काठमाडौंमा मान्छेको परिभाषा
मधेशका नेपालीहरू काठमाडौंसँग एउटा गुनासो गर्छन्– ‘‘काठमाडौंमा हामीलाई मान्छे नै गन्दैनन् ।’’
ज्यादै दुःख लाग्दो र सम्वेदनशील गुनासो हो । यो कुरा मैले पहिलो पल्ट २०५२ सालको भदौ महिनातिर सुनेको थिएँ । सुन्दा अचम्म लागेको थियो र पत्याएको थिइनँ । काम विशेषले एउटा अर्को साथीसँग सिरहा जिल्लाका गाउँहरू घुमिरहेको थिएँ र बेलुका लहान फर्कने स्थिति नभएपछि त्यहीं एक शिक्षकको घरमा वास माग्दा सहृदयताका साथ रातको वास पाएका थियौं । गाउँमा चलन रहेछ, त्यहाँको एक जना नेता वा ठूलामान्छेको आगनमा बेलुका भेला हुने । विभिन्न विषयमा छलफल गर्ने । वास दिने सहृदयीले भने– ‘‘त्यहाँ एक छिन जाउँ, चिनाइ दिन्छु, राम्रो मानिन्छ ।’’
चिनजान पछि ख्यालठठ्ठामा भने– ‘‘पहाडियाहरूले त हामीलाई मान्छे नै गन्दैनन्, देख्यो कि ‘मनू मखु मर्स्या खः’ भन्दिहाल्छन् ।
छक्क परें । सँगैको साथीले प्रत्युत्तर दिइहाले– ‘‘यो हामीले भन्ने होइन, नेवारहरूले भन्ने हो । मेरो जिल्ला त नुवाकोट हो । म नेवार होइन ।’’
आफू परियो नेवार । अँध्यारोमा सानो मट्टीतेलको मधुरो बत्ती बलिरहेको थियो । सबैको आँखा ममाथि थियो । छक्क परें । आफूलाई त्यस्तो थाहा नपाएको भनें । फेरि अर्को तीतो अनुभव पोखियोे– ‘‘काठमाडौं भनेको राजधानी हो, राजधानीमा हाम्रो पनि अधिकार लाग्छ । त्यहाँ दुनिया भरले सबै काम गर्न हुने तर हामीले एउटा सभा पनि गर्न नपाइने ?’’
प्रसंग थियो, त्यसको केही समयअघि नेपाल सद्भावना पार्टी (तत्कालिन सदभावना परिषद) ले खुल्लामञ्चमा एउटा सभा गर्न लागेको थियो र हिन्दी भाषामा कार्यक्रम संचालन गर्न लागेको भन्दै त्यसको विरोधमा मान्छेहरूले त्यसलाई बिथोलिदिएको । प्रश्न राखें– ‘‘सभा बिथोल्न आउनेहरू नेवार नै हुन् त ?’’
जवाफ पाएँ– ‘‘त्यो त थाहा छैन, तर पहाडियाहरू हुन् ।’’
‘‘जाति, भाषा, धर्म, संस्कृति आदि कुरामा स्वयं नेवार संगठनले नै कार्यक्रमहरू गर्दा हेर्न आउने कुरा त परै जाओस्, त्यसको बारेमा जानकारी राख्ने चासो राख्ने आवश्यकतासम्म पनि नदेख्ने नेवारहरू के भनेर सद्भावनाको कार्यक्रममा जाला र त्यस्तो गर्ला र ?’’
अँध्यारोबाट एउटा आवाज आयो– ‘‘कार्यक्रममा म आफै पनि थिएँ ।’’
जवाफ दिएँ– ‘‘कार्यक्रम बिथोलिएको दृष्य मैले नेपाल टेलिभिजनको समाचार प्रशारणमा हेरेको छु ।’’
मधेशबाट फर्केपछि ‘‘मनू मखु मर्स्या खः’’ भन्ने वाक्यले मलाई बिझाइ नै राख्यो । तर अर्को कुरा खड्कियो, वाक्य नेवार भाषामा भएपनि त्यसमा नेवारपन पटक्कै छैन । शब्दानुवाद अनुवाद गरेर बनाइएको एउटा वाक्य रहेछ भनेर पछि निष्कर्शमा पुगें । त्यही वाक्यलाई नेपालीमा शब्दानुवाद गर्दा यस्तो बन्छ– ‘मान्छे होइन, मर्स्या (मधेशी जनाउने नेवार बोली) हो’ । कथंकदाचित यो कुरा नेवारले नै बोल्ने हो भने यसको वाक्य संरचना त्यस्तो हुँदैन ।
पछिल्ला दिनहरूमा पनि ‘मनू मखु मर्स्या खः’ भन्ने वाक्यको गुनासो थुप्रैपल्ट थुप्रै प्रसंगमा सुनें । काठमाडौंलाई मधेशीहरू पहाडकै एक भागको रूपमा लिन्छन् । तर काठमाडौंका नेवारहरू मधेशले देख्ने पहाडमा आफ्नो काठमाडौंलाई राख्दैनन् । न पहाडले नै काठमाडौंलाई आफूमा राखेर हेर्छ अर्थात मधेशबाट देखिने पहाड सिंगो छ भने वास्तविकता त्यो पहाडी क्षेत्र विभाजित छ । अझ रमाइलो कुरा त के हो भने काठमाडौंमा भेटिने काठमाडौं बाहिरका पहाडियाहरू पनि एकले अर्कालाई काठमाडौंको मान्छे ठान्छन् । मेची अंचलको कुनै ठाउँबाट काठमाडौं आएको कुनै एक नेपालीले महाकालीबाट आएको नेपालीलाई काठमाडौंको मान्छे ठान्ने हुन्छ । तिनीहरूको आपसी मनमुतावमा केही तलमाथि हुन गयो भने आफूलाई काठमाडौंवासीले अन्याय ग¥यो भन्ने बुझाई बनाउँछन् । फेरि अर्को एउटा स्थापित मान्यता हो, जुनसुकै गैरनेवार भएपनि काठमाडौंवासी भन्दासाथ नेवारलाई सम्झने । काठमाडौंका नेवारहरू यसरी पनि पिल्सिने गर्दछन् ।
सामान्य भाषामा काठमाडौं नेपालको राजधानी हो । तर लामो समयदेखि यो शोषण, अन्याय, अत्याचार र भेदभावको जब्बरजस्त बिम्ब पनि हो । सीमा विस्तारका लागि गोर्खाली सेना पश्चिमतर्फ लाग्दा भएगरेका अन्यायहरू सहन नसकेर अंग्रेज सरकारसँग गुहार माग्न गएको थियो र सहयोग गर्न आउँदा अंग्रेज र गोर्खाली सेनासँग मुठभेद भएको थियो । गोर्खाली सेनाबाट ठुलै भूभाग मुक्त भएपनि महाकाली वारीका वासिन्दाले भने गोर्खाली सेनाको अत्याचार सहनु नै परेको थियो । त्यो बेला गोर्खा भन्नु नै अत्याचारको विम्ब बनेको थियो । केही दशकअघिसम्म पनि यता काठमाडौंबाट कोही अधिकारी त्यहाँ पुग्दा गाउँघरमा आतंक सिर्जना हुन्थ्यो र भागदौड चल्थ्यो भन्ने कुरा सुन्न पाइन्छन् । गोर्खा बिम्ब विस्तारै काठमाडौंमा रूपान्तरित भयो । केही दशक अघिसम्म पनि सबै कुरा काठमाडौंसँग भर पर्नुपर्दथ्यो । काठमाडौंमा किन भर पर्नु पर्दथ्यो भने, यो देशको शासन गर्ने शासकहरू काठमाडौंमा नै बस्दथ्यो र शासकलाई काठमाडौंमा बसेर शासन चलाउन मात्रै आउँथ्यो बाहेक देशलाई चिन्ने जमर्को गर्दैनथ्यो । पछिल्लो उदाहरणलाई नै लिउँ, संघीय गणतान्त्रिक नेपाल भनेर सात प्रदेश छुट्याएपनि अधिकारविहिन पारेर जम्मै अधिकार सिंहदरवारमा नै थुपारेको छ ।
काठमाडौं राजधानी भएकै कारणले मात्र नभएर पहिल्यैदेखि चारैतिरका मान्छेहरू जमघट हुने ठाउँ हो तसर्थ यहाँ सबै ठाउँका मान्छेहरू भेटिनु वा देखिनुमा कुनै आश्चर्य मान्नु पर्दछन । तर यसरी बाहिरबाट आएकाहरूमा आफूबाहेक सबै काठमाडौंको मान्छे ठान्दारहेछन् । काठमाडौंका आदिवासी भनेर त नेवार जाति कहलिएकै हुन् र राम्रो नराम्रो जे भएपनि काठमाडौं त्यसको भागीदार बनाइँदो रहेछ । अर्थात् काठमाडौं भन्नु नै नेवार हो र नेवार भन्नु नै काठमाडौं हो । जनसंख्याको प्रतिशत हेर्ने हो भने बाहिरबाट आएका गैरनेवारहरूको थुप्रो आकासिंदो छ र त्यस भीडमा रैथाने नेवारहरू खोज्दा पनि बडो मुस्किलले भेटाउन सकिने स्थिति छ । यस्तो अवस्थामा नेपाल सदभावना पार्टीको खुल्ला मंचको कार्यक्रममा भएको हस्तक्षेप पहाडियाहरूबाट भएको पक्कै पनि हो र काठमाडौंमा भएकै कारण पहाडियाहरूले पनि त्यसलाई काठमाडौंका नेवारहरूतर्फ सोझिन गयो । बुझाई गतल भयो । सद्भावना पार्टीले खुल्ला मन्चमा हिन्दी भाषामा कार्यक्रम गर्न लागेकोमा आपत्ती जनाउँदै हस्तक्षेप गरिएको थियो । कुनै नेवार संगठनले नेवार भूमिमा नेवार भाषामा सार्वजनिक कार्यक्रम गर्दा पनि अवगाल पाउने स्थिति भनेको पंचायतकालीन ‘एक भाषा एक भेष’ को धङ्धङ्ती हो, यो २०५२ सालको मात्रै समस्या होइन २०८२ सालमा पनि यस्तै छ । यहाँ मेधसीलाई मात्र मान्छे नगन्ने होइन, स्वयं नेवारलाई नै पनि मान्छे नगन्ने अवस्था छ ।
Comments (1)
Write a Comment