अमेरिका लग्ने भन्दै २५० जना नेपालीलाई अवैध बाटोबाट बेचबिखन
काठमाडौं, फागुन ५ । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी गम्भीर प्रकरणमा संलग्न व्यक्तिहरूविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) कसुरमा मुद्दा दायर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहलले विस्तृत अनुसन्धानपछि उच्च रकमको बिगोसहित आरोपपत्र दायर गरेको हो।
ब्युरोका अनुसार यसअघि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएका प्रतिवादीमध्ये एकजना जिल्ला रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–१ घर भई हाल काठमाडौं बस्दै आएका कलबहादुर बस्नेत तथा फरार रहेका जिल्ला रुकुम पूर्व सिस्ने गाउँपालिका–५ घर भई हाल काठमाडौं बस्दै आएका अमित बस्नेतविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिएको थियो।
अनुसन्धानका क्रममा उनीहरूले करिब २५० जना नेपाली नागरिकलाई अवैध बाटो प्रयोग गरी विभिन्न देश हुँदै अमेरिका प्रवेश गराएको, केहीलाई अमेरिका लैजाने भन्दै अन्य मुलुकमा अलपत्र पारी मानव बेचबिखन, ठगी तथा वैदेशिक रोजगारी ठगीसमेत गरेको देखिएको ब्युरोले जनाएको छ।
सो कार्यबाट आर्जित अवैध रकममध्ये केही नगद राखी बाँकी रकम आफ्ना नाममा सञ्चालनमा रहेका विभिन्न बैंक खाताहरूमा जम्मा गरी सम्पत्ति शुद्धीकरण गरेको तथ्य खुलेको जनाइएको छ।
ब्युरोका अनुसार कलबहादुर बस्नेतको नाममा ७० करोड ६० लाख ५३ हजार ७ सय २७ रुपैयाँ ३३ पैसा र अमित बस्नेतको नाममा २७ करोड ४५ लाख २९ हजार ८ सय ४८ रुपैयाँ ९४ पैसा अवैध आर्जन गरी शुद्धीकरण गरिएको ठहर गरिएको छ। दुवै प्रतिवादीबाट कुल ९८ करोड ५ लाख ८२ हजार ७ सय ७६ रुपैयाँ २७ पैसा बिगो कायम गरिएको छ।
उनीहरूमाथि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ उपदफा (१) को खण्ड (क), (ख) र (ग) तथा उपदफा (३) बमोजिम कसुर कायम गरिएको छ। ऐनको दफा ३० उपदफा (१) अनुसार बिगो बराबर जरिवाना र कसुरको मात्रा अनुसार दुई वर्षदेखि पाँच वर्षसम्म कैद सजाय मागदाबी गरिएको छ।
यस्तै, प्रतिवादीहरूको नाममा रहेको घरजग्गा, बैंक मौज्दात तथा बीमा रकमसमेत जफत गर्न माग गरिएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत मिति २०८२ फागुन ५ गते काठमाडौं जिल्ला अदालत, बबरमहलमा आरोपपत्र दायर गरिएको ब्युरोले जनाएको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment