निर्वाचन आयाेगकाे राजनीतिक दलहरूलाई ६४ बुँदे निर्देशन
काठमाडौं, फागुन ४ । यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा राजनीतिक दलहरूलाई ६४ बुँदे निर्देशन निर्वाचन आयाेगले जारी गरेकाे छ ।
निर्वाचन आयाेगले जारी गरेकाे निर्देशनमा निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिन वा निर्वाचन सम्बन्धी प्रचलित सङ्घीय कानून बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले बाधा अवरोध पुर्याउने वा पुर्याउन लगाउने वा थुनछेक गर्ने वा गराउने, कुनै पनि किसिमको हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्ने, कुनै किसिमको क्षति पुर्याउने, धाक धम्की वा डर त्रास देखाउने, सामाजिक प्रतिष्ठामा आघात पुर्याउने, सामाजिक बहिष्कार गर्ने वा सामाजिक बहिष्कार गर्न धम्की दिने, कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन देखाउने, धर्म भकाउने वा प्रतिज्ञा गराउने जस्ता काम गरी प्रभावमा पार्न नहुने उल्लेख छ ।
राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्दा संवत् २०८२ फागुन ४ गते देखि फागुन १८ गतेसम्म मात्र जुलुस, आमसभा, कोणसभा, सञ्चार माध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण तथा निर्वाचनको लागि घरदैलो कार्यक्रम गर्न पाउनेछन् ।
निर्वाचनको अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरे बापत उपहार, पुरस्कार, इनाम, दानदातव्य र बकसको रूपमा नगद वा जिन्सी दिन वा दिन मन्जुर गर्न वा सार्वजनिक भोजको आयोजना गर्न वा त्यस्तो प्रयोजनको लागि नगद वा जिन्सी लिन वा लिन मञ्जुर गर्न वा सार्वजनिक भोजमा सहभागी हुन नहुने निर्देशनमा उल्लेख छ ।
निर्वाचन प्रचारप्रसार गर्दा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानमा आँच पुर्याउने वा खलल पार्ने, जनतामा निहित सार्वभौमसत्ता र राजकीय सत्ता वा प्रतिस्पर्धात्मक बहुदलीय सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आँच पुर्याउने वा खलल पार्ने, कुनै धर्म, जात जाति, वर्ग, क्षेत्र वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुर्याउने वा हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने वा भाषा, धर्म, समुदाय वा क्षेत्रीयताको आधारमा घृणा वा द्बेष उत्पन्न गर्ने कार्य गर्न गराउन नहुने उल्लेख छ।
निर्वाचनको नतिजामा प्रभाव पार्नका लागि कुनै उम्मेदवार वा निजको परिवारको सदस्यको कुनै पनि किसिमले चरित्र हत्या गर्न वा गराउन वा कुनै तवरबाट डर, त्रास तथा धम्की दिन हुँदैन।
निर्वाचनको प्रचारप्रसार गर्ने उद्देश्यले निर्वाचन आचारसंहिता, २०८२ मा उल्लेख भए बमोजिम पचहत्तर ग्रामसम्मको कागजमा तीन सय वर्ग इन्चसम्म क्षेत्रफल भएको आकारको एउटै रङ्ग र मुद्रकको नाम सहितको पर्चा वितरण गर्न बाहेक कुनै प्रकारको पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले छाप्न वा छपाउन वा प्रयोग गर्न वा गराउन, कुनै पनि धार्मिक, पुरातात्विक, ऐतिहासिक, सरकारी, सार्वजनिक वा निजी भवन, स्मारक, पर्खाल वा बनोटमा कुनै पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन, सभा वा भेलामा वा त्यस्तो सभा वा भेलाको लागि सूचना प्रवाह गर्ने प्रयोजनका लागि बाहेक अन्यत्र साउण्ड सिस्टमको प्रयोग गर्न वा गराउन नहुने निर्देशनमा उल्लेख छ।
मतदान हुने दिनभन्दा अठ्चालीस घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन हुँदैन।
नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व भएको संस्था वा कुनै शिक्षण संस्था वा गैरसरकारी संस्थाको सवारी साधन प्रयोग गर्न वा गराउन, कुनै सवारी साधनको प्रयोग गरी र्याली गर्न वा गराउन हुँदैन।
निर्वाचन प्रचारप्रसारको सिलसिलामा सरकारी कर्मचारी, सुरक्षाकर्मी वा सार्वजनिक सम्पत्तिको प्रयोग गर्न वा गराउन हुँदैन।
निर्वाचन आयाेगले जारी गरेकाे निर्देशनमा निर्वाचन प्रचारप्रसारमा प्रचलित सङ्घीय कानून विपरीत हुने गरी सरकारी वा सार्वजनिक निकाय वा गैरसरकारी संघ संस्थाबाट कुनै पनि प्रकारको आर्थिक सहयोग लिन नहुने, उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैङ्क वा वित्तीय संस्था बाहेक अन्य माध्यमबाट खर्च गर्न गराउन नहुने उल्लेख गरेकाे छ ।
यस्तै, पच्चीस हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट सहयोग लिने र खर्च गर्नुपर्ने, आयोगले खर्चको बिल भरपाई तथा बैङ्क वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेश गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैङ्क वा वित्तीय संस्थाको खाताको विवरण पेश गर्नु पर्ने, निर्वाचन प्रचारप्रसारमा खर्च गर्दा आफू वा आफ्नो निर्वाचन प्रतिनिधि मार्फत मात्र खर्च गर्ने र आयोगले तोकेको निर्वाचन खर्चको हदभन्दा बढी खर्च गर्न वा गराउन हुँदैन ।
निर्वाचन आयाेगले जारी गरेकाे निर्देशनमा निर्वाचन प्रचारप्रसार गर्दा राजनीतिक दल वा उम्मेदवारले निर्वाचन घोषणा पत्र बनाई सोको आधारमा प्रचारप्रसार गर्ने, मतदाताको जानकारीको लागि सार्वजनिक गर्ने, उक्त घोषणापत्र राजनीतिक दलले आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्ने उल्लेख गरेकाे छ।
निर्वाचन प्रचारप्रसार अभियानमा प्रचलित सङ्घीय कानून वा निर्वाचन आचारसंहिताले निषेध गरेको काम कारवाही गर्न वा गराउनका लागि कुनै प्रकारले आर्थिक सहयोग लिन वा काम कारबाहीको लागि खर्च गर्न वा गराउन नहुने, निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी र खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ (पैंतीस) दिनभित्र सम्बन्धित दलले आयोगमा र उम्मेदवारले जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनु पर्छ।
जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने दल वा व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने, प्रचारप्रसारका कार्यक्रम गर्दा बिहान सात बजेदेखि साँझ सात बजेसम्म मात्र गर्ने, दलको झण्डाको वा दल वा उम्मेदवारको चुनाव चिन्हको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न वा गराउन नहुने उल्लेख छ।
सवारी साधनको प्रयोग गर्नु अघि राजनीतिक दल वा दलको निर्वाचन प्रतिनिधिले त्यस्तो सवारी साधन प्रयोग गर्न सम्बन्धित निर्वाचन अधिकृतबाट अनुमतिपत्र नलिई प्रयोग गर्न नहुने, एक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी साधन अन्य दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन वा अन्य उम्मेदवारले प्रयोग गर्न वा गराउन नहुने, निर्वाचन अधिकृतले अनुमति दिएको सवारी साधन बाहेक अन्य कुनै किसिमको सवारी साधन प्रयोग गरी आवत जावत गर्न वा कसैलाई लैजाने वा ल्याउने गर्न हुँदैन ।
यस्तै, निर्वाचनमा प्रयोग गरिने वा प्रयोग गरिएको मतपत्र, मतपेटिका वा अन्य सामग्री खोस्न, लुट्न, चोर्न, कब्जामा लिन, खोल्न, नष्ट गर्न वा निर्वाचनमा प्रयोग हुन नदिन कुनै किसिमले रोकावट वा हस्तक्षेप गर्न वा गराउन नहुने, मतदातालाई मतदान गर्नबाट वञ्चित गर्ने उद्देश्यले मतदाता परिचयपत्र कब्जा गरी राख्न, बिगार्न वा खरिद गर्न, मतदान अधिकृतको स्वीकृति बिना निर्वाचनमा प्रयोग गरिने वा प्रयोग गरिएको मतपत्र, मतपेटिका वा अन्य सामग्री निर्वाचनमा प्रयोग हुन नदिन मतदान केन्द्रबाट बाहिर वा अन्यत्र कतै लैजान नहुने उल्लेख छ ।
निर्वाचन आयाेगले जारी गरेकाे निर्देशनमा मतपत्र नष्ट गर्न, मतपत्रमा लागेको निर्वाचन अधिकृत वा मतदान अधिकृतको सही वा छाप वा मतपत्रमा अङ्कित कुनै चिन्ह वा सङ्केत मेट्न, केर्न, सच्याउन, किर्ते गर्न, बिगार्न वा नष्ट गर्न वा अन्य कुनै किसिमले मतपत्रमा नोक्सान पुर्याउन वा दुरूपयोग गर्न वा गराउन नहुने, नक्कली मतपत्र तयार गर्न वा त्यस्तो मतपत्र ओसारपसार गर्न वा मतपत्र खरिद बिक्री गर्न नहुने उल्लेख छ ।
यस्तै, प्रचलित सङ्घीय कानून बमोजिम मत दिन पाउने अधिकार बिना कुनै मतदान गर्ने, अर्को मतदाताको मतपत्र बुझिलिने वा अर्काको नामबाट मतदान गर्न वा एउटै निर्वाचनका लागि एक भन्दा बढी मतदान गर्न, मतपत्रमा मत सङ्केत गरिसकेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न, गोप्य मत सङ्केत गर्ने स्थलमा मत सङ्केत नगरी त्यस भन्दा बाहिर गई प्रचलित सङ्घीय कानून वा आयोगले तोकेको प्रकृया उल्लङघन गर्न, मत सङ्केत गरेको व्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न, मतपत्र बाहेक अन्य कुनै वस्तु मतपेटिका भित्र खसाल्न वा राख्न र मतदाताले मतदान गरी मतपेटिकाभित्र खसालेको मतपत्र बिगार्न वा नष्ट गर्न वा नष्ट गराउने कुनै वस्तु वा पदार्थ मतपेटिकाभित्र खसाल्न वा राख्न नहुने उल्लेख छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment