आठ वडा अध्यक्षको पद गयाे
काठमाडौं, जेठ २७ । निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेका आठ जना निर्वाचित वडा अध्यक्षहरूको पद स्वतः रिक्त भएको जनाउँदै सूचना प्रकाशित गरेको छ।
आयोगले आज प्रकाशित गरेको सूचनाअनुसार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का तर्फबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भएका केही जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेको जानकारी सम्बन्धित दलबाट प्राप्त भएपछि उनीहरूको पद रिक्त भएको निर्णय गरिएको हो।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको विषयमा दलको केन्द्रीय समितिले आयोगलाई जानकारी गराएपछि आयोगले सम्बन्धित जनप्रतिनिधिहरूको निर्वाचित पद स्वतः रिक्त भएको निर्णय गरेको जनाएको छ।
आयोगका अनुसार २०८३ जेठ २६ गते बसेको आयोगको बैठकले सम्बन्धित जनप्रतिनिधिहरूको पद रिक्त भएको निर्णय गरेको हो। सो निर्णयबारे सम्बन्धित सबै निकायलाई जानकारी गराउने उद्देश्यले सूचना प्रकाशित गरिएको आयोगले जनाएको छ।
पद रिक्त हुनेमा ओखलढुंगाको मोलुङ गाउँपालिकाका वडा नं. १ का वडा अध्यक्ष कमल बहादुर बानियाँ, वडा नं. ६ का वडा अध्यक्ष कमल तामाङ तथा चम्पादेवी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष सुरेश कुमार थापा रहेका छन्।
त्यसैगरी पाल्पाको माथागढी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष राजकुमार पन्थी, ललितपुरको बागमती गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष होमप्रसाद बजगाईं, मोरङको लेटाङ नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रामकुमार श्रेष्ठ तथा रंगेली नगरपालिका वडा नं. १ का वडा अध्यक्ष महेश कुमार खनालको पद पनि रिक्त भएको आयोगले जनाएको छ।
यस्तै दाङको घोराही उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मधुसुदन शर्माको पदसमेत रिक्त भएको सूचनामा उल्लेख छ।
निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार दल परिवर्तन गर्ने निर्वाचित जनप्रतिनिधिको पद स्वतः रिक्त हुने प्रावधान रहेको जनाएको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment