रसुवा बाढी : राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग गर्न अमेरिका तयार
काठमाडौँ, ३१ भदौ। नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत, पुनःस्थापना र पुनर्निर्माणका प्रयासमा नेपाललाई आवश्यक सहयोग र सहकार्य गर्न अमेरिकी सरकार तयार रहेको बताएकी छन्।
कार्यवाहक राजदूत बोल्डिनले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गर्दै कठिन परिस्थितिमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताएकी हुन्।
भेटमा उनले बाढीका कारण ज्यान गुमाएका तथा प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित समुदायप्रति समेत सहानुभूति प्रकट गरिन्। उनले विपद्पछिको राहत, पुनःस्थापना र पुनर्निर्माणमा आवश्यक सहयोग तथा सहकार्य गर्न अमेरिकी सरकार तत्पर रहेको जानकारी गराइन्।
प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता तथा सहयोगका लागि आभार व्यक्त गरे। उनले बाढी तथा विपद्का कारण नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको बताए।
प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको असरका कारण नेपालले यस्ता विपद्को सामना गर्नुपरेको उल्लेख गर्दै जलवायुजन्य विपद् जोखिम न्यूनीकरण तथा त्यसबाट हुने प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिए।
भेटमा नेपालमा पर्यटन क्षेत्रको विकास र त्यसबाट पारस्परिक लाभ हासिल गर्न सकिने अवसरबारे समेत छलफल भएको थियो। प्रधानमन्त्री शाहले नेपालको पर्यटनको विशिष्ट सम्भावनाबारे चर्चा गर्दै अमेरिकी लगानीलाई नेपालले सधैँ स्वागत गर्ने बताए।
कार्यवाहक राजदूत बोल्डिनले यसअघि पनि परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा भोटेकोशी बाढीबाट प्रभावित तथा ज्यान गुमाएकाप्रति समवेदना व्यक्त गर्दै राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग गर्न अमेरिकी सरकार तयार रहेको बताएकी थिइन्।
प्रधानमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीचको भेटमा विपद् व्यवस्थापनसँगै जलवायु परिवर्तन, पर्यटन र नेपालमा अमेरिकी लगानीका सम्भावनाबारे पनि छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment