मनसुनी विपद्का कारण देशका विभिन्न राजमार्ग प्रभावित, केही पूर्ण र केही एकतर्फी सञ्चालन
काठमाडौं, साउन १९ । अविरल वर्षा, बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार आज बिहान ९ बजेसम्मको विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध रहेका छन् भने अधिकांश सडक एकतर्फी वा वैकल्पिक मार्गबाट सञ्चालनमा रहेका छन्।
नेपाल प्रहरीका अनुसार भोजपुरको भोजपुर नगरपालिका–५ वोखिमस्थित मध्यपहाडी लोकमार्ग बाढीका कारण प्रभावित भए पनि वैकल्पिक मार्गसहित एकतर्फी सञ्चालनमा रहेको छ।
यस्तै इलामको इलमा नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ सिरिसे टोलस्थित मध्यपहाडी लोकमार्ग पहिरो पन्छाएपछि सञ्चालनमा आएका छन्।
काभ्रेपलाञ्चोकमा बीपी राजमार्गको खण्डको खुर्कोट–नेपालथोक–कुटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण सवारी आवागमन रोकिएको छ। त्यस्तै रोशी गाउँपालिका–११ कालढुंगा क्षेत्रमा रहेको थाक्रे खोलामा आएको बाढीका कारण प्रभावित बीपी राजमार्ग पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ अन्तर्गत कुलेखानी–फाखेल–काठमाडौं सडकखण्ड सडक मर्मतका लागि पूर्ण रूपमा बन्द गरिएको छ। उक्त सडक साउन २५ गतेसम्म बन्द रहने प्रहरीले जनाएको छ।
चितवनको इच्छाकामना गाउँपालिका–६ पानीधारास्थित मुग्लिन–नारायणगढ सडकखण्डमा गएको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ।
लुम्बिनी प्रदेशअन्तर्गत अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ दुर्गाफाँटस्थित सालझण्डी–ढोरपाटन सडकखण्ड तथा पाल्पाको तानसेन नगरपालिका–८ डुम्रेस्थित सिद्धार्थ राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेका छन्।
त्यसैगरी कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित आठबिसकोट नगरपालिका–६ रिठेगाड खोलामा अविरल वर्षाका कारण जाजरकोट–डोल्पा सडक (भेरी करिडोर) पूर्ण रूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले वर्षायाममा यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment