समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन
काठमाडौं, माघ २० । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ। आयोगको केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकले ६३ राजनीतिक दलका तर्फबाट ५७ निर्वाचन चिन्हमा प्रस्तावित ३ हजार १३५ उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिएको हो।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार सार्वजनिक सूचीमा महिलाको संख्या पुरुषको तुलनामा बढी छ। जसमा १ हजार ७७२ महिला र १ हजार ३६३ पुरुष उम्मेदवार कायम भएका छन्। संवैधानिक व्यवस्थाअनुसार दलहरूले बुझाएको बन्दसूचीमा खस आर्य, आदिवासी जनजाति, थारू, दलित, मधेशी र मुस्लिम समुदायको क्लस्टर मिलाउनु पर्ने प्रावधानलाई आयोगले कडाइका साथ जाँचबुझ गरेको थियो।
यसअघि दलहरूले पेश गरेका सुरुवाती सूचीमा दोहोरिएका नाम, दाबी–विरोध तथा कागजात अपुग भएका उम्मेदवारहरूको नाम हटाएर यो अन्तिम विवरण सार्वजनिक गरिएको हो। आयोगले बन्दसूचीको विस्तृत विवरण र उम्मेदवारको व्यक्तिगत विवरण वेबसाइटमा राखेको छ।
मिश्रित निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभाका २७५ सदस्यमध्ये ११० जना समानुपातिक पद्धतिबाट निर्वाचित हुने संवैधानिक व्यवस्था छ। यस प्रणालीमा मतदाताले उम्मेदवारलाई नभई राजनीतिक दललाई मतदान गर्छन्। दलहरूले प्राप्त गरेको कुल सदर मतका आधारमा सिट बाँडफाँड गरिन्छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment