५ बैशाख २०८३, शनिबार

संस्कृति र सम्पदाको मामिलामा राज्य अत्यन्तै संकुचित, अनुदार र पक्षपाती


अ+
अ-

कुनै व्यक्ति होस् वा समाज, राष्ट्र होस् वा क्षेत्र, त्यसको पहिचान त्यससँग सम्बन्धित साँस्कृतिक सम्पदाले गरिरहेको हुन्छ । सम्पदा मूर्त र अमूर्त गरी दुई थरीका हुन्छन् । एक जातीय समुदायबाट अर्को जातीय समुदायको अस्तित्व मास्नु पर्‍यो संस्कृति नै मास्ने हो । सामाजिक सद्भावको विकास गर्न एकले अर्को सांस्कृतिक सम्पदाको सम्मान गर्ने तथा सहअस्तित्वलाई स्वीकार्ने हो । यस अर्थमा सांस्कृतिक सम्पदाले बहुआयामिक अर्थ राख्छ ।

नेपालको सन्दर्भमा कुरा गर्ने हो भने, संस्कृति र सम्पदाको मामिलामा राज्य अत्यन्तै संकुचित, अनुदार र पक्षपाती देखिन्छ । निरंकुश चरित्र खुल्लमखुल्ला नै प्रदर्शन गरेर राज्य साँस्कृतिक सम्पदाहरु मास्नमा उद्दत छ । यसो भनिरहँदा असहमति वा आपत्ती जनाउने पनि हुनसक्लान् तर संस्कृतिका विविध विषयवस्तुको अध्ययनअनुसन्धानमा दशकौंदेखिको संलग्नतामा भएको कटु अनुभव यही हो । 

नेपाल विविध जातजाति तथा समुदायको साँस्कृतिक सम्पदाले जीवन्त देश हो । तर, राज्यको व्यवहार हेर्दा भन्नै पर्ने हुन्छ, यो विविधता वा अस्तित्व राज्यलाई पटक्कै मन परेको छैन । साँस्कृतिक सम्पदाहरु मास्नका लागि राज्यले प्रायः प्रयोग गर्ने हतियार भनेको देखावटी विकास हो । राज्यसँग विकासको आफ्नै खालको भाष्य छ र त्यसैलाई हतिहार बनाएर साँस्कृतिक सम्पदा मास्न उद्दत छ ।

देशमा सुकुम्वासी वा भूमिहीनहरुको समस्या यथावत् रहेको र त्यो समस्या समाधान गर्नुपर्नेमा दुई मत छैन । तर त्यसका लागि गुठीअन्तर्गत रहेका जग्गाजमीनमा आँखा गाड्नुले राज्य विविध साँस्कृतिक पक्षप्रति नकारात्मक दृष्टि राख्छ भन्ने स्पष्ट हुन्छ । नेवार समुदायका कतिपय जात्रा, पर्व, पूजा आदि साँस्कृतिक जीवनका कुराहरु दीगो पार्नका लागि गुठीबाट सम्पन्न गर्ने गरिएको हुन्छ । त्यसका लागि आयस्ताका रुपमा जग्गाजमीनहरु राखिएको हुन्छ । आयस्ता नै मासिएपछि साँस्कृतिक विषयवस्तु स्वतः प्रभावित हुन्छन् । यस कुरामा वास्ता नै नगरी राज्यले निरंकुश चरित्र देखाउँदै केही समयअघि गुठी विधेयक ल्याउन खोजेको थियो । तर जनस्तरबाट अपार विरोध भएपछि राज्य हच्किनु पर्‍यो र विधेयक फिर्ता लिन वाध्य भयो । विधेयक फिर्ता लिनुपर्दा तत्कालीन भूमि सुधार मन्त्रीलगायतका पदाधिकारीहरुको हाउभाव तथा अभिव्यक्तिहरुमा संस्कृतिप्रति द्वेषभाव प्रष्टै देखियो । यो द्वेषभाव अर्को सन्दर्भमा पुनः प्रकट हुने निश्चित मात्रै होइन, त्यसपछिका दिनहरुमा प्रकट भयो पनि ।

बाटो बन्नु राम्रै कुरा हो तर त्यो बाटो सयौं वर्षअघिदेखि रहेका सम्पदा मासेर नै बनाउनु पर्छ भन्ने जरुरी छैन । चिहान वा अन्य स्थल पनि आस्था वा संस्कृतिसँग जोडिएको हुन्छ । कोशी नदीमा रहेको खुवालुङ फगत एउटा ढुंगा होइन, आस्था र इतिहाससँग सम्बन्धित सम्पदा पनि हो । तर विकासको नाममा मास्ने चिन्तनको हावी छ । यसरी नै प्राचीनकालदेखिका ऐतिहासिक वस्ती नै उठाउने काम पनि गरिन्छ, विकासको नाममा । संस्कृति तथा सम्पदाहरुलाई ध्यानमा राखेर विकल्पतर्फ ध्यान नै दिइँदैन, जबकि त्यहाँ विकल्पहरु अनेकौं हुन्छन् । सम्बन्धित पक्षले विकल्प सुझायो भने त्यसलाई विकास विरोधीको विल्ला भिडाउने गरिन्छ । ऐतिहासिक तथा सामाजिक कुराहरुको प्रतिनिधित्व गर्ने विभिन्न ठाउँको नाम कुनै व्यक्तिविशेषको नामबाट नामाकरण गर्नु पनि सम्पदामाथि हस्तक्षेप नै हो ।

राज्यलाई झट्ट हेर्दा साँस्कृतिक सम्पदाप्रति सम्वेदनशील देखिन्छ र त्यसका लागि भनेर प्रत्येक वर्ष ठुलो धनराशी छुट्याएको पनि हुन्छ । तर उसको काम गराई साँस्कृतिक सम्पदाको महत्व बुझेर नभई निहित स्वार्थ पूर्तिका लागि हुने गरेको पाइन्छ । यसरी नै राज्यको चरित्र कुनै समुदाय वा आस्थाविशेषको पक्षपाती रहेको पनि देखिन्छ । यो चरित्रले अन्य संस्कृति तथा सम्पदामा अनुदार दृष्टि अपनाउने त स्वाभाविक नै हुन्छ ।

राज्यले विशेष गरी नेपालजस्तो विविधताले युक्त देशमा समदृष्टिको नीति लिनु पर्दछ । कुनै एउटा समुदाय वा आस्थालाई मात्र प्रसय दिनु आजको जमानामा सोही समुदाय वा आस्थाप्रति पनि वितृष्णा जगाउने हुन्छ । यो विषयप्रति सम्वेदनशील हुन नसक्नु वा सम्वेदनशील हुने शिक्षा दिन नसक्दा सर्वसाधारणमा कुनै पनि संस्कृति तथा सम्पदाप्रति विकर्षण बढ्ने प्रवल सम्भावना हुन्छ । यसले अन्ततः कसैको पनि हित गर्दैन । आजभोलिको समाज निर्माण विगतमा जस्तो एकांकी नभएका कारण एकअर्कोसँग समन्वय राख्दै र भाइचारा बढाउँदै लानु पर्दछ । राज्य यो कुरामा सम्बेदनशील हुनै पर्छ ।

 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

अन्य लेखहरू: बसन्त महर्जन

यस लेखकका अन्य रोचक लेखहरू
आमा बाबुको मुख हेर्ने पर्व

आमा बाबुको मुख हेर्ने पर्व

आमाबाबुलाई आदरसत्कार नगर्नु भनेर कसले भन्छ र ? तर सबै धार्मिक समुदायमा ‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ पर्व त छ...

महाराज क्राचल्ल र बौद्ध धर्ममा उनको योगदान

राजा क्राचल्लले आफूलाई ‘परमसौगात’ अर्थात् बुद्धका ठुलो उपासक भनेर चिनाउन मन पराउने राजा हुन् । यसबाट उनी बौद्ध धर्मका उप...

बडामहाराजा नागराज र बौद्ध धर्ममा उनको योगदान

कीर्तिखम्बमा उल्लेखित विवरण राजा नागराज र उनका उत्तराधिकारीहरुका सम्बन्धमा हो । तिब्बती श्रोतहरुले पनि यही विवरण प्रस्तु...

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति चोरी हुनु धेरै दुःखदायी हो । झिल्के बनाएर यसको सत्यानाश नै गरिदिनु थप दुःखदायी हो । मूर्तिचोरीमा संलग्न हुनेहरु न...

नेवार समाजमा पाहाँचःह्रे चाड

नेवार समाजमा पाहाँचःह्रे चाड

विभिन्न जातीय समुदायको सांस्कृतिक जीवनको अध्ययन गर्दा एउटा समानता के देखिन्छ भने, वर्षभरिमा जेजति चाड पर्व मनाएपनि त्यसम...

नरेश श्रेष्ठ र फोटोग्राफी

नरेश श्रेष्ठ र फोटोग्राफी

अनेकौं पहिचानहरुको भीडमा एउटा पहिचान हो, फोटोग्राफर नरेश श्रेष्ठ । र, उनको फोटोग्राफी । बहीखाता राखेजस्तै उनी कतिपय ऐतिह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्