११ मंसिर २०८३, शुक्रबार

बालविवाह अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक


अ
अ+
अ-

काठमाडौं, मंसिर ११। बालविवाह, कम उमेरमा हुने तथा जबरजस्ती गरिने विवाह अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयनसँगै सञ्चारमाध्यम, स्थानीय तह, विद्यालय, अभिभावक र समुदायको सक्रिय भूमिका आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।
बालविवाह, कम उमेरमा हुने तथा जबरजस्ती गरिने विवाह उन्मूलनका लागि पहिलो अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुक्रबार बागमती प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालयले भ्वाइस अफ चिल्ड्रेन र जस्ट राइट फर चिल्ड्रेनसँगको सहकार्यमा आयोजना गरेको ‘बालविवाह अन्त्यका लागि सञ्चारकर्मी तथा सरोकारवालाहरूको भूमिका’ विषयक अन्तरक्रियामा सहभागीहरूले कानुनी तथा नीतिगत व्यवस्था पर्याप्त भए पनि कार्यान्वयन कमजोर रहेको औँल्याए।
कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई बालबालिका मानेकाले त्यसभन्दा कम उमेरमा हुने विवाह बालविवाह भएको स्पष्ट पारे। तर मुलुकी अपराध संहिताले विवाहका लागि न्यूनतम उमेर २० वर्ष तोकेकाले १८ देखि २० वर्ष नपुग्दै हुने विवाहलाई पनि गैरकानुनी मानेको उनले बताए।
उनका अनुसार बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ ले बालबालिकाको विवाह तय गर्ने, बालबालिकासँग विवाह गर्ने वा गराउने कार्यलाई बालबालिकाविरुद्धको हिंसा मानेको छ। यस्तो कसुरमा ७५ हजार रुपैयाँसम्म जरिवाना र तीन वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ।
त्यसैगरी मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ ले २० वर्ष उमेर नपुगी विवाह गर्न निषेध गरेको छ। उक्त व्यवस्थाविपरीत भएको विवाह स्वतः बदर हुने र विवाह गर्ने व्यक्तिलाई ३० हजार रुपैयाँसम्म जरिवाना तथा तीन वर्षसम्म कैद हुने व्यवस्था रहेको उनले बताए।
चन्दले बालविवाह, कम उमेरमा हुने विवाह र जबरजस्ती गरिने विवाहका अवधारणालाई स्पष्ट रूपमा बुझ्नुपर्नेमा जोड दिए। नेपालमा १८ वर्षमुनिको विवाह बालविवाह भए पनि १८ देखि २० वर्ष नपुग्दै हुने विवाहसमेत कानुनविपरीत रहेको उनको भनाइ थियो।
उनले बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना, २०८२ मा २५ वटा मुख्य क्रियाकलाप समेटिएको जानकारी दिँदै संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारीसमेत निर्धारण गरिएको बताए। रणनीति कार्यान्वयनका लागि स्थानीय तहमा आधारभूत अवस्था पहिचान, तथ्याङ्क सङ्कलन, सचेतना, बजेट विनियोजन, अनुगमन र मूल्याङ्कन आवश्यक रहेको उनले उल्लेख गरे।
चन्दका अनुसार बालविवाह अन्त्यको जिम्मेवारी वडा तहसम्म पुर्‍याउनुपर्छ। स्थानीय सरकार सञ्चालन ऐनले पनि सामाजिक कुरीति र अन्धविश्वास अन्त्य गर्ने जिम्मेवारी वडा समितिलाई दिएको भन्दै उनले स्थानीय तहका जनप्रतिनिधि, विद्यालय, शिक्षक, बाल क्लब, अभिभावक र समुदायलाई अभियानमा सक्रिय बनाउनुपर्ने बताए।
उनले बालविवाहका घटनामा बालबालिकालाई नै दोषी ठहर्‍याउने वा सजायको भागीदार बनाउने अवस्थाप्रति पनि ध्यान दिनुपर्ने बताए। विवाहको उमेरसम्बन्धी कानुनी व्यवस्थामा भइरहेको बहसलाई बालबालिकाको अधिकार, शारीरिक तथा मानसिक परिपक्वता र उनीहरूको सर्वोत्तम हितका आधारमा टुङ्ग्याउनुपर्ने उनको भनाइ थियो।
राष्ट्रिय मानवअधिकार आयोगकी प्रतिनिधि जेनी श्रेष्ठले बालविवाहले विशेषगरी बालिकाको शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सहभागिता र भविष्यको अवसरमा गम्भीर असर पारिरहेको बताइन्।
आयोगले बालविवाहले मानवअधिकारमा पारेको प्रभावबारे राष्ट्रियस्तरमा अध्ययन तथा जाँचबुझ गरिरहेको जानकारी दिँदै उनले सातै प्रदेशमा तथ्याङ्क सङ्कलनको काम पूरा भएको र राष्ट्रियस्तरको परामर्शपछि प्रतिवेदन सार्वजनिक गरिने बताइन्।
उनले बालविवाहको समस्या तथ्याङ्कमा मात्र सीमित गरेर हेर्न नहुने उल्लेख गर्दै विवाहका कारण बालबालिकाको जीवन, शिक्षा र अवसरमा परेको समग्र प्रभाव विश्लेषण गर्नुपर्ने बताइन्। विवाहको उमेर घटाउँदा तथ्याङ्कमा बालविवाहको दर कम देखिन सक्ने भए पनि त्यसले समस्याको वास्तविक समाधान नगर्ने उनको धारणा थियो।
बागमती प्रदेश सञ्चार रजिस्ट्रार रेवतीप्रसाद सापकोटाले बालविवाह अन्त्यका लागि सञ्चारमाध्यमले जनचेतना अभिवृद्धि गर्नुका साथै सरकारी निकायको कामको निगरानी गर्नुपर्ने बताए।
उनले बालविवाहको अवस्था प्रदेशगत औसत तथ्याङ्कबाट मात्र बुझ्न नसकिने भन्दै पालिकागत तथ्याङ्क, विद्यालयमा बालबालिकाको निरन्तरता, संरक्षण सेवा, बजेट तथा कार्यक्रमको कार्यान्वयनसम्बन्धी प्रमाण जुटाएर समाचार लेख्न पत्रकारलाई आग्रह गरे।
सापकोटाले नेपालमा बालविवाहको अवस्था प्रदेशअनुसार फरक रहेको उल्लेख गर्दै नेपाल स्वास्थ्य सर्वेक्षण २०२० को तथ्याङ्कअनुसार १८ देखि ४९ वर्ष उमेर समूहका महिलामध्ये १८ वर्षअघि विवाह वा दाम्पत्य सम्बन्ध कायम गरेका महिलाको अनुपात मधेसमा ४०.१ प्रतिशत, सुदूरपश्चिममा ३९.९ प्रतिशत, कर्णालीमा ३९.४ प्रतिशत, लुम्बिनीमा ३२.५ प्रतिशत, गण्डकीमा ३०.२ प्रतिशत, कोशीमा २६.९ प्रतिशत र बागमतीमा २६.२ प्रतिशत रहेको जानकारी दिए।
उनका अनुसार राष्ट्रिय अनुपात ३३.८ प्रतिशत छ। बालविवाहले शिक्षा, स्वास्थ्य, सुरक्षा र निर्णय गर्ने क्षमतामा असर पार्ने भएकाले परिवारको आर्थिक अवस्था सुधार, छात्रवृत्ति, सामाजिक सुरक्षा र जीविकोपार्जनका अवसरसँग पनि यसलाई जोडेर हेर्नुपर्ने उनले बताए।
सापकोटाले बालबालिकासम्बन्धी समाचार लेख्दा उनीहरूको पहिचान र गोपनीयता सुरक्षित राख्न सञ्चारकर्मीलाई विशेष आग्रह गरे। नाम नलेखे पनि ठेगाना, अभिभावकको नाम, विद्यालय र तस्बिरबाट पहिचान खुल्न सक्ने भएकाले यस्ता विवरण सार्वजनिक गर्न नहुने उनको भनाइ थियो।
विपद्का घटनामा प्रभावित बालबालिकालाई पीडादायी अनुभव सुनाउन दबाब दिने, असंवेदनशील प्रश्न सोध्ने र अनुमति तथा संरक्षणको ख्याल नगरी तस्बिर तथा भिडियो सार्वजनिक गर्ने प्रवृत्तिसमेत त्याग्नुपर्ने उनले बताए।
सञ्चारमाध्यमले बालविवाहका घटनाको तथ्य पुष्टि गरी समाचार प्रकाशन गर्नुपर्ने, सम्बन्धित पालिका, प्रहरी र बाल संरक्षण निकायसँग समन्वय गर्नुपर्ने तथा बालविवाह अन्त्यका लागि सरकारले तोकेको समयसीमा र जिम्मेवारीअनुसार काम भए-नभएको निगरानी गर्नुपर्ने सापकोटाको भनाइ थियो।
कार्यक्रममा जस्ट राइट फर चिल्ड्रेनका कार्यक्रम व्यवस्थापक विष्णुबहादुर थापाले बालविवाह अन्त्य गर्नु सरकारको मात्र नभई सबै नागरिक र सरोकारवालाको साझा दायित्व भएको बताए। संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०२६ सेप्टेम्बर ४ मा प्रस्ताव पारित गरी नोभेम्बर २७ लाई बालविवाह, कम उमेरमा हुने तथा जबरजस्ती गरिने विवाह उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको उनले जानकारी दिए।
उनका अनुसार विश्वभर प्रत्येक वर्ष करिब एक करोड २० लाख बालिका १८ वर्ष नपुग्दै विवाह गर्न बाध्य हुने गरेका छन्। सन् २०२६ को तथ्याङ्कअनुसार हाल जीवित करिब ६५ करोड महिला तथा बालिकाको विवाह बाल्यावस्थामै भएको छ।
थापाले दिगो विकास लक्ष्य ५.३ ले सन् २०३० सम्म बालविवाहलगायत सबै प्रकारका हानिकारक अभ्यास अन्त्य गर्ने लक्ष्य लिएको उल्लेख गर्दै नेपाललाई पनि सन् २०३० सम्म बालविवाहमुक्त राष्ट्र बनाउने राष्ट्रिय प्रतिबद्धता पूरा गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताए।
बालविवाह अन्त्यको अन्तर्राष्ट्रिय दिवसको यस वर्षको सन्देश ‘प्रतिज्ञा गरौँ, सन् २०३० सम्म बालविवाह अन्त्यका लागि प्रयास तीव्र पारौँ’ रहेको छ।
कार्यक्रममा सहभागीहरूले बालविवाह अन्त्यका लागि कानुन र नीति निर्माणसँगै स्थानीय तहमा आवश्यक स्रोतसाधन, बजेट, बाल संरक्षण संरचना र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए। साथै सञ्चारमाध्यमले बालविवाहका घटनालाई संवेदनशीलताका साथ उठाउँदै बालबालिकाको अधिकार संरक्षण र नीतिगत प्रतिबद्धता कार्यान्वयनमा निरन्तर खबरदारी गर्नुपर्ने धारणा राखेका थिए।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
रसुवा–भोटेकोशी बाढीमा बेपत्ता स्वदेशी तथा विदेशीलाई मृत घोषणा गर्न सिफारिस

रसुवा–भोटेकोशी बाढीमा बेपत्ता स्वदेशी तथा विदेशीलाई मृत घोषणा गर्न सिफारिस

रसुवा–भोटेकोशी बाढीमा बेपत्ता स्वदेशी तथा विदेशीलाई मृत घोषणा गर्न सिफारिस...

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान: यौन हिंसासम्बन्धी प्रस्तावित विधेयकमा सुधारको खाँचो

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान: यौन हिंसासम्बन्धी प्रस्तावित विधेयकमा सुधारको खाँचो

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान: यौन हिंसासम्बन्धी प्रस्तावित विधेयकमा सुधारको खाँचो...

हिमाली जडीबुटी र वनस्पतिको दिगो व्यवस्थापनका लागि क्षेत्रीय सहकार्यमा जोड

हिमाली जडीबुटी र वनस्पतिको दिगो व्यवस्थापनका लागि क्षेत्रीय सहकार्यमा जोड

हिमाली जडीबुटी र वनस्पतिको दिगो व्यवस्थापनका लागि क्षेत्रीय सहकार्यमा जोड...

हिंसाविरुद्धको प्रतिबद्धता पीडितले पाउने न्याय र सुरक्षामा देखिनुपर्छ : मन्त्री बादी

हिंसाविरुद्धको प्रतिबद्धता पीडितले पाउने न्याय र सुरक्षामा देखिनुपर्छ : मन्त्री बादी

हिंसाविरुद्धको प्रतिबद्धता पीडितले पाउने न्याय र सुरक्षामा देखिनुपर्छ : मन्त्री बादी...

बालबालिकामा लगानी गर्न सरकारलाई सिविनको आग्रह

बालबालिकामा लगानी गर्न सरकारलाई सिविनको आग्रह

बालबालिकामा लगानी गर्न सरकारलाई सिविनको आग्रह...

नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय वार्ता नयाँ दिल्लीमा सम्पन्न

नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय वार्ता नयाँ दिल्लीमा सम्पन्न

नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय वार्ता नयाँ दिल्लीमा सम्पन्न...