संयुक्त राष्ट्र संघमा रञ्जना लिपिको लोककथा
नेवार समाजमा अनेकौं लोककथाहरू छन् । कथा बनाउनमा नेवारहरू सिपालु नै छन् । यस्तै एउटा लोककथा हो, ‘‘संयुक्त राष्ट्र संघमा रञ्जना लिपि । नेपालले रञ्जना लिपि नपठाएसम्म नेपाललाई संयुक्त राष्ट्र संघले सदस्यता नै दिइएको थिएन । र, रञ्जना लिपि दर्ता गर्न पठाएपछि बल्ल नेपाललाई सदस्य बनाएको हो ।’’
संयुक्त राष्ट्र संघमा नेपालले सदस्यताका पहिलो पल्ट आवेदन दिँदा अस्वीकृत भएको पक्का हो । तर रञ्जना लिपि नबुझाएको कारणले होइन । बरू अन्तर्राष्ट्रिय झमेलाका कारण नेपालले पुनः दोस्रो पल्ट आवेदन दिनु परेको थियो र सदस्यता पायो । यसै घटनालाई लिएर एउटा अफवाह के फैलाइयो भने, नेपालको आफ्नै लिपि के छ भनेर सोध्दा देवनागरी देखायो र भारतले यो त भारतको हो भनेर दावीविरोध गरेपछि नेपालले सदस्यता पाएन । त्यसपछि नेपाल दरबारमा छलफल भयो र रञ्जना लिपि लिएर गएपछि बल्ल नेपालले सदस्यता पाएको हो । औपचारिक तथा अनौपचारिक सभासमारोहहरूमा नेवारहरू आत्मरतिमा रमाउने बेलामा यो कथा बरोबर सुन्न पाइन्छ । कतिपय अवस्थामा विवाद हुँदा पनि आफू जित्नका लागि नेवारहरू यो लोककथा हालेर बबाल गरिरहेका हुन्छन् ।
लोककथाको बेग्लै र विशिष्ट अर्थ लाग्छ । त्यसअनुसार रञ्जना लिपिको सन्दर्भमा यहाँ ‘लोककथा’ शब्द प्रयोग गर्नु अमिल्दो कुरा हो । इतिहास र लोककथामा भेद नदेख्नेहरू लोककथालाई नै इतिहास भनेर दावी गरेर इतिहासको हुर्मत लिइरहेका हुन्छन् । रञ्जना लिपिको जस्तै एउटा लोककथा कपिलवस्तुको धम्नीहवा गाउँमा पाइन्छ । एउटा ढिस्कोको उत्खनन् हुन्छ र दुई वटा बौद्ध स्तूप भेटाइन्छ । स्तूप पुरानो हो, यसमा शंका छैन । तर ती दुई स्तूपका बारेमा न त्यहाँ अभिलेख पाइयो न त त्यसबारे कहीँकतै उल्लेख नै देखियो । कसले र किन यो स्तूप बनाएको हो भन्ने सन्दर्भमा केही जानकारी पाइएको छैन भनेर उल्लेख गरी पुरातत्वविद् चुप लागेर बसेको भएपनि हुन्थ्यो तर उनलाई यसबारे केही भन्ने सकसक लागेछ क्यारे, ट्वीन्स स्तूप नाम दिएछन् । दुई वटा स्तूपलाई ट्वीन्स स्तूप भनेर नामाकरण गर्नुसम्म ठिकै हो । तर उनको मानसपटलमा दुई स्तूप एकै ठाउँमा हुनु पक्कै पनि गौतम बुद्धका बाबु सुद्धोदन र आमा मायादेवीको नामबाट बनाइएको होला भन्ने लाग्यो र त्यस्तै भनिदिए । अब आपत प¥यो, यस्तो भन्न सक्नुको आधार के हो ? यो प्रश्नको उत्तरमा स्थानिय जनविश्वासअनुसार भनेर आफ्नो रिपोर्टमा यो कुरा लेखेर उनी पञ्छिदिए । बुद्ध, सुद्धोदन, मायादेवी र स्तूपबारे स्थानीय जनतालाई थाहा भएको र लुम्बिनी, कपिलवस्तु आदि बौद्ध स्थलहरूको खोजी गर्न ए. फुहरर तथा अन्य पुरातत्वविद्हरू यहाँ आइराख्नु पर्दथ्यो र ? हिजोसम्म केही थाहा नपाएका गाउँलेहरूले गाउँ नजिक कतै गुफा एउटा भेटाएपछि पञ्चपाण्डव गुप्तवास बसेको गुफा भन्दै हल्लाखल्ला गरेजस्तै हो, धम्नीहवामा पुरातत्वविदको लोककथा । संयुक्त राष्ट्रसंघमा रञ्जना लिपिको पनि यसरी नै लोककथा बनाइएको हो ।
रञ्जना लिपि विशिष्ट छ, सुन्दर छ, हेर्दैमा मोहक र मनोरञ्जक दिने खालको छ । यसको विकास काठमाडौं उपत्यकामा नेवार समाजमा भएको कुरा पनि सही हो । तर यो बेग्लै, अरु कुनै लिपिसँग सम्बन्ध नभएको तथा फुत्त निस्केको नभएर ब्राह्मी लिपि परिवारभित्रकै एउटा विकास हो । यसले पछिल्लो समयमा जुन रुप पायो, त्यसको श्रेय नेवार समाजलाई दिनैपर्छ । काठमाडौं उपत्यकाबाटै यो सुरुमा तिब्बत पुग्यो, तिब्बतबाटै चीन, जापान, मंगोलिया आदि भूक्षेत्रमा पुग्यो । नेपालको मनाङ, मुस्ताङलगायत कर्णाली क्षेत्रमा पनि सयौं वर्षअघि रञ्जना लिपि लोकप्रिय बनिसकेको पाइन्छ । यी क्षेत्रमा रञ्जना लिपि काठमाडौं उपत्यकाबाट सोझै गयो वा तिब्बतको प्रभावमा फैलियो भन्ने सन्दर्भमा यसै भन्न सकिने अवस्था छैन । ती क्षेत्रमा सयौं वर्षअघिदेखि काठमाडौं उपत्यकाका विद्वान तथा कलाकारहरू पनि पुग्ने गरेको तथा लेखन क्षेत्रमा लागेको पाइन्छ । तर जे होस्, रञ्जना लिपिले स्थानीय स्तरमा मात्रै नभएर देशविदेशमा समेत लोकप्रियता तथा व्यापकता पाएको नेवार सभ्यताका लागि गौरवको कुरा हो ।
रञ्जना लिपिका सम्बन्धमा आत्मरतिका बाहेक अन्य केही भन्नु नै हुँदैन, कतिपय नेवारहरू आमाचकारी गाली गर्न आइहाल्छन् । केही वर्षअघि रञ्जना लिपिको विकास दुई चरणमा भएको हुनसक्ने र दोस्रो चरणको विकास काठमाडौंमा भएपछि यसले व्यापकता पाएको हुनसक्ने भनी पहिलो चरणलाई भारतीय भूमिसँग सम्बन्धित गरेर लेखेको थिएँ । अनेकौं श्रोत सामग्रीको आधारमा आफूलाई लागेको कुरा लेखेका हो, यही कुरा सही हो भनेर जबर्जस्ती थोपर्न खोजेको होइन । कसैलाई चित्त बुझ्दैन भने त्यसको खण्डन गर्दा हुन्छ, वा अन्य तथ्य पनि प्रस्तुत गर्न सकिन्थ्यो । तर तथानाम गाली गर्ने तथा आमाचकारी मुख छाड्ने काम नेवार युवाहरूबाट भयो । नेवार सभ्यताको विकास यस्तो गालीगलौज तथा मुख छाड्नेहरूको हातबाट भएको पक्कै होइन ।
संयुक्त राष्ट्र संघमा सदस्यताका लागि नेपालले रञ्जना लिपि बुझाएको भन्ने कुरामा सामान्यतः पत्याउनु स्वाभाविक पनि हो । कतिपय सन्दर्भमा नेपालको पहिचान नै नेवार कला, वास्तुकला, साहित्य, संस्कृतिलगायत कतिपय कुराहरू हुने गरेको छ । नेपालको चिनारी दिनका लागि रञ्जना लिपिलाई प्रस्तुत गरेको भन्ने कुरामा मात्रै अविश्वास गर्नुपर्ने के छ र ? तर संयुक्त राष्ट्र संघमा सदस्यताका लागि कुनै पनि लिपि बुझाउनु पर्ने कुनै दरकार नै छैन । कुनै राष्ट्र स्वतन्त्र हो होइन भनेर छुट्याउने मापदण्ड लिपि होइन पनि । कतिपय मुलुकसँग आफ्नो छुट्टै लिपि छैन तर तिनीहरूले पनि सदस्यता पाएकै छन् । वास्तवमा संयुक्त राष्ट्रसंघमा रञ्जना लिपिको प्रसङ्ग कसैले फैलाएको हल्ला मात्रै हो र त्यसैलाई पछि लोककथा बनाए ।
नेवार समाज तथा सभ्यता तथ्यमा आधारित हुनुपर्दछ । तथ्यको खोजीमा लाग्दा कतिपयको आस्था, विश्वास तथा भरोसाको खण्डन हुँदा आघात हुन्छ पनि । यस्ता आघातहरू पचाउन सक्नु पर्दछ । हवाई कल्पनामा उडेर सभ्यताको विकास हुँदैन, विनाश मात्रै हुन्छ । नेवार सभ्यतालाई अझ अगाडि बढाउनु छ भने, तथ्यमा आधारित वस्तुनिष्ठ भएर विगतको मेहनतभन्दा बढी मेहनत त गर्नै पर्दछ ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment