नयाँ क्यान्सर इन्जेक्सनले ट्युमर हटाएको दाबी, ११ देशमा सफल परीक्षण
काठमाडौं, जेठ १८ । क्यान्सर उपचारको क्षेत्रमा महत्वपूर्ण उपलब्धि मानिएको नयाँ इन्जेक्सनले अन्य उपचारबाट लाभ नपाएका बिरामीहरूमा समेत आशाजनक परिणाम देखाएको छ। चिकित्सकहरूले ‘अमिभान्तामाब’ (Amivantamab) नामक इन्जेक्सनको अन्तर्राष्ट्रिय क्लिनिकल परीक्षणमा केही बिरामीका ट्युमर पूर्ण रूपमा हटेको र धेरैमा उल्लेखनीय रूपमा सानो भएको बताएका छन्।
जाेन्सन एण्ड जाेन्सनले विकास गरेको यो औषधिको ११ देशका ५५ अस्पतालमा परीक्षण गरिएको थियो। परीक्षणमा क्यान्सर शरीरका अन्य भागमा फैलिएका, पुनः बल्झिएका वा किमोथेरापी तथा इम्युनोथेरापीजस्ता उपचारले काम गर्न छाडेका बिरामीहरूलाई सहभागी गराइएको थियो।
अध्ययनमा टाउको तथा घाँटीको क्यान्सर भएका १०२ बिरामीलाई अमिभान्तामाब दिइएको थियो। तीमध्ये ४३ जनामा ट्युमर सानो भएको वा पूर्ण रूपमा हराएको पाइएको छ। २८ जनाको ट्युमर उल्लेखनीय रूपमा खुम्चिएको थियो भने १५ जनामा चिकित्सकहरूले ट्युमर पूर्ण रूपमा हटेको बताएका छन्।
केभिन ह्यारिङ्टनले यस नतिजालाई “अभूतपूर्व” भन्दै किमोथेरापी र इम्युनोथेरापी दुवैप्रति प्रतिरोधी भइसकेका बिरामीमा यति बलियो प्रतिक्रिया देखिनु अत्यन्त महत्वपूर्ण भएको बताएका छन्। उनका अनुसार यस्तो अवस्थाका बिरामीका लागि उपचारका विकल्प अत्यन्त सीमित हुने भएकाले यो उपलब्धिले नयाँ आशा जगाएको छ।
अनुसन्धानकर्ताहरूका अनुसार अमिभान्तामाबले क्यान्सरविरुद्ध तीन तरिकाले काम गर्छ। यसले ट्युमर बढाउन मद्दत गर्ने इजिएफआर (EGFR) नामक प्रोटिनलाई अवरुद्ध गर्छ, क्यान्सर कोषहरूले उपचारबाट बच्न प्रयोग गर्ने एमइटि (MET) मार्गलाई रोक्छ र शरीरको प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाएर क्यान्सर कोषमाथि आक्रमण गर्न सहयोग गर्छ।
यो औषधि नसाबाट लामो समय लगाइने उपचारभन्दा फरक रूपमा छालामुनि सानो इन्जेक्सनमार्फत दिइन्छ। परीक्षणमा अधिकांश बिरामीमा हल्का वा मध्यम खालका साइड इफेक्ट मात्र देखिएको बताइएको छ।
अध्ययनमा सहभागी बेलायतका ५६ वर्षीय कार्ल वाल्सलाई जिब्रोको क्यान्सर भएको थियो। किमोथेरापी र इम्युनोथेरापी असफल भएपछि उनले यो परीक्षणमा सहभागिता जनाएका थिए। उपचारपछि आफ्नो पीडा र सुन्निने समस्या कम भएको तथा सामान्य जीवनमा फर्किन सकेको उनले बताएका छन्।
अनुसन्धानकर्ताहरूका अनुसार उपचार सुरु गरेको करिब ६ सातामै ट्युमरमा प्रतिक्रिया देखिन थालेको थियो। बिरामीहरू औसत रूपमा १२.५ महिनासम्म बाँच्न सफल भएका छन्, जुन यस प्रकारको उन्नत अवस्थाको क्यान्सरमा सामान्यतया अपेक्षा गरिने समयभन्दा राम्रो परिणाम मानिएको छ।
यो अध्ययनको नतिजा अमेरिकाको शिकागोमा आयोजित अमेरिकन साेसाइटी अफ क्लिनिकल अंकाेलाेजीको वार्षिक सम्मेलनमा प्रस्तुत गरिएको छ। अमिभान्तामाब हाल फोक्सो, कोलोरेक्टल, मस्तिष्क तथा पेटको क्यान्सरसहित अन्य प्रकारका क्यान्सरमा पनि करिब ६० वटा क्लिनिकल परीक्षणमार्फत अध्ययन भइरहेको छ।
यद्यपि विशेषज्ञहरूले यो औषधि सबै प्रकारका क्यान्सरको निश्चित उपचार भइसकेको निष्कर्ष निकाल्न भने अझै हतार हुने बताएका छन्। हालसम्मको अध्ययन सीमित बिरामीमा गरिएको र थप परीक्षण तथा नियामक स्वीकृतिपछि मात्रै यसको दीर्घकालीन प्रभाव स्पष्ट हुने उनीहरूको भनाइ छ।
विभिन्न एजेन्सीको सहयाेगमा
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment