चिनियाँ नयाँ वर्ष २०२६: घोडा वर्षको स्वागतमा ललितपुरमा भव्य बत्ती महोत्सव
बेइजिङ/काठमाडौं, फागुन ६ । चिनियाँ नयाँ वर्ष अर्थात् स्प्रिङ फेस्टिभल आज फागुन ६ गतेदेखि (फेब्रुअरी १७) औपचारिक रूपमा सुरु भएको छ, र चीनले घोडा वर्षको स्वागत गरिरहेको छ। यस वर्षको पर्व विशेष छ किनकि यसले चिनियाँ संस्कृतिमा शक्ति, लचकता र निरन्तर समृद्धिको प्रतीक मानिने घोडाको वर्षको आगमन गराएको हो। चीनमा देशैभरि उत्सवको माहोल छ भने नेपाललगायत विश्वभर चिनियाँ नयाँ वर्ष भव्य रूपमा मनाइँदैछ।
ललितपुरमा चिनियाँ बत्ती महोत्सव: पाटन संग्रहालय उज्यालो
चिनियाँ नयाँ वर्षको अवसरमा नेपालको ललितपुर महानगरपालिकामा विशेष आकर्षणको केन्द्र बनेको छ चिनियाँ नयाँ वर्ष बत्ती महोत्सव २०२६। ऐतिहासिक पाटन संग्रहालयमा आयोजना गरिएको यो महोत्सवले संस्कृति, परम्परा र प्रकाशको अद्भुत संगम प्रस्तुत गरेको छ ।
यो कार्यक्रम चिनियाँ जनवादी गणतन्त्रको राजदूतावास र ललितपुर महानगरपालिकाको संयुक्त आयोजनामा भएको हो। नेपालस्थित ओभरसिज चाइनिज एसोसिएसन र चीन सांस्कृतिक केन्द्र नेपालले सह-आयोजकको रूपमा सहयोग पुर्याएका छन् ।
आज महोत्सवको उद्घाटन समारोहपछि भने सर्वसाधारणका लागि खुला गरिएको छ। फागुन ६ देखि फागुन २० गतेसम्म (फेब्रुअरी १८ देखि मार्च ३) सम्म चल्ने यस प्रदर्शनीमा सबै आगन्तुकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
"हिमशिखरकोटीमा रंग छाएको, बत्तीले शुभ आशीर्वाद बोकेको" (Snow-Capped Peaks Aglow with Hues, Festive Lanterns Bring Auspicious Blessings) भन्ने नाराका साथ आयोजित यस महोत्सवले नेपाल-चीन मैत्री, समृद्धि र सांस्कृतिक सद्भावको प्रतीकको रूपमा विशेष महत्त्व बोकेको छ । प्रदर्शनीमा परम्परागत चिनियाँ बत्ती कलाको भव्य झलक देख्न सकिन्छ, जसले चन्द्र नयाँ वर्षको खुसी र आशीर्वाद झल्काउँछ ।
आयोजकहरूले ललितपुरको हृदयस्थलमा आयोजित यस सांस्कृतिक उत्सवमा सहभागी भई चिनियाँ संस्कृतिको जीवन्त भावना अनुभव गर्न सबैलाई हार्दिक निमन्त्रणा दिएका छन् ।
विदेशी पर्यटकलाई आकर्षित गर्न चीनको विशेष पहल
चीन सरकारले यस वर्षको नयाँ वर्षलाई लक्षित गर्दै विदेशी पर्यटक भित्र्याउन विशेष नीति तथा कार्यक्रमहरू ल्याएको छ। गत फागुन १ गते (फेब्रुअरी ११) बेइजिङमा भएको एक पत्रकार सम्मेलनमा वाणिज्य उपमन्त्री सेङ चिउपिङले यससम्बन्धी जानकारी दिएका थिए। चीनले आफ्नो भिसा-मुक्त प्रवेश नीति विस्तार गरेको छ, जसअन्तर्गत हाल ४८ देशका नागरिकलाई भिसा नचाहिने सुविधा दिइएको छ भने पारस्परिक भिसा छुट दिने देशहरूको संख्या २९ पुगेको छ। यसको प्रत्यक्ष प्रभाव देखिन थालेको छ ।
पर्यटकलाई सहजता प्रदान गर्न १३ हजारभन्दा बढी 'ट्याक्स रिफण्ड' पसलहरू तयार पारिएका छन्, जहाँ विदेशी आगन्तुकले खरिद गरेको सामानमा करिब १० प्रतिशतसम्म छुट पाउनेछन्। साथै, मोबाइल पेमेन्ट, अन्तर्राष्ट्रिय कार्ड भुक्तानी तथा नगद कारोबारलाई प्रोत्साहन गर्ने व्यवस्था मिलाइएको छ। वाणिज्य उपमन्त्री सेङले भने, "हामी विश्वभरका साथीहरूलाई स्प्रिङ फेस्टिभलमा चीन भ्रमण गर्न, यहाँ किनमेल गर्न र हामीसँग चिनियाँ नयाँ वर्षको खुसी साट्न हार्दिक निमन्त्रणा गर्दछौं।"
आर्थिक गतिविधि र उपभोग प्रवद्र्धनमा जोड
घरेलु अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले नौ दिने सार्वजनिक बिदाको अवधिमा उपभोग बढाउन ठूलो अभियान सञ्चालन गरेको छ। विभिन्न स्थानीय सरकारहरूले मिलेर करिब २.०५ अर्ब युआन (करिब २९६ मिलियन अमेरिकी डलर) उपभोग प्रवद्र्धनमा खर्च गर्ने घोषणा गरेका छन्। यसअन्तर्गत ५० शहरहरूमा नयाँ प्रकारको इनभ्वाइस लटरी सञ्चालन गरिनेछ। जसअनुसार एक सय युआन वा सोभन्दा माथिको इनभ्वाइस भएका उपभोक्ताले पुरस्कारको लागि भाग लिन पाउनेछन्। नौ दिने बिदामा मात्र १ अर्ब युआन पुरस्कार वितरण गरिने लक्ष्य राखिएको छ भने ६ महिनामा पुरस्कार रकम १० अर्ब युआन पुर्याउने योजना छ।
यसका साथै, सरकारले ६२.५ अर्ब युआनको राष्ट्रिय अनुदान पनि विभिन्न क्षेत्रमा वितरण गरिरहेको छ, जुन मुख्यतः ठूला घरेलु उपकरण तथा सवारी साधन खरिद गर्दा दिइने 'ट्रेड-इन' योजनामा केन्द्रित छ। सन् २०२४ मा सुरु गरिएको यस योजनाले उपभोगलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
राष्ट्रपति सी चिनफिङको शुभकामना
यसैबीच, चिनियाँ राष्ट्रपति सी चिनफिङले फागुन ३ गते (फेब्रुअरी १४) बेइजिङको ग्रेट हल अफ द पिपुलमा आयोजित एक समारोहमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण चिनियाँ जनतामा नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए। उनले आगामी वर्षलाई चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाको १०५औँ वर्षगाँठ तथा १५औँ पञ्चवर्षीय योजना (सन् २०२६-२०३०) को सुरुवाती वर्ष भएकाले महत्वपूर्ण बताए। राष्ट्रपति सीले घोडा वर्षमा चिनियाँ जनतालाई उच्च मनोबल कायम राख्दै चिनियाँ आधुनिकीकरणको नयाँ यात्रामा अग्रसर हुन प्रोत्साहित गरे।
यस वर्षको चिनियाँ नयाँ वर्षले परम्परा र आधुनिकताको संगम देखाएको छ। एकातिर परम्परागत पर्वको मौलिकता र सांस्कृतिक झल्को छ भने अर्कातिर सरकारी नीति, आर्थिक गतिविधि, विश्वव्यापी यात्रा र नेपाल-चीन सांस्कृतिक सहकार्यले यस पर्वलाई थप व्यापक र प्रभावशाली बनाएको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment