पुर्पक्षका लागि चार जना थुनामा, मानव बेचबिखनका चार मुद्दामा अदालतको आदेश
काठमाडौं, साउन ७ । नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहलले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती करणीसम्बन्धी चार छुट्टाछुट्टै मुद्दामा पक्राउ परेका चार जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको जनाएको छ।
ब्युरोका अनुसार काठमाडौं जिल्ला अदालतको आदेशपछि बंगलादेशका नागरिक ३८ वर्षीय मो. उज्जल मिया, ४३ वर्षीय मानिक खान, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढीका ५२ वर्षीय दीपक भन्ने दिर्गबहादुर श्रेष्ठ तथा ओखलढुंगा सिद्धिचरण नगरपालिकाका ४३ वर्षीय सुविना गुरुङ (राममाया गुरुङ) लाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो।
ब्युरोका अनुसार मो. उज्जल मिया र मानिक खानविरुद्ध मानव बेचबिखन, ओसारपसार तथा जबर्जस्ती करणीको मुद्दा दर्ता गरिएको छ। अनुसन्धानबाट २६ वर्षीया एक बंगलादेशी महिलालाई काठमाडौंमा गार्मेन्ट उद्योगमा कपडा काट्ने काममा लगाइदिने प्रलोभन देखाई नेपाल ल्याइएको खुलेको छ। उनलाई होटलमा केही दिन बन्धक बनाई जबर्जस्ती करणी गरिएको, भिडियो बनाई धम्की दिइएको तथा त्यसपछि काठमाडौंको टोखा नगरपालिका–९ स्थित यङ फरेभर प्रालि मा बिहानदेखि रातिसम्म बिना पारिश्रमिक काम गराइएको आरोप छ। साथै मानिक खानले पटक–पटक यौन शोषण गरेको ब्युरोको दाबी छ।
यस्तै, दिर्गबहादुर श्रेष्ठविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दा दर्ता गरिएको छ। ब्युरोका अनुसार २६ वर्षीया महिलालाई काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित ब्यूटी एन्ड हेल्थ स्पामा मसाजको काममा लगाइ विभिन्न कोठामा राखी जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराइएको अनुसन्धानबाट खुलेको छ।
त्यसैगरी सुविना गुरुङविरुद्ध पनि मानव बेचबिखन तथा ओसारपसारको मुद्दा दर्ता भएको छ। ब्युरोका अनुसार उनले २६ वर्षीया महिलालाई कतारमा होटलमा काम र मासिक ८० हजार रुपैयाँ आम्दानी हुने प्रलोभनमा भारत हुँदै कतार पुर्याई चार लाख रुपैयाँमा बिक्री गरेका थिए। त्यहाँ होटलमा बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिँदै मसाज र वेश्यावृत्तिमा लगाइएको थियो। पीडित महिलालाई नेपाल फर्काइदिने भन्दै थप ४ लाख ८० हजार रुपैयाँ समेत असुलिएको अनुसन्धानबाट खुलेको छ। पछि भारतीय प्रहरीको सहयोगमा पीडितको उद्धार गरी नेपाल फर्काइएको ब्युरोले जनाएको छ।
मानव बेचबिखन अनुसन्धान ब्युरोले चारै मुद्दाको अनुसन्धान सम्पन्न भएपछि काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरिएको र अदालतको आदेशअनुसार चारै प्रतिवादीलाई पुर्पक्षका लागि कारागार पठाइएको जनाएको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment