विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर
काठमाडौं, वैशाख १५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमकस्थित एक विद्यालयमा भएको आर्थिक अनियमितता प्रकरणमा प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले दिएको जानकारी अनुसार दमक नगरपालिका–२ स्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यले आर्थिक वर्ष २०७७/७८ देखि विद्यालयको रकम अनियमितता गरेको पुष्टि भएपछि विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।
अनुसन्धानका क्रममा विद्यालयको नमूना भवन निर्माणमा मूल्याङ्कनभन्दा बढी रकम भुक्तानी गरिएको खुलेको आयोगले जनाएको छ। भवन निर्माणको कुल मूल्याङ्कन रकम १ करोड ४८ लाख ५३ हजार रुपैयाँ रहे पनि विद्यालयबाट २ करोड ७ लाख ७९ हजार रुपैयाँभन्दा बढी भुक्तानी गरिएको देखिएको छ। यसरी झुट्टा बिल तथा कागजात तयार गरी ५९ लाख २६ हजार रुपैयाँभन्दा बढी रकम अनियमितता गरिएको पुष्टि भएको आयोगले जनाएको छ।
यस्तै, दुवै प्रतिवादीको मिलेमतोमा नगद हिनामिना, बेरुजु रकम तथा विद्यालयको नगद व्यक्तिगत प्रयोगसमेत गरी कुल ९३ लाख ८३ हजार रुपैयाँभन्दा बढी रकम हिनामिना भएको अनुसन्धानबाट देखिएको छ।
आयोगका अनुसार उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर भएकाले सोही ऐनअनुसार कैद, जरिवाना तथा बिगो असुलउपरको मागदाबी गरिएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा सार्वजनिक संस्थाको रकम दुरुपयोग गरी व्यक्तिगत लाभ लिने कार्यविरुद्ध कडा कानुनी कारबाही अघि बढाइएको उल्लेख गरिएको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment