आइतबारदेखि प्रमुख नदीमा बहाब बढ्ने, आकस्मिक बाढीको चेतावनी
काठमाडौं, असोज १७ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख नदीहरूमा हाल जलसतह सामान्य रहे पनि भोलिदेखि बहाब बढ्दै जाने चेतावनी जारी गरेको छ।
विभागका अनुसार आज (शुक्रबार) बेलुकीसम्म सबै प्रमुख नदीहरू स्थिर अवस्थामा छन्। तर भोलि (शनिवार) दिउँसोदेखि मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा सुरु हुने भएकाले नदीमा बहाब बढ्न सक्ने अनुमान गरिएको छ।
विशेषगरी शनिबार रातिदेखि नवलपरासी पूर्व–पश्चिम, तनहुँ, लम्जुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, वारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लामा स–साना नदी–नालामा आकस्मिक बाढीको जोखिम रहने विभागले जनाएको छ।
यस्तै, आइतबार विहानदेखि बेलुकीसम्म नारायणी, कालिगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौंदी, त्रिशुली, पूर्वी राप्ति, बागमती, कमला लगायतका नदीहरूमा बहाब उल्लेख्य बढ्दै सतर्कता तह आसपास पुग्न सक्ने देखिएको छ। आइतबार रातिदेखि प्रणाली पूर्वतर्फ सर्दै जाने भएकाले कोसी, कन्काईसहितका नदी जलाधार क्षेत्रहरूमा समेत बहाब बढ्ने चेतावनी दिइएको छ।
विभागले बाढी, डुबान र पहिरोको जोखिम उच्च हुने भएकाले संवेदनशील क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। साथै, बाढी पूर्वानुमान तथा पूर्वसूचनासम्बन्धी जानकारी हरेक ६–६ घण्टामा विभागको सामाजिक सञ्जाल “नेपाल बाढी सूचना” फेसबुक र एक्स (ट्विटर) पेजमार्फत अपडेट गरिने जनाएको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment