेत नेपाली सेनासँग समन्वय गरी काम गरिरहेको जनाइएको छ।
त्यस्तै, रसुवाको चिलिमे र लाङटाङ खोला जलविद्युत् आयोजनामा भारतीय टोलीले नेपाली सेनासँग समन्वय गरी रेकी, पम्प र एस्काभेटरको प्रयोगबाट उद्धार कार्य अघि बढाएको छ। मैलुङ खोला जलविद्युत् आयोजनामा कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँगको समन्वयमा हवाई रेकी गरी काम सुरु गरेको प्रधानमन्त्री शाहले बताएका छन्।
२६७ घाइतेको उद्धार गरी उपचार
बाढीबाट घाइते भएका २६७ जनालाई उद्धार गरी स्थानीयसहित काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये १५६ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
प्रभावित क्षेत्रमा उपचार तथा मनोपरामर्शका लागि काठमाडौंलगायतका चिकित्सकसहितको टोली परिचालन गरिएको छ। अवरुद्ध स्वास्थ्य संस्थाको सेवा पुनः सञ्चालन गर्ने काम पनि जारी रहेको जनाइएको छ।
राहत कोषमा साढे ५ अर्बभन्दा बढी रकम
प्रधानमन्त्रीका अनुसार प्रधानमन्त्री राहत कोषमा आइतबार मध्यान्हसम्म नौवटा वाणिज्य बैंकका खातामा ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भएको छ। हिमालयन र लक्ष्मी बैंकमा थप २१ लाख २३२ अमेरिकी डलर जम्मा भएको छ।
सरकारले राहत कोषमा जम्मा भएको रकम प्रभावकारी रूपमा खर्च गर्ने विषयमा छलफल गरिरहेको प्रधानमन्त्रीले बताएका छन्।
२६ वटा आश्रयस्थल सञ्चालन
रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ। आइतबार मात्रै ती केन्द्रबाट ३ हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वेयरहाउस, जिल्ला प्रशासन कार्यालय काठमाडौं तथा सामाखुसीस्थित नेपाल प्रहरीको विपद् तालिम केन्द्रमा संकलित राहत सामग्री नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिल ब्यारेक र रसुवाको उत्तरगयामा पुर्‍याइएको छ। त्यहाँबाट धादिङको बैरेनी प्रहरी कार्यालय र रसुवाको धुन्चेस्थित ब्राबेल ब्यारेकसम्म राहत सामग्री पुर्‍याइएको जनाइएको छ।
अन्तर्राष्ट्रिय सहयोग बढ्दै
विपद्पछि नेपाललाई अन्तर्राष्ट्रिय सहयोग आउने क्रम बढेको प्रधानमन्त्री शाहले बताएका छन्। उनका अनुसार एसियाली विकास बैंकबाट ५ मिलियन अमेरिकी डलर अनुदान तथा १ लाख ५० हजार अमेरिकी डलर प्राविधिक सहयोग, विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारबाट ५ लाख अमेरिकी डलर र अष्ट्रेलिया सरकारबाट १ मिलियन अमेरिकी डलर नगद सहयोगको प्रतिबद्धता आएको छ।
भारतबाट चार चरणमा हालसम्म ६८.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको छ। भारतले आइतबार २३० फिट लामो सिंगल लेन मोडुलर स्टिल ब्रिज पठाएको र थप सातवटा बेलीब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएको प्रधानमन्त्रीले बताएका छन्। चीनबाट पनि ३० वटा बेलीब्रिजका लागि सहयोग अनुरोध गरिएको छ।
स्विट्जरल्यान्डबाट संयुक्त राष्ट्रसंघमार्फत खर्च हुने गरी १ मिलियन स्विस फ्र्याङ्क सहयोग प्राप्त भएको जनाइएको छ।
अधिकांश क्षेत्रमा सञ्चार सेवा पुनःस्थापित
बाढीबाट प्रभावित अधिकांश क्षेत्रमा सञ्चार सेवा पुनः सञ्चालनमा आएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा प्राप्त २० वटा स्याटलाइट फोन आइतबार प्रभावित क्षेत्रमा पठाइएको छ।
प्रधानमन्त्रीका अनुसार बाढीअघि नेपाल टेलिकमका १२० र एनसेलका ७८ वटा बिटिएस टावर सञ्चालनमा थिए। बाढीका कारण नेपाल टेलिकमका ३८ र एनसेलका २७ वटा टावरको सेवा अवरुद्ध भएको थियो। तीमध्ये हालसम्म नेपाल टेलिकमका १०६ र एनसेलका ७५ वटा टावर पुनः सञ्चालनमा आएका छन्।
७८१ जनाको शव फेला
बाढीका कारण मृत्यु भएका ७८१ जनाको शव फेला परेको प्रधानमन्त्री शाहले बताएका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा शव व्यवस्थापन भइरहेको छ।
पहिचान भएका शव आफन्तको जिम्मा लगाउने प्रक्रिया जारी छ भने पहिचान हुन नसकेका शव कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्न थालिएको छ। सरकारले ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम शव व्यवस्थापन गरिरहेको जनाएको छ।
पहिचान गर्न नसकिने अवस्थामा भेटिएका शवको डीएनए लगायत पहिचानमा सहयोग पुग्ने आधार सुरक्षित राखेर मात्रै सरकारले व्यवस्थापन गरिरहेको प्रधानमन्त्रीले स्पष्ट पारेका छन्।
प्रधानमन्त्री शाहले विपद्को यो संकट सामूहिक एकता र प्रयासबाट परास्त गर्न सकिने बताएका छन्। प्रभावित प्रत्येक नागरिकसम्म राहत पुर्‍याउने तथा पुनर्निर्माण र पुनःस्थापनाको काम पूर्ण नतिजा नआएसम्म निरन्तर जारी राख्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी...

चीनबाट ५० टन आपत्कालीन राहत सामग्री नेपाल आइपुग्यो, सुरुङ उद्धार विज्ञ पनि परिचालन

चीनबाट ५० टन आपत्कालीन राहत सामग्री नेपाल आइपुग्यो, सुरुङ उद्धार विज्ञ पनि परिचालन

चीनबाट ५० टन आपत्कालीन राहत सामग्री नेपाल आइपुग्यो, सुरुङ उद्धार विज्ञ पनि परिचालन...

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन...

भोटेकोशी बाढीबारे एडीपीसीको पहिलो विस्तृत स्थलगत मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

भोटेकोशी बाढीबारे एडीपीसीको पहिलो विस्तृत स्थलगत मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

भोटेकोशी बाढीबारे एडीपीसीको पहिलो विस्तृत स्थलगत मूल्याङ्कन प्रतिवेदन सार्वजनिक...

रसुवासहित पाँच जिल्लाका १५ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

रसुवासहित पाँच जिल्लाका १५ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

रसुवासहित पाँच जिल्लाका १५ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा...

रसुवा बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

रसुवा बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

रसुवा बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्