विद्यालयमा विद्यार्थीमाथि कुटपिटको घटनाप्रति राष्ट्रिय बाल अधिकार परिषद्को गम्भीर ध्यानाकर्षण
काठमाडौं। राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा एक विद्यार्थीमाथि शिक्षिकाले निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। परिषद्ले उक्त घटना करिब एक वर्षअघि काठमाडौंको बौद्धस्थित खड्गाली विद्यालयमा भएको बुझिएको भन्दै दोषीमाथि कानुनबमोजिम कारबाही गर्न र सबै विद्यालयमा बाल संरक्षणका मापदण्ड प्रभावकारी रूपमा लागू गर्न आग्रह गरेको छ।
परिषद्ले जारी गरेको विज्ञप्तिमा विद्यालय जस्तो पवित्र शैक्षिक संस्थामा बालबालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसा अत्यन्तै गम्भीर र दुःखद विषय भएको उल्लेख गर्दै यसले विद्यालयमा बालमैत्री शिक्षण वातावरण अझै सुनिश्चित हुन नसकेको देखाएको जनाएको छ।
बालबालिकासम्बन्धी ऐन, २०७५ अनुसार घर, विद्यालय वा अन्य कुनै स्थानमा बालबालिकालाई शारीरिक वा मानसिक दण्ड दिनु वा अमर्यादित व्यवहार गर्नु कसुर हुने व्यवस्था रहेको स्मरण गराउँदै परिषद्ले सम्बन्धित शिक्षिकामाथि कानुनी कारबाही भए नभएको, विद्यालयमा बाल संरक्षण मापदण्ड लागू गरिएको वा नगरिएको तथा सम्बन्धित निकायहरूले आफ्नो जिम्मेवारी निर्वाह गरे नगरेको विषयमा समेत प्रश्न उठाएको छ।
परिषद्ले सबै विद्यालयलाई बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ५७ बमोजिम संस्थागत रूपमा बाल संरक्षण मापदण्ड निर्माण गरी अनिवार्य रूपमा लागू गर्न आग्रह गरेको छ। साथै, विद्यालयमा यस्ता घटना भएमा नजिकको प्रहरी कार्यालय, सम्बन्धित बाल कल्याण अधिकारी वा बाल हेल्पलाइन १०९८ मा तत्काल जानकारी गराउन पनि अनुरोध गरेको छ।
परिषद्ले विद्यालयहरूलाई सुरक्षित, बालमैत्री र हिंसामुक्त शिक्षण वातावरण निर्माण गर्न तथा बालअधिकार संरक्षणसम्बन्धी कानुनी व्यवस्थाको पूर्ण पालना गर्न सबै सरोकारवालासँग अपिल गरेको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment