सेतु एपबाट विपद्पछिको सडक खुलाउने काम डिजिटल प्रणालीमा
काठमाडौं, साउन १७ । विपद्जन्य घटनाका कारण सडक अवरुद्ध हुँदा त्यसलाई छिटो खुलाउने कार्यलाई थप प्रभावकारी बनाउन सरकारले 'सेतु एप (Setu App)' को प्रयोगलाई देशव्यापी रूपमा कार्यान्वयनमा ल्याएको छ।
राष्ट्रिय विपद जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (डीईओसी) मा कार्यरत कर्मचारीलाई भर्चुअल माध्यमबाट सेतु एप सञ्चालनसम्बन्धी अभिमुखीकरण गरेको हो।
राष्ट्रिय विपद जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सडक पहिरो, बाढी वा अन्य विपद्का कारण अवरुद्ध हुनेबित्तिकै उक्त घटनाको विवरण सेतु एपमा प्रविष्ट हुनेछ। त्यसपछि नजिकको सडक डिभिजन कार्यालय तथा सोअन्तर्गतका हेभी इक्विपमेन्ट अपरेटरहरू तत्काल परिचालन हुनेछन्। उपकरण परिचालनदेखि सडक खुलाउने कार्यको प्रगति समेत एपमै अद्यावधिक हुने व्यवस्था गरिएको छ।
यस प्रणालीमार्फत अवरुद्ध सडकको वास्तविक अवस्था, सडक खुलाउन भइरहेको प्रयास तथा कार्यप्रगतिको रियल–टाइम अनुगमन गर्न सकिने जनाइएको छ। सडक विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) को संयुक्त सहकार्यमा यसै वर्ष सेतु एप सञ्चालनमा ल्याइएको हो।
यसबीच जल तथा मौसम विज्ञान विभागले आज, भोलि र पर्सिसम्म देशका धेरै स्थानमा मनसुनी गतिविधि सक्रिय रहने जनाएको छ। विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो, गेग्रान बहाव तथा सडक अवरोधको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ। विभागले नदी तथा खोलाको जलसतह बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सतर्क रहन र आवश्यक परे यात्रा गर्दा मौसम तथा सडक अवस्थाबारे अद्यावधिक जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ।
मनसुनका कारण देशका विभिन्न राजमार्गमा पटक–पटक पहिरो र सडक अवरोध भइरहेका बेला सेतु एपको प्रभावकारी प्रयोगले अवरुद्ध सडक छिटो खुलाउन, सम्बन्धित निकायबीच समन्वय बढाउन तथा यात्रु र सवारी साधनलाई हुने सास्ती कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment