८ मंसिर २०८३, मंगलबार

बालबालिकामा लगानी गर्न सरकारलाई सिविनको आग्रह


अ
अ+
अ-

काठमाडौं, मंसिर ८ । बालबालिकालाई राष्ट्रिय गौरवका रूपमा स्वीकार गर्दै उनीहरूको शिक्षा, स्वास्थ्य, संरक्षण र सामाजिक सुरक्षामा पर्याप्त लगानी गर्न सिविन नेपालले सरकारसँग आग्रह गरेको छ। बालबालिकामा गरिने लगानी नै देशको दिगो विकास, समृद्धि र उज्ज्वल भविष्यको आधार भएको भन्दै संस्थाले बालमैत्री नीति, कार्यक्रम र बजेट निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।
अन्तर्राष्ट्रिय बाल दिवस तथा सिविन नेपालको ३९औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा संस्थापक अध्यक्ष गौरी प्रधानले बालबालिका राष्ट्रिय गौरव हुन् भन्ने अवधारणालाई नारामा मात्र सीमित नराखी राज्यको नीति, बजेट र व्यवहारमा रूपान्तरण गर्नुपर्ने बताए।
उनले राष्ट्रिय गौरवका आयोजना र भौतिक पूर्वाधार निर्माणमा मात्र राज्यको ध्यान केन्द्रित हुन नहुने उल्लेख गर्दै मानवीय, सामाजिक, प्राकृतिक र आर्थिक पुँजीको विकासमा समेत लगानी आवश्यक रहेको बताए।
प्रधानले नेपालमा बालबालिका कुल जनसङ्ख्याको करिब ३५ देखि ३७ प्रतिशत रहेको उल्लेख गर्दै उनीहरूको शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षा र संरक्षणमा राज्यले पर्याप्त बजेट विनियोजन गर्नुपर्ने बताए। अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार शिक्षा क्षेत्रमा २० प्रतिशत लगानी गर्नुपर्ने मान्यता रहे पनि बालबालिकाको समग्र हितका लागि शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई एकीकृत रूपमा प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
उनले बालविवाह, बालश्रम, बालबालिकामाथिको शोषण, विभेद, बेचबिखन तथा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको समस्या अझै अन्त्य हुन नसकेको बताए। विगत चार दशकमा बालअधिकारका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भए पनि ती उपलब्धिको संरक्षण गर्दै बाँकी चुनौती समाधान गर्न निरन्तर अभियान आवश्यक रहेको उनले उल्लेख गरे।
नेपालमा बालअधिकार आन्दोलनलाई समुदायको तहसम्म पुर्‍याउन सरकार, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको प्रधानको भनाइ थियो। यी तीन पक्षबीच सन्तुलित सम्बन्ध र सहकार्य हुन सके मात्र सामाजिक विकासले गति लिने उनले बताए।
उनले ७५३ वटै स्थानीय तहमा बालबालिकाको जन्मदर्ता, खोप, विद्यालय भर्ना, निरन्तरता र संरक्षणको अवस्थाबारे तथ्याङ्क राख्ने तथा जोखिममा रहेका बालबालिकाको पहिचान र सहयोगका लागि स्थानीय संयन्त्र प्रभावकारी बनाउनुपर्ने प्रस्ताव गरे। यसका लागि नागरिक समाजका संस्थाहरूलाई स्थानीय सरकारसँग जोडेर परिचालन गर्न सकिने उनको धारणा थियो।
बालबालिकाका क्षेत्रमा काम गर्ने संस्थासँग लामो अनुभव, विज्ञता र स्रोत रहेको उल्लेख गर्दै सरकारले ती संस्थालाई विकासका काममा जिम्मेवारी दिनुपर्ने उनले बताए। बालबालिकामा लगानी परिवार, समुदाय र राज्य सबैको साझा जिम्मेवारी भएको उनको भनाइ थियो।
कार्यक्रममा सिविन नेपालका कार्यकारी निर्देशक कुमार भट्टराईले संस्थाले स्थापनाकालदेखि नै नेपालको बालअधिकार आन्दोलनलाई नीतिगत तथा संस्थागत रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। जोखिममा रहेका बालबालिकाको संरक्षणदेखि राज्यका बालसंरक्षण प्रणालीलाई बलियो बनाउनेसम्मका काममा सिविनले योगदान गरेको उनले उल्लेख गरे।
भट्टराईले सिविनले सुरु गरेको बाल हेल्पलाइन सेवा १०९८ अहिले नेपाल सरकारको बाल संरक्षणसम्बन्धी महत्वपूर्ण संयन्त्रका रूपमा स्थापित हुनु नागरिक समाज र सरकारबीचको सहकार्यको उदाहरण भएको बताए।
त्यस्तै, भूकम्पपछि बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यका क्षेत्रमा संस्थाले एक दशकभन्दा बढी समयदेखि काम गर्दै आएको उनले जानकारी दिए। कान्ति बाल अस्पताल र मानसिक अस्पतालसँगको सहकार्यमा सुरु गरिएका बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यसम्बन्धी सेवाहरू अब नेपाल सरकारले पूर्ण रूपमा स्वामित्व लिने अवस्थामा पुगेको उनले बताए।
आगामी दिनमा सिविनले बालबालिका तथा किशोरकिशोरीको स्वास्थ्य, सशक्तीकरण र शिक्षा, जीविकोपार्जन, संरक्षण तथा जलवायु न्यायका क्षेत्रमा कामलाई थप विस्तार गर्ने भट्टराईले जानकारी दिए। बालअधिकारका सवाललाई सबै स्थानीय तहसम्म पुर्‍याउन सरकार, नागरिक समाज र बालबालिकासँगै सहकार्य गरेर अघि बढ्ने उनको भनाइ थियो।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तथा प्रमुख अतिथि तपबहादुर मगरले बालविवाह न्यूनीकरण र बालबालिकाको संरक्षणका विषयमा राज्यका निकाय तथा नागरिक समाजले थप प्रभावकारी भूमिका खेल्नुपर्ने बताए।
उनले बालविवाहको कानुनी उमेर २० वर्ष कायम राख्ने वा त्यसमा पुनरावलोकन आवश्यक छ भन्ने विषयमा राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रिय अध्ययन तथा छानबिन प्रक्रिया अघि बढाएको जानकारी दिए। यस विषयमा विभिन्न क्षेत्रका सरोकारवालाको धारणा सङ्कलन भइरहेको र प्रतिवेदन अन्तिम चरणमा पुगेको उनले बताए।
बालविवाहको समस्या कायमै रहेको उल्लेख गर्दै उनले सुदूरपश्चिमका विभिन्न जिल्लामा बालविवाहको अवस्था चिन्ताजनक रहेको बताए। उनका अनुसार बझाङमा ३४.१ प्रतिशत, दार्चुलामा ३३.४ प्रतिशत, डडेलधुरामा २९.७ प्रतिशत, अछाममा २९.६ प्रतिशत, डोटी र कैलालीमा २९.४ प्रतिशत, बाजुरामा २७.८ प्रतिशत तथा बैतडीमा २६.९ प्रतिशत बालविवाह हुने गरेको तथ्याङ्क प्रस्तुत गरिएको छ।
बालविवाह न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै कानुनी व्यवस्था, सामाजिक व्यवहार र कार्यान्वयनको अवस्थाबारे समेत गम्भीर समीक्षा गर्नुपर्ने उनको भनाइ थियो।
मगरले बाल सुधारगृहमा १८ वर्ष उमेर पार गरिसकेका र कानुनी विवादमा परेका व्यक्तिहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि चुनौती रहेको बताए। बाल सुधारगृहमा बालबालिका र उमेर पुगेका व्यक्तिलाई सँगै राख्दा समस्या उत्पन्न भइरहेको उल्लेख गर्दै बालबालिकासम्बन्धी कानुन संशोधनका क्रममा यस विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने उनले बताए।
उनले बालबालिकाको मानसिक स्वास्थ्य, बालश्रम र संरक्षणका सवालमा सम्बन्धित सरकारी निकाय, राष्ट्रिय बालअधिकार परिषद् तथा नागरिक समाजका संस्थाबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरे।
राष्ट्रिय बालअधिकार परिषद्का अधिकृत रामबहादुर चन्दले बालबालिकाको खोजतलास सेवा नेपाल प्रहरीसँगको सहकार्यमा दुई दशकदेखि सञ्चालन भइरहेको र सिविन नेपालको सहकार्यमा बाल हेल्पलाइन १०९८ सेवा पनि प्रभावकारी रूपमा अघि बढिरहेको बताए।
उनले वैकल्पिक हेरचाह आवश्यक पर्ने बालबालिकाको संरक्षण, स्थानीय बालअधिकार समिति, बाल कल्याण अधिकारी, बाल कोष तथा बाल मनोविज्ञको व्यवस्थापनका लागि स्थानीय तहमा आवश्यक संयन्त्र विकास गर्ने काम भइरहेको जानकारी दिए। सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने तथा बालश्रममुक्त स्थानीय तह निर्माण गर्ने अभियानमा पनि विभिन्न कार्यक्रम अघि बढाइएको उनले बताए।
सिविन नेपालका अध्यक्ष माधव प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष गौरी प्रधान, पूर्वकार्यकारी निर्देशक सुम्निमा तुलाधर, राष्ट्रिय किशोरी सञ्जालकी उपाध्यक्ष अविज्ञाल परियार, राष्ट्रिय किशोर सञ्जालका उपाध्यक्ष इमोन महर्जनलगायतले बालअधिकार आन्दोलनको उपलब्धि, चुनौती र भावी कार्यदिशाबारे धारणा राखेका थिए।
कार्यक्रममा बालअधिकारका क्षेत्रमा योगदान पुर्‍याउने किरणदत्त तिवारी, सहयोगी संस्था फोरूट नर्वे तथा सिविन नेपालका कर्मचारीहरूलाई सम्मान गरिएको थियो।
सिविन नेपालले बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी र बालबालिका राष्ट्रिय गौरव हुन् भन्ने नारासहित आफ्नो ३९औँ स्थापना दिवस मनाएको हो। सन् १९८७ मा स्थापना भएको सिविनले नेपालमा बालअधिकार आन्दोलनको विकास, बाल संरक्षण, बालश्रम तथा बालविवाह न्यूनीकरण र जोखिममा रहेका बालबालिकाको अधिकार संरक्षणका क्षेत्रमा काम गर्दै आएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
हिंसाविरुद्धको प्रतिबद्धता पीडितले पाउने न्याय र सुरक्षामा देखिनुपर्छ : मन्त्री बादी

हिंसाविरुद्धको प्रतिबद्धता पीडितले पाउने न्याय र सुरक्षामा देखिनुपर्छ : मन्त्री बादी

हिंसाविरुद्धको प्रतिबद्धता पीडितले पाउने न्याय र सुरक्षामा देखिनुपर्छ : मन्त्री बादी...

नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय वार्ता नयाँ दिल्लीमा सम्पन्न

नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय वार्ता नयाँ दिल्लीमा सम्पन्न

नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय वार्ता नयाँ दिल्लीमा सम्पन्न...

दक्षिण एसियामा वैवाहिक बलात्कारको कानुनी असमानता : नेपालमा पाँच वर्षसम्म मात्रै सजाय

दक्षिण एसियामा वैवाहिक बलात्कारको कानुनी असमानता : नेपालमा पाँच वर्षसम्म मात्रै सजाय

दक्षिण एसियामा वैवाहिक बलात्कारको कानुनी असमानता : नेपालमा पाँच वर्षसम्म मात्रै सजाय...

प्रधानमन्त्री शाह भारतको दुईदिने भ्रमणमा

प्रधानमन्त्री शाह भारतको दुईदिने भ्रमणमा

प्रधानमन्त्री शाह भारतको दुईदिने भ्रमणमा...

बालबालिकाको अधिकार संरक्षणमा सम्झौता हुँदैन : मन्त्री बादी

बालबालिकाको अधिकार संरक्षणमा सम्झौता हुँदैन : मन्त्री बादी

बालबालिकाको अधिकार संरक्षणमा सम्झौता हुँदैन : मन्त्री बादी...

विपद् सञ्चारमा सन्त्रास फैलाउने प्रवृत्ति त्याग्न विज्ञको सुझाव

विपद् सञ्चारमा सन्त्रास फैलाउने प्रवृत्ति त्याग्न विज्ञको सुझाव

विपद् सञ्चारमा सन्त्रास फैलाउने प्रवृत्ति त्याग्न विज्ञको सुझाव...