१० मंसिर २०८३, बिहिबार

नेवारलाई दलित सूचीमा राखेपछि 


अ
अ+
अ-

राष्ट्रिय दलित आयोगले दलितको सूचीमा नेवार समुदायलाई पनि राखेर यसपालि एउटा गज्जबको काम गर्यो तर त्यो अनर्थ हो । हिन्दू वर्णाश्रम व्यवस्थाअनुसार जातीय विभेदको नीतिअनुसार सबैभन्दा तल्लो जाती भनी मानिएका समुदायको हकहितका लागि गठित आयोगले सो समुदायका लागि काम गर्नु उसको काम, कर्तव्य र अधिकार हो । यसअनुसार दलित भनेर कुनकुन समुदायलाई समेट्ने वा नसमेट्ने भनेर एउटा स्पष्ट सूची हुनु अनिवार्य हुन्छ । त्यस सूचीमा रहेका समुदायहरू त्यस उपरान्त हिन्दू वर्णाश्रम व्यवस्थाअनुसार शूद्र वा आजभोलिको भाषामा दलित भनेर चिनिन्छन् । ऐतिहासिक, धार्मिक, सामाजिक, सांस्कृतिक तथा कुनै पनि अर्थमा नेवार समुदाय दलितभित्र कुनै पनि हालतमा पर्दैन तर आयोगले के कति कारणले किन हो कुन्नी, नेवारका ४० थरलाई पनि समोवेश गरी सम्बन्धित मन्त्रालयमार्फत् २०८३ असोज ८ गते नेपाल राजपत्र (संख्या ३६) मा प्रकाशित गरायो । आयोगको यो अविवेकी र हचुवा पाराको काम हो । र, नेवारहरू दलितमा पारिँदा किंकर्तव्यविमूढ बने । वास्तवमा नेवार थरहरूलाई दलितमा राखेर स्वयं राष्ट्रिय दलित आयोगले आफ्नो गरिमा र क्षमता तथा क्रेडिबिलिटीलाई शंकास्पद बनाइदिएको छ । नेवार समुदायले गम्भीर आपत्तीसहित ध्यानाकर्षण गरेपछि आयोगले ९ मंसीर (२०८३) मा नेवारसम्बन्धी सो सूची स्थगन गर्न सरकारसमक्ष सिफारिस गर्नुपर्यो । राजपत्रमा प्रकाशित भएका कारण यसलाई स्थगन मात्रै नभएर सोही राजपत्रबाट खारेज नै गर्नुपर्दछ ।   

दलित के हो ? किन दलित भनियो, यसको ऐतिहासिकता के हो ? आदि बारेमा स्पष्ट हुनुपर्दछ । हिन्दू वर्णाश्रमअनुसार शूद्र, सबैभन्दा तल्लो वर्ण, त्यसभन्दा माथिका तीन वर्ण ब्राह्मण, क्षेत्र र वैश्यको सेवा गर्नु नै उसको काम र कर्तव्य हुन्छ, अधिकार हुन्न । वर्ण नै कालान्तरमा जात बन्यो । समाजमा शूद्रलाई पनि विभिन्न तहमा वर्गीकरण गरिएको हुन्छ, र कतिपय तहका शूद्रहरू भातभान्छा नचल्ने मात्रै होइन, छोइछिटो गर्नु पर्ने तथा पानी नचल्ने मान्छन् आफू आफूमैं । अझ कतिसम्म भने, भारतमा कुनै बेला शूद्रहरू विहान उज्यालो भएपछि बाटोमा हिड्न पाउँदैनन्, तर त्यो बाटो सफा गर्ने जिम्मा उनीहरूकै हुन्छ । राति राति बढार्ने काम गर्छन् । कतिपय शूद्रले बाटोमा थुक्न पाउँदैन, र थुक राख्नका लागि छातीमा लत्रिने गरी गर्धनमा एउटा भाँडो बोकेर हिड्नु पर्दथ्यो । उनीहरू हिडेको भूमि अपवित्र हुन्छ भनेर कम्मरमा एउटा कुचो झुण्ड्याइदिएको हुन्थ्यो र कुचोले बढार्दै पवित्र पार्दछ भन्ने सामाजिक मान्यता राख्दछन् । मानवै भएपनि अतिअमानवीय व्यवहार शूद्र वर्णमा थोपर्ने काम हिन्दू धर्मअनुसारको एउटा सामाजिक व्यवस्था हो । यो व्यवस्थामा अनेकौं विविधता पनि पाइन्छ । छुन नहुने समुदायको अर्थमा यसलाई अछूत पनि भनिन्छ । धर्मको नाममा परम्परादेखि चल्दै आएको यो व्यवस्थाविरुद्ध बेलाबेलामा विद्रोह पनि हुने गर्दछ, हुँदै आएको छ । तर यो समुदायमाथिको शोषण, दमन र हेपाहा दृष्टिकोण तथा व्यवहार कायम नै छ । समाजमा दल्नुसम्म दलिएको समुदाय भनेर चिनाउन र सम्बन्धित समुदायलाई त्यसविरुद्ध सचेत हुनाका साथै भेदभावविरुद्ध जागरुक गराउन पछिल्लो समयमा ‘दलित’ भनेर नाम दिइएको हो । दलित नाम वा शब्द जातीय भेदभावविरुद्ध उठेको आन्दोलनसँग सम्बन्धित छ । कतिपय दलित भनिनु हुँदैन, दलित आफै हेय शब्द हो भन्नेहरू पनि छन् तर यस्तो भन्नेहरूको पृष्ठभूमि हेर्दा यो शब्दले तिनीहरूलाई नै बढी पोल्दो रहेछ जसले सदियौंदेखि यो समुदायलाई पेल्दै आएको छ, पेल्न पाएर उनीहरूलाई फाइदा भइरहेको छ र वर्णाश्रम व्यवस्थाअनुसार पेलिराख्ने भित्री मनसाय राख्दछन् । 

नेवार समुदायभित्रका केही थरलाई आफ्नो सूचीमा राख्न राष्ट्रिय दलित आयोग स्थापना कालदेखि नै लालायित देखिन्छ । र, नेवार समुदायबाट त्यसको विरोध सुरुदेखि नै गर्दै आयोगको मनसायलाई निन्दा पनि गर्दै आएको छ । नेवार समुदायको मात्रै कुरा नभएर सम्बन्धित थरका व्यक्तिहरू आयोगमा नै गएर विरोध जनाउन पुगेको र ती नेवारलाई आयोगमा हुलहुज्जत गर्न आएको आरोपमा प्रहरी लगाएर थुनेको पनि घटना छ । 

ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र चार वर्ण हो । चार वर्ण हिन्दू धर्मअनुसारको एउटा सामाजिक व्यवस्था हो । यी वर्णहरूको व्यवस्थापनलाई नै हिन्दू धर्मशास्त्रले ‘वर्णाश्रम धर्म’ भनेको हो । हिन्दू धर्मको एउटा आधारशीला ‘वर्णाश्रम धर्म’ वा ‘वर्णाश्रम व्यवस्था’ पनि हो । वर्णाश्रम धर्म नेपाल र नेपालीसँग सम्बन्धित कुरा भने होइन । वर्ण व्यवस्थाको तर्जुमा जुन भूमि वा समाजमा गरिएको थियो, त्यो नेपालमा होइन । हिन्दू वर्णाश्रमको व्यवस्था हुँदासम्म हिन्दू धर्म नेपालमा प्रवेश नै गरेको थिएन । अथवा भनौं नेपालमा हिन्दू धर्मको प्रवेशसँगै वर्णाश्रम व्यवस्थाको अवधारणाको पनि भित्रिएको हो । अर्थात् यो व्यवस्था नेपालका लागि आयातित हो । 

नेवार समुदाय एउटै धर्म र एउटै नश्लमा आधारित होइन भनेर सर्वप्रथम स्पष्ट हुनु जरुरी छ । नेपालमा अहिले मुख्यतः बौद्ध र हिन्दू धर्मको परम्परा छ तर यी दुबै धर्म सम्प्रदायको उदय हुनुअघि नै एउटा व्यवस्थित समाज र सभ्यताको आकारसहित नेवार पहिचानको निर्माण भइसकेको पाइन्छ । इतिहासका विभिन्न चरणहरूमा बेला बेलामा बाहिरबाट अनेकौं मानव समुदाय नेपाल उपत्यकामा आउने र बस्ने तथा बस्ने क्रममा स्थानीय समुदायसँग घुलमिल हुँदै नेवार पहिचान नै ग्रहण गर्ने गरेको पाइन्छ । यसअनुसार नेवार पहिचान बनाएकाहरू भलै बौद्ध होऊन् वा हिन्दू, अन्यत्रका बौद्ध तथा हिन्दूभन्दा फरक हुने गर्दछन् । यसरी विकास भएको नेवार समाजमा विविधता पाइनु स्वाभाविक हो । सबै नेवार हिन्दू होइनन्, नेवार समाज ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र भनेर चार वर्णमा विभाजित पनि छैनन् । तर हिन्दू वर्णाश्रमको प्रभाव गैरहिन्दू समाजमा पनि यथेष्ट मात्रामा परेको कुरालाई नकार्न सकिन्न र यो कटु यथार्थ हो । मानव स्वभावको एउटा दुर्गुण हो, आफूभन्दा कमजोर पछाडि नै पार्ने र हेप्ने अनि शासन गर्ने हो । यो दुर्गुण वर्णाश्रमको व्यवस्थामा मात्रै होइन, विश्वभरकै मानव समुदायमा पाइन्छ । आफू उपल्लो र अरु नीचो भन्नलाई कुनै बहाना त चाहियो, विश्वभर नै यस्ता अनेकौं बहानाहरू पाइन्छन् । वैदिक समाजले वर्णको कल्पना गरी मानव जातिलाई ब्राह्मण, क्षेत्री, वैश्य र शूद्रमा भनी विभेद गर्ने चलाखी गर्यो । यसअनुसार जात व्यवस्थाको प्रभाव तथा तथा भेदभाव नेवार समाजमा पनि विकास भयो । 

ऐतिहासिक विकास क्रममा नेवार समाजमा जात व्यवस्थाको कुरालाई हेर्दा ताज्जुबका परिदृष्यहरू देख्न पाइन्छ । नेवार समाजमा जसलाई तल्लो जात भनिएको छ, तिनीहरूको पृष्ठभूमि जातव्यवस्थाअनुसार शूद्र हुँदैन । आर्थिक, सामाजिक तथा राजनीतिक रूपमा तिनीहरू पछि पर्दै जाने र अन्ततः तल्लो जातमा दरिने गरेको पाइन्छ । तल्लो जात भनिएपनि तिनीहरूकै जिम्मामा विभिन्न मन्दिर तथा मन्दिरभित्रका देवीदेवता हुने गर्दछन् । अन्य हिन्दू समाजमा मन्दिरसम्म पहुँचका लागि तल्लो जात भनिएकाहरूलाई कथित माथिल्लो जातकासँग संघर्ष गरिराख्नु पर्दछ भने नेवार समाजमा उल्टो हुन्छ । उनीहरूले दिएको प्रसाद नेवार समाजमा अरुले ग्रहण गर्नुपर्दछ । अन्य समाजमा सुनचाँदीका गहना बनाउनेलाई तल्लो जात मानिन्छ तर नेवारमा यो काम माथिल्लो मानिने शाक्य र बज्राचार्यहरूबाट हुन्छ, सामाजिक तथा धार्मिक रूपमा ती पुरोहित वर्गका हुन् । सामाजिक भेदभावको मामिलामा कुरा गर्ने हो भने, राम्रो उदाहरण यही शाक्य र बज्राचार्यमा पनि पाइन्छ । भेवभावका लागि अनेक निहुँ बनाएको हुन्छ । ती निहुँहरूको पनि आआफ्नै भाष्य र बहानाबाजी देखिन्छ । विश्वभरका अन्य समुदायहरूमा जस्तै नेवार समुदायमा पनि त्यस्तो समस्या भएको हो । नेवार समाजमा जातव्यवस्थाको अध्ययन गर्दा हिन्दू परम्पराको प्रभाव लिच्छविकालमा नै स्पष्ट रूपमा देखिन्छ भने कतिपय अवस्थामा हिन्दू व्यवस्था हठात् लाद्ने मनसाय शासक वर्गमा पाइन्छ ।  

नेवार समाजको धार्मिक तथा सांस्कृतिक परिदृष्यलाई बुझ्न विशेष दृष्टिकोणको आवश्यक हुन्छ । बौद्ध तथा हिन्दू दुबै मताबलम्बी नेवार बन्न त सक्छन् तर नेवार बन्ने क्रममा उसले कतिपय कुरालाई छाडेको हुन्छ भने कतिपय कुरालाई ग्रहण गरेको हुन्छ । यसरी नै नेवारको पहिचानले खाम्ने मात्रामा मात्रै बौद्ध वा बौद्ध बन्ने हुन् । यसर्थ, अन्यत्रका बौद्ध वा हिन्दूको आँखाले नेवारलाई पहिचान गर्न सकिन्न । राष्ट्रिय दलित आयोगको कार्यक्षेत्र हिन्दू वर्णाश्रमअनुसार शूद्रसँग मात्रै सम्बन्धित हुन्छ । कोही कसैले आफू नेवार हुँ भनी पहिचान बनाइसकेको अवस्थामा स्वतः शूद्र वा दलितको पहिचान समाप्त भइसकेको हुन्छ । यसअर्थमा नेवार समाजमा पाइने भेदभावहरू सामाजिक हुन्, हिन्दू धर्ममा आधारित जातीय भेदभाव होइन । सामाजिक भेदभाव नेवार समाजमा विद्यमान एउटा समस्या हो । राणाकालमा कुन नेवार माथिल्लो र कुन नेवार तल्लो भनेर फैसला गरिदिने गरेको पाइन्छ र त्यस्ता फैसलाहरूको दुस्प्रभाव नेवार समाजमा अझै पनि देख्न पाइन्छ । 

नेवारभित्र विभेदको पीडा बोकेर बस्नेहरू नभएका होइनन् । हिजोका दिनमा तल्लो भनी हेपिएकाहरू शिक्षा, स्वास्थ्य, अर्थ आदि क्षेत्रमा अगाडि बढेपछि त्यस्तो विभेद कम हुँदै गएको वर्तमान अवस्था हो । रमाइलो कुरा त के हो भने, राष्ट्रिय दलित आयोगले दलित भनेर सूचीकृत गरेका केही नेवार थरहरू समाजमा आफू उच्च भनेर घिरौंलाजत्रो नाक फुलाएर बस्नेहरूको पनि परेछ । यस प्रकरणमा ती नेवारलाई कति साह्रो पोलेको रहेछ भन्ने कुरा तुरुन्तै प्रतिकृया दिएबाट बुझिन्छ । तल्लो जात भनेर संज्ञा मात्रै दिँदा नै त्यति पोल्छ भने सदियौंदेखि पीडा बोकेर बसेका नेवारलाई कति पोल्यो होला ? आफूलाई उच्च भन्ठान्ने नेवारहरूको आँखा अब त खुल्छ कि ? यही दृष्तान्त ब्राह्मण, क्षेत्री र वैश्यमा पनि लागू हुन्छ । 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

मेगु पोस्त: बसन्त महर्जन

छिं लेखकाः मेगु लेख
रोक्नुपर्छ नेपाल सम्बतको नाममा हुने उच्छृंखल गतिविधि

रोक्नुपर्छ नेपाल सम्बतको नाममा हुने उच्छृंखल गतिविधि

नेपाल सम्बत ११४७ नयाँ वर्षको शुभकामना आदनप्रदान गर्ने काम भर्खरै सकिएको छ । अथवा भनौं नयाँ वर्ष तथा स्वन्ति नखःको ‘ह्याङ...

एकै दिनमा सकिन्न नेवारको लक्ष्मी पूजा

एकै दिनमा सकिन्न नेवारको लक्ष्मी पूजा

तर नेवार संस्कृतिमा यमपञ्चकबारे खासै चासो हुँदैन र तीन दिन मात्र मनाइन्छ । यी तीन दिनको सांस्कृतिक पर्वलाई स्वन्ति भनिन्...

देशकै पहिचान नेपाल संवत्

देशकै पहिचान नेपाल संवत्

राष्ट्रिय मान्यताप्राप्त नेपाल संवत् विश्वमा प्रचलनमा रहेका संवत्‌हरूभन्दा अलि फरक छ। प्रचलित संवत्‌हरूमध्ये कुनै राजाको...

संयुक्त राष्ट्र संघमा नेपाल सम्बत

संयुक्त राष्ट्र संघमा नेपाल सम्बत

संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा नेपाल सम्बत ? हो, नेपाल सम्बत । नेपाल सम्बतअनुसार नयाँ वर्षको औपचारिक कार्यक्रम ...

लक्ष्मी पूजाकी लक्ष्मी मायादेवी होइनन्

लक्ष्मी पूजाकी लक्ष्मी मायादेवी होइनन्

लक्ष्मी हिन्दू धर्ममा एक देवी हुन् र समाजमा उनको महत्व ठूलै रहेको मानिन्छ ।......

अहिंसाको कुरा र बुद्धको शिक्षा

अहिंसाको कुरा र बुद्धको शिक्षा

बुद्ध जन्मेको देश हुँदैमा देशवासीको मनमस्तिष्कमा बुद्ध शिक्षा स्वतः घुसेको हुँदैन । बुद्ध अनेक विधि उपाय अपनाएर मान्छेको...