नेपालको गुलावी सहरः वालिङ
वालिङ, स्याङजा, साउन २० । केही दशकअघिसम्म सामान्य ज्ञानमा सोधिने प्रश्न थियो, पिंक सिटी(गुलावी सहर) कहाँ छ ? उत्तर हुन्थ्यो– भारतको जयपुर राजस्थानमा । हो, भारतकै पहिलो योजनवद्ध शहर मानिएको यो जयपुर सहर तत्कालीन मिर्जा राजा जयसिंहले सन् १७२७ मा बनाएका थिए । भारतको ३८ विश्व सम्पदा सूचीमा परेको ठाउँमध्ये आठवटा वल्र्ड हेरिटेज साइट (विश्व सम्पदा क्षेत्र)जयपुरमैं पर्दछ । तीन सय वर्ष पुरानो यो शहरको पुरातत्व, कलाजस्ता पक्षले गर्दा यो सहर पर्यटनको दृष्टिकोणबाट अब्बल क्षेत्र मानिएको छ । जन्तरमन्तर, हवामहल आदि यस क्षेत्रका महत्वपूर्ण निर्माण हुन् । पिंकसिटीको नामले परिचित यो शहर विश्वमा परिचित छ
तीन शताव्दीदेखि पिंक सिटीको नामले परिचित हुँदै आएको जयपुर मात्र हैन नेपालको वालिङ नगरिपालिका पनि अब पिंक सिटीको नामले परिचित हुन थालेको छ । हामीले गुगलमा खोज्दा पिंक सिटीको नाममा स्याङ्जा जिल्लाको वालिङको नाम पनि थपिएको छ ।
२०७४ असार ३० गतेको वालिङ नगरपरिषदको भेलाले वालिङलाई पिंक कलर (गुलाफी रङ) को शहरमा रुपान्तरण गर्ने निर्णय गरेको थियो । यो योजना नगरपालिकाको १ र १० वडामा लागूभएको छ । १४ हजार घरधुरी रहेको वालिङमा करीव ७० प्रतिशत रंग लागिसकेको छ । यो निर्णय ग्रामिण भेगमा लागू भएको छैन । वालिङलाई पिंक सहर बनाउन नगरपालिकाले स्थानीय युवा क्लवका साथै तीन वटा अन्तर्राष्ट्रिय क्लबहरू लायन्स, जेसिज र रोटरीको अवधारणालाई पनि आत्मसाथ गरेको थियो ।
वालिङका घरहरू अहिले पिंक रङले सजिएका छन् । यही रंगको कारण अब वालिङ टाढैबाट चम्किलो देखिन्छ । वालिङ रंगले मात्र चम्किएको छैन, सरसफाइमा पनि अब्बल छ । यही कारण वालिङले सफा नगरपालिकाको रुपमा पुरस्कृतसमेत भएको छ ।

वालिङ नगरपालिकाको आडमैं घर भएकी स्वास्थ्य स्वयंसेवीका तारादेवी सुवेदीले पनि आफ्नो घर पिंक रंगले नै रंगाएकी छन् । उनलाई यो रंग मन पर्ने रंग पनि हो । पिंक रंग लगाउने घरधनीलाई नगरपालिकाले रङमा ५०% छुट दिने पनि निर्णय गरेसँगै नयाँ बनेका घरहरूले पिंक रंग लगाउँदा बालिङलाई टाढैबाट चिन्न सहज भएको छ ।
वालिङ नगरभित्र मात्र लागू भएको यो योजना कार्यान्वयन नगर्ने घरलाई घरसम्पन्नको प्रमाण पत्र नै दिइन्न । वालिङ नगरपालिकाका निवर्तमान मेयर दिलिप खाँणको योजनाअनुसार ल्याइएको यो योजनाका सम्बन्धमा उनको भनाई छ– ‘पिंक रंग भनेको मायाको रंग हो, उर्जाको रंग हो र यो सद्भावको पनि रंग हो ।’ विभिन्न सात थरीका पिंक रंगमध्ये ‘वालिङ पिंक’को नाममा नयाँ रंग नै तयार पारेको छ, एक रंग कम्पनीले । स्थानीय रंग व्यापारी वालिङ नगरपालिकाको तर्फबाट आफूले कुनै सहुलियत प्राप्त नगरे पनि रंग बिक्री हुनु र आफ्नो व्यापार बढ्नु नै आफ्नो लागि ठूलो कुरा भएको बताउँछिन् ।
पूर्व मेयर दिलिप खाँणका अनुसार यो रंग मन नपर्नेले घरको बाहिरपट्टी पूरै नलगाए पनि कुनै एक ठाउँमा मात्र लगाए पनि हुन्छ । २०७४ सालमा दिलिप मेयर हुँदा ल्याइएको योजनाअनुसार ‘वालिङलाई १० वर्षमा शतप्रतिशत एउटै खाले रंगले रंगाउने हो, रंग लगाउन शुरू भएको पाँच वर्ष भयो । वालिङलाई २० वर्षमा स्मार्ट सिटी बनाउने हो । पर्वतसँग जोडिएको स्याङजा जिल्लामा पिंक कलर देख्ने वित्तिकै वालिङ आयो भनेर बुझ्दा भयो, हेलिकप्टरबाट आए पनि सहजै चिन्न सकिन्छ । ’
पूर्व मेयर दिलिपका अनुसार घर घरमा पिंक रंगको प्रयोग सम्बन्धमा निर्णयपछि कसैको गुनासो छ कि भनेर ३५ दिने सूचना पनि प्रकाशन भएको थियो तर कुनै प्रतिक्रिया नआएपछि निर्णय कार्यान्वयनमा गएको थियो ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment